दुर्गा खनाल
राजनीतिशास्त्रको सूत्र भन्छ, 'सिद्धान्तका कारण फरक-फरक पार्टी बन्छन् र कोही कुनै पार्टीमा सिद्धान्तकै कारण आकषिर्त हुन्छ र त्यसैमा क्रियाशील हुन्छ ।' तर पार्टीभित्रको कार्यशैली, शक्ति र सत्ताका कारण मात्र पार्टी फुटाउने र परिवर्तन गर्ने शैली हावी भइरहेको छ ।
दल खोल्नु, आफ्नो विवेकअनुसार चल्नु लोकतन्त्रमा स्वभाविक हो, तर सिद्धान्तहीनता र अवसरवादी प्रवृत्ति झांगिँदै जार्नु लोकतन्त्रका लागि घातक हो,'
काठमाडौ, असार २३ - अघिल्लो संविधानसभा चुनावमा रत्नेश्वर गोइत धुनषा-२ बाट एमालेका उम्मेदवार थिए । चुनाव हारेपछि एमाले छाडेर तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरे । तमलोपा विभाजनपछि उनी महेन्द्र यादव नेतृत्वको तमलोपा नेपालमा सहमहामन्त्रीसम्म भए । संविधानसभा चुनावको पूर्वसन्ध्यामा गोइत यतिखेर एमालेमा फर्किएका छन् ।
तत्कालीन मसालकी नेतृ उर्मिला अर्याल २०४८ पछि एमालेमा लागिन् । एमाले भित्रिएपछि सांसद, मन्त्रीदेखि पार्टीको पोलिटब्युरो सदस्यसम्म बनेकी उनी हालै फेरि पुरानै पृष्ठभूमि खोज्दै एमाओवादीमा फर्किएकी छन् । एमालेकै पोलिटब्युरो सदस्य रामचन्द्र झा पनि यतिखेर एमाओवादीमा छन् ।
कांग्रेस पृष्ठभूमिबाट डा. तिलक रावल गभर्नर भएका थिए । संविधानसभाको अघिल्लो चुनावमा उनी मधेसी जनअधिकार फोरममा प्रवेश गरे । फोरम विभाजनका बेला विजयकुमार गच्छदारको पार्टीमा लागे । नयाँ संविधानसभा चुनाव आउने बेला फेरि रावलले कांग्रेसको टीका लगाइसकेका छन् ।
पछिल्लो समयमा नेताहरूको पार्टी त्याग र प्रवेशको लहर जिल्लादेखि केन्द्रसम्म चलिरहेछ । चुनाव निकट हुँदै गर्दा यो क्रम बढ्दो छ । आखिर किन नेता पार्टी छाड्छन् र अर्कोमा जान्छन् वा नयाँ पार्टी बनाउँछन् ? विश्लेषकका नजरमा नेताहरूले पार्टी छाड्ने वा नयाँ पार्टी बनाउनुमा कुनै सैद्धान्तिक कारण छैनन् । 'सिद्धान्तको विषयलाई लिएर पार्टी परिवर्तन गर्ने र पार्टी फुटेका होइनन्,' राजनीतिशास्त्री प्राध्यापक लोकराज बरालले कान्तिपुरसँग भने, 'व्यक्तिगत कारण र पदीय स्वार्थकै कारण पार्टी छाड्ने, फर्किने र फुटाउने काम हावी भएको छ ।'
राजनीतिशास्त्रको सूत्र भन्छ, 'सिद्धान्तका कारण फरक-फरक पार्टी बन्छन् र कोही कुनै पार्टीमा सिद्धान्तकै कारण आकषिर्त हुन्छ र त्यसैमा क्रियाशील हुन्छ ।' तर पार्टीभित्रको कार्यशैली, शक्ति र सत्ताका कारण मात्र पार्टी फुटाउने र परिवर्तन गर्ने शैली हावी भइरहेको छ ।
'पार्टीहरू सत्तामा पुगेका बेला फुटेका छन् र सत्ताकै निम्ति नेताहरू यताउता गरेका छन्,' अर्का राजनीतिशास्त्री प्राध्यापक श्रीधर खत्रीले भने ।
यदुवंश झा धनुषामा एमालेका राम्रै नेता मानिन्थे । तर २०६० मा उनी सीपी मैनालीको माले पार्टीमा गए । संविधानसभाबाट सभासद भए । २०६७ मा मैनालीलाई छाडेर जगतबहादुर बोगटीको नेतृत्वमा बनेको माले समाजवादी पार्टीमा लाग्दै बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्रीसमेत बने । मन्त्रीबाट छुटेपछि गतसाता झा माउ पार्टी एमालेमै आइपुगेका छन् ।
पार्टीभित्रको कार्यशैली मूल्यांकन पद्घतिलगायतमा असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेका थिए । उनले जे कारणले छाडेका थिए त्यो कारणको अझै पनि एमालेभित्र उचित व्यवस्थापन भइसकेको छैन । झन्डै एक दशकपछि फेरि उनी एमालेमै आउनुको कारण सानो पार्टीमा बसिरहँदा उनको प्रभाव कमजोर हुनेवाला थियो । त्यसैले रामचन्द झा बाहिरिएको मौकामा तत्काल एमालेमा प्रभाव जमाउन सकिने देखेर उनी फर्किए । रत्नेश्वर गोइत पार्टीको अन्तरघातका कारण बाहिरिएको र अहिले त्यस्तो प्रवृत्ति कमजोर भएकाले एमालेमा फर्किएको बताउँछन् । 'जुन प्रवृत्तिका कारण हामी बाहिरिनुपरेको थियो, त्यो प्रवृत्ति बोक्नेहरू नै एमालेबाट बाहिरिएका छन्,' गोइतलेे भने, 'त्यसैले कार्यकर्ताको चाहनाअनुसार पुरानै थलोमा फर्किएको हुँ ।'
नेताहरूले पार्टी छाड्ने, नयाँ बनाउने र पुरानैमा फर्किने परम्परा जस्तो नै भइसकेको छ । 'पद, शक्ति र पैसासमेतका कारण २००७ देखि नै दल बदल्ने परिपाटी चलिरहेको छ,' राजनीतिशास्त्री खत्रीले भने, 'अहिले मात्र यो कुरालाई नौलो रूपमा लिन सकिँदैन ।'
पञ्चायतकालमै मन्त्री भएका शरदसिंह भण्डारी प्रजातन्त्र पुनःस्थापनापछि कांग्रेस बने । कांग्रेस विभाजन हुँदा देउवाको प्रजातान्त्रिक कांग्रेसमा लागे । अघिल्लो संविधानसभा निर्वाचनका बेला उनले टिकट वितरणमा असन्तुष्टि जनाउँदै मधेसी जनअधिकार फोरममा प्रवेश गरे । फोरम फुटाएर लोकतान्त्रिक फोरम हुँदै हाल राष्ट्रिय मधेस समाजवादी पार्टीको अध्यक्ष बनेका छन् ।
विजयकुमार गच्छदार, जेपी गुप्तालगायत नेताहरू कांग्रेस छाड्दै अहिले आफ्नै साना पार्टी खोलेर नेतृत्व गरिरहेका छन् । यो गोलचक्करमा उनीहरूले पटक-पटक मन्त्री, सांसद भएका छन् । गोविन्द्र चौधरी पञ्चायतबाट कांग्रेस, शाही मन्त्री, तमलोपा हुँदै यतिखेर फोरम लोकतान्त्रिकमा छिरेका छन् । रामचन्द्र झा जनयुद्घकालमा एमाओवादीको कट्टर आलोचकमध्येका थिए । एमाओवादीकै कारण उनले धेरै थ्रेट पनि महसुस गरेका थिए । तर अहिले आफूलाई गरेका थ्रेट बिर्सेर उनी एमाओवादीमा पुगेका छन् । संघीयताका कारण देखाए पनि झाको परित्यागमा पदीय बार्गेनिङ पनि जोडिएको थियो । उर्मिला अर्याल अनेमसंघको अध्यक्ष बन्न नपाएको झोंकमै एमाले छाडेर एमाओवादीमा छिरेकी हुन् ।
रवीन्द्र श्रेष्ठ भूमिगतकालमा एमाओवादीका रणनीतिक योजनाकार मानिन्थे । पार्टीले कारबाही गरेपछि एमालेमा भित्रिए, पोलिटब्युरो सदस्य हुँदै माधव नेपालको कार्यकालमा मन्त्री बने । पञ्चायतकालमा झापा आन्दोलनका नेता राधाकृष्ण मैनाली माले हुँदै एमालेमै फर्किएका थिए । शाही शासनमा उनी मन्त्री बने । जनआन्दोलनपछि एमाओवादीमा गए, अहिले एमालेमा फर्किन खुट्टा उचालेर बसेका छन् । देवी ओझा, कमल चौलागाइँ, हिरण्यलाल श्रेष्ठजस्ता व्यक्ति फेरि एमालेमा फर्किने दाउमा छन् । पञ्चायती पृृष्ठभूमिका केशरबहादुर बिष्ट कांग्रेस, राप्रपा, राजपा हुँदै अहिले राप्रपा नेपालमा पुगेका छन् । पञ्चायती पृष्ठभूमिकै रेणु यादव, राप्रपा, राजपा हँुदै फोरम र सर्वेन्द्रनाथ शुक्ल तमलोपामा छन् ।
पार्टी फर्ने र नयाँ पार्टी बनाउने क्रम २०६३ को आन्दोलनपछि झन् बढेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार पार्टीको संख्या नै १ सय ३९ पुगिसकेको छ ।
विश्लेषकका अनुसार पार्टी छाडेर नयाँ खोल्दै नेता बन्ने र छिट्टै पद र सत्ता हात पारिहाल्ने प्रवृत्ति बढेको छ । त्यही भएर दोस्रो जनआन्दोलनपछि च्याउसरी दलहरू खुलेका छन् । एउटै दल पटक-पटक फुटेर टुक्रा-टुक्रा भएका छन् । मधेसी मुद्दा उठाएर खुलेका क्षेत्रीय दलहरूमा फुटको शृंखला ज्यादा छ । ठूला दल एमाओवादी र एमालेबाट पनि केही नेताहरू बाहिरिएर नयाँ पार्टी बनाएका छन् । मोहन वैद्य र अशोक राईले नयाँ पार्टी खोल्नुमा केही सैद्धान्तिक कारण देखाएका छन्, तर अन्य दलहरूको विभाजनमा सैद्धान्तिक आधार कमजोर छ ।
संविधानसभाको चुनावमा अवलम्बन गरिएको समानुपातिक निर्वाचन पद्धतिका कारण पनि दलको संख्या र नेताहरूको गुँड परिवर्तन गर्नेक्रम बढेको हो । 'समानुपातिक निर्वाचन पद्धतिका कारण २०/२५ हजार भोट ल्याउनेले पनि सभासद पाउने अवस्था बनेको छ,' राजनीतिकशास्त्री प्राध्यापक बरालले भने, 'त्यसैले पार्टी खोलिहाल्ने र नेता बनिहाल्ने प्रवृत्ति छ ।' कुनै सैद्धान्तिक आधारबिना नै पार्टी खुल्ने गरेको उनको बुझाइ छ । 'सिद्धान्त र मुद्दाकै कुरा गर्ने हो भने यतिका धेरै मधेसी दल किन चाहियो ?,' बरालले भने, 'सत्तामा गएपछि नै उनीहरू फुटेका छन् र नेता यताउता लागेका छन् ।'
सैद्धान्तिक धरालत नै नभएका पार्टीहरू बनेका छन् । त्यसैले नेताहरू आफ्नो भविष्य सुरक्षित नहुने देखेपछि अन्यत्र बाटो लाग्छन् । 'नयाँ पार्टीहरूको सैद्धान्तिक आधार छैन, भावनात्मक रूपमा मात्र पार्टी सधैं चल्न सक्दैन,' तमलोपा नेपालबाट एमाले फर्किएका
गोइतले भने ।
प्राध्यापक खत्री पनि सिद्धान्त र उद्देश्य नै स्पष्ट नभएका दलहरूको संख्या बढिरहेको र शक्तिका लागि एउटाबाट अर्को जानेे प्रवृत्ति हावी भएको बताउँछन् । 'दल खोल्नु, आफ्नो विवेकअनुसार चल्नु लोकतन्त्रमा स्वभाविक हो, तर सिद्धान्तहीनता र अवसरवादी प्रवृत्ति झांगिँदै जार्नु लोकतन्त्रका लागि घातक हो,' उनले भने ।
प्रकाशित मिति: २०७० असार २३ ०८:४१
YOU ARE INVITED TO FOLLOW MY CHRISTIAN BLOG
ReplyDelete