पछिल्लो समय नेताहरुका कुरा सुन्दा लाग्छ- सात बर्षदेखि संविधान बन्न नदिने मुख्य भडुँवा मिडिया हुन् । आउँदो माघ ८ मा सविधान जारी गर्न नदिने पनि मिडिया हुन् ! नेताहरुबीच सहमति नभइरहेको पनि मिडियाकै कारण हो !
पुस ११ - पुस ७ गते सोमबार । दिउँसो ३ बजे संविधानसभाको बैठक सुरु हुनेबित्तिकै पहिलो वक्ता थिए- कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना । संविधानका विवादलाई टुंग्याउदै कसरी संविधान जारी गर्ने भन्ने संविधानसभाभित्रको बहसमा भाग लिन उनी रोस्ट्रममा उभिएका थिए । सभाध्यक्षले उनलाई १० मिनेटको समय दिएका थिए । बोल्नथाल्नासाथ सभासद् ढुंगाना विषयान्तर भए । उनको प्रहार मिडियातर्फ सोझियो । झण्डै तीन मिनेट उनले त्यस दिन कान्तिपुरमा छापिएको मुख्य राजनीतिक समाचारबारे खर्चिए । राज्यको चौथो अंगको कर्तव्य र जिम्मेवारीबारे पाठ पढाए ।
त्यसदिन कान्तिपुरको मुख्यपृष्ठको प्रमुख समाचारको रुपमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीका अभिव्यक्ति सम्बन्धि समाचार छापिएको थियो । पुस ५ गते शनिबार बिहान बालुवाटारमा प्रमुख दलबीचको वार्ता भाँडिएको थियो । त्यसको भोलिपल्ट संसद सचिवालयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा एमाले अध्यक्ष ओलीलाई 'ठेकेदार' र 'महाराज' भन्दै आक्रोश व्यक्त गरेका थिए । ओलीले त्यसको जवाफ फर्काएका थिए ।
संविधानका लागि सहमति खोज्नुपर्ने दायित्व बाकेका प्रमुख दुई पार्टीका शीर्ष नेताबीच बढेको यो तिक्तता मिडियाका लागि समाचारको विषयवस्तु हो । महत्वपूर्ण समयमा नेताहरु के गर्दैछन् भन्ने आमजनतालाई जानकारी दिनु मिडियाको कर्तव्य पनि हो । तर, संविधानसभामा ढुंगानाले भने, 'त्यसरी समाचार सम्प्रेषण गर्दा जनतामा निराशा फैलिन्थ्यो, दिन हुदैनथ्यो ।'
पछिल्लो समय नेताहरुका कुरा सुन्दा लाग्छ- सात बर्षदेखि संविधान बन्न नदिने मुख्य भडुँवा मिडिया हुन् । आउँदो माघ ८ मा सविधान जारी गर्न नदिने पनि मिडिया हुन् ! नेताहरुबीच सहमति नभइरहेको पनि मिडियाकै कारण हो !
प्रधानमन्त्री सुशील कोइराला बेलाबेला पत्रकारहरु भेट्छन् वा मिडियासम्बन्धि सभामा जान्छन् । त्यहाँ मिडियाप्रति उनको गुनासो हुने गर्छ । मिडियाले यो गरेन्न, त्यो गरेनन् । एमाले नेता केपी ओली, माधव नेपाल, हुन् वा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई जो पनि आफ्नो अनुकुलको विचार र धारणा नआउने बित्तिकै मिडियालाई दोष थोपर्छन् । नेताहरुका अभिव्यक्ति सुन्दा लाग्छ- मिडिया नहुने हो भने उनीहरु एकछिनमा यो देशलाई कायापलट गर्दिन्छन् !
संविधानसभाको पहिलो निर्वाचनदेखि नै मुलधारका मिडियाहरु संविधानको सवालमा अनुदार देखिएका छैनन् । नयाँ संविधान र लोकतन्त्र गणतन्त्रको संस्थागत विकासको पक्ष मियिाले लिएको देखिन्छ । मिडियाले संविधानका प्रमुख बिषयहरु संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत भइरहेका छलफललाई सहयोग पुग्ने गरी विकल्प दिएका छन् कि त्यसलाई भाँड्ने प्रयास गरेका छन् ? यसको मुल्यांंकन नगरी नेताहरु सार्वजनिक खपतका लागि मात्रै बोल्दै हिँड्ने गरेका छन् ।
आफ्नो कर्तव्य पुरा नगरेको दोषबाट उम्किन वा कुनै एजेण्डालाई जनतासमक्ष 'टेस्ट' गर्न नेताहरुले मिडियालाई प्रयोग गर्न खोज्छन् । फाइदा हुनेछ भने त्यसको जस आफू लिन्छन् । आफ्नै गलत कामले आफूलाई असर पर्न थाल्यो भने दोष मिडियामा थोपर्छन् । गिरिजाप्रसाद कोइरालाले यस्तो प्रयोग निकै गर्थे । कुनै एजेण्डाबारे जनमत बुझ्नु छ भने उनी सुरुमा मिडियामै त्यसको प्रचार गर्थे । त्यसको प्रतिक्रिया सकारात्मक आएन भने 'मिडियाले मेरो कुरा' बुझेन भन्दै सहज पचाईदिन्थे ।
कांग्रेस गणतन्त्रमा जानु अघि 'बेबी किङ'को प्रसंग चलिरहेको थियो । त्यसबारे बालुवाटारको भेलामा राजदूतहरुसँग पनि उनले कुरा गरेका थिए । त्यहाँ उनले बोलेकै बिषयलाई मिडियाले समाचार बनाए । तर भोलिपल्ट कोइरालाले खण्डन गरे । 'मैले अंग्रेजीमा भनेको थिएँ, पत्रकारले कुरै बुझ्ेनन्' भन्दै पंगु बनाउन खोजे ।
गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बेलाकै प्रसंग हेरौ । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री कोइराला त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पुगे । त्यहाँ कोइरालालाई सञ्चारमन्त्री मिनेन्द्र रिजालले अमर्यादित ढंगले तानिरहेको भिडियो र तस्वीर सार्वजनिक भयो । प्रोटोकल अनुसार त्यस्तो गर्न सुहाउदैनथ्यो भन्दै रिजालको आलोचना भयो । दुनियाँ स्पष्टै देख्ने र बुझ्ने दृश्य सार्वजनिक हुँदा पनि मन्त्री रिजालले भोलिपल्ट मिडियाले अतिरञ्जित प्रचार गरेको आरोप लगाए ।
धेरै नेताहरुको प्रबृत्ति करिब मिल्छ । उनीहरु आफ्नो बोलि फेर्न मात्र होइन भित्र एउटा र बाहिर अर्को गतिविधि गर्न माहिर छन् । यस्ता गतिविधिमा उनीहरुले मिडिया आफ्नो अनुकुल भएन भने दोष थोपर्छन् । माधव नेपाल प्रधानमन्त्री हुँदा एमाओवादीको आन्दोलन चर्किइरहेको थियो । तत्कालीन सरकारलाई भारतको कठपुतली भन्दै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले 'मालिकसँग मात्र वार्ता गर्छौ' भन्ने चर्को अभिव्यक्ति दिए । भाषण गरेको कही घण्टाभित्र धापासीको एक घरमा माधव नेपालसहितका नेताहरुसँग बसेर ह्विस्की फुटाई अंगालो हालेर तस्वीर खिचाए । भोलिपल्ट संसदको बैठक चलिरहँदा नेपालले दाहाललाई अघिल्लो दिन छुटेको चस्मा खल्तीबाट झिकेर दिए । घटना भएको केही दिनपछि तस्विर सार्वजनिक भयो । उक्त तस्वीर सार्वजनिक भएपछि मिडियाले त्यस्तो तस्वीर छाप्न हुँदैनथ्यो भनेर केही नेताहरुले भने ।
संविधान बन्न नसकेको तथा नेताहरुको झगडाको रिर्पोटिङ गर्दा मिडियालाई दोष दिएर नेताहरु उम्किने कि आफ्नो काम समयमा सम्पन्न गरेर त्यही मिडियाको तारिफ कमाउने ?
khanalyes@gmail.com
प्रकाशित मिति: २०७१ पुस १२ ०१:०३

No comments:
Post a Comment