Saturday, July 13, 2013

एमालेमा सिद्धान्तको बहस

एमालेभित्र जबजमाथिको बहस आन्तरिक रूपमा पाँचांै महाधिवेशनपछि चलिरहेकै छ । तर फरक धारले आफ्ना मान्यता स्थापित गराउन सकेको छैन । पाँचौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनाल र सीपी मैनालीको समूहले 'परिमार्जित नौलो जनवाद' को प्रस्ताव ल्याएको थियो । उक्त प्रस्ताव अस्वीकृत भई भण्डारीले ल्याएको जबज पारित भएको थियो । अहिलेको बहसमा शीर्ष नेताहरू खुलेर देखिएका छैनन् । दोस्रो तहका नेताहरू मात्र संलग्न छन् । तर त्यसले विस्तारै शीर्ष तहलाई पनि तान्ने सम्भावना छ ।
  •  दुर्गा खनाल

काठमाडौ, असार २९ - अघिल्लो साता घनश्याम भुसाललगायत एमालेका केही नेताले पार्टीको मार्गदर्शक सिद्धान्त 'जनताको बहुदलीय जनवाद' (जबज) लाई समयानुसार परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारे । राष्ट्रिय सभागृहमा 'जनताको बहुदलीय जनवादको दुई दशक र अबको बाटो' शीर्षकमा अन्तक्रिर्या गरेर उनीहरूले धारणा सार्वजनिक गरे । उनीहरूको सार थियो, 'जबज बोल्ने र सुनिने मात्र भयो, अब देखिने हुनुपर्‍यो, जनताका समस्या सम्बोधन गर्ने खालको सिद्धान्त बनाउनुपर्‍यो ।'
कार्यक्रमलगत्तै एमाले सचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा 'पिठ्युँबाट जबजलाई कमजोर पार्ने कोसिस नगर्दा राम्रो होला कि' भन्दै टिप्पणी गरे । पोखरेलको टिप्पणीलाई अर्का नेता योगेश भट्टराईले प्रतिटिप्पणी गर्दै लेखे, 'शंकर पोख्ारेलको पोजिसनलाई नसुहाउने उत्तेजनात्मक प्रतिक्रिया' ।
umlभट्टराईको टिप्पणीमाथि पोखरेलले नेतृत्वप्रति अविश्वास जनाउने, नीति र कार्यक्रमप्रति पनि अनास्था सिर्जना गर्ने गरी बेमौसममा बहस गरेको जवाफ फर्काए । पोखरेलले महाधिवेशन बेगर चुनावअगावै सिद्धान्त र कार्यक्रममा परिमार्जनको कुरा गर्नु अनुचित भएको धारणा राखे ।
अन्तक्रिर्या हुँदै सामाजिक सञ्जालसम्म चलिरहेको जबज बहसले आगामी साता बस्ने केन्द्रीय समिति बैठकमा समेत प्रवेश पाउने संकेत देखिएको छ । बैठकमा भुसाललगायत झन्डै दर्जन केन्द्रीय सदस्यले 'जबजको आगामी बाटो' बारे आफ्नो धारणा अघि सार्ने तयारी गरेका छन् । आसन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र यसै वर्ष हुने महाधिवेशनलाई लक्षित गर्दै भुसाललगायत नेताहरूको समूहले बहस थालेको हो ।  
तर उनीहरूले थालेको बहसलाई पार्टीको अर्को पंक्तिले उचित ठानेको छैन । एउटा महाधिवेशनपछि अर्को महाधिवेशन नहुँदासम्म सबै सदस्यले पार्टीका नीति, सिद्धान्त र कार्यक्रमलाई अवलम्बन गर्नुपर्ने तर त्यसविपरीत गएर संविधानसभा निर्वाचनमा केन्दि्रत हुने बेला थालिएको बहस अनुचित हुने उनीहरूको तर्क छ । 'यो पार्टीका कार्यक्रम र घोषित नीतिहरूमा बहस गर्ने बेला होइन,' सचिव पोखरेलले कान्तिपुरसँग भने, 'महाधिवेशन मात्र बहस गर्ने थलो हो ।'
भुसालले भने सिद्धान्तमाथिको बहस गर्ने थलो महाधिवेशन मात्र नभएको दाबी गरे । 'सैद्धान्तिक कुरामा पहिलेदेखि नै बहस हुनुपर्छ, बहसबाट आएका कुरा मात्र महाधिवेशनमा लैजाने हो,' उनले भने, 'सिद्धान्तको कुरा महाधिवेशनमा मात्र गर्ने होइन, मैले १५ वर्षदेखि यो कुरा चलाइरहेको छु, भाग लिन डराएर अनेक प्रचार गरिँदैछ ।'

मदन भण्डारीले पाँचौं महाधिवेशनमा जनताको बहुदलीय जनवादलाई अघि सारेका थिए । जबजले कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरणको बाटोमा लैजाने मान्यता बोकेको थियो । त्यसैलाई एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । भण्डारीले झन्डै दुई दशकअघि सारेको विचारमा अब परिमार्जन गर्नुपर्ने आवस्था भइसकेको भुसालको तर्क छ । भुसाल पाँचांै महाधिवेशनमै जबजको विपक्षमा थिए । त्यसपछि निरन्तर उनले समाजको विश्लेषण फरक ढंगले गर्नुपर्ने र त्यहीअनुसार जबजलाई ढाल्नुपर्ने तर्क गर्दै आएका छन्, जसलाई आठौं महाधिवेशनमा उनीसहित ३६ महाधिवेशन प्रतिनिधिले पूरक प्रस्तावका रूपमा लगेका थिए । त्यही आधारमा सैद्धान्तिक बहसका लागि केन्द्रीय समितिको विशेष बैठक गर्ने भनिएको थियो । महाधिवेशनको पाँच वर्षसम्म त्यस्तो बैठक नगरिएपछि आफूहरूले बाहिर छलफल चलाएको भुसालले बताए । जबजको नयाँ बाटो तय गर्ने प्रस्तावालाई फेरि महाधिवेशन र राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा लैजाने उनीहरूको योजना छ ।
भुसाल पक्षले नेपाली समाज अर्थसामन्ती र अर्धऔपनिवेशिक रहेको भन्ने विश्लेषणलाई गलत ठानेको छ । नेपाली समाज पुँजीवादी भइसकेकाले त्यहीअनुसारका कार्यक्रम पार्टीले तय गरेर जानुपर्ने उनीहरूको तर्क छ । 'नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक होइन । यदि यसो भन्यांै भने हामीले इतिहासलाई नजरअन्दाज गरेको हुन्छ,' भुसालले भने, 'समाज पुँजीवादी भइसक्यो, त्यहीअनुसार हामीले हाम्रा कार्यक्रम बनाएर जानुपर्छ ।'
जबज एउटा कार्यक्रमका रूपमा ल्याएको तर त्यसलाई जबर्जस्ती सिद्धान्त भनेर व्याख्या गर्न खोजिएको भुसालको दाबी छ । 'मदन भण्डारीले ल्याएको कार्यक्रमलाई के थपियो र त्यो सिद्धान्त भयो ? हामीले त्यत्तिकै सिद्धान्त भनेर हिँडेका छौं,' उनले भने, 'यसमा अघि सारिएका कार्यक्रम त २०६३ सालको अन्तरिम संविधानसम्म आइसक्दा सबै पूरा भइसकेका छन् ।'
यो तर्कलाई एमालेको एउटा पंक्तिले अस्वीकार गर्दै आएको छ । 'जबज मार्गदर्शक सिद्धान्त भनेर सर्वस्वीकृत भइसकेको छ, यसले लोकतन्त्रलगायत अन्य सर्वकालिक मान्यतालाई अंगीकार गरेको छ, त्यसैले यो कार्यक्रममात्र होइन,' नेता गुरु बरालले भने, 'यसलाई कार्यक्रम मात्र हो भन्नु या त दुराशय हो या अल्पज्ञान ।' उनले जबजलाई अझै समृद्घ बनाउन बहस गर्न सकिने तर त्यसको उद्देश्य सही हुनुपर्ने बताए ।
'बहस गर्न सकिन्छ तर यसको उठान ठीक तरिकाले भएको छैन, जबजको औचित्य सकियो भन्ने हिसाबले भएको छ,' बरालले भने, 'जबजका मूल्यमान्यता प्रयोग गरेर प्रमाणित भइसकेका छन् । यसलाई चलाउन खोज्नु भनेको हिमाललाई अगुल्टाले हानेर पगाल्न खोज्नुजस्तै हो ।'
एमालेभित्र जबजमाथिको बहस आन्तरिक रूपमा पाँचांै महाधिवेशनपछि चलिरहेकै छ । तर फरक धारले आफ्ना मान्यता स्थापित गराउन सकेको छैन । पाँचौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनाल र सीपी मैनालीको समूहले 'परिमार्जित नौलो जनवाद' को प्रस्ताव ल्याएको थियो । उक्त प्रस्ताव अस्वीकृत भई भण्डारीले ल्याएको जबज पारित भएको थियो । अहिलेको बहसमा शीर्ष नेताहरू खुलेर देखिएका छैनन् । दोस्रो तहका नेताहरू मात्र संलग्न छन् । तर त्यसले विस्तारै शीर्ष तहलाई पनि तान्ने सम्भावना छ ।

प्रकाशित मिति: २०७० असार २९ ०८:५८
- See more at: http://www.ekantipur.com/np/2070/3/29/full-story/371992.html#sthash.vAdsTrR0.dpuf

No comments:

Post a Comment