एमालेभित्रको जारी बहस विशुद्ध वैचारिक मन्थनमात्र होइन, यसमा पार्टीको भावी नेतृत्वको प्रतिछायासमेत देखिन्छ । विवादको कारक आउँदो महाधिवेशनमार्फत नेतृत्वमा को पुग्ने र कसले वर्चस्व कायम गर्ने भन्ने हो
- दुर्गा खनाल
राजधानीको राष्ट्रिय सभागृहमा बिहीबार खचाखच भीड थियो । 'आजको नेपाली समाज: अबको कम्युनिष्ट आन्दोलन' शीर्षकको अन्तरक्रियामा बहस गर्न उभिएका थिए- नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, एकीकृत माओवादीका नेता राम कार्कीदेखि नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीसम्म । अन्तरक्रियाका प्रमुख सूत्राधार थिए- घनश्याम भुसाल, योगेश भट्टराई लगायत एमाले नेताहरू ।
कार्यक्रमको शीर्षकले नेपालका समग्र कम्युनिष्ट आन्दोलनको बाटो के हुने भन्ने चिन्ता गर्न खोजेजस्तो देखिए पनि मूल सन्दर्भ एमालेको आसन्न नवौं महाधिवेशनसँग जोडिएको थियो । एमाले पंक्तिभित्र महाधिवेशनको मिति (जेठ २४-३०) नजिकिँदै जाँदा दोस्रो तहका नेताहरूबीच वैचारिक संघर्ष चलिरहेको छ । बिहीबारबाट यो बहसमा शीर्ष नेताहरू खनाल, नेपाल पनि सार्वजनिक रूपमा सामेल भएका छन् । महाधिवेशनमा पेस गर्ने प्रमुख राजनीतिक दस्तावेज तयारी गर्ने भित्री छलफलसमेत दिनहुँ बल्खु मुख्यालयमा चलिरहेको छ । पार्टीभित्र र बाहिरका सबै बैठक र भेला केही सैद्धान्तिक-वैचारिक विषयले तातेका छन् ।
एमालेभित्रको वैचारिक बहसको अग्रमोर्चामा स्पष्टत दुई धारहरू छन् । एउटाको नेतृत्व झलनाथ खनाल र माधव नेपालसँग निकट नेताहरूले गरिरहेका छन्, जसमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, प्रकाश ज्वाला, अरुण नेपाल, योगेश भट्टराई, विजय पौडेल लगायत छन् । अर्को धारमा दिल्लीमा उपचाररत संसदीय दलका नेता केपी ओलीसँग निकट शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायतका नेताहरू छन् । उपाध्यक्ष वामदेव गौतम भने अहिले व्यावहारिक रूपले ओली शिविरमा देखिए पनि वैचारिक बहसमा खनाल-नेपाल समूहको निकट छन् ।
बहसका प्रमुख विषयहरूचाहिँ बृहत्तर प्रकृतिका छन् । जस्तो कि प्रस्तावित राजनीतिक क्रान्तिको अवस्था, २०६२/६३ सालको जनआन्दोलन, नेपाली समाजको चरित्र र पार्टीको मार्गदर्शक सिद्धान्तलाई हेर्ने दृष्टिकोण के हुने ? आगामी कार्यक्रम कस्तो हुने ? आदि । विवादका मुद्दाहरू हेर्दा लाग्छ, एमाले सघन सैद्धान्तिक बहसमा छ, भलै त्यसको अन्तर्यमा मुख्य नेताहरूबीच वर्षौदेखि जारी व्यक्तित्व र महत्त्वाकांक्षाको टकरावसमेत जोडिएको छ ।
क्रान्ति सकियो कि जारी ?
कम्युनिष्टहरूले सधैंजसो भन्ने गरेको राजनीतिक क्रान्ति पुरा भयो कि भएन भन्नेमा एमालेका दुई धार विभाजित देखिन्छन् । घनश्याम भुसाल लगायतका नेताहरूको समूहले २०६२/६३ को जनआन्दोलनपछि राजनीतिक क्रान्ति मूलतः पुरा भएको र अब सामाजिक-आर्थिक क्रान्तिका कार्यक्रम अगाडि सारेर जानुपर्ने जिकिर गरिरहेको छ । उक्त आन्दोलनले अढाई सय वर्ष पुरानो राजतन्त्रात्मक संरचना अन्त्य गरेको र गणतन्त्र स्थापना गरेकोले राजनीतिक क्रान्ति पुरा भएको उनीहरूको तर्क छ ।
'राजनीतिक व्यवस्थाको संघर्ष आधारभूत रूपले पूरा भएको छ । अर्थात् राजनीतिक क्रान्तिको अर्थमा नेपाली क्रान्ति सम्पन्न भइसकेको छ,' नेता भुसाल भन्छन् । हाल ओली समूहमा रहेका उपाध्यक्ष गौतम पनि यो निष्कर्षप्रति सहमत छन् । 'नेपालमा पुँजीवादी क्रान्ति शान्तिपूर्ण जनक्रान्तिको रूपमा सम्पन्न भएको छ र यो संसारकै निम्ति अनुकरणीय घटना बनेको छ । अब नेपाली समाज नयाँ विशेषताले युक्त समाजवादउन्मुख भएको छ,' गौतमले हालै केही नेतामाझ छलफलका लागि वितरण गरेको 'वर्तमान राष्ट्रिय परिस्थिति र नेकपा एमालेको मार्गदिशा' शीर्षक दस्तावेजमा उल्लेख छ । यो विचारमा अध्यक्ष खनाल पनि करिब सहमत छन् । तर गत माघमा भएको संसदीय दलको निर्वाचनयता गौतमले व्यवहारतः खनालको साथ छाडेका हुन् ।