Tuesday, June 24, 2014

हँसिया हथौडा कि रातो गुलाव ?


सोसलिस्ट इन्टरनेसनलको सदस्यताको प्रस्ताव अघि बढाउनु एमालेमा वैचारिक परिवर्तनको ठूलो संकेत हो । प्रजातान्त्रिक समाजवादी धारमा 'सिफ्ट' भएको औपचारिक सन्देश अन्तर्राष्ट्रिय रूपमा लैजान एमालेका लागि यो एउटा गलितो फोरम बन्न सक्छ । जसलाई प्रयोग गर्न एमालेले चाहेको हो ।

असार ६ - वीपी कोइरालाको सयौं जन्मजयन्तीका अवसरमा गत साता राजधानीमा 'समाजवादी सम्मेलन' भइरहेको थियो । बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमकी प्रमुख अतिथि थिइन्, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुची । विश्वचर्चित नेतृको उपस्थितिले सबैको ध्यान खिचिरहेका बेला हाम्रो राजनीतिमा प्रभाव पार्ने एउटा महत्त्वपूर्ण भेटघाट भने ओझेलमा पर्‍यो । गत आइतबार ह्यात होटलमा भएको उक्त भेटघाटको प्रसंग होे- सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला र एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरूबीचको । 
सम्मेलनमै भाग लिन आएका महासचिव आयलासँग एमाले नेताहरूको छुट्टै भेटघाट राजनीतिक रूपमा विशेष अर्थपूर्ण थियो । जहाँ एमाले नेताहरूले आफ्नो पार्टीलाई 'सोसलिस्ट इन्टरनेसनल' को सदस्य बनाउन प्रस्ताव राखे । 'सोसलिस्ट इन्टरनेसनलसँग हामी सम्बन्ध बढाउन चाहिरहेका छौं र सदस्यता नै लिने विषयमा छलफल गरेका हौं,' एमाले अध्यक्ष झलनाथ खनाल भन्छन् । उनका अनुसार महासचिव आयलाले एमालेको पृष्ठभूमिबारे आफूलाई जानकारी भएको र सदस्य बन्न उपयुक्त रहेको उल्लेख गर्दै प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् । अध्यक्ष खनालसहित सचिव विष्णु पौडेल, स्थायी समिति सदस्य भरतमोहन अधिकारीलगायत उपस्थित नेताहरूलाई महासचिव आयलाले सोधे- एमालेका तीनवटा लक्ष्य के-के हुन् ? जवाफमा खनालले भनिदिए, 'हामी नेपाललगायत विश्व शान्तिको पक्षमा अग्रसर छौं, विकास र समृद्धिको बाटोमा हिंड्न र अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई सौहार्दपूर्ण रूपमा विकास गर्न चाहन्छौं ।'

सोसलिस्ट इन्टरनेसनलको सदस्यताको प्रस्ताव अघि बढाउनु एमालेमा वैचारिक परिवर्तनको ठूलो संकेत हो । प्रजातान्त्रिक समाजवादी धारमा 'सिफ्ट' भएको औपचारिक सन्देश अन्तर्राष्ट्रिय रूपमा लैजान एमालेका लागि यो एउटा गलितो फोरम बन्न सक्छ । जसलाई प्रयोग गर्न एमालेले चाहेको हो । तर अध्यक्ष खनाल विभिन्न मुलुकका राजनीतिक पार्टीहरूबीचको अनुभव आदान प्रदानका लागि  सहज हुने ठानेर मात्र सदस्यता लिन खोजेको बताउँछन् ।  
सोसलिस्ट इन्टरनेसनल प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय मञ्च हो । विश्वयुद्धको समाप्तिपछि शीतयुद्धकाल १९५० को दशकमा यो संस्था अस्तित्वमा आएको हो । हाल एक सयभन्दा बढी मुलुकका १ सय ६८ वटा राजनीतिक दल यसका सदस्य छन् । कम्युनिस्ट नामका कुनै पार्टी यसका सदस्य र पर्यवेक्षकसमेत छैनन् । नेपालबाट नेपाली कांग्रेस पार्टी मात्र यसको सदस्य छ । बीपी कोइराला आफैं नै समाजवादी आन्दोलनमा लागेर यो संस्थ्ााको उपाध्यक्ष भएका थिए । शीतयुद्धकालमा विश्व दुई ध्रुवमा विभाजित भइरहँदा युरोपेली मुलुकहरूले समाजवादी विचारधारालाई जोड दिन थाले । त्यही बेलामा अन्तर्राष्ट्रिय परिस्थितिसमेतको मूल्यांकन गर्दै बीपीले समाजवादी आन्दोलनमा हातेमालो गर्न पुगेका थिए । त्यही क्रममा उनी सोसलिस्ट इन्टरनेसनलमा आवद्ध भएका थिए । हाल कांग्रेस नेता शेरबहादुर देउवा पनि यसका उपाध्यक्ष छन् । 
कम्युनिस्टहरूले भन्ने गरेको समाजवादभन्दा फरक विचार राख्नेहरूको आन्दोलनको रूपमा सोसलिस्ट इन्टरनेसनलको जन्म भएको हो । त्यसैले कम्युनिस्ट पार्टीहरूका लागि यो संस्थासँगको आवद्धता त्यति ठूलो मोहको विषय होइन । 
एमाले अहिले पनि आफूलाई कम्युनिस्ट पार्टीकै रूपमा चिनाउन मन पराउँछ ।  गत महिना मात्र चीनको भ्रमण गरेका एमाले अध्यक्ष खनालले त्यहाँका नेताहरूलाई आफूहरू खास कम्युनिस्ट भएको विश्वास दिलाउने प्रयास गरेका थिए । नेपालमा एमाओवादी मात्र कम्युनिस्ट विचारधारामा चलिरहेको र एमाले समाजवादी कित्तामा पुगिसकेको चिनियाँ बुझाइलाई अध्यक्ष खनालले सैद्धान्तिक व्याख्यासहित प्रस्ट्याएका थिए ।  

Sunday, June 15, 2014

एमाले महाधिबेसन बहस /के छ भन्छन नेपाल र ओली ?



  • -     मेरो पालो पुगेन भनेर  गीत नगाउने, सिन्डिकेट प्रणालीमा नफसेको  व्यक्ति नेतृत्वमा पुग्नुपर्छ ।
  • -     इतिहास साक्षी छ, माधव नेपाल पदको आसक्ति र त्यसका लागि मरिहत्ते गर्ने  मान्छे होइन, यो कामकाजी, गतिशील र परिणाममुखी मान्छे हो । 
  • -     एकचोटि छोडेको मान्छे फेरि आउँदैन र ? मन्त्रीबाट राजीनामा  दिएका व्यक्ति फेरि  मन्त्री हुँदैनन् ?  
  • -     प्रतिस्पर्धा, बहुपदीयको नीति हामीले ल्याएका हौं भनेर गीत गाउने अनि प्रतिस्पर्धा गर्न खोज्दा किन नउठ्नुहोस् भन्ने ?


  •    मेरो इतिहास, योगदान र समय-समयका  वैचारिक संघर्ष र क्रियाशीलतालाई हेरेर साथीहरुले नेतृत्व गर्नुपर्छ भन्नुभएको छ ।
  •    दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहनु हुँदैन भन्ने नीति बनेको छ । त्यसैले फेरि नेतृत्व  गर्छु भन्नु त नैतिकता र नीतिका हिसाबले मिल्दैन । 
  •  नेतृत्वको भ्रूण हत्या गर्ने होइन, नेतृत्वको विकास योजनाबद्ध ढंगले, सावधानीसाथ अघि बढाउन चाहन्छु । 
  •  मन्त्री हुन्छस् कि मर्छस् भन्दा म मन्त्री हुन्नँ, बरु मर्छु भनेर कागज गर्नु सहज थियो ? तर म कहिल्यै झुकिनँ अनि मलाई राजावादी भन्ने ?
नवौं महाधिवेशनको मिति नजिकिँदै गर्दा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीचको टकराव बढ्दै गएको छ । भावी नेतृत्वका आकांक्षी दुवै नेताहरुको औपचारिक रुपमा अध्यक्षको उम्मेदवारी घोषणा भइसकेको छ । दुवै नेताका समूहहरुले जितको रणनीति बनाइरहेका छन् र एक अर्कालाई आरोप पनि लगाइरहेका छन् । पार्टीमा महत्वपूर्ण योगदान भएका यी दुवै नेताका नेतृत्वमा पुग्ने आधार र दाबीहरु केके छन् ? यसै सन्दर्भमा भावी अध्यक्षका दाबेदार नेताहरु नेपाल र ओलीसँग कान्तिपुरका दुर्गा खनालले गरेको छुट्टाछुट्टै कुराकानीको सम्पादित अंश


'प्रतिस्पर्धाको नीति ल्याएको भन्ने अनि डराउने ?'
माधवकुमार नेपाल, वरिष्ठ नेता, एमाले

  • एमालेको नवौं महाधिवेशनको महत्त्व के छ ?


संविधान जारी हुने बेला यो महाधिवेशन हुन लागेको छ । त्यसैले अब मुलुकका सामु नयाँ कार्यभार तय गर्नुपर्नेछ । हामीले पँुजीवादी जनवादी क्रान्तिको एउटा चरण पूरा गरेका छौं । राजनीति क्रान्तिको चरण पूरा गरेर आर्थिक क्रान्तिको चरणमा प्रवेश गर्दै छौं ।  जनक्रान्तिपछि सामन्तवादको अन्त्य भएको छ । यो दूरगामी महत्त्वको परिवर्तनलाई सम्बोधन गर्ने गरी महाधिवेशनले त्यही अनुरूपको नीति तय गर्नुपर्ने छ  । त्यसैले महाधिवेशन महत्त्वपूर्ण छ ।

  • महाधिवेशनले एमाले र देश नै हाँक्ने कस्तो नीति बनाउँछ त ?
महाधिवेशनले नीति र नेतृत्व टुंगो लगाउनुपर्छ । नीतिका सवालमा पहिलो कुरा  ०६२/०६३ को जनक्रान्तिले सत्तामा सामन्तवादको उपस्थितिको संचरचनामा परितर्वन पार्‍यो कि पारेन ? हामीले पार्‍यो भनेका छौं । तर केही साथीहरू द्विविधामा छन्  । त्यो पक्षमा रहेका व्यक्तिहरूको लेख पढ्नुभयो भने स्पष्ट हुनुहुन्छ । वैशाख ९ गतेसम्म उहाँ जनक्रान्ति भन्नु हुँदैन भन्ने मान्यता राख्नुहुन्थ्यो । अहिले स्वर मधुरो पार्नुभएको छ । नेपाली समाजको अर्थसामन्ती र अर्धऔपनिवेशिक चरित्र समाप्त भएको छ । समाज पुँजीवादमा प्रवेश गरेको छ । जनताको बहुदलीय जनवाद (जबज) परिपूर्ण भएको छैन  ।  कुनै पनि सिद्धान्त परिपूर्ण हुँदैन । सिद्धान्त निरन्तर विकासशील र विकासवान् हुन्छ । २२ वर्षअघि भनिएको चेतनाको स्तरबाट मात्र त्यसलाई हेर्नु हुँदैन । अहिले उठेका विषयहरूका आधारमा समृद्ध बनाउँदै लैजानुपर्छ । अहिले र भोलिका पनि सम्भावनासमेतलाई ध्यानमा राखेर त्यसलाई मार्गनिर्देश गर्ने गरी जबजलाई विकसित र परिभाषित गर्नुपर्छ  । 

  • अबको नेतृत्व कस्तो चाहिन्छ त ?
यो पार्टीलाई गतिशील, क्रान्तिकारी, नेपालको निर्माणको परिकल्पना अघि सार्ने कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा स्थापित गर्ने कि नगर्ने, भोलिको अवस्थामा उदारवादको नीति अवलम्बन गर्ने प्रतिस्पर्धा छ, यी सवाल बुझ्न सक्ने नेतृत्व चाहिन्छ । देशभित्र र बाहिरका अभिभारा सहज रूपमा पूरा गर्नुपर्नेछ । पार्टीभित्र समस्या पनि छन् । युवा पंक्तिलाई अघि बढाउनुपर्नेछ । सबै क्षेत्रमा सुयोग्य क्षमता भएका व्यक्तिलाई अघि सार्नुपर्नेछ । पुरानाको पनि मानसम्मान गर्नुपर्नेछ । कार्यकर्तालाई अराजनीतिक होइन, राजनीतिसँग जोड्दै आचरणयुक्त बनाउनुुपर्नेछ । पार्टी निर्माणको काममा भूमिका खेल्न सकोस् जनतासँगको सम्बन्ध स्थापित गर्न सक्ने होस्, जनताको सुख दु:खको साथी हुन सकोस् । विकास र उत्पादनसँग जोडिएका कार्यकर्ताहरू बनाउन सक्ने लामो अनुभव र स्पष्ट 'भिजन' नेतृत्व चाहिन्छ । मेरो पालो पुगेन भनेर गीत नगाउने, सिन्डिकेट प्रणालीमा नफसेको व्यक्ति नेतृत्वमा पुग्नुपर्छ ।

  • यो सबै काम गर्न आफू मात्र सक्षम र योग्य हुँ भन्ने तपाईंलाई लाग्छ ? 
म सक्षम छु कि छैन भन्ने मैले गीत गाउने होइन । त्यस्तो नेतृत्वको खोजी छ । त्यसैले मैले युवा पंक्तिमा त्यो सम्भावना खुबी देखेको छु । पुरानो पुस्ताका हामीले त पदका निम्ति आसक्ति नगरौं । रहर पूरा गर्नेतिर नलागौं । मैले पालो पाइनँ भन्ने कुरामा नलागौं । नयाँ पुस्तामा विश्वास गरौं भन्दै आएको छु ।

  • पदको आसक्तिमा नलागौं भन्नुहुन्छ तर आफै अध्यक्ष बन्ने दौडमा लाग्नुभएको छ, यो विरोधाभास भएन ?  
इतिहास साक्षी छ, माधव नेपाल पदको आसक्ति र त्यसका लागि मरिहत्ते गर्ने मान्छे होइन, यो कामकाजी, गतिशील र परिणाममुखी मान्छे हो भन्ने । आफू पनि यो गफमा विश्वास गर्दैन । अरूको टीकाटिप्पणी गर्दैन, कुसंस्कार बोक्दैन, अरूलाई पन्छाउँदैन, बरु सबैलाई समेटेर काम गर्छ भन्ने सबैलाई थाहै छ । महासचिवबाट मैले अक्षम भएर छोडेको हो र ? आफैं चुनाव हारेका होइनन् २०६४, २०७० मा पनि चुनाव हार्नेहरू छैनन् ? बताइदिऊँ नामको फेहरिस्त ? यो पार्टीमा  गणतन्त्रलाई सफलतामा पुर्‍याउने पहिलो व्यक्ति को हो ? फिल्डमा कार्यकर्तालाई उत्प्रेरित गर्ने केन्द्रीय कमिटीलाई लिड गर्ने को थियो ? माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने  र यो स्थितिमा पुर्‍याउनेमा कांग्रेस, एमाले र माओवादीसमेतका व्यक्तिलाई हेरौं त । ज्ञानेन्द्रसँग टक्कर लिने काम कसले गर्‍यो ? राष्ट्रियताको रक्षा र विदेशी दबाबलाई थेग्ने काम कसले गर्‍यो ? 
  • नैतिक जिम्मेवारी लिएर छोडेको हो भने किन फेरि त्यो पदमा आउन खोज्नुभएको त ? 
एकचोटि छोडको मान्छे फेरि आउँदैन र ? मन्त्रीबाट राजीनामा दिएका व्यक्ति फेरि मन्त्री हुँदैनन् ? भारतमा अटल विहारी बाजपेयी फेरि प्रधानमन्त्री भएनन् ? नैतिकता नभएका व्यक्तिहरूलाई हटाउनुपर्छ । नैतिकतायुक्त मान्छेलाई सम्मान गर्नुपर्छ । त्यो बेलाको जिम्मेवारी मैले लिएको हो । यदि त्यस्तो हो भने मलाई संविधानसभामा किन ल्याइयो, प्रधानमन्त्री अफर किन गरियो ? यो सबै पदको आसक्ति भएका मान्छले उठाएका कुरा हुन्, यसमा दम छैन । म मूल्यमान्यताको नैतिकताको राजनीति गर्नै व्यक्ति हुँ । तपाईं जनताको बहुदलीय जनवादको कुरा गर्नुहुन्छ अनि म प्रतिस्पर्धामा आउन खोज्दा किन डराउनुहुन्छ ? किन तर्सिनुहुन्छ ?  
अहिले नयाँ पुस्ताले मेरो आवश्यकता देख्यो । राजनीति क्रान्तिको नेतृत्वको भूमिका पनि मैले खेलें र अब आर्थिर्क क्रान्तिको अगुवाइका लागि साथीहरूले आवश्यकता महसुस गर्नुभएको छ ।  त्यसैले मैले एक कार्यकालभन्दा बढी बस्दिनँ भनेको छु । 

  • दुई कार्यकालभन्दा बढी नेतृत्व गरेकाले अब फेरि दाबी गर्नु वैधानिक होइन भन्ने कुरा आएको छ नि ?
यो प्रतिस्पर्धाबाट तर्सिएका र डराएकाहरूको तर्क मात्र हो । आठौं महाधिवेशनभन्दा अघिका कुनै पनि विधानहरू पुरानो मितिदेखि लागू हुँदैनन् । 'यो विधान जारी भएको मितिदेखि लागू हुनेछन्' भन्ने लेखिएको छ । म पार्टीको दोस्रो व्यक्ति रहेको हुँ, म महासचिव हुँदा मनमोहन अध्यक्ष हुनुहुथ्यो । म महासचिव मात्र थिएँ, अध्यक्ष भएको थिइनँ । प्रतिस्पर्धा, प्रत्यक्ष निर्वाचनमा जाने भन्ने अनि  त्यो अवसरबाट वञ्चित गर्न खोज्ने ? 

  • केपी ओलीको उम्मेदवारीलाई कसरी हेर्नुभएको छ ? 
कसैले पनि नेतृत्वको आकांक्षा राख्न सक्छ । उहाँलाई पनि आकांक्षा राख्ने अधिकार छ । मेरो कुनै आपत्ति छैन ।
  • समकालीन नेता तपाईं पार्टीको प्रमुखदेखि प्रधानमन्त्रीसम्म भइसक्नुभयो । उस्तै उमेर र योगदान भएका नेता केपी ओलीलाई एकपटक अध्यक्ष दिँदा के बिगि्रन्थ्यो र 
यो दयामायाको कुरा हो र ? यो निजी पकेटको कुरा हो र ? यहाँ त चुनौतीहरू जोडिएका छन् । कार्यकर्ता पंक्तिले के भनिरहेको छ, त्यो हेर्नुपर्छ । हामीले पार्टी बनाउन चाहेको हो कि अहिलेकै जस्तो आरोलो लगाउन खोजेको हो ? हामी देखिरहेका छौं ।  अवस्था कस्तो छ, संसदीय  दलकै हालत हेरे हुन्छ । प्रत्येक नेताको स्वभाव कस्तो छ,  कसरी चल्छन् भन्ने हामील्ाई थाहा छैन र ? यो त मिहिनेत गर्ने ठाउँ हो । अतिरिक्त समय दिनुपर्छ । भारतमा लालकृष्ण आडवाडीका ठाउँमा किन १५ वर्ष मुख्यमन्त्री भएका नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाइयो ? परिस्थितिको मूल्यांकन गर्नुपर्छ र त्यसअनुसार जानुपर्छ । 


  • नेतृत्व हस्तान्तरण विषयलाई तपाईंले कसरी लिनुभएको छ त ?  
नेतृत्व हस्तान्तरण युवा पुस्तामा गरौं भन्ने हो । प्रत्येक १० वर्षको ग्यापको पुस्तालाई जिम्मा दिने नीति बनाऔं । अहिले  ३६ साले पुस्तालाई जिम्मेवारी दिऔं, चिनियाँ मोडलमा जाऔं । त्यसका लागि म पछि हट्न पनि तयार छु ।

  • केपी ओली-वामदेव गौतमलगायतका नेताले सिन्डिकेट चलाउन खोजे भन्नुभएको छ, के सहमित रैछ त्यस्तो ?
बल्र्ड ट्रेड सेन्टरमा मैले सार्वजनिक रूपमा एक नेतृको भाषण सुनिसकेको छु । उहाँले केपीपछि  दुई तीन वर्षमा वामदेव, त्यसपछि ईश्वर नभए मेरो पालो हो भन्नुभएको थियो । त्यहाँ उहाँले २० वर्षसम्म चलाउने कुरा गर्नुभएको छ । त्यहाँ सिन्डिकेटको धारणा त देखियो नि । यो हामीले भनेको होइन, उहाँहरूले नै बोलेको कुरा हो । त्यसको रेकर्ड नै छ ।
  • प्रमाण पेस गर्न सक्नुहुन्छ त ?
प्रमण दिन सकिन्छ । मनमोहन स्मृति प्रतिष्ठानको सभामा चार/पाँच सय नेताका अगाडि बोलेको कुरा हो । त्यही सभामा ईश्वर पोखरेलले खण्डन गर्न खोज्नुभएको थियो । यो कोठाभित्रको लुकेछिपेको होइन, सार्वजनिक गरिएको कुरा हो । कोठाकै कुरा गर्ने हो भने गौशालामा १३ जनाको बैठकमा दलबहादुर सुनार  हुनुहुन्थ्यो । उहाँ प्रमाणका रूपमा बोल्नुहुन्छ ।

  • केपी ओलीले स्वास्थ्यको विषयलाई राजनीतीकरण गरियो भन्ने कुरा पनि आएको छ नि ?  
त्यो त उहाँहरूकै मान्छेले गरेको कुरा हो । युवा संघका नेता, महासचिवले के बोले ? सिसा भएको घरमा राखिन्छ भन्ने कुरा कसले गरेको हो ? स्टेचर, ह्विलचेयर फोटो टाँगेर पार्टी चलाउँछांै भन्ने उहाँहरू नै होइन ? त्यसैले हामीले बोलेको कुरा हो र ? म माओत्से तुङ विचारधारबाट प्रभावित भएको व्यक्ति हुँ । त्यसैले कसैको भविष्य सिध्याउन दिन्छु भन्दिनँ । उठ्नै नसक्ने गरी धसाइदिन्छु भन्दिनँ । यो हाम्रो संस्कारसँग मेल खाँदैन ।
  • तपाईं र ओली मिलेर सहमतिबाट नेतृत्व चयन गर्दार्  हुँदैन ?
प्रतिस्पर्धात्मक नीति किन अवलम्बन गर्ने त ? प्रतिस्पर्धा, बहुपदीयको नीति हामीले ल्याएका हौं भनेर गीत गाउने अनि प्रतिस्पर्धा गर्न खोज्दा किन नउठ्नुहोस् भन्ने ? आउनुहोस् न, कार्यकर्तालाई रोज्न दिऔं किन जालझेल गर्नु ? पार्टी सदस्यको सार्वभौम अधिकारलाई प्रयोग गर्न दिऔं ।

  • सहमति नहुने हो भने तपाईंको कस्तो समूह बन्छ त ?
 म गतिशीलहरूको  टिम बनाउँछु । परीक्षा नभएका र उनीहरूबाट केही हुन्छ भन्ने विश्वास भएकाहरू हुनेछन् ।


  • दस्ताबेज सर्वसम्मत आएको छ, नेतृत्वमा सहमति नभए पनि विचारमा भने तपाईंहरूबीच अब पूर्णर् एकरूपता आइसकेको हो ? 
त्यस्तो देखिँदैन । अस्ति भर्खरै केपी ओलीको अपिल पढेँ । त्यसमा 'कन्फ्युज्ड' कुरा छन् । जे भए पनि आएका कुरालाई मान्छौं भन्नुभएको छ  । यदि कोहीकोही यदि परिवर्तित विचार लिएर अघि बढ्न तयार छन् भने त्यस्तो अवस्थामा खुसी नै हुनुपर्छ । आन्दोलन समाजको चरित्र र जबज र पार्टीको निर्माणका सन्दर्भमा आएका  विचारलाई स्वीकार गर्नुभएको छ भने राम्रै कुरा हो । 



'उहाँसँग फेरि नेतृत्वमा पुग्ने नैतिक धरातल छैन'
केपी शर्मा ओली, संसदीय दलका नेता, एमाले

  • एमालेको आसन्न नवौं महाधिवेशनको महत्त्व के छ ?


साधारणतया महाधिवेशन पाँच-पाँच वर्षमा हुने नियमित गतिविधि हो । ५ वर्षभित्र हामीले पारित गरेका विचारको कार्यान्वयन के कति भयो ? नेतृत्वले कमजोरी के प्रदर्शन गर्न सक्यो ? यसै अवसरमा मूल्यांकन हुने हो । नेतृत्व फेर्नुपर्ने हो भने कसरी फेर्ने र कसलाई ल्याउने भन्ने बहस यसै क्रममा हुन्छ । देशलाई अगाडि बढाउन पनि नीति र संगठनहरू उपयुक्त बनाउनुपर्ने हुन्छ । त्यसका लागि महाधिवेशनको मञ्चको प्रयोग गरिन्न्छ । यो नितान्त कर्मकाण्डी विषय होइन ।  नियमिति प्रक्रियाको सीमामा राख्ने कुरा मात्र  पनि होइन । नीति, विधि र नेतृत्व तीनवटै कुरालाई महाधिवेशनले अद्यावधिक गर्नेछ । 

  • नीतिगत रूपमा यो महाधिवेशनले एमाले पार्टी र देशलाई कुनै बाटामा लैजान्छ त ?
एमालेले विगतका केही व्यावहारिक रूपमा दायाँबायाँ गल्ती गरे पनि आम रूपमा यो सधैं लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता तथा शान्तिका पक्षमा रहँदै आएको छ । हामी सधैं असमनताको विरोधी रह्यौं र समान अधिकार उपलब्ध गराउँदै राष्ट्रिय एकता कायम गर्नुपर्ने आवश्यकताको वकालत गर्दै आयौं । एकताबाटै राष्ट्रियता बलियो हुने हो । सामाजिक सुसम्बन्ध, सामाजिक सुशासनका लागि पनि एकता चाहिन्छ । राष्ट्रले पछौटेपन भोगिरहेको छ, हेपिनुपरेको छ । जनता भोकै छन् । हामीले तमाम नेपालीलाई शिक्षा दिन पाएका छैनौं । बिमारी हुँदा स्वास्थ्य उपचार गर्न पाएका छैनौं । यी कुरा विकासबिना पूरा गर्न सम्भव छैन । कृषिमा आधारित जनसंख्यालाई व्यापार र सेवाका क्षेत्रमा लैजान सकिन्छ । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्नेछ । नेपालका लागि आधारभूत विकास संरचना तयार पार्दै लोकतन्त्र र अराजकताको सीमा छुट्याएर अघि बढ्नुपर्नेछ । यी तमाम काम गर्न सक्ने गरी महाधिवेशनले नीतिगत निर्देश गर्नेछ ।
  • पार्टीले तयार गरेको नीतिगत दस्ताबेजमा पूर्ण एकरूपता आइसक्यो त ? 
पूर्ण रूपमा एकरूपता आइसक्यो म भन्दिनँ । विचारको लडाइँको एउटा इतिहास छ । तर अहिले राजनीतिक सांगठनिक र विधान सहमतिसाथ केन्द्रीय कमिटीबाट अघि बढाएका छौं । त्यसलाई छलफलका लागि तल पठाउने तय भएको छ । छलफलबाट कार्यकर्ताबाट सुझाव  आउँछ । लिखित सुझावहरू आएपछि त्यस आधारमा परिमार्जनसहित पारित गछौर्ं । यो सुखद हो कि, फरक फरक दस्ताबेज तयार भएनन् । आठौंमा फरक वा एउटा भन्ने रहेन । सातौं महाधिवेशनकै कुरा अंगिकार गरियो । अहिले आठौंमा भएअनुसारको बुहपदीय संरचना सामूहिक नेतृत्व, पार्टी जीवनको लोकतान्त्रीकरणको विषयलाई स्थापित गर्ने गरी त्यसअनुसारको नेतृत्व चयन गर्नुपर्ने आम नेता कार्यकर्ताको माग उठेको छ । एमालेले महाधिवेशन समाप्त पारेर घर फर्केर मात्र हुँदैन । देश हाँक्न तम्तयार राख्नुपर्छ । यो पाँचौं महाधिवेशनपछि अर्को कोसेढुंगा साबित हुनेछ । 
  • अध्यक्षमा तपाईंको उम्मेदवारी चाहिं किन ? 
साथीहरूले मैले पार्टीर्को नेतृत्व गर्नुपर्छ भनेका छन् । मेरो इतिहास, योगदान र समय-समयका  वैचारिक संघर्ष र क्रियाशीलतालाई हेरेर भन्नुभएको होला । नेपालमा राजाका विरुद्धमा पर्चासमेत नछापिने अवस्थामा हामीले झापाबाट हतियार बन्द आन्दोलन थालेका थियौं ।  लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ भनेका थियौं । १७ सालपछि कांगे्रसको ढाड खुस्किएको थियो, बोल्न पनि सक्दैनथ्यो । कम्युनिस्ट पार्टीहरू छिन्नभिन्न थिए । त्यस बेलामा कम्युनिस्ट पार्टीलाई गोलबन्द र राष्ट्रव्यापी बनाउनुपर्छ भन्ने विचार ल्याइयो । यद्यपि त्यो बेलामा हाम्रो उमेर सानो थियो । त्यसैले  केही कमजोरी पनि भए होलान् । तर ती मुख्य कुरा होइनन् । झापा आन्दोलनले कसैको आँट नभएका बेलामा सबको मानोबल उठाउने काम गर्‍यो । त्यसपछि प्रजातान्त्रिक र वामपन्थी आन्दोलन अघि बढ्यो । झापा आन्दोलनपछि संघर्षका घटना भए । सबैभन्दा ठूलो योगदान त्यही हो । त्यहाँदेखि यताको वैचारिक संघर्ष र कहिल्यै पिठ्युँ नफर्काईकन काम गरेको छु । यसै हुनाले साथीहरूले मलाई नेतृत्वमा जानुपर्छ भनेका हुन् । 

  • तपाईंको स्वास्थ्यका कारणले नेतृत्व गर्न सक्नुहुन्न भन्ने धारणा पनि आएको छ नि ? 
स्वास्थ्यसम्बन्धी कुरामा म के भन्छु भने पार्टी अध्यक्ष भएर मैले रेस्लिङ खेल्ने त होइन नि ।  काम र विचारकै प्रतिस्पर्धाको कुरा गर्नुपर्‍यो । साथीहरूले यस्तो कुरा नगरे हुन्थ्यो । हो, अस्पतालमा म केही हप्ता बसें तर उहाँ (नेपाल) पनि एक हप्ता बस्नुभयो । रोग नालग्ने, बिरामी नहुने, औषधि खानु नपर्ने को मान्छे होला ? नेपालभरि त्यस्तो कोही मान्छे छ भने देखाइदिनुपर्‍यो । 
  • माधव नेपालको उम्मेदवारीलाई चाहिं कसरी लिनुभएको छ ?
नैतिक र वैधानिक व्यवस्थाअनुसार उहाँ उम्मेदवार हुनै पाउनुहुन्न । दुई कार्यकालभन्दा बढी नेतृत्व गर्न पाइँदैन । अब दुई काल निरन्तर पो भनेको हो त । त्यसमा ग्याप भएपछि त पाइहालिन्छ नि भन्ने उहाँको कुरा छ । दुईपटक राष्ट्रपति भइसकेका बिल क्लिन्टन अब ओबामाले छोडेपछि फेरि अमेरिकाको राष्ट्रपति बन्न आउँछन् ? ओबामा फेरि स्वास्थ्यले साथ दिन्छ भनेर फर्किन्छन् ? समाजको नेतृत्व भन्ने कुरा कसले कसरी गर्न सक्छ भन्नेमा आधारित हुन्छ । चीनको नेतृत्व तङ सियाओ पिङ र उनको नीतिमा कसरी चल्यो ? भारतलाई उत्प्रेरित गर्ने माहात्मा गान्धीले कसरी नेतृत्व गरे ? सक्षम नेतृत्व चाहिन्छ, कसैलाई पदमा बसिरहने लोभ होला भने एउटा उमेरको हदबन्दी लगाउने कुरा गरेका छौं । त्यसैले दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहनु हुँदैन भन्ने कुरा पनि पारित गरेका छौं । त्यसैले दुई कार्यकाल भइसकेकाले फेरि हुन्छु  भन्नु त नैतिकता र नीतिका हिसाबले मिल्दैन । माधव नेपालजी किन यसो गर्दै हुनुहुन्छ, उहाँलाई कसले उचालेको छ, कसले बहकाएको छ म बुझ्दिनँ । तीन कार्यकाल १५ वर्ष नेतृत्व गर्दा उहाँकै कार्यकालमा देशमा उग्रपन्थ बढ्यो, प्रगिगमन भयो, उहाँको नेतृत्वमा पार्टी ३३ सिटमा खुम्चियो । त्यसपछि  आफैं लजाएर मैले नेतृत्व गर्न सक्ने रहेनछु, मेरो नेतृत्वकालमा पार्टी यति कमजोर भयो भनेर आफैंले नैतिकताका आधारमा पार्टीको नेतृत्वमा बस्नु हुन्न भन्दै छोड्नुभयो । त्यो बेला उच्च नैतिकता देखाउनुभएकै हो । त्यो नैतिकता अहिले कता गयो ? 

  • तर नेपालकै नेतृत्वकालमा नेपालमा गणतन्त्र आयो, उहाँले शान्ति प्रक्रियामा पनि भूमिका निर्वाह गरेको देखियो नि ?
उहाँका पछाडि हिंड्ने २/४ जनाले आफूलाई गणतन्त्रवादी र अरूलाई राजतन्त्रको कित्तामा हालिदिने गरेका छन् । मैले राजतन्त्रविरोधी लडाइँ लडेका बेला को कहाँ थियो ? के त्यस परिस्थितिमा हतियार उठाउन सजिलो थियो ? महिनौं कुटाइ खाँदै गोलघरमा रगत छादेर बस्नु सहज थियो ? १४ वर्ष जेल बस्नु सजिलो थियो  ? मलाई भनिएको थियो, बाँचियो भने त जे पनि गर्न सकिन्छ, मरियो भने सकिइहाल्यो । त्यसैले बाँच्ने उपाय गर, मन्त्री बन । मन्त्री हुन्छस् कि मर्छस् भन्दा म मन्त्री हुन्नँ, बरु मर्छु भनेर कागज गर्नु सहज थियो ? तर म कहिल्यै झुकिनँ अनि मलाई राजावादी भन्ने ? गणतन्त्र ल्याउन मेरो कुनै भूमिका छैन ? 
  • तपाईं पार्टीभित्र गुटबन्दी गर्न मात्र माहिर हुनुहुन्छ रे । त्यसैलेे पार्टी चलाउने क्षमता छैन भन्ने आरोप पनि छ नि ? 
माधव नेपालले पार्टीको शीर्ष स्थानमा बसेर गुट चलाउनुभयो । आम कर्यकर्ताको समर्थन ममाथि रह्यो । कार्यकर्ताको त्यो समर्थनलाई उहाँले गुट देख्नुहुन्छ र आफूले मान्छे पजनी गरेका कुरा र जिम्मेवारीमा बसेर फुटबल खेलेका कुरालई पार्टी चलाएको देख्नुहुन्छ । उहाँका टिप्पणी र अभिव्यक्ति आम कार्यकर्ता, नेता, शुभेच्छुक सबैले देखेकै छन् । केपी ओली अपराधीको संरक्षणकर्ता, डनहरूको डन, महागुन्डा भन्ने गरेको सुनेको छु । एमालेमा एकपटक यस्तो हालत भयो कि जिल्ला भेला गर्दा ३०/४० जना पनि नहुने, ४० वर्षभन्दा कमको मान्छे नै नहुने । त्यो बेलामा मैले विचार गरें पार्टीलाई वृद्धाश्रम बनाउने होइन । नयाँ पिंढीलाई साथमा लिएर जानुपर्छ । त्यसभित्र सबै राम्रा नहोलान्, केही खराब पनि होलान् । तर पार्टी सबैको हो भन्ने अपनत्व बोध त गराउन सक्नुपर्‍यो नि । 
  • वामदेव गौतमसँग तपाईंको के सहमति भएको हो ? सिन्डिकेट चलाउन खोजेको आरोप लागेको छ नि ?

केही सम्झौता भएको छैन । मलाई आश्चर्य लाग्छ, उहाँहरू आँखा चिम्लेर सपना देख्नुहुन्छ कि ? उहाँहरू अलिकति तरंगित हुनुभयो कि कहिलेकाहीं बढी भयले पनि यस्तो  भ्रम हुन सक्छ । भ्रम नपाल्न अनुरोध गुर्छ । म माधव नेपाल र उहाँका साथीहरूलाई भन्न चाहन्छु, कुनै सहमति सम्झौता गरेको छ भने त्यसको प्रमाण ल्याउनुहोस् । वामदेव गौतम, विद्या भण्डारी, ईश्वर पोखरेल कसैसँग पनि कुनै पद, ओहोदा दिने भनेर भागबन्डा गरेको छैन । तर महाधिवेशनपछिका निम्ति एउटा मेरो सोच के छ भने नेताहरूले आफ्नो उत्तराधिकारबारे सोच्नुपर्छ । नेताहरूले सहयोगीको मूल्यांकन गर्नुपर्छ, कार्यकर्ताबारे सोच्नुपर्छ । उत्तराधिकार वंशानुगत ढंगले होइन, पार्टीका योगदानका हिसाबले बढाउने भन्नेमा ध्यान दिनुपर्छ । १५ वर्ष चलायो, बीचमा अर्को एक जना आयो, त्यसपछि पनि उत्तराधिकार छैन र  फेरि आफैं हुन्छ भन्ने । नेतृत्व उत्पादनै गर्न नसक्ने, नेतृत्व नामको बिरुवा नै उखेल्ने । यो बाँझोपनले आन्दोलन अघि बढ्दैन । नेतृत्वको भू्रण हत्या गर्ने होइन, नेतृत्वको विकास योजनाबद्ध ढंगले, सावधानीसाथ अघि बढाउन चाहन्छु । 
  • सहमतिबाट नेतृत्व चयन गर्ने कुरा पनि गर्नुभएको छ, त्यो सहमतिको सूत्र के हो ?  
तर्कपूर्ण, न्यायपूर्ण र औचित्यका अधारमा मात्र सहमति हुन्छ । लोकतान्त्रीकरणका मूल्यमान्यता र सिद्धान्तविपरीत आजीवन कसैको नेतृत्वको निरन्तरता र पदाधिकारीका पक्षमा सहमति हुँदैन । नेतृत्व हस्तान्तरणका पक्षमा सहमति हुन सक्छ । यो सैद्धान्तिक प्रश्न हो । अब त्रिशूली फर्केर गोसाइँकुण्डतिर जाँदैन ।

  • सहमति भएन भने तपाईंको टिम कस्तो बन्छ ? 
राम्रो योग्य र सक्षम टिम हुन्छ । तर निर्वाचनमै जानुपर्छ भन्ने लागेको छैन । निर्वाच्ानमा प्रतिस्पर्धाको अवस्था नै छैन । एकाध मान्छेहरूको अगस्थ्य ऋषिको भन्दा पनि बढी कहिल्यै नमेटिने पदीय तिर्खा जागरिह्यो भने र नेतृत्व हस्तान्तरणमा जान तयार भएनन् भने चुनावबाट या त लड्लान् या लडाउलान् । 





प्रकाशित मिति: २०७१ असार १ ०९:३१