काठमाडौ, पुस २८ - एमालेले नयाँ नेतृत्व चयनका लागि वैशाख ९ देखि राजधानीमा पार्टीको नवौं महाधिवेशन गर्ने भएको छ । स्थायी समितिको आइतबार बसेको बैठकले कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसर पारेर महाधिवेशन गर्ने निर्णय गरेको हो । पाँच वर्षअघि बुटवलमा भएको महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यकाल यही फागुनमा सकिँदैछ । विधानमा कार्यकाल एक वर्ष लम्ब्याउन सक्ने प्रावधान भए पनि पाँच वर्ष पूरा भएलगत्तै एमालेले महाधिवेशन गर्न लागेको हो ।
स्थायी समिति सदस्य भरतमोहन अधिकारीका अनुसार महाधिवेशन तयारीबारे छलफल गर्न माघ १० देखि केन्द्रीय समिति बैठक बोलाइएको छ । केन्द्रीय समितिले महाधिवेशनबारे सबै कार्यक्रम तयार गर्ने उनले जानकारी दिए । 'विधानअनुसार पाँचवर्षे कार्यकाल सकिएपछि थप एक वर्ष पनि जान सकिन्थ्यो,' उनले कान्तिपुरसँग भने, 'संविधानसभा निर्वाचनबाट पार्टीको कार्यभार थपिएका छन्, यस्तो अवस्थामा पार्टीले लिने निर्णयहरू महाधिवेशनबाटै टुंगो लगाऔं, पार्टीलाई अझै ऊर्जाशील बनाऔं भनेर महाधिवेशन गरिहाल्ने निष्कर्षमा पुगेका हौं ।'
एमालेले अघिल्लो महाधिवेशनमा नेतृत्व चयन र विधानका विषयमा छलफल गर्न छुट्टाछुट्टै महाधिवेशन गर्ने निर्णय गरेको थियो । विधान सम्मेलनबाट विधानमाथि छलफल तथा संशोधन गर्ने र त्यस आधारमा महाधिवेशनबाट नेतृत्व चयन गर्ने अवधारणा आठौं महाधिवेशनले पारित गरेको थियो । तर त्यो निर्णय यसपालि लागू नहुने भएको छ । विधान र नेतृत्व चयन दुवै एउटै महाधिवेशनबाट हुने भएको छ । यसअघि पार्टीले विधान महाधिवेशनको सट्टा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकबाट विधान संशोधन गर्ने निर्णय गरे पनि महाधिवेशनअघि परिषद् बैठकसमेत नगर्ने निर्णय स्थायी समितिले लिएको छ ।
'सचिवालयले राष्ट्रिय प्रतिनिधि परिषद् बैठकबाट विधान संशोधन गर्ने प्रस्ताव तयार गरेको थियो,' सचिवालय सदस्यसमेत रहेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने, 'अब राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक पनि नहुने निर्णय स्थायी कमिटीले गरेको छ ।' उनका अनुसार नवांै महाधिवेशन विधान र नेतृत्व चयन दुवै विषयमा केन्दि्रत हुनेछ ।
महाधिवेशन तयारी सुरु भएकाले अब नयाँ सदस्यता लिनेक्रम रोकिने भएको छ । पुराना सदस्यता नवीकरणका लागि माघ मसान्तसम्मको समय दिइने उनले जानकारी दिए । महाधिवेशनका लागि कति प्रतिनिधि चयन गर्ने भन्ने विषयमा सदस्यता संख्या कति हुन्छ त्यसका आधारमा निर्धारण हुने उनले बताए । महाधिवेशन प्रतिनिधिहरू तत्लो तहबाट निर्वाचित भएर आउने संरचना एमालेमा छ । प्रमुख र केन्द्रीय नेताहरूले पनि तल्लो कमिटीबाट निर्वाचित भई प्रतिनिधि बन्नुपर्ने प्रावधान विधानमा छ । महाधिवेशनमा छलफलका लागि राजनीतिक, सांगठनिक दस्तावेजहरू केन्द्रीय समितिले तयार गर्नेछ ।
दस्तावेजलाई अन्तिम रूप दिई तल्लो तहसम्म छलफलका लागि लगिने नेताहरू बताएका छन् । छलफलका लागि पर्याप्त समय दिइने एमालेले जनाएको छ । एमालेभित्र आठौं महाधिवेशनदेखि नै पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको समयअनुसार व्याख्या हुनुपर्ने भन्ने सैद्धान्तिक बहस सुरु भएको थियो । त्यो बहस अहिले पनि जारी छ । आठौं महाधिवेशनमा घनश्याम भुसाललगायत नेताहरूले छुट्टै दस्तावेज ल्याएका थिए । तिनै विषयमा केन्दि्रत रहेर केही युवाले संविधानसभा चुनावअगावै पार्टीभित्र बहस थालेका थिए । पछि केन्द्रीय समितिले चुनावअघिसम्म छलफल नगर्न निर्देशन दिएको थियो । उक्त बहस महाधिवेशन मिति घोषणालगत्तै सुरु गर्ने तयारीमा नेताहरू छन् ।
एमालेमा महाधिवेशनलाई लिएर शीर्ष नेताहरूबीच नेतृत्वमा पुग्ने अनौपचारिक तयारी पनि सुरु भएको छ । तीन शीर्ष नेताहरू अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल र स्थायी समिति सदस्य केपी ओली नै नेतृत्वका आकांक्षी हुन् । अन्त्यमा दुई नेता मात्र आन्तरिक समीकरण मिलाएर चुनावी प्रतिस्पर्धामा जाने सम्भावना छ । तर तीनवटै पक्षका नेताहरू तल्लो तहबाटै आ-आफ्नो पकड दरिलो बनाउने रणनीतिमा लागेका छन् । आफूनिकट प्रतिनिधिलाई निर्वाचित गराएर ल्याउँदा नेतृत्वमा पुग्न सहज हुने भएकाले उनीहरूको प्रारम्भिक ध्यान प्रतिनिधि छनोटतर्फ केन्दि्रत छ ।
बुटवलको आठौं महाधिवेशनमा खनाल र ओली नेतृत्वका लागि प्रतिस्पर्धामा थिए । अध्यक्षमा खनाल विजयी भएका थिए । नेता नेपाल प्रतिस्पर्धामा थिएनन् । अघिल्लो महाधिवेशनमा बनेको पार्टीको आन्तरिक समीकरणमा पाँच वर्षभित्र धेरै उतारचढाव आइसकेको छ ।
प्रकाशित मिति: २०७० पुस २९ ०९:२३

No comments:
Post a Comment