- खनाल-ओली सम्बन्ध
- ओली-गौतमसम्बन्ध
1.नेपाल-ओली टकराव
'उहाँहरूबीच 'इन्टेस्ट्रको क्ल्यास' देखिन्छ', नेपाल र ओलीसँगै लामो समय एउटै पार्टीमा काम गरेका मालेका महासचिव सीपी मैनालीले भने, 'के कस्तो अभीष्टले यो चुनावी प्रतिस्पर्धा गर्नुभयो, यसका प्रभाव र परिणाम पछि देखिँदै जानेछन् ।'
दुई नेताबीच सम्बन्ध बिग्रनुको प्रमुख कारण पदीय झगडा नै हो । नेपाल र ओली दुबै आउँदो महाधिवेशनबाट अध्यक्ष हुन चाहन्छन् । नेपालको खनाललाई संसदीय दलको नेता बनाएर उनकै सहयोगमा अध्यक्ष हुने योजना थियो । त्यही योजनाका कारण उनले संविधानसभा चुनावलगत्तै पार्टीभित्रबाट भावी राष्ट्रपतिको प्रसंग आउँदा 'अझै १० वर्ष राष्ट्रपति बन्ने इच्छा छैन' भन्ने अभिव्यक्ति दिएका थिए । अध्यक्ष हुने योजना सफल पार्न उनले ओलीलाई भावी राष्ट्रपतिको 'अफर' गरेका थिए । ओली पनि 'सेरेमोनियल' पदको उधारो अफरमा किन चित्त बुझाउँथे । 'एक्जिक्युटिभ' पदकै खोजीमा रहेका ओलीले भावी राष्ट्रपति हुन नेपाललाई आग्रह गरे । दुई नेता बीचको कुरा त्यहीं बिग्रियो ।
ओली उपाध्यक्ष गौतमलाई साथ लिएर चुनावी प्रतिस्पर्धामा उत्रिए । नेपालले खनालको 'ब्याक फोर्स'को रूपमा काम गरे । ओली पक्षधर नेताहरू भन्छन्, 'अध्यक्ष खनाल आफै चुनावमा उठ्न चाहँदैनथे । नेता नेपालले उचालेर खनाललाई संसदीय दलमा उम्मेदवार बनाएका हुन् ।' त्यसैले ओलीको आक्रोश खनाल होइन, नेपालतिर केन्द्रित छ ।
नेता नेपाल ओलीले भनेजस्तो नेतृत्व हस्तान्तरण र आलोपालो गर्दै जाने सिद्धान्तसँग सहमत छैनन् । पार्टीभित्र क्षमता, योग्यताअनुसार जो पनि नेतृत्वमा पुग्न पाउनुपर्ने उनको धारणा छ । त्यसैले संसदीय दलको चुनाव चलिरहेका बेला नेपालले संवाददाताहरूसँग स्पष्ट भनिदिए- 'पार्टीको नेतृत्व गर्ने कुरा योग्यता र क्षमतामा भर पर्छ, आलोपालो भन्दै जाने हो भने पहिले बूढा र रोगीहरूलाई नेतृत्व दिँदै जानुपर्ने हुन्छ ।' आलोपालो प्रणालीमा जाँदा कम्युनिस्ट पार्टीहरू विघटनको अवस्थामा पुगेको उदाहरण नेपालले दिने गरेका छन् ।
ओली नेतृत्वमा पुग्नु भनेको पार्टीलाई अधोगतितिर धकेल्नु हो भन्ने बुझाइ नेता नेपालको छ । झन्डै १५ वर्ष पार्टीको महासचिव हुँदा नेपालको सबैभन्दा बढी आन्तरिक प्रतिस्पर्धा ओलीसँंगै भयो । झलनाथ खनाल त पहिलो संविधानसभाको चुनाव अघिसम्म पार्टीमा 'लो प्रोफाइल'मा थिए । त्यसैले मुख्य अन्तरविरोध नेपाल र ओलीबीच नै हुन्थ्यो । ओलीको भूमिका पार्टीभित्र प्रतिपक्षीजस्तो थियो । नेपालले पार्टीभित्र गुटबन्दीलाई बढावा दिने नेताको रूपमा ओलीलाई बुझेका छन् । गुटबन्दीको मानसिकताले मात्र पार्टी नचल्ने भएकाले ओली पार्टीको पहिलो नेतृत्वकर्ता हुन उपयुक्त पात्र होइनन् भन्ने बुझाइ नेपालको छ ।

