Wednesday, February 5, 2014

ओली-गौतम गठबन्धन


gautam-oli
काठमाडौ, माघ २० - पार्टीमा नयाँ नेतृत्व कि पुरानैको निरन्तरता भन्ने मुद्दालाई लिएर एमालेमा नयाँ धु्रवीकरण भएको छ । झन्डै १५ वर्ष पार्टी नेतृत्व गरेका वरिष्ठ नेता माधव नेपालले फेरि अध्यक्षको आकांक्षा राखेपछि एमालेको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आएको हो । लामो समयदेखि विपरीत ध्रुवमा रहेका नेता केपी ओली र उपाध्यक्ष वामदेव गौतम शनिबारबाट एक ठाउँमा पुगेका छन् । महासचिव ईश्वर पोखरेल पनि उनीहरूकै पक्षमा छन् । ओली-गौतम-पोखरेल पक्षको उद्देश्य संसदीय दलको नेतादेखि आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्वमा नयाँ व्यक्ति लैजाने हो ।
अध्यक्ष खनाल र वरिष्ठ नेता अर्को कित्तामा छन् । खनाल र नेपालको संसदीय दल र महाधिवेशनबाट आफैं पार्टीको नेतृत्वमा दोहोरिने योजना छ ।
प्रमुख नेताहरूबीच संसदीय दलको नेतादेखि पार्टीका भावी अध्यक्ष र अन्य पदमा चार नेताको व्यवस्थापन गर्नेबारे लामो छलफल भएको थियो । तर छलफलमा एउटै पदमा दुई नेताले आफ्नो दाबी नछाडेपछि ध्रुवीकरणको अवस्था आएको हो ।
संसदीय दलको नेतामा अध्यक्ष खनाल र नेता ओली, भावी अध्यक्षमा वरिष्ठ नेता नेपाल र नेता ओलीले आकांक्षा देखाएका थिए । सहमतिका लागि एकले अर्कालाई छाड्न तयार नभएपछि नेतृत्व हस्तान्तरण कि पुरानै निरन्तरता भन्ने मुद्दा अघि आएको हो ।
एउटै व्यक्तिले दोहोर्‍याई/तेहेर्‍याई गर्दा नेतृत्व विकासको अवसर नहुने मत पार्टीभित्र बलियो बन्न थालेको थियो । त्यसलाई 'क्यास' गर्दै ओली र गौतमले नयाँ समीकरण बनाएर जाने निष्कर्षर् निकालेका हुन् ।

एमालेमा अध्यक्ष झलनाथ खनाल पटक-पटक गरी झन्डै १३ वर्ष र वरिष्ठ नेता नेपालले १५ वर्ष प्रमुख पदमा बसेर पार्टी चलाएका छन् । दुवै नेता प्रधानमन्त्री पनि भएका छन् । पटक-पटक अवसर पाएका नेताले संसदीय दलदेखि पार्टीको प्रमुख हुने आकांक्षा राखेको भन्दै ओली र गौतम असन्तुष्ट बनेका हुन् । खनाल र नेपालकै समकालीन नेता ओली र गौतम दुवै पार्टी र सरकारको प्रमुख पदमा पुगेका छैनन् ।
एजेन्डा मिलेपछि गौतम र ओलीले शनिबार राति आन्तरिक सहमति गरेका हुन् । सहमतिअनुसार तत्काल गौतमले संसदीय दलको नेतामा नेता ओलीलाई समर्थन गर्नेछन् । पार्टीभित्र 'एक व्यक्ति एक पद' को नीति लागू गर्ने सैद्धान्तिक सहमति पनि दुई पक्षबीच भएको छ । यो सिद्धान्तअनुसार वैशाखमा प्रस्तावित महाधिवेशनबाट नेता ओली अध्यक्षमा उठ्ने छन् र अध्यक्ष बनेको अवस्थामा ओलीले संसदीय दलको नेताको पद छाड्ने छन् । त्यसपछि खाली हुने संसदीय दलको नेतामा गौतमलाई अघि सार्ने योजना छ । तत्काल गौतमले सहमतिको सरकारको नेतृत्व गरेर जाने र महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षको रूपमा पार्टीभित्र रहने दुई पक्षको सहमति छ ।
यदि ओली अध्यक्ष हुँदाहुँदै कुनै कार्यकारी पदमा जाने अवस्था आयो भने त्यसबेला पार्टीको कार्यवाहक अध्यक्ष गौतमलाई दिनेे सहमति दुई पक्षबीच भएको छ ।
नेता ओली र गौतमबीच समीकरण बनाउन झन्डै १५ दिनदेखि लगातार पहल भइरहेको थियो । यो बीचमा दुवै नेताले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपालबीच सर्वसम्मतिका लागि भन्दै छुट्टाछुट्टै पहल गरेका थिए । सहमति नभएपछि उनीहरूबीच शनिबार गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा नयाँ समीकरण बनाउने सहमति भएको हो । शनिबारको बैठकमा केपी ओली, उपाध्यक्ष विद्या भण्डारी, महासचिव पोखरेल, सचिव विष्णु पौडेल, पोलिटब्युरो सदस्य मुकुन्द न्यौपाने सहभागी थिए । उपाध्यक्ष वामदेव गौतम पक्षका बलराम बाँंस्कोटा, हरि पराजुली, केशवलाल श्रेष्ठ, यामलाल कँडेल, किरण गुरुङ, दलबहादुर सुनार, सभासदहरू रवीन्द्र अधिकारी, निर्मल सुवेदीलगायत नेता पनि बैठकमा थिए ।
ओली र गौतमको समीकरण बनाउन महासचिव पोखरेल, सचिव विष्णु पौडेललगायत नेताहरूले पहल गरेका थिए । महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुनुपर्नेे मुद्दा अघि सारेर उनीहरूले दुई नेतालाई एक्लाएक्लै र संयुक्त राखेर छलफल गरेका थिए ।
'नेतृत्व सहज रूपमा हस्तान्तरण हुनुपर्छ भन्ने मतलाई यो सहमतिले बलियो बनाएको छ, यसलाई सबैले सहज रूपमा लिनुपर्छ,' महासचिव पोखरेलले कान्तिपुरसँंग भने, 'हरेक नेताले नेतृत्वमा परीक्षित हुने अवसर पाउनुपर्छ ।' राजकीय र पार्टीका अवसरहरूलाई इतिहास, योगदान र रुचि हेरेर व्यवस्थापन गर्नुपर्ने पोखरेलले बताए ।
एमालेमा पछिल्लो समयमा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता नेपाल संसदीय दलको नेता र आगामी महाधिवेशनलाई लक्षित गरेर एक ठाउँमा उभिएका छन् । उपाध्यक्ष गौतमलाई पनि लिएर जाने उनीहरूको योजना थियो । वरिष्ठ नेता नेपालले खनाललाई संसदीय दलको नेतामा सहयोग गर्ने र खनालले आउँदो महाधिवेशनमा नेपाललाई अध्यक्षमा समर्थन गर्ने योजनासहित उनीहरूको समीकरण बनेको थियो । खनाल, नेपाल र ओलीबीचको समीकरणमा निणर्ायक मानिएका गौतम केही समय मौन बसेका थिए । शनिबारको सहमतिले गौतम ओली कित्तामा पुगेका छन् ।
'मुद्दामा आधारित भएर आन्तरिक समझदारी बनेको हो, पदका लागि होइन,' शनिबारको सहमतिमा संलग्न गौतम पक्षका नेता यामलाल कँडेलले भने, 'एउटै ठाउँमा जाम भएको नेतृत्वलाई खुलाउन यसले मद्दत गर्छ ।' यो समीकरणले ओली र गौतमका लागि तत्काल पदीय लाभको अवसर जस्तो देखिए पनि दीर्घकालीन रूपमा पार्टीभित्र पद्धति निमर्ाणमा सहयोग गर्ने कंँडेलको तर्क छ । ओलीसँगको समीकरण बनाउने निर्णयमा गौतम पक्षका सबै सहमत छैनन् ।
'संसदीय दल र आउँदो महाधिवेशनलाई समेत सर्वसम्मति गरेर जानुपर्छ भनिरहेका बेला भएको सम्झौताले पार्टीभित्रको एकताको प्रयासलाई खण्डित गर्ने काम गरेको छ,' केन्द्रीय सदस्य योगेश भट्टराईले भने, 'अदृश्य खालका सम्झौता गरेर पार्टीलाई कमजोर पार्न खोजिँदै छ ।'  
सम्बन्धका उतारचढाव
नेता ओली र गौतमको सम्बन्ध उतारचढावपूर्ण छ । दुवै एमालेका पुराना नेता हुन् । उमेरमा ओलीभन्दा गौतम ४ वर्ष जेठा छन् । दुवै पार्टी, सरकार र संसदीय दलको प्रमुख बनेकै छैनन् ।
मदन भण्डारीले पाँचौं महाधिवेशनमा जनताको बहुदलीय जनवादको कार्यक्रम ल्याउँदा ओली र गौतम एकै ठाउँमा थिए । त्यसबेला गौतम र ओलीलाई भण्डारीका दायाँबायाँ हातको रूपमा समेत चित्रण गरिन्थ्यो । तर छैटौं महाधिवेशनमा आउँदा दुई नेताबीच सम्बन्ध चिसियो । महाधिवेशनमा कार्यनीतिसम्बन्धी प्रस्ताव कसले पेस गर्ने भन्नेमा ओली र गौतमबीच विवाद चुलियो । अन्त्यमा ओलीले मूल प्रस्ताव पेस गरे ।
गौतमले फरक मतको दस्तावेज लगेका थिए । महाकाली सन्धिका बेलामा ओली पक्षमा उभिए, गौतम विपक्षमा । यही विवादका कारण २०५४ सालमा गौतमले पार्टी फुटाएर माले बनाए । पार्टी एकीकरणपछि २०६९ को सातांै महाधिवेशनमा ओली र गौतमबीच सम्बन्ध सुधि्रयो । महाधिवेशनमा गौतमले ओलीको पक्ष लिए र गौतम पक्षका व्यक्तिहरूले ओलीलाई सघाएनन् । त्यसपछि ओली पक्षले पार्टीभित्र पूर्वमाले पृष्ठभूमिकाहरूलाई अलिक बढी नै कित्ताकाँट गर्न थाले ।
अवसरहरूमा पनि माले पृष्ठभूमिकालाई निषेध गर्ने खालको शैली अपनाएपछि गौतम चिढिए । २०६५ को आठौं महाधिवेशनमा यही कारण गौतम खनालको कित्तामा बसे । महाधिवेशनको पहिलो तीनवर्षे कार्यकालमा खनाल-गौतम र नेपाल-ओलीको समूह बन्यो । पार्टीभित्र तीव्र गुटबन्दी हुन थालेपछि पहिलो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको अवसर पारेर खनाल र ओलीबीच आन्तरिक एकता गराउने सूत्र खोजियो । त्यसको डिजाइनर गौतम र उनका सहयोगीहरू थिए । त्यही बेलामा ओलीलाई पार्टीको तेस्रो वरीयतामा ल्याइयो । ओलीलाई नेता मान्न आफू तयार रहेको र पार्टीको वरीयतामा आफू चौथो नम्बरको व्यक्ति हो भन्दै गौतम आफंै चर्चा गर्दै हिँडे । तेस्रो वरीयतामा ल्याउने गौतमको प्रयासबाट ओली खुसी भए । तर झन्डै एक वर्षअघिबाट खनाल र ओलीको समीकरण भत्किँदै गयो र गौतम पनि ओलीबाट टाढिए ।
संविधानसभाको निर्वाचनअघि उम्मेदवार छनोटका क्रममा खनाल र गौतमको सम्बन्ध वरिष्ठ नेता नेपालसँग नजिकियो । पार्टीभित्रका आन्तरिक जानकारहरूका अनुसार समानुपातिक सभासद छनोटका क्रममा भने गौतम र नेपाल सम्बन्ध चिसियो । नेपालले आफू पक्षधर सभासदहरू मात्र छनोट गरेको भन्दै गौतमले असन्तुष्टि जनाए । नेता नेपालले फेरि आफूलाई प्रयोग गरेर पार्टी अध्यक्ष बन्न खाजेको बुझाइ गौतमको रह्यो ।
त्यसपछि शनिबार संसदीय दलको नेतादेखि महाधिवेशनसम्म नयाँ नेतृत्व हुनुपर्ने मुद्दा अघि सार्दै ओलीसँग सम्झौता गरे ।
पार्टी एकता बिथोल्ने प्रयास: खनाल-नेपाल
काठमाडौं-अध्यक्ष झलनाथ  खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओली-गौतमको समीकरण पार्टी कमजोर पार्ने र आन्तरिक एकता बिथोल्ने प्रयास भएको टिप्पणी गरेको छ । पार्टीभित्र सर्वसम्मति गरेर जाने प्रयास भइरहेका बेला भएको सम्झौताले सहमति प्रयासमा धक्का लागेको उक्त पक्षको निष्कर्ष छ ।
अध्यक्ष खनालले संविधानसभा भवनमा संवाददाताहरूसँग दुई नेताको गठबन्धनले आफूलाई केही फरक नपर्ने बताएका थिए । उनले केन्द्रीय समिति बैठक बस्ने र त्यहींबाट संसदीय दलको नेता को बन्ने भन्ने टुंगो लाग्ने जानकारी पनि दिएका थिए ।
ओली-गौतमको समीकरण बनेपछि खनाल-नेपाल पक्षले आइतबार ललितपुरको माइलस्टोन कलेजमा छुट्टै भेला गरेको हो । केन्द्रीय समितिका नेता र केही सभासद रहेको भेलामा दुवै नेताले सम्बोधन गरेका थिए । अध्यक्ष खनालले आफू पार्टी एकतालाई कमजोर पार्न नहुने पक्षमा रहेको बताएका थिए । 'हामी विभाजन होइन आन्तरिक एकताका पक्षमा छौं,' बैठकमा उनले भने, 'परम्परालाई मिचेर जाँदा पार्टी एकता खण्डित हुन्छ ।'
अध्यक्ष खनालले नेताहरूको सम्मानजनक व्यवस्थापन हुनुपर्ने उल्लेख गर्दै कसैले बलजफ्ती गरेर जान खोजे लोकतान्त्रिक विधिअनुसार सामना गर्नुपर्ने धारणा राखेका थिए । नेपालको भनाइ पनि खनालकै जस्तो थियो ।
उनले पार्टी एकतालाई कमजोर बनाउन भित्र र बाह्य चलखेल भइरहेको उल्लेख गर्दै त्यसमा सचेत हुनुपर्ने औंल्याए । केन्द्रीय समितिको सोमबारको बैठकमा के कुरा गर्ने भन्ने पूर्वअभ्यासका रूपमा पनि छुट्टै भेला भएको थियो । केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । त्यहाँ संसदीय दलको नेता चयनदेखि महाधिवेशनबारे छलफल गर्ने एजेन्डा तय गरिएको छ । बैठकमा सर्वसम्मतिको प्रयास पनि हुनेछ । दुई पक्षको विवाद चर्किए मंगलबारका लागि तय भएको संसदीय दलको चुनाव स्थगन हुने सम्भावना छ ।
गौतमको पनि छुट्टै भेला
उपाध्यक्ष गौतमले पनि आफू पक्षधर नेताहरूसँग आइतबारै ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा छुट्टै भेला गरेका छन् । भेलामा गौतमले ओलीसँग भएको सम्झौताबारे स्पष्टीकरण दिएका थिए । उनले पार्टीभित्र नेतृत्व हस्तान्तरणको मुद्दालाई स्थापित गर्न ओलीसँग सहमति भएको उल्लेख गर्दै सहयोग गर्न आग्रह गरेका थिए । खनाल-नेपाल र गौतम पक्षको छुट्टाछुट्टै भेला तय भएपछि संविधानसभामा सभासदलाई प्रशिक्षण दिने पूर्वनिर्धारित कार्यक्रम आइतबार स्थगित गरिएको थियो । पार्टीको संसदीय विभाग प्रमुख तथा पूर्वसभामुख सुवास नेम्बाङ र पूर्वसभासद अग्नि खरेलले सभासदहरूलाई संसद् र विगतका सहमतिहरूबारे प्रशिक्षण दिने कार्यक्रम थियो ।

- See more at: http://www.ekantipur.com/np/2070/10/20/full-story/383574.html#sthash.LkBJNvj7.dpuf

No comments:

Post a Comment