उस्तै-उस्तै औसत तहको एउटा व्यक्तिले दोहोर्याई-तेहेर्याई गर्ने, अनि अरूले प्रतीक्षा गरिरहने?
शंकर पोखरेल, सचिव, नेकपा एमाले
सुरेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य, नेकपा एमाले
'नयाँ नेतृत्वमा जानुपर्छ’
शंकर पोखरेल, सचिव, नेकपा एमाले
एमालेमा संसदीय दलको नेता चुनावबाट छान्नुपर्ने अवस्था किन आयो ?
हामीले आठौं महाधिवेशनबाट पार्टीको लोकतान्त्रीकरणसम्बन्धी व्यवस्थित अवधारणा तयार गर्यौं । त्यसअन्तर्गत संसदीय दलको निर्वाचनसम्बन्धी व्यवस्था 'एडप्ट' गरेका छौं । विगतमा अर्कै अभ्यास गरेको भनेर (कतिपयले) प्रश्न उठाउँछन्, तर नयाँ बाटामा हिंड्न खोजेको पार्टीले अवलम्बन गरेको विधिका रूपमा यसलाई बुझिएको छैन ।
हामी आठौं महधिवेशनपछि पहिलोपटक संसदीय दलको नेता चयन गर्दै छौं । आठौं महाधिवेशनले कार्यकारी भूमिकामा मनोनयन गर्ने प्रणालीलाई अस्वीकार गरेको थियो । समन्वयकारी भूमिका रहने कमिटीहरूमा मात्र मनोनयन हुने र जहाँ कार्यकारी भूमिका हुन्छ, त्यहाँ निर्वाचन गर्ने सिद्धान्त तय गरेको थियो । त्यसको पहिलो अभ्यास गर्दै छौं । यो अभ्यासअन्तर्गत चुनाव नहुन पनि सक्छ । सहमति पनि निर्वाचन प्रक्रिया नै हो । तर, कुनै अमुक पदमा निर्वाचित व्यक्ति
स्वतः संसदीय दलको नेता हुने कुरा हाम्रो विधानमा छैन । पार्टी अध्यक्ष वा अन्य
कुनै नेता संसदीय दलको नेता हुने निर्वाचन प्रक्रियाबाटै हो ।
को हुन्छ त अब संसदीय दलको नेता ?
नेता चयनबारे प्रक्रिया अघि बढाउन पार्टीको निर्वाचत समितिलाई अनुरोध गरेका छांै । को नेता बन्छ भन्ने निर्वाच्ानमा उम्मेदवारी दर्ता गर्ने नेता कति रहन्छन् भन्नेमा निर्धारण हुन्छ । त्यो प्रक्रियामा प्रयोग नगरी अहिले नै को बन्छ भन्नु हतारो हुन्छ ।
चुनावमा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओली उठ्ने कुरा छ नि ?
औपचारिक रूपमा छलफल गरेका छैनौं । यो केन्द्रीय कमिटी र स्थायी समितिको 'बिजनेस' नभएकाले निर्णय नगरेको हो । आमसञ्चारमा आएको मात्र हो, हामीले अहिलेसम्म दलको नेता कोको हुन सक्छ भनेर सोधेका छैनांै ।
अहिले को नेता बन्दा संसदीय दल राम्ररी चल्न सक्ला त ?
सामान्यतया असाधारण क्षमतामा बाहेक नयाँ मान्छेमा नेतृत्व हस्तान्तरण हुनुपर्छ । असाधारण क्षमता छ भने दोहोरिँदा हुन्छ । अन्यथा उस्तै-उस्तै मान्छे हँुदा दोहोरिने कुरा उपुक्त हँुदैन, चाहे त्यो पार्टीको अध्यक्ष होस् वा संसदीय दलको नेता । नयाँमा जानुपर्छ भनिरहँदा स्वाभाविक रूपमा नयाँ को-कसले आकांक्षा राख्छन्, तिनीहरूको बीच्ामा व्यवस्थापन हुुनुपर्छ ।
आउँदो पार्टी महाधिवेशनका विषय जोडिँदा संसदीय दलको नेतामा चुनाव गर्ने स्थिति आएको हो ?
महाधिवेशन र यसलाई जोड्नु हँुदैन । यद्यपि महाधिवेशनलाई सर्वसम्मत बनाउने सवालमा संसदीय दलको निर्वाच्ानलाई पनि सर्वसम्मतिका आधारमा प्रयोग गर्न सकिन्छ कि भन्ने सवालमा कुरा आए होला ।
संसदीय दलको नेता र अध्यक्ष दुवैमा अब नयाँ व्यक्ति आउनुपर्छ भन्ने हो ?
त्यो त स्वाभाविक रूपमा हो । तर फेरि पार्टी अध्यक्षमा माधव नेपाल र संसदीय दल नेतामा झलनाथ खनाल उठ्ने कुरा सुनिन्छ नि ?
म व्यक्तिका सन्दर्भमा को ठीक, को बेठीक भन्दिनँ । तर, के कुरामा हेक्का हुनुपर्छ कि, या कार्यकर्ताले असाधारणा क्षमता हो भन्ने ठान्नुपर्छ । नभए उस्तै-उस्तै क्षमताका नेताहरू हँुदा नयाँमा जानुपर्छ । यो पार्टी अध्यक्ष र संसदीय दलको नेता दुवैमा लागू हुनुपर्छ । उस्तै-उस्तै औसत तहको एउटा व्यक्तिले दोहोर्याई-तेहेर्याई गर्ने, अनि अरूले प्रतीक्षा गरिरहने भन्ने नेतृत्व हस्तान्तरणका दृष्टिले उपयुक्त होइन ।
एक व्यक्ति एक पदको अवधारणा पनि आएको हो ?
नेतृत्व व्यवस्थापन कसरी गर्ने भन्ने विषय सधैं जटिल हुँदै आएको छ । एक व्यक्ति एक पद भन्ने कुरा नराम्रो होइन । तर हामीकहाँ त्यो सन्दर्भबारे गम्भीर बहस भएर संस्थागत गर्ने काम भएको
छैन । महत्त्वाकांक्षा एकभन्दा बढी भएको अवस्थामा व्यवस्थापन गर्ने प्रणाली हो- एक व्यक्ति, एक पद । महत्त्वाकांक्षा व्यवस्थापनका लागि यो जरुरी जस्तो देखिन्छ । नेतृत्व हस्तान्तरणमा पनि यो सहयोगी हुन सक्छ । पुरानो पुस्तामा नेतृत्व 'जाम' भएर बसेको अवस्थामा यो कुराले बाटो खोल्न सक्छ ।
अहिलेदेखि नै यो व्यवहारमा लागू हुन्छ त ?
यो व्यवस्था कि विधि कि सम्झौताबाट हुन सक्छ । विधि बनाइसकेका छैनौं र सम्झौता पनि भएको छैन । अब कार्यकर्ताको अभ्यासले मात्र त्यो बिन्दुमा पुर्याइदिने हो ।
नेताहरूबीच आन्तरिक सहमति कुन आधारमा हुन सक्छ ?
सहमति परस्परमा विश्वास आर्जन गरेर या लेनदेन गरेर हुने हो । लेनदेन ज्यादा अवसरवादी हुन्छ । लेनदेनमा आधारित सम्झौता ठीक होइन । एकले अर्कालाई विश्वास गर्दा हुने सहमति बढी रचनात्मक हुन्छ ।
संसदीय दलमा चुनावी अभ्यास भयो भने त्यसले महाधिवेशनलाई प्रभाव पार्छ होला होइन ?
मिले पनि, विवाद भए पनि त्यसको प्रभाव पर्छ । चुनावलाई पनि अस्वाभाविक मान्ने चलन छ, त्यो गलत हो । युवापुस्ताको मनोवृत्ति सबको आकांक्षा बढाइदिने र पछि मिल-मिल भन्ने छ । यो गलत हो । आकांक्षा जगाएर सहमति गर्न खोज्ने कुरा सम्भव हँुदैन । जब आकांक्षा बढेन, त्यसको व्यवस्थ्ाापन विधि प्रणालीबाट खोज्नुपर्छ । त्यो भनेको चुनाव हो । महत्त्वाकांक्षाको व्यवस्थ्ाापन विधि प्रणालीबाट खोज्नुभएन भने षड्यन्त्र हावी हुन्छ, छलछाम हुन्छ । त्यो खालको बाटोमा जानु हुँदैन । विगतका राजनीतिक सत्ताको उदाहरण हेर्दा त्यहाँ तानाशाही जन्मेका उदाहरण छन् ।
तपाईंहरूको पार्टी महाधिवेशन आउँदो वैशाखमा हुन्छ कि पछि सर्छ ?
वैशाख ९ मा उद्घाटन गरी त्यसमा जुट्ने भनेका छौं । स्थानीय निकायको निर्वाचन त्यही अवधिमा हुने अवस्थामा बाहेक महाधिवेशन अहिले भनिएकै मितिमा हुन्छ ।
प्रसंग बदलौं, एमालेले नयाँ राष्ट्रपति चुन्ने कुरा गरेको छ, अहिले यो सम्भव छ ?
अन्तरिम संविधानले संविधानसभालाई तीनवटा अधिकार दिएको छ : संविधान निर्माण गर्ने, राष्ट्रपति-उपराष्ट्रपतिको चुनाव गर्ने र व्यवस्थापिका-संसद्का रूपमा काम गर्ने । अहिलेको संविधानसभालाई पनि विगतको संविधानसभाकै जस्तो अधिकार प्राप्त छ । त्यस अर्थमा एमालेले राष्ट्रपति-उपराष्ट्रपतिको चुनाव हुनुपर्छ भनेको हो । त्यसका पछाडि दुइटा सिद्धान्त जोडिन्छन् : संविधानवादको सिद्धान्त र लोकतान्त्रिक मूल्य-मान्यता । लोकतन्त्रमा कुनै पनि कुरा विधिअनुसार अघि बढ्नुपर्छ । त्यसभन्दा अन्यथा गर्ने हो भने विधि परिवर्तन गर्नुपर्छ । लोकतन्त्रको आधारभूत मूल्यको स्थापना संक्रमणकालमा हामी कस्तो 'सिस्टम' बनाउँछौं भन्ने कुराले पनि निर्धारण गर्छ । दुई वर्षका लागि चुनेको राष्ट्रपति छ वर्ष पुगिसक्यो । अरू चार वर्षका लागि संविधानसभाको निर्वाचन गरिएको छ । एक वर्षमा संविधान बनाउन राजनीतिक प्रतिबद्धताको कुरा मात्र हो । तर संविधानले त चार वर्ष संविधानसभाको सीमा भनेको छ । दुई वर्षका लागि चुनिएका राष्ट्रपति १० वर्षसम्म रहन पाउनुपर्छ भन्ने कुरा लोकतन्त्रको मूल्य-पद्धतिको हिसाबले सर्वथा गलत हो । त्यसैले लोकतन्त्रको मूल्य-पद्धति र संविधानवादको कार्यान्वयनका लागि हामीले जोड दिएका हौ ।
तपाईंहरूको कुरा त सैद्धान्तिकजस्तो मात्र छ, त्यसको कार्यान्वयनचाहिं जहिले गरे पनि हुने हो ?
अहिले हामीले सिद्धान्तको कुरा गरेका हौं । समय आएपछि यो सिद्धान्त कार्यान्वयन
हुन्छ र हुनुपर्छ ।
समय कहिले आउँछ त ?
समयको हिसाबले हेर्ने हो भने पहिले राष्ट्रपति-उपराष्ट्रपति चयन, त्यसपछि संविधानसभाका प्रमुख र सरकार निर्माणको प्रक्रिया सुरु हुनुपर्ने हो । विगतको अभ्यासका हिसाबले संसद्को बैठक नै नयाँ राष्ट्रपतिले बोलाउनुपथ्र्याे । तर, त्यस्तो भएन । संविधानसभाले अध्यक्ष-उपाध्यक्ष पनि चुनेको छैन । तर, सरकार निर्माणको आह्वान राष्ट्रपतिले गर्नुभयो, यो त्रुटिपूर्ण रह्यो । बहालवाला प्रधानन्यायाधीश बाधा-अड्काउ फुकाउबाट मन्त्रिपरिषद्को अध्यक्ष हुनुभएको हो । त्यो अध्यादेश अझै संसद्ले स्विकारेको छैन । त्यो नटुंगिई सरकार गठनको आह्वान पनि त्रुटिपूर्ण छ । राष्ट्रपतिको आफ्नो वैधता स्थापित गर्ने अति सक्रियताका कारण यी कमजोरी भए भन्ने लाग्छ ।
कांग्रेसले त राष्ट्रपतिको चुनाव गर्दा अस्थिरता आउँछ भन्दै आएको छ नि ?
कांग्रेसको मात्र होइन, तल पनि यस्तो मनोविज्ञान छ । आम मान्छेेहरूले पनि एक वर्षमा संविधान बनाउने कुरामा जोड दिउ“m न, किन राष्ट्रपतिका कुरा गर्छौ भन्ने गरेको देखिन्छ । तर, संवैधानिक र कानुनी प्रश्न थाती राखेर जाँदा पटकपटक प्रश्न उठिरहन्छ । वास्तवमा समस्या चुनाव नगर्दा हुन्छ । चुनाव गरेपछि त्यो समस्या हल भइहाल्छ, जसरी संविधानसभाको बैठक कसले बोलाउने भन्ने विषय बैठक बोलाएको दिन अन्त्य भयो । त्यस अर्थमा छिटो हल गर्दा विवाद निरूपण हुन्छ, नगर्दा समस्या लम्बिन्छ ।
एमालेले कुनै विकल्प अघि सारेर समझदारीमा जान्छ ?
एमालेले सरकारमा ठूला मन्त्रालय पाउन यो कुरा गरेको भन्ने अर्थमा सार्वजनिक टिप्पणी भएको छ । नेपाली राजनीतिभित्र कुनै पनि विचार, दृष्टिकोणलाई शंकाको दृष्टिले हेर्नेखालको मनोविज्ञान विकास भएको छ । यसका पछाडि हाम्रा विरासतले पनि काम गरेको छ । विगतका ती परम्परा पनि कायम रहेकाले अविश्वास पनि
छ । तर हामीले उठाउन खोजेको विषय 'सिस्टम' बसाउनकै लागि हो ।
राष्ट्रपति पदमा आफ्नो दाबी भएकाले यो कुरा उठाइएको होइन र ?
हाम्रो दाबी छैन । यसलाई संविधानसभा होइन भन्ने ठान्ने हो भने राजनीतिक शक्ति संरचनाका हिसाबले, नेकपा एमाले पनि सरकारको नेतृत्व दाबी गर्न सक्ने ठाउँमा छ । संविधानसभा हो भनेका कारणले नै हामीले एक वर्षभित्र संविधान बनाउनका लागि पहिलो दलको हैसियतमा कांग्रेसलाई सहमतिको प्रस्ताव पेस गर्न भनेका
हौं । सरकारमा हामी नेतृत्वको दाबी गर्दैनौं । सीमित संख्याको मात्र फरक रहेको अवथामा नेतृत्वको दाबी नगर्दा पनि शंकाको दृष्टिले हेर्ने ? सहमति-सहकार्य शक्ति बाँडफाँडको जगमा मात्र सार्थक हुन्छ ।
शक्ति बाँडफाँड के-केमा हुनुपर्छ ?
तीनवटा संरचना छन् : संविधानसभा, व्यवस्थापिका-संसद् र सरकार । संविधानसभाभित्र राष्ट्रपति-उपराष्ट्रपति, संविधानसभाका अध्यक्ष-उपाध्यक्ष र संविधानसभाका समितिका सभापतिहरू छन् । संसद्मा पनि सभापतिहरू र त्यसमार्फत गठन हुने सरकारका अंग छन् । यसमा सबै विषयमा राजनीतिक छलफल गरेर सहमतिसहित सहयात्रालाई सहज बनाउन
सकिन्छ । शान्ति प्रक्रियाको अंश भएकाले यसमा एमाओवादीसमेतलाई सहभागी गराउनुपर्छ ।
त्यसो भयो भने संविधान निर्माणको काम अघि बढ्न सक्छ ।
आलोपालो सरकार चलाउने र राष्ट्रपति एक वर्षपछि छान्ने गरी सहमति खोज्ने कुरा पनि आएको छ नि ?
एक वर्षपछाडिको कुरामा त प्रतिबद्धता जनाउनै परेन । संविधानमै नयाँ संविधान जारी भएपछि राष्ट्रपतिको कार्यकाल सकिन्छ भनिएको छ । तर, एक वर्षभित्र कसरी राष्ट्रपति चयन हुन्छ भन्ने संवैधानिक व्यवस्था छैन ।
............................................
'अध्यक्ष नै दलको नेता’
सुरेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य, नेकपा एमाले
पार्टीको संसदीय दल नेताका लागि चुनावै गर्नुपर्ने अवस्था किन आयो ?
पार्टीमा सहमति हुँदा सर्वसम्मत ढंगले टुंग्याउन सकिन्थ्यो । अझै पनि सहमतिको प्रयास जारी छ, सहमति भयो भने चुनाव नहुन सक्छ । हाम्रो हालको निर्णय भनेको चुनाव गरेरै टुंग्याऔं भन्ने हो ।
पार्टीमा बढी आकांक्षी भएर कि नयाँ परम्पराको थालनी गर्न चुनाव हुन लागेको हो ?
को-को आकांक्षी छन् भन्ने कुरा संसदीय दलको चुनावका दिन थाहा हुन्छ । 'म उठ्छु' भनेर अन्तरवार्ता दिएर भएन । सामान्यतया पार्टी अध्यक्ष दलको नेता हुने हाम्रो प्रचलन
हो । चुनावका नाममा गरौं, सहमतिका नाममा गरौं, केन्द्रीय समितिले स्वीकार गरे पनि हाम्रो विधि अध्यक्ष नै संसदीय दलको नेता हुने हो ।
विधानमा त अध्यक्ष नै संसदीय दलको नेता हुने लेखिएको छैन नि ?
विधानमा उल्लेख छैन, यो हाम्रो परम्परा हो । उल्लेख भएको भए चुनावको प्रश्न आउने थिएन ।
सहमतिका लागि अध्यक्ष खनालले संसदीय दलको नेता छाड्ने सम्भावना छ ?
म त्यो सम्भावना देख्दिनँ ।
पार्टीमा यसअघि कार्यकारी पद नपाएको नयाँ व्यक्तिले पाउनुपर्छ भन्ने माग छ नि ?
यो नयाँ, पुरानो भन्ने कुरामा पनि म खास अन्तर देख्दिनँ । कुनचाहिं अर्थमा नयाँ वा पद नपाएको भन्ने ? नेता आज जन्मेर हुँदैन । नेता हुन २०-३० वर्षको राजनीतिक अनुभव हुनुपर्छ ।
पार्टी सञ्चालन गर्न शक्ति सन्तुलन मिलाउनुपर्ने आवश्यकता पर्दैन र ?
कसलाई के पद दिएपछि मिल्छ भन्ने ? कसले पाएपछि सन्तुलन मिल्ने हो ? फेरि सबैले पद चाहिन्छ भनेपछि के गर्ने ? एउटालाई पुगे अर्कोलाई पुग्दैन । त्यसपछि पद कसलाई भाग लगाउने ?
उसो भए शीर्ष नेताहरूको सन्तुलन मिलाउने विधि के हुन सक्छ ?
छलफल गर्दै गएपछि 'यसो भएपछि म चुप लाग्छु' भन्नुभयो भने कुरा मिल्ला । म व्यक्तिगत रूपमा चारजना नेताले शक्ति बाँडफाँडको भाग लगाएर हँुदैन । चार जनाको एकतामा मात्र
हुँदैन । यो विधि, पद्धतिविपरीत कुरा हो । चारजना मिलेर खाने हो भने अरू चारजना मिलेर खाने कि नखाने ? अर्काले पनि त्यही खेती सुरु गर्छ । चारजनाबाहेक अरू पनि पार्टीमा योगदान गरेका व्यक्ति छन् । मिल्ने बिन्दु भनेको सहमति गरेर, कुरेर बस्ने हो । अरूले विश्वास नगरुन्जेल प्रतीक्षा गर्नुपर्यो ।
अध्यक्ष झलनाथ खनालले नेता केपी शर्मा ओलीलाई दल नेताका लागि छाडेर सहमति गरे हुन्न ?
म त्यो सम्भावना देख्दिनँ । उहाँ (अध्यक्ष) ले छाड्नुभयो भने अर्को कोही उठिहाल्छ नि । एउटाले अर्कोलाई छाडेर आकांक्षा समाप्त हुन्छ र ?
दलका नेताको चुनाव भयो भने अध्यक्ष खनालको अवस्था कस्तो होला ?
हार्ने भए अध्यक्ष चुनावमा जाने कुरा हुँदैन । जित्नलाई चुनावमा जाने हो ।
नेता ओलीलाई कुनै ठाउँ नदिएको आरोप छ नि ?
म विभिन्न सञ्चारमाध्यममा देख्छु, एमालेको शक्तिशाली नेता उहाँ (ओली) लाई भनेको सुन्छु । केही पनि नभए त्यो किन पद पाएको त ?
पार्टीको आउँदो महाधिवेशन र संसदीय दलको नेता चयनबीच सम्बन्ध छ ?
सम्बन्ध अलिअलि हुन सक्छ । महाधिवेशन आउन लागेको हुनाले अलिअलि त्यसको पूर्वाभ्यास हुन सक्छ । तर, महाविधेशन नआएको भए पनि यही अवस्था हुन्थ्यो ।
महाधिवेशन नजिक आएको हुनाले दल नेता चयन जटिल भएको हो ?
मलाई त्यस्तो पनि लाग्दैन । कुनै न कुनै रूपले आउँथ्यो । तर, यो विषय सल्टिन्छ । हाल स्थायी समितिले चुनावबाट दल नेता छान्ने निर्णय गरेको छ । अब केन्द्रीय समितिका सदस्यहरूले कसरी धारणा राख्छन्, त्यसले निर्धारण गर्ला । केन्द्रीय समितिले भोट नगरेर दलको नेता चयन गर्ने निर्णय गर्यो भने पनि कसैले म उठ्छु भन्दा पाउँछ । हाम्रो पार्टी लोकतान्त्रिक छ । हाम्रा महाधिवेशन र कमिटीहरूमा चुनाव भइरहेका छन् भने संसदीय दलमा चुनावमा जान्छु भने रोक्न सक्दैनौ ।
अध्यक्ष खनालले निर्वाचनमा तेस्रोबाट दोस्रोमा ल्याउने श्रेय लिँदै दलको नेता हुन खोज्नुभएको हो ?
तेस्रो दल हुँदा माधव नेपालले पदबाट राजीनामा दिनुभयो । दोस्रो दलमा ल्याउँदा पुरस्कृत किन नगरेको भनेर दलको नेता हुन खोज्ने मान्छेलाई तपाईंहरूले सोधेको भए राम्रो हुन्थ्यो ।
महाधिवेशनबाट पार्टी अध्यक्ष हुने आकांक्षाले दलको नेता चयनमा कुरा नमिलेको भनिन्छ नि ?
यसबारे कुनै नेताले औपचारिक प्रस्ताव ल्याएको मलाई थाहा छैन । यही मौकामा अन्तर्यमा सबै कुराको समझदारी गरौं भन्ने पनि हुन सक्छ । कोही नेताबीच पछि महाधिवेशनमा यो पद लिने/दिने हुन सक्छ ।
एक नेता एक पदको अवधारणा पनि सुनिन्छ नि ?
यसो गर्ने हो भने अर्को ढंगले जान जरुरी छ । बि्रटिस संसद्को अभ्यासमा जाने हो भने संसदीय दलको नेता जो हुन्छ, पार्टी अध्यक्ष त्यही हुन्छ । दलको नेता हारेपछि पार्टी अध्यक्षबाट हट्छ । हाम्रो यहाँ चुनावमा जनताले हराउँदा पनि संसद्मा जान तयार भएर बसेका हुन्छन् । नैतिकताको ख्याल गरिँदैन । कहिले उहाँको कुरा गर्ने, कहिले यहाँको कुरा गर्ने
हँुदैन । कि राष्ट्रपति प्रणालीमा जाआंै, कि संसदीय प्रणाली हिसाबले जाआंै, पार्टीमा पनि । संसदीय दलको नेता प्रधानमन्त्री हुने बि्रटिस प्रणाली छ, त्यसलाई मान्ने हो भने जुन दिन दल नेताबाट हार्छ, पार्टीबाट पनि हट्छ । त्यहाँ एउटै नेता बसिरहन पाउँदैन । यहाँ पार्टी 'होल्ड' गरेर बस्यो भने कहिलै छाड्दैनन् । अमेरिकामा दुई पटकभन्दा बढी बस्न नपाउने व्यवस्था भयो । कि यस्तो विधि गर्नुपर्यो कि कुनै प्रणाली अपनाउनुपर्यो । हाम्रो देशमा दुइटै प्रयोगमा आएका छैनन् । आफू नहुँदा एक नेता एक पद भन्छन्, आफू पदमा हुँदा कहाँ हुन्छ यस्तो कुरा भन्ने चलन छ ।
आउँदो महाधिवेशनमा यस्ता कुराले प्रवेश पाउँछन् ?
यो महाधिवेशनमा हामी ७० वर्षभन्दा माथिका व्यक्ति कुनै पनि पदमा नबस्ने कुरा विधानमा ल्याउँदै छौं । यो प्रणाली विकास भयो भने बिस्तारै ६५-६० वर्षमा र्झन सक्ला । म भविष्यमा के देख्छु भने यो तहका शीर्षनेताहरू बढीमा १० वर्षभन्दा रहँदैनन् । त्यसपछि नेतृत्व सधैं नेतृृत्वमा रहने भन्ने हुँदैन ।
यो महाधिवेशनमा नेतृत्व हस्तान्तरण हुने सम्भावना छ कि छैन ?
नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने छलफल गरिरहेका छौं । कुन विधिबाट गर्ने भन्नेबारे टुंगो लागेको छैन । महाधिवेशनमा हिजो हामीले चुनाव गर्यौं, त्यसका केही नकारात्मक पक्ष
रहे । त्यसले तलदेखि माथिसम्म 'प्यानल' को कुरा पनि आयो । यसको सकारात्मक कुरा के रहेछ भने नयाँ व्यक्ति ओहोदामा आउने परम्परा भयो । यसको फाइदा-बेफाइदा धेरै छ । प्यानलले गुटबन्दी भयो, तर नयाँ मान्छे आउन भर्याङ बन्यो ।
महाधिवेशनले नेतृत्व हस्तान्तरणको सूत्र मात्र पहिल्याउँछ कि कार्यान्वयनमै जान्छ ?
दुइटै सम्भावना छ । सूत्र पहिल्याएर अर्कोपटक कार्यान्वयनमा जाने पनि हुन सक्छ, या कार्यान्वयनमा गइहाल्ने पनि हुन सक्छ ।
महाधिवेशन वैशाखमै हुन्छ ?
समय छोटो छ । तर छोटो समयमा महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा छौं । कतिपयले हिजो संस्थापन पक्षसँग नेताले महाधिवेशन गर्न चाहँदैनन् भन्ने तर्क सुन्छु । त्यो होइन, म छिटो महाविधेशन होस् । मिति गुज्रेको स्थायी समितिमा राख्न तयार छैनौं ।
महाधिवेशनमा 'जनताको बहुदलीय जनवाद’ लाईर् नयाँ ढंगले व्याख्या गर्ने तयारी पनि भएको हो ?
जनताको बहुदलीय जनवाद -जबज) को आआफ्नो ढंगको व्याख्या होइन, सही व्याख्या हुनुपर्छ भनेको हो । हामी जबजकै हिमायती हांै, मागदर्शन बनाइसक्यौं । यसबारे एउटै धारणा हुन आवश्यक छ । एउटा रोगलाई विभिन्न रोग देखेजस्तो जबजलाई फरकफरक ढंगले बुझ्नु भएन । नेपाली समाज यतिखेर कहाँ छ ? कहाँ जाँदै छ ? त्यस कुराले क्रान्तिका सहभागी शक्तिहरू, खेल्नुपर्ने भूमिकाहरू, लक्ष्यहरू र परिवर्तनका लागि गर्नुपर्ने कुराहरू निर्धारण हुन्छ । गन्जागोल हुनु हँुदैन । अहिलेसम्म गन्जागोल भयो ।
नेपाली समाजलाई २००६ सालमा पुष्पलालले अर्धसामन्ती/अर्धऔपनिवेशिक भन्नुभयो । राजतन्त्रले सामन्तवादको प्रतिनिधित्व गथ्र्यो । आज गणतन्त्र आइसक्यो, नेपाली समाजलाई जहाँको त्यहीं राखेर व्याख्या गरेको सुन्छु । राजतन्त्र त्यसै गएको हो ? अर्को पक्ष बलशाली नभएको भए राजतन्त्र ढल्दैनथ्यो । पुँजीवादी समाजमा रूपान्तरित भयौं भन्नेबित्तिकै युरोप, अमेरिकाको जस्तो हुनुपर्छ भन्ने छैन । फरकफरक भए पनि मुलुकको आधारभूत चरित्र एउटै हुन सक्छ ।
प्रसंग बदलौं, राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनबारे एमालेले अरू दलसँग के छलफल गरिरहेको छ ?
अन्तरिम संविधानले के परिकल्पना गरेन भने संविधानसभाको निर्वाचन फेरि गर्नुपर्ला । नयाँ संविधान बन्छ, संविधानबमोजिम अन्य निकायका चुनाव हुने छन्, राष्ट्रपतिको चुनावको कुरा पनि त्यसले निश्चित गर्छ भन्ने ठानियो । अहिले परिस्थिति त्यस्तो रहेन र संविधानसभाको चुनाव फेरि गर्नुपर्यो । यसकारणले गर्दा संविधानमा राष्ट्रपतिको निर्वाचनबारे अस्पष्टता रह्यो । छलफल गर्दै जाँदा संविधान एक वर्षमा निर्माण हुन्छ, त्यसपछि राष्ट्रपति परिवर्तन गर्ने कुरा आयो भने त्यो विषयमा कुरा गर्न तयार
छौं । अहिलेकै राष्ट्रपतिलाई स्वीकार गर्दा पनि संविधानसभाले पुनः स्वीकार गर्नुपर्यो भने पुनः चुनावजस्तै हुन्छ । संविधान जारी भएपछि संविधानसभा संसद्मा रूपान्तरण हुनुअघि एकपटक राष्ट्रपतिको चुनाव गर्ने बीचको बाटो पनि हुन सक्छ ।
सरकार बनाउन तपाईंहरूको माग पूरा हुनैपर्ने हो र ?
सहमति त हुनैपर्यो नि । तर, यसमा मेरो गोरुको बाह्रै टक्का गर्नु हँुदैन । मेरो पार्टीको हिजोका सदस्य राष्ट्रपति भनेर अडान लिन जरुरी छैन । हामी राष्ट्रपतिलाई पूरा सम्मान गर्छौं, किनभने उहाँ हाल कुनै पार्टीको सदस्य होइन । यो स्थितिमा राष्ट्रपतिको मुद्दा यो कांग्रेसको हो, एमालेको होइन भन्नु ठीक होइन । एमालेको पनि उत्तिकै सरोकारको विषय हो ।
तपाईंहरू आआफ्नो अडानमा रहनुभयो भने कुरा कसरी मिल्छ ?
सहमतिमा कहीं न कहीं पुग्नैपर्छ । समाधान भनेको दुवैले बीचको बाटो रोज्ने नै हो । 'प्याकेज' मा सहमति हुनुपर्छ, भएन भने मुलुकले दुःख पाउँछ । दुःख पाउनेमा कांग्रेस पनि हुन्छ । सरकार बनाइहाल्यौं अनि राष्ट्रपति निर्वाचनको कुरा पछि गरौं भन्ने हँुदैन ।
राष्ट्रपतिका विषयमा सहमति भएन भने एमाले सरकारमा सहभागी हुन्छ कि हुँदैन ?
यो सरकारमा सामेल हुने/नहुने प्रश्नै भएन नि । राजनीतिमा सहमति नहुने, सरकारमा सहभागी हुने हुन्छ र ?
- See more at: http://www.ekantipur.com/np/2070/10/19/full-story/383534.html#sthash.Obtep4O9.dpufप्रकाशित मिति: २०७० माघ १९/ kantipur daily
No comments:
Post a Comment