सोसलिस्ट इन्टरनेसनलको सदस्यताको प्रस्ताव अघि बढाउनु एमालेमा वैचारिक परिवर्तनको ठूलो संकेत हो । प्रजातान्त्रिक समाजवादी धारमा 'सिफ्ट' भएको औपचारिक सन्देश अन्तर्राष्ट्रिय रूपमा लैजान एमालेका लागि यो एउटा गलितो फोरम बन्न सक्छ । जसलाई प्रयोग गर्न एमालेले चाहेको हो ।
असार ६ - वीपी कोइरालाको सयौं जन्मजयन्तीका अवसरमा गत साता राजधानीमा 'समाजवादी सम्मेलन' भइरहेको थियो । बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमकी प्रमुख अतिथि थिइन्, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुची । विश्वचर्चित नेतृको उपस्थितिले सबैको ध्यान खिचिरहेका बेला हाम्रो राजनीतिमा प्रभाव पार्ने एउटा महत्त्वपूर्ण भेटघाट भने ओझेलमा पर्यो । गत आइतबार ह्यात होटलमा भएको उक्त भेटघाटको प्रसंग होे- सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला र एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरूबीचको ।
सम्मेलनमै भाग लिन आएका महासचिव आयलासँग एमाले नेताहरूको छुट्टै भेटघाट राजनीतिक रूपमा विशेष अर्थपूर्ण थियो । जहाँ एमाले नेताहरूले आफ्नो पार्टीलाई 'सोसलिस्ट इन्टरनेसनल' को सदस्य बनाउन प्रस्ताव राखे । 'सोसलिस्ट इन्टरनेसनलसँग हामी सम्बन्ध बढाउन चाहिरहेका छौं र सदस्यता नै लिने विषयमा छलफल गरेका हौं,' एमाले अध्यक्ष झलनाथ खनाल भन्छन् । उनका अनुसार महासचिव आयलाले एमालेको पृष्ठभूमिबारे आफूलाई जानकारी भएको र सदस्य बन्न उपयुक्त रहेको उल्लेख गर्दै प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् । अध्यक्ष खनालसहित सचिव विष्णु पौडेल, स्थायी समिति सदस्य भरतमोहन अधिकारीलगायत उपस्थित नेताहरूलाई महासचिव आयलाले सोधे- एमालेका तीनवटा लक्ष्य के-के हुन् ? जवाफमा खनालले भनिदिए, 'हामी नेपाललगायत विश्व शान्तिको पक्षमा अग्रसर छौं, विकास र समृद्धिको बाटोमा हिंड्न र अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई सौहार्दपूर्ण रूपमा विकास गर्न चाहन्छौं ।'
सोसलिस्ट इन्टरनेसनलको सदस्यताको प्रस्ताव अघि बढाउनु एमालेमा वैचारिक परिवर्तनको ठूलो संकेत हो । प्रजातान्त्रिक समाजवादी धारमा 'सिफ्ट' भएको औपचारिक सन्देश अन्तर्राष्ट्रिय रूपमा लैजान एमालेका लागि यो एउटा गलितो फोरम बन्न सक्छ । जसलाई प्रयोग गर्न एमालेले चाहेको हो । तर अध्यक्ष खनाल विभिन्न मुलुकका राजनीतिक पार्टीहरूबीचको अनुभव आदान प्रदानका लागि सहज हुने ठानेर मात्र सदस्यता लिन खोजेको बताउँछन् ।
सोसलिस्ट इन्टरनेसनल प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय मञ्च हो । विश्वयुद्धको समाप्तिपछि शीतयुद्धकाल १९५० को दशकमा यो संस्था अस्तित्वमा आएको हो । हाल एक सयभन्दा बढी मुलुकका १ सय ६८ वटा राजनीतिक दल यसका सदस्य छन् । कम्युनिस्ट नामका कुनै पार्टी यसका सदस्य र पर्यवेक्षकसमेत छैनन् । नेपालबाट नेपाली कांग्रेस पार्टी मात्र यसको सदस्य छ । बीपी कोइराला आफैं नै समाजवादी आन्दोलनमा लागेर यो संस्थ्ााको उपाध्यक्ष भएका थिए । शीतयुद्धकालमा विश्व दुई ध्रुवमा विभाजित भइरहँदा युरोपेली मुलुकहरूले समाजवादी विचारधारालाई जोड दिन थाले । त्यही बेलामा अन्तर्राष्ट्रिय परिस्थितिसमेतको मूल्यांकन गर्दै बीपीले समाजवादी आन्दोलनमा हातेमालो गर्न पुगेका थिए । त्यही क्रममा उनी सोसलिस्ट इन्टरनेसनलमा आवद्ध भएका थिए । हाल कांग्रेस नेता शेरबहादुर देउवा पनि यसका उपाध्यक्ष छन् ।
कम्युनिस्टहरूले भन्ने गरेको समाजवादभन्दा फरक विचार राख्नेहरूको आन्दोलनको रूपमा सोसलिस्ट इन्टरनेसनलको जन्म भएको हो । त्यसैले कम्युनिस्ट पार्टीहरूका लागि यो संस्थासँगको आवद्धता त्यति ठूलो मोहको विषय होइन ।
एमाले अहिले पनि आफूलाई कम्युनिस्ट पार्टीकै रूपमा चिनाउन मन पराउँछ । गत महिना मात्र चीनको भ्रमण गरेका एमाले अध्यक्ष खनालले त्यहाँका नेताहरूलाई आफूहरू खास कम्युनिस्ट भएको विश्वास दिलाउने प्रयास गरेका थिए । नेपालमा एमाओवादी मात्र कम्युनिस्ट विचारधारामा चलिरहेको र एमाले समाजवादी कित्तामा पुगिसकेको चिनियाँ बुझाइलाई अध्यक्ष खनालले सैद्धान्तिक व्याख्यासहित प्रस्ट्याएका थिए ।
एमालेका राजनीतिक दस्तावेजहरूमा कम्युनिस्ट जार्गनहरू अझै हटेका छैनन् । पार्टीको झन्डामा अझै हँसिया हथौडा नै छ । तर सोसलिस्ट इन्टरनेसनलको 'रातो गुलाव'को झन्डाले यो पार्टीेलाई चाहिं किन आकषिर्त गरिरहेको छ त ? एमाले युवा नेता डा. राजन भट्टराईको जवाफ छ, 'हामी क्लासिकल होइन मोडरेट कम्युनिस्टहरू हौं त्यसैले संसारभर लोकतान्त्रिक मूल्य मान्यतासाथ शान्तिपूर्ण रूपमा अघि बढ्न चाहने शक्ति र पार्टीहरूसँगको सम्बन्ध स्थापित गर्न चाहन्छौं ।'
अब अन्तर्राष्ट्रिय सम्बन्धहरू विचारधाराको आधारमा मात्र जोड्नुपर्छ भन्ने मान्यता पुरानो हँुदै गएको भट्टराई बताउँछन् । उनका अनुसार एमालेका सम्बन्धहरूका तीनवटा प्राथमिकता छन् । कम्युनिस्ट आन्दोलनमा लागेकाहरूसँग भ्रातृत्वपूर्ण, अन्य पार्टीहरूसँग सौहार्दपूर्ण मैत्री र कूटनीतिक गरी तीन प्रकारका सम्बन्धलाई एमालेले जोड दिने गरेको छ । त्यही नीतिभित्र सोसलिस्ट इन्टरनेसनलसँग पनि सम्बन्ध विस्तार गर्न खोजिएको उनको भनाइ छ ।
राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलका अनुसार हाल विश्वव्यापी रूपमै राजनीतिक दलहरूमा वैच्ाारिक परिवर्तन आइरहेको छ । समयअनुकूल आफ्ना विचारहरूलाई परिस्कृत गर्दै लगिरहेको अवस्थामा एमाले 'सिफ्ट' हुनुलाई उनी नौलो ठान्दैनन् । 'पहिलेको जस्तो विचारधाराको आधारमा कुनै राजनीतिक दल छुट्टै रहने अवस्थै छैन । त्यसैले विश्वाव्यापी रूपमा दलहरूमा वैच्ाारिक सिफ्ट हुँदै आएको छ,' पोखरेल भन्छन्, 'सोसलिस्ट इन्टरनेसनलजस्ता संस्थाको सदस्य बन्न त एमालेजस्ता दल नै सबैभन्दा योग्य हुन्छन् ।' उनका विचारमा नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीको नाम भए पनि प्रजातान्त्रिक समाजवादी विचारको अभ्यास एमालेले गरिरहेको छ । 'कांग्रेस बीपीले अघि सारेको समाजवादी आदर्श छोडेर नवउदारवादी बाटोमा जाँदै छ,' उनी भन्छन्, 'त्यसैले नेपालको सन्दर्भमा कांग्रेसको ठाउँ एमालेले लिन खोेजेको छ ।'
तर समाजवादी आन्दोलनलाई नजिकबाट नियालिरहेका र बीपीबारे खोजबिन गरिरहेका संविधानविद् तथा विश्लेषक डा. विपिन अधिकारीको बुझाइ भने अलिक फरक छ । एमालेको यो वैचारिक परिवर्तन रणनीतिक हुन सक्ने उनको आशंका छ । उनका अनुसार कम्युनिस्ट पार्टीहरूले आफ्नो तात्कालिक फाइदाका लागि कुनै पनि मुद्दालाई बोक्न सक्छन् । र, त्यसको औचित्य सकिएपछि छोडिदिन सक्छन् । त्यसैले सोसलिस्ट इन्टरनेसनलसँगको आवद्घताको प्रयास पनि रणनीतिक हो कि भन्ने उनको आशंका छ । 'यतिखेर कांग्रेस नै समाजवाद के हो भन्ने प्रस्ट नभइरहेका बेला एमालेसँग धेरै आस गर्न सकिँदैन,' उनी भन्छन् ।
एमालेमा वैचारिक परिवर्तनको शृंखला ०४९ सालको पाँचौं महाधिवेशनबाट सुरु भएको हो । विश्वभर कम्युनिस्ट सत्ताहरू एकपछि अर्को गर्दै ढलिरहेको अवस्थामा तत्कालीन महासचिव मदन भण्डारीले माक्र्सवादको नयाँ प्रयोगका रूपमा 'जनताको बहुदलीय जनवाद' को कार्यक्रम अघि सारेका थिए । बहुदलीय प्रतिस्पर्धा, विधिको शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिकालगायतका लोकतान्त्रिक मूल्य मान्यताहरू जबजमा छन् । जबजको बाटोमा हिंड्न थालेपछि नै हो एमाले कम्युनिस्ट पार्टी कि समाजवादी भन्ने प्रश्न सामना गर्नुपरेको । वैच्ाारिक धरालत, उसका गतिविधि, नेताका आचरण कम्युनिस्टभन्दा फरकजस्ता देखिन्छन् । कतिपय अवस्थामा नेपाली कांग्रेस र एमालेबीचको वैचारिक भिन्नता के हो छुट्याउन समस्या पर्छ । 'तर हाम्रो मूल वैचारिक आधार भनेको माक्र्सवाद नै हो जनताको बहुदलीय जनवाद माक्र्सवादकै नयाँ प्रयोग हो,' एमाले नेता भट्टराई तर्क छ, 'त्यसैले हामी कम्युनिस्ट पार्टी नै हौ, माक्र्सवादबाट यताउता हुँदैनौं ।'
तर एमालेभित्र कम्युनिस्ट पार्टी भन्ने कि नभन्ने, पार्टीको झन्डा र नाम परिवर्तन गर्ने कुरा बेला बेलामा उठ्ने गर्छ । २०४९ पछि हरेक महाधिवेशनका बेलामा यो मुद्दाले बहसको रूप लिने गरेको छ । अहिले नवौं महाधिवेशनको संघारमा पनि झन्डा र नामको विषयले केन्द्रीय कमिटीमा प्रवेश पायो । लोकतान्त्रिक समाजवादी बाटोमा अघि बढे पनि नाममा कम्युनिस्ट पार्टी र झन्डामा हँसिया हथौडा छोड्न उसलाई सकस परिरहेको छ । किनभने अझै पनि नेपालमा कम्युनिस्ट पार्टी नै बढी बिकाउ छ । कम्युनिस्ट पार्टी र हँसिया हथौडा 'ट्रेडमार्क' जस्ता बनेका छन् । 'अहिले पनि कम्युनिस्ट पार्टीहरू नै नेपालमा धेरै छन् र जनमत पनि । त्यसैले वैचारिक रूपमा लोकतान्त्रिक समाजवादी दिशामा गए पनि कम्युनिस्ट पार्टी बढी 'सेलएबल' छ,' प्राध्यापक पोखरेल भन्छन्, 'यसलाई छाडेर अर्को नामतिर गइहाल्न गार्हो छ ।'
कांग्रेस नेता मनमोहन भट्टराईको बुझाइमा एमाले लोकतान्त्रिक बाटोमा त छ, तर उसको पूर्णरूपमा समाजवादी पहिचान बन्न यत्तिले मात्र पुग्दैन । 'लेलिन, स्टालिनजस्ता व्यक्तिको विचारलाई पनि सँगसँगै बोकेर हिंड्दासम्म समाजवादी पहिचान हुँदैन,' उनी भन्छन्, 'सोसलिस्ट इन्टरनेसनलले पनि यही कुरालाई 'वाच' गर्छ भन्ने लाग्छ ।'
प्रकाशित मिति: २०७१ असार ७ ११:३७

No comments:
Post a Comment