Thursday, February 6, 2014

कस्तो छ एमाले नेताहरुको सम्बन्ध ?


  • खनाल-ओली सम्बन्ध
  • ओली-गौतमसम्बन्ध 

1.नेपाल-ओली टकराव
संसदीय दलको चुनावी परिणाम सार्वजनिक भएलगत्तै गत मंगलबार एमाले अध्यक्ष झलनाथ खनाल र केपी ओली सँगै हात समातेर बाहिर निस्किए । उनीहरू दुई जनाको वरिपरि एमालेका अन्य नेताहरू टाँसिएर बसेका थिए । चुनावी परिणाम आफ्नो पक्षमा नभए पनि अध्यक्ष खनालले ओलीलाई बधाई र शुभकामना दिन कन्जुस्याइँ गरेनन् । ओलीले पनि संसदीय दल सञ्चालनमा अध्यक्षको साथसहयोगको अपेक्षा गरे । तर पार्टीका औपचारिक फोरमहरूमा सधैं शीर्ष तीन नेताको लहरमा बस्ने गरेका वरिष्ठ नेता माधवकुमार नेपाल त्यो महत्त्वपूर्ण क्षणमा थिएनन् । उनी कार्यालय हाताभित्रै बसिरहे । यो उनको असन्तुष्टिको संकेत थियो । किनकि उनलाई संसदीय दलभित्रको चुनावी परिणाम चित्त बुझेको थिएन । उनी चाहन्थे, संसदीय दलमा अध्यक्ष खनाल सर्वसम्मत चयन हुन् । ओलीले पनि खनाललाई सघाउन् । २०४८ सालदेखि चल्दै आएको पार्टीभित्रको परम्पराले निरन्तरता पाओस् । तर ओलीले नेतृत्व हस्तान्तरणको मुद्दा उठाए । त्यही नाराले उनलाई चुनाव जितायो । यस प्रकरणले एमालेभित्रको आन्तरिक लोकतन्त्रीकरणको अभ्यासलाई त मजबुत बनाएको छ, तर नेपाल र ओलीको सम्बन्धमा भने निकै ठूलो दरार उत्पन्न भएको छ । आठौं महाधिवेशनपछि  करिब एउटै समूहमा विलय भइसकेका नेपाल-ओली दुई कित्तामा विभाजित भएका छन् ।  
'उहाँहरूबीच 'इन्टेस्ट्रको क्ल्यास' देखिन्छ', नेपाल र ओलीसँगै लामो समय एउटै पार्टीमा काम गरेका मालेका महासचिव सीपी मैनालीले भने, 'के कस्तो अभीष्टले यो चुनावी प्रतिस्पर्धा गर्नुभयो, यसका प्रभाव र परिणाम पछि देखिँदै जानेछन् ।'
दुई नेताबीच सम्बन्ध बिग्रनुको प्रमुख कारण पदीय झगडा नै हो । नेपाल र ओली दुबै आउँदो महाधिवेशनबाट अध्यक्ष हुन चाहन्छन् । नेपालको खनाललाई संसदीय दलको नेता बनाएर उनकै सहयोगमा अध्यक्ष हुने योजना थियो । त्यही योजनाका कारण उनले संविधानसभा चुनावलगत्तै पार्टीभित्रबाट भावी राष्ट्रपतिको प्रसंग आउँदा 'अझै १० वर्ष राष्ट्रपति बन्ने इच्छा छैन' भन्ने  अभिव्यक्ति दिएका थिए । अध्यक्ष हुने योजना सफल पार्न उनले ओलीलाई भावी राष्ट्रपतिको 'अफर' गरेका थिए । ओली पनि 'सेरेमोनियल' पदको उधारो अफरमा किन चित्त बुझाउँथे । 'एक्जिक्युटिभ' पदकै खोजीमा रहेका ओलीले भावी राष्ट्रपति हुन नेपाललाई आग्रह गरे । दुई नेता बीचको कुरा त्यहीं बिग्रियो ।
ओली उपाध्यक्ष गौतमलाई साथ लिएर चुनावी प्रतिस्पर्धामा उत्रिए । नेपालले खनालको 'ब्याक फोर्स'को रूपमा काम गरे । ओली पक्षधर नेताहरू भन्छन्,  'अध्यक्ष खनाल आफै चुनावमा उठ्न चाहँदैनथे । नेता नेपालले उचालेर खनाललाई संसदीय दलमा उम्मेदवार बनाएका हुन् ।' त्यसैले ओलीको आक्रोश खनाल होइन, नेपालतिर केन्द्रित छ ।
नेता नेपाल ओलीले भनेजस्तो नेतृत्व हस्तान्तरण र आलोपालो गर्दै जाने सिद्धान्तसँग सहमत छैनन् । पार्टीभित्र क्षमता, योग्यताअनुसार जो पनि नेतृत्वमा पुग्न पाउनुपर्ने उनको धारणा छ । त्यसैले संसदीय दलको चुनाव चलिरहेका बेला नेपालले संवाददाताहरूसँग स्पष्ट भनिदिए- 'पार्टीको नेतृत्व गर्ने कुरा योग्यता र क्षमतामा भर पर्छ, आलोपालो भन्दै जाने हो भने पहिले बूढा र रोगीहरूलाई नेतृत्व दिँदै जानुपर्ने हुन्छ ।' आलोपालो प्रणालीमा जाँदा कम्युनिस्ट पार्टीहरू विघटनको अवस्थामा पुगेको उदाहरण नेपालले दिने गरेका छन् ।
ओली नेतृत्वमा पुग्नु भनेको पार्टीलाई अधोगतितिर धकेल्नु हो भन्ने बुझाइ नेता नेपालको छ । झन्डै १५ वर्ष पार्टीको महासचिव हुँदा नेपालको सबैभन्दा बढी आन्तरिक प्रतिस्पर्धा ओलीसँंगै भयो । झलनाथ खनाल त पहिलो संविधानसभाको चुनाव अघिसम्म पार्टीमा 'लो प्रोफाइल'मा थिए । त्यसैले मुख्य अन्तरविरोध नेपाल र ओलीबीच नै हुन्थ्यो । ओलीको भूमिका पार्टीभित्र प्रतिपक्षीजस्तो थियो । नेपालले पार्टीभित्र गुटबन्दीलाई बढावा दिने नेताको रूपमा ओलीलाई बुझेका छन् । गुटबन्दीको मानसिकताले मात्र पार्टी नचल्ने भएकाले ओली पार्टीको पहिलो नेतृत्वकर्ता हुन उपयुक्त पात्र होइनन् भन्ने बुझाइ नेपालको छ ।
ओली पार्टी र सरकारको नेतृत्व गर्ने पहिलो पदमा पुगेका छैनन् । तर उनको पछाडि ठूलो समूह हुन्छ । यसैलाई नेपाल लगायतका नेताले गुटबन्दी भन्ने गरेका छन् । हाल खनाल-नेपाल क्याम्पमा रहेका पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले दुई वर्षअघि पार्टीको केन्द्रीय समिति बैठकमै ओलीमाथि गुटबन्दीको आरोपसहितको प्रस्ताव ल्याएका थिए । तर एमालेभित्र ओलीमात्र होइन, नेपाल, खनाल र गौतम सबैका गुट चलिरहेकै छन् ।
ओली र उनका निकटहरू भने नेपाललाई पार्टीभित्र दुई नेता भिडाएर फाइदा लिन खोज्ने अवसरवादीको रूपमा चिन्छन् । कहिले खनाल, कहिले गौतमलगायतसँग भिडाएर फाइदा लिने गरेको उनीहरूको बुझाइ छ । छैटौं महाधिवेशनमा दुई नेताबीच नेपाल कसरी खेलेका थिए भन्ने प्रसंग ओलीले संसदीय दलको यही चुनावका बेला सार्वजनिक गरेका छन् । छैठौं महाधिवेशन पार्टीको मूल कार्यानीति पेस गर्ने जिम्मा ओलीलाई दिइएको थिए । तर वामदेव गौतमले पनि आफूले पेस गर्न पाउनुपर्ने माग गरे र फरक दस्तावेज लगे । त्यो फरक दस्तावेज पेस गर्न गौतमलाई भित्री रूपमा नेपालले नै उक्साएको ओली पक्षको बुझाइ छ । त्यही विवाद लगायतका कारण गौतमले एमाले फुटाए ।
आठौं महाधिवेशनपछि खनाल र ओलीबीच तीव्र गुटबन्दी भयो । पार्टी नै समाप्त हुने दिशामा लागेको भन्दै पहिलो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको बेला खनाल र ओलीबीच आन्तरिक एकताको घोषणा भयो । दुई नेता बीचको मिलनलाई नेपालले रुचाएनन् । त्यो एकता आफूलाई बाइपास गर्ने उद्देश्यले भएको बुझाइ नेपालको रह्यो । त्यसपछि विस्तारै नेपाल खनालसँग नजिकिँदै अहिले खनाल र ओलीको आन्तरिक एकतालाई भत्काएर प्रतिस्पर्धामा उतारिदिए ।
ओलीलाई पछिल्लो समय सबैभन्दा बढी रिस त्यो दिन उठ्यो, जुन दिन नेपालले फेरि अध्यक्ष बन्ने आकांक्षा सार्वजनिक गरे । गत साउनमा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालले फेरि अध्यक्षमा उठ्नसक्ने संकेत गरेका थिए ।
माधव नेपाललाई प्रधानमन्त्री बनाउनेमा ओलीको हात थियो । पार्टीभित्र झलनाथ खनाल र गौतम पक्षले नेपाल नेतृत्वको सरकारलाई असहयोग गरिरहेका थिए । सरकार विरुद्घ हस्ताक्षर 'क्याम्पेन'सम्म पार्टीभित्र चल्यो । एमाओवादी पनि सडकमा  थियो । त्यसबेला नेपाल नेतृत्वको सरकारको प्रमुख रक्षाकवच ओली नै थिए । १५ वर्ष महासचिव भइसकेको, राष्ट्रियसभा र  प्रतिनिधिसभामा विपक्षी दलको नेता हुँदै प्रधानमन्त्री भइसकेको व्यक्ति र सरकार चलाउँदाको संकटको बेला गरेको सहयोगको गुन नेपालले तिर्ने विश्वासमा ओली थिए ।  तर फेरि पार्टीको अध्यक्षमा आफैं अघि सर्न खोजेपछि नेपालसँग ओलीको मोहभंग भयो । 'उस्तै-उस्तै क्षमता, राजनीतिक योगदान, भूमिका भएको व्यक्ति एउटा पटक-पटक अवसर पाइरहने अर्को भने सधैं उसको पछि रहनुपर्ने ? ओलीले यही तर्कलाई अघि सारेका छन्, यतिबेर ।
नेपाल र ओली दुबै एमालेका पुराना नेता हुन् । ओली झापा आन्दोलनबाट उदाएका नेता हुन् भने नेपाल माले मोरङ हुँदै झापा आन्दोलन समूहमा मिलेर पार्टीमा स्थापित भएका हुन् । २०३२ सालमा नेपाल राजकाज मुद्दामा दुई वर्ष काराबासमा बसे भने ओली  लगातार १४ वर्ष । भूमिगतकालको अधिकांश समय ओली जेलमै रहे । नेपालले जेलबाहिर भूमिगत बसी संगठनमा काम गरे । नेपालले लामो समय पार्टीभित्र दोस्रो व्यक्तिको रूपमा काम गरे । सीपी मैनाली, झलनाथ खनाल, मदन भण्डारी तीनैजना महासचिव हुँदा उनी दोस्रो व्यक्ति थिए । पाँचौं महाधिवेशनमा मदन भण्डारीले बहुदलीय जनवादको कार्यक्रम ल्याउँदा त्यसको सबैभन्दा बढी पक्ष लिने व्यक्ति थिए ओली । नेपालले पनि त्यही पक्ष लिए, तर अलि ढिलो गरी  ।
'ओलीले पहिले नै समर्थन गरेका थिए, तर माधव नेपालले चाहिँ चित्त नबुझे-नबुझे जस्तोगरी यसको समर्थन गरेका हुन्',  एमालेको पाँचौं महाधिवेशनमा प्रतिनिधिसमेत रहेका विश्लेषक हरि रोकाले भने । भण्डारीको कार्यक्रम पारित भएपछि भने नेपाल र ओलीको जबजलाई हेर्ने दृष्टिकोणमा भिन्नता रहेन । सैद्धान्तिक रूपमा एकै ठाउँमा बसे । नेपाल र ओलीबीच २०५६ सालको चुनाव र सातौं महाधिवेशनको बेला पनि आन्तरिक द्वन्द्व चल्यो । नेपाल पार्टी महासचिव रहेकाले संसदीय दलको नेतामा ओलीले दाबी गरे । तर नेपालले पार्टी प्रमुख नै नेता हुने भन्दै ओलीलाई ल्याउन चाहेनन् । त्यो बेला ओलीको अहिलेजस्तो शक्ति पार्टीभित्र बनिसकेको थिएन । त्यही घटनापछि ओली एमालेमा 'स्थायी प्रतिपक्ष'को देखिन थालेको एमालेका जानकारहरूको बताउँछन् । सातौं महाधिवेशनमा ओलीले पार्टीभित्र आन्तरिक लोकतन्त्रीकरणको मुद्दा उठाएका थिए । त्यसमा नेपालले सहयोग गरेनन् । 'सातौं महाधिवेशन नभए पनि आठौंले आन्तरिक लोकतन्त्रीकरणको मुद्दालाई सर्वसम्मत पारित गर्‍यो', ओली निकट नेता रामेश्वर फुयाल भन्छन्, 'महासचिवले सहयोग गरेको भए, सातौं महाधिवेशनले नै त्यो विषय पारित गथ्र्यो ।' पछिल्लो समयमा एमाओवादीलाई हेर्ने दृष्टिकोण नेपाल र ओलीमा समान रह्यो । लोकतन्त्रको पक्षमा उनीहरू दुबै उत्तिकै प्रतिबद्घ पनि छन् ।
सार्वजनिक र पार्टी संगठनभित्र दुबै नेताको छवि फरक-फरक छ । ओलीको सबैभन्दा ठूलो शक्ति उनको वाक्कला हो । उनी आफ्नो विचार र अडानमा स्पष्ट छन् । 'केपी आफ्नो मान्यतालाई स्थापित गर्न अलिक बढी सक्रिय रहने व्यक्ति हुन्', झापा आन्दोलनमा ओलीका सहयात्री माले महासचिव मैनालीले भने, 'पछिल्लो बेलामा एमालेलाई माओवादीको प्रभावबाट अलग राख्न पनि उनको भूमिका देखिन्छ ।' नेपाल सक्रिय र समन्वयकारी नेताको रूपमा चिनिन्छन् । लामो समय उनी दोस्रो व्यक्तिको हैसियतमा बसेर कामको समन्वय गरे । 'माधव नेपाल बढी सांगठनिक र प्रशासनिक काममा चुस्त सक्रिय र सकेसम्म समन्वय गर्नसक्ने क्षमताको  व्यक्ति हो', मैनालीको बुझाइ छ । फरक क्षमताका कारण एमालेलाई आवश्यक पर्ने यी दुई नेताको टकराव यतिबेला संसदीय दलको चुनावले बढाएको छ । संसदीय दलको चुनावी जितले ओलीलाई हौस्याएको छ भने हारले नेपालको भावी अध्यक्ष बन्ने आकांक्षामा धक्का लागेको छ । व्यक्तित्वको टकरावले नेपाल र ओलीलाई कुन हैसियतमा पुर्‍याउँछ ? आगामी महाधिवेशनले फैसला गर्नेछ ।

- See more at: http://www.ekantipur.com/np/2070/10/25/full-story/383830.html#sthash.ax7RXFVj.dpuf

2.खनाल-ओली सम्बन्ध


oli-khanal
काठमाडौ, माघ २२ - एमालेमा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीको सम्बन्ध धेरै सुमधुर छैन । दुवै नेता पार्टीभित्र विगतदेखि नै आमने सामने जस्तो रहँदै आएका छन् । खनाल २०२५ र ओली २०२६ सालदेखि पार्टीमा लागेका हुन् । समकालीन भए पनि खनाल पार्टीको प्रमुखदेखि प्रधानमन्त्रीसम्म भएका छन् । ओली भने पार्टी र सरकार दुवै मोर्चामा पहिलो स्थानमा पुगेका थिएनन् । उनी यसअघि सरकारमा उपप्रधानमन्त्री, पार्टीका स्थायी समिति सदस्य र संसदीय दलमा उपनेतासम्म बनेका थिए ।
२०३९ देखि २०४६ सम्म तत्कालीन मालेको महासचिव, २०६४ को संविधानसभा चुनाव पराजयपछि महासचिव र २०६५ को आठौं महाधिवेशनबाट अहिलेसम्म अध्यक्ष गरी खनाल झन्डै १३ वर्ष पार्टीको प्रमुख भूमिकामा छन् । माले र माक्र्सवादीको एकीकरण्ाबाट एमाले बनेपछि महासचिवमा मदन भण्डारी आए । भण्डारीको उदयपछि खनालको भूमिका कमजोर भयो । भण्डारीको सहयोगीका रूपमा ओलीको पार्टीमा प्रभाव जम्यो । पाँचौं महाधिवेशनमा ओली भण्डारीले ल्याएको बहुदलीय जनवादको कार्यक्रमका पक्षमा उभिए । खनालले महासचिव सीपी मैनालीलगायतसँग मिलेर 'नौलो जनवादी' कार्यक्रम अघि सारे । महाधिवेशनले बहुदलीय जनवादको कार्यक्रम पारित गर्‍यो । त्यसपछि सैद्धान्तिक रूपमा खनाल र ओली फरक- फरक कित्तामा रहे । महाधिवेशनमा आफ्नो कार्यक्रम पारित भएपछि पार्टी प्रमुख भइसकेको व्यक्ति भए पनि खनाललाई भण्डारीले वास्ता गरेनन् । केन्द्रीय सदस्यको हैसियतमा मात्र सीमित गरिदिए ।
०५० मा मदन भण्डारीको निधनपछि एमालेमा माधव नेपाल महासचिव भए । नेपाल प्रमुख पदमा आएपछि पनि खनाल पार्टीभित्र छायामा परे । नेपालको कार्यकालमा ओली पार्टीभित्र प्रतिपक्षको भूमिकामै रहे । अघिल्लो संविधानसभा चुनावमा नेपाल र ओली दुवै हारेपछि खनाललाई फेरि नेतृत्व गर्ने अवसर जुट्यो । त्यसपछि फेरि खनाल र ओलीको टकराव सुरु भयो । २०६५ को आठौं महाधिवेशनमा अध्यक्षमा दुवै नेता भिडे । खनालले जिते । जित स्वीकारे पनि ओलीले सुरुमै फर्जी प्रतिनिधिका आधारमा जितेको भन्दै आरोप लगाए । चुनाव जितेपछि खनालले पनि ओली र उनको पक्षलाई समेटेर लानेमा ध्यान दिएनन् । ओलीले पनि खनालको जितलाई स्वीकारेर पार्टी सञ्चालनमा सहयोग गरेनन् । आठौं महाधिवेशनपछि उनीहरूबीच प्रमुख रूपमा एमाओवादीलाई हेर्ने दृष्टिकोणको विषयलाई लिएर मतभेद भयो । खनाल एमाओवादीसँग मिलेर जानुपर्ने पक्षमा रहे भने ओली एमाओवादी नभई कांग्रेससँग सहकार्य गर्नुपर्ने पक्षमा उभिए । एमाओवादीसँगको समीकरण मिलाएर खनाल प्रधानमन्त्री बने तर ओली पक्षको सहयोग भएन । प्रधानमन्त्रीकालमा एमाओवादीले पनि सहयोग नगरेपछि खनालको पनि उसलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आयो । तीव्र गुटबन्दीले पार्टी नै समाप्त हुने स्थिति आउन थालेपछि पहिलो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको अवसर पारेर खनाल-ओलीले आन्तरिक एकताको घोषणा गरे । त्यसपछि झन्डै डेढ वर्ष उनीहरूबीच धेरै विवाद भएन । तर संविधानसभाको दोस्ा्रो निर्वाचन गर्ने बेलामा उम्मेदवारी चयन र पार्टीका आउँदो अधिवेशनको विषयलाई लिएर खनाल र ओलीबीच मनमुटाव बढ्यो । यसकौ कारण मंगलबार संसदीय दलमा दुवै नेता चुनावी प्रतिस्पर्धामा उत्रिए ।



प्रकाशित मिति: २०७० माघ २२ ०८:४४
- See more at: http://ekantipur.com/np/2070/10/22/full-story/383685.html#sthash.kIFh4N5a.dpuf


3.ओली-गौतमसम्बन्ध 
नेता ओली र गौतमको सम्बन्ध उतारचढावपूर्ण छ । दुवै एमालेका पुराना नेता हुन् । उमेरमा ओलीभन्दा गौतम ४ वर्ष जेठा छन् । दुवै पार्टी, सरकार र संसदीय दलको प्रमुख बनेकै छैनन् ।
मदन भण्डारीले पाँचौं महाधिवेशनमा जनताको बहुदलीय जनवादको कार्यक्रम ल्याउँदा ओली र गौतम एकै ठाउँमा थिए । त्यसबेला गौतम र ओलीलाई भण्डारीका दायाँबायाँ हातको रूपमा समेत चित्रण गरिन्थ्यो । तर छैटौं महाधिवेशनमा आउँदा दुई नेताबीच सम्बन्ध चिसियो । महाधिवेशनमा कार्यनीतिसम्बन्धी प्रस्ताव कसले पेस गर्ने भन्नेमा ओली र गौतमबीच विवाद चुलियो । अन्त्यमा ओलीले मूल प्रस्ताव पेस गरे ।
गौतमले फरक मतको दस्तावेज लगेका थिए । महाकाली सन्धिका बेलामा ओली पक्षमा उभिए, गौतम विपक्षमा । यही विवादका कारण २०५४ सालमा गौतमले पार्टी फुटाएर माले बनाए । पार्टी एकीकरणपछि २०६९ को सातांै महाधिवेशनमा ओली र गौतमबीच सम्बन्ध सुधि्रयो । महाधिवेशनमा गौतमले ओलीको पक्ष लिए र गौतम पक्षका व्यक्तिहरूले ओलीलाई सघाएनन् । त्यसपछि ओली पक्षले पार्टीभित्र पूर्वमाले पृष्ठभूमिकाहरूलाई अलिक बढी नै कित्ताकाँट गर्न थाले ।
अवसरहरूमा पनि माले पृष्ठभूमिकालाई निषेध गर्ने खालको शैली अपनाएपछि गौतम चिढिए । २०६५ को आठौं महाधिवेशनमा यही कारण गौतम खनालको कित्तामा बसे । महाधिवेशनको पहिलो तीनवर्षे कार्यकालमा खनाल-गौतम र नेपाल-ओलीको समूह बन्यो । पार्टीभित्र तीव्र गुटबन्दी हुन थालेपछि पहिलो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको अवसर पारेर खनाल र ओलीबीच आन्तरिक एकता गराउने सूत्र खोजियो । त्यसको डिजाइनर गौतम र उनका सहयोगीहरू थिए । त्यही बेलामा ओलीलाई पार्टीको तेस्रो वरीयतामा ल्याइयो । ओलीलाई नेता मान्न आफू तयार रहेको र पार्टीको वरीयतामा आफू चौथो नम्बरको व्यक्ति हो भन्दै गौतम आफंै चर्चा गर्दै हिँडे । तेस्रो वरीयतामा ल्याउने गौतमको प्रयासबाट ओली खुसी भए । तर झन्डै एक वर्षअघिबाट खनाल र ओलीको समीकरण भत्किँदै गयो र गौतम पनि ओलीबाट टाढिए ।
संविधानसभाको निर्वाचनअघि उम्मेदवार छनोटका क्रममा खनाल र गौतमको सम्बन्ध वरिष्ठ नेता नेपालसँग नजिकियो । पार्टीभित्रका आन्तरिक जानकारहरूका अनुसार समानुपातिक सभासद छनोटका क्रममा भने गौतम र नेपाल सम्बन्ध चिसियो । नेपालले आफू पक्षधर सभासदहरू मात्र छनोट गरेको भन्दै गौतमले असन्तुष्टि जनाए । नेता नेपालले फेरि आफूलाई प्रयोग गरेर पार्टी अध्यक्ष बन्न खाजेको बुझाइ गौतमको रह्यो ।
त्यसपछि शनिबार संसदीय दलको नेतादेखि महाधिवेशनसम्म नयाँ नेतृत्व हुनुपर्ने मुद्दा अघि सार्दै ओलीसँग सम्झौता गरे ।

No comments:

Post a Comment