Pages

Sunday, July 20, 2014

'म्यान अफ द' महाधिवेशन

शिखर चढ्नु ठूलो कुरा होइन । तर शिखरको चुलीमा बसिरहनु कठिन काम हो । विष्टले राजनीतिक शिखर चुम्दैछन् । तर त्यो शिखरको चुलीमा टिकिरहन सक्छन् कि सन्दैनन्, त्यो उनका लागि ठूलो चुनौती हो । समाजले जहिले पनि कुनै न कुनै 'हिरो' खोजिरहन्छ । तर अलिकति तलमाथि हुनेबित्तिकै 'हिरो' हरू  'भिलेन' बनेका उदाहरण पनि छन् । पार्टीभित्र गुटबन्दी झाँगिएको छ । राष्ट्रिय राजनीति अझै 'ट्रयाक' मा छैन । यस्तो अवस्थामा गुटबन्दी समाप्त पार्नेदेखि राष्ट्रिय राजनीतिमा उनले के भूमिका खेल्छन् अन्य नेतासँगै विष्टको पनि परीक्षा हुनेछ ।

एमाले मुख्यालय बल्खुमा बिहीबार नवौं महाधिवेशन समापन कार्यक्रम थियो । निर्वाचितहरूलाई बधाई र शुभकामना दिनेको भीडभाड बाक्लो थियो । त्यही भीडमा अरूको भन्दा विशेष बधाई पाउने पात्र थिए- नवनिर्वाचित सचिव गोकर्ण विष्ट । अधिकांशको आँखा उनीमाथि थियो । बधाई दिनेहरूले अँगालो मार्दै भनिरहेका थिए- 'ल है कमरेड तपाईंलाई विशेष बधाई छ, राम्ररी अघि बढ्‌नुहोला ।' बधाईको साथमा उनीसँग एक क्लिक फोटो खिच्न चाहनेहरूको पनि कमी थिएन । बिहीबार करिब साढे ४ बजे पार्टी कार्यालयबाट जब उनी बाहिर निस्किए, रिङरोडसम्म पुग्दा पनि फोटो सेसन गराउन चाहनेहरूबाट उनले छुटकारा पाएनन् । महाधिवेशनबाट धेरैले विजय हासिल गरे तर विष्ट यति धेरै विशेष बधाई र चासोका पात्र बन्नुको कारण हो- उनले पाएको लोकप्रिय मत । महाधिवेशनमा अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्यदेखि अनुशासन र लेखा आयोगका अध्यक्ष, सदस्यसम्म गरी ४ सय १२ उम्मेद्वार थिए । तीमध्ये सबैभन्दा बढी १२ सय ७० मत विष्टले ल्याए । विष्टको पार्टी बाहिर एकढंगको 'राजनीतिक सेलिब्रिटी' को छवि थियो । एमालेको महाधिवेशनमा पाएको सबैभन्दा बढी मतले पार्टीभित्र पनि उनी लोकप्रिय छन् भन्ने स्थापित भएको छ ।
यसपटकको महाधिवेशनमा एमालेभित्र तीव्र गुटबन्दी र धु्रवीकरण भयो । अध्यक्ष केपी ओली र माधव नेपालका दुई समूहका प्यानल चुनावी प्रतिस्पर्धामा थिए । दुवै समूहले निर्वाचनअघि महाधिवेशन प्रतिनिधिहरूलाई 'अर्को पक्षलाई मत दिनेलाई पछि पनि सहयोग गर्न सक्दैनौं' भन्नेसम्मको कडा फर्मान जारी गरेका थिए । एक पक्षको मत अर्कोमा नजाओस् भन्ने उद्देश्यले नै मतपत्रमा समेत प्यानलको नाम छुट्टाछुट्टै राखिएको थियो । यति धेरै गुटबन्दी भएको अवस्थामा पनि विष्टले आफ्नो प्यानलभन्दा बाहिरको धेरै मत प्राप्त गरे । विष्ट नेपाल नेतृत्वको प्यानलबाट सचिवका उम्मेदवार थिए । अध्यक्षका उम्मेदवार नेपालको भन्दा विष्टको २ सय ६७ मत बढी आयो । यसको अर्थ उनलाई अर्को प्यानल पक्षधर प्रतिनिधिले पनि रुचाए । यस्तो क्रस भोटिङ अन्य उम्मेदवारहरूमा पनि भएको छ । तर विष्टले भने अरू सबैलाई उछिने । 'बाध्यताले हामी प्यानल प्रतिस्पर्धामा जानुपर्‍यो, यो गलत कुरा थियो,' विष्टले भने, 'तर आम प्रतिनिधिहरूले ममाथि विश्वास र भरोसा दिनुभयो ।'पार्टीमा पाएको यो लोकप्रिय मतको पछाडि उनको विगतले काम गरेको छ ।  

कोही व्यक्ति पटकपटक मन्त्री भएका छन्, तर गुमनाम छन् । स्वच्छ छवि भएका पनि मन्त्री पदमा पुगेपछि गन्हाएर फिर्ता भएका छन् । तर विष्ट त्यस्ता व्यक्ति हुन्, जो मन्त्री बनेपछि 'लाइमलाइट' मा आए । झन्डै साढे तीन वर्षअघि तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा विष्ट ऊर्जामन्त्री थिए । तर विष्टले अरूको भन्दा पृथक् छवि बनाए । मन्त्री हुनुअघि पार्टीभित्र मात्र सीमित रहेका उनको मन्त्री बनेपछि छोटो समयै गरेका केही उदाहरणीय कामले लोकपि्रयता ह्वात्तै बढ्यो । 'मन्त्री हुँदा छोटो समयमा नै उहाँले जुन कामको थालनी गर्नुभयो, त्यसले धेरैलाई आशा जगायो,' विष्टले आफ्ना राजनीतिक गुरु मान्दै आएका विद्वान् मोदनाथ प्रश्रतिले भने, 'पार्टीभित्रका साथीहरूले पनि उहाँमा सम्भावना देखेर मन पराएका हुन भन्ने मेरो बुझाइ छ ।'
हुन त विष्ट जम्मा ४ महिना ३ दिनमात्र मन्त्री भएका थिए । तर काम गर्ने इच्छाशक्ति हुने हो भने सुधारका लागि लामो समय चाहिँदैन भन्ने उनले पुष्टि गरिदिए । ऊर्जा क्षेत्रमा धेरै सुधारका प्रयास विष्टले गरेका थिए । विद्युत् चुहावटलाई रोक्ने प्रयास गरे । वर्षौंदेखि झोलामा खोला राखेर हिँड्नेहरूको लाइसेन्स खारेज गरी प्रतिस्पर्धाको आधारमा लाइसेन्स दिने विधि स्थापित गरे । विद्युत् प्राधिकरणभित्र हुने राजनीतिक हस्तक्षेप बन्द गर्न प्राधिकरणको कार्यकारी निर्देशक प्रतिस्पर्धाको आधारमा चयन गर्ने परिपाटी थाले, मन्त्री प्राधिकरणको अध्यक्ष हुने प्रणाली खारेज गरे । विभिन्न व्यक्तिले हडपेका जमिन प्राधिकरणको मातहत ल्याउने प्रयास गरे । सरकारी निकायहरूले नै वर्षौंदेखि विद्युत् महसुल नतिर्दा प्राधिकरण घाटामा थियो । विष्टले मन्त्री भएपछि महसुल नतिर्ने सरकारी कार्यालयको बक्यौता उठाए । नतिर्ने सरकारी कार्यालयको आफैंले लाइन काटिदिए । जुन काम वर्षौंदेखि अरू मन्त्रीले गर्न सकेका थिएनन् । त्यस्ता काममा विष्टले हात हाले, जुन कामबाट सर्वसाधारणको वाहवाही पाए ।
हुन त कतिपयले 'सस्तो लोकपि्रयता' भनेर विष्टको आलोचना पनि  गर्छन् । मन्त्री भएर विद्युत् लाइन काट्दै हिँडेको प्रसंगलाई हिन्दी सिनेमा 'नायक' मा अनिल कपुरले खेलेको भूमिकासँग पनि तुलना गरिदिए । तर जहाँ पद्धति राम्रो छ, त्यहाँ विधिले काम गर्छ । तर पद्धति नै राम्रो नभइसकेको ठाउँमा विधिले काम गर्दैन । त्यसैले सरकारी निकायको विद्युत् लाइन काट्न मन्त्री आफैं फिल्ड खटिनु पनि त्यसैको उपज भएको विष्ट बताउँछन् । मन्त्री भएका बेला विष्टमाथि पार्टीभित्र र बाहिर दुवैबाट दबाब पनि आएका थिए । पार्टीको पक्षमा काम नगरेको, पार्टीका सुझावलाई ख्याल नगरेको भन्दै विष्टमाथि तीव्र आलोचना पनि भएको थियो । तर उनले एउटा पार्टीमात्र होइन, मुलुकको मन्त्री हो भन्ने भुलेनन् । 'पार्टीभित्र कोही युवा अघि बढ्यो भने आफ्नो ठाउँ खोसिने हो कि भन्ने डर राख्नेहरू पनि हुन्छन्, त्यस्ता व्यक्तिले राम्रो कामलाई पनि राम्रो भन्न हिचकिचाउँछन्,' प्रश्रति भन्छन् ।
हाल गुल्मी क्षेत्र ३ बाट संविधानसभामा निर्वाचित विष्ट राजनीतिलाई जनताको जीवन बदल्ने साधनका रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्छन् । त्यसैले जुन स्थानमा जे अवसर आउँछ त्यसलाई जनताको पक्षमा प्रयोग गर्नुपर्ने उनको विचार छ । यही आदर्शबाट प्रेरित भएर उनी २०३५/३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । मध्यम वर्गीय परिवारमा हुर्केका उनले पञ्चायती कालदेखि नै राजनीतिक अधिकार प्राप्तिका लागि संघर्ष गरे । समाजको गरिबी र शोषण देख्दा उनको मन चिमोटिन्थ्यो । त्यसैले कम्युनिस्ट विचारधाराले उनलाई आकषिर्त गर्‍यो । २०४६  सालको जनआन्दोलनमा उनी राजधानीमा अनेरास्ववियुका तर्फबाट  आन्दोलन हाँक्ने मोर्चामा संलग्न थिए । विद्यार्थी संगठनबाट उनी युवा फाँटमा काम गर्दै तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको महासचिव हुँदै दुईपटक अध्यक्ष बने । २०५१ सालको एमालेको नौ महिने सरकारका पालामा समाज कल्याण परिषद्को कोषाध्यक्ष बनेका उनी २०५६ सालमा गुल्मीबाट सांसद भए । २०५९ सालको जनकपुरमा भएको सातौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यका रूपमा पार्टीको केन्द्रीय निकायमा विष्टको प्रवेश भएको थियो । त्यसपछि २०६४ को आठौं महाधिवेशनमा केन्द्रीय सदस्य हुँदै यसपटक लोकपि्रय मतका साथ पार्टीको पदाधिकारी नै बन्न सफल भएका छन् ।
व्यवस्थापनमा स्नातकोत्तर, कानुनमा स्नातक औपचारिक शिक्षा भएका ४८ वर्षीय विष्ट नरम बोल्छन् । हत्तपत्त अरूलाई बिझाउँदैनन् । महाधिवेशनकै सन्दर्भमा यसपटक धेरै गुटका भेला भए, सार्वजनिक रूपमा नै नेताहरू एकअर्कालाई खुइल्याउने गतिविधिमा पनि संलग्न थिए । तर विष्टले आफ््नो भाषण कुनै नेता लक्षित अभिव्यक्ति दिएनन् । संविधानसभाको चुनावका बेला विपक्षीहरूले उनीमाथि गालीगलौजका भाषण दिन्थे । विष्ट त्यसको नरम रूपमा प्रतिवाद गर्थे । मृदुभाषी, सरल शैली भए पनि पार्टीभित्रको आन्तरिक गुटबन्दीमा विष्टको नाम पनि एउटा पात्रका रूपमा बाहिर आउने गर्छ । पार्टीको आन्तरिक लाइनअनुसार विष्ट सधैं माधव नेपाल र झलनाथ खनालको निकट रहेका नेता हुन् ।
लामो राजनीतिक र राजकीय कामको अनुभवले विष्टलाई धेरै काम गर्न सकिन्छ भन्ने विश्वास पलाएको छ । इमानदार प्रयास गर्ने हो भने धेरै सुधार गर्न सकिन्छ भन्ने आत्मबल उनीमा छ । 'हिजो पञ्चायतकाल हामीले नारा जुलुस विरोध नै राजनीति हो भन्ने सिकायौं अब राजनीतिले नयाँपन दिन, सिर्जना र सकारात्मक काममा अगुवाइ गर्न जरुरी छ,' परिवर्तन सम्भव छ' भन्ने नारा अघि सारेका विष्ट भन्छन् । शास्त्रीय ढंगको राजनीतिले अब जनतालाई प्रभावित पार्न नसकिने बुझाइ विष्टको छ । 'जनताको आर्थिक, जीवन रूपान्तरणमा केन्दि्रत हुनुपर्छ,' उनी भन्छन्, 'त्यो नहुने हो भने राजनीतिले ठोस योगदान गर्न सक्दैन ।'  
भनिन्छ, शिखर चढ्नु ठूलो कुरा होइन । तर शिखरको चुलीमा बसिरहनु कठिन काम हो । विष्टले राजनीतिक शिखर चुम्दैछन् । तर त्यो शिखरको चुलीमा टिकिरहन सक्छन् कि सन्दैनन्, त्यो उनका लागि ठूलो चुनौती हो । समाजले जहिले पनि कुनै न कुनै 'हिरो' खोजिरहन्छ । तर अलिकति तलमाथि हुनेबित्तिकै 'हिरो' हरू  'भिलेन' बनेका उदाहरण पनि छन् । पार्टीभित्र गुटबन्दी झाँगिएको छ । राष्ट्रिय राजनीति अझै 'ट्रयाक' मा छैन । यस्तो अवस्थामा गुटबन्दी समाप्त पार्नेदेखि राष्ट्रिय राजनीतिमा उनले के भूमिका खेल्छन् अन्य नेतासँगै विष्टको पनि परीक्षा हुनेछ ।

No comments:

Post a Comment