तालिम प्राप्त शिक्षक, राम्रो व्यवस्थापन, न्यून शुल्क, सिकाइको वातावरण र छात्रवृत्ति सुविधाले सामुदायिक विद्यालयतिर आकर्षण बढ्दो छ
असार ७, २०७४- राजधानीको त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलका छोरा अभिषेकले हालै १२ कक्षाको परीक्षा दिए । छोरी अनुराधा पनि यही विद्यालयबाट एसएलसी (कक्षा १२) सकेर बीएस्सी पढ्दै छिन् । हेरम्बले आफ्ना छोराछोरी दुवैलाई आफैंले पढाउने विद्यालयमा पढाए ।
कँडेलका छोराछोरी मात्र होइन, विद्यालयकी शिक्षिका निर्मला थापाकी छोरीले पनि सोही विद्यालयबाट यही वर्ष १० कक्षा पास गरिन् । ११–१२ पनि यहीँ पढाउने तयारीमा छिन् । यस विद्यालयका २१ शिक्षकले आफ्ना छोराछारी आफैंले पढाउने विद्यालयमा पढाइरहेका छन् । आफू सरकारीमा पढाउने तर छोराछोरी पढाउन निजी विद्यालय खोज्दै भौंतारिने शिक्षकका भीडमा यिनीहरू अपवाद हुन् ।
अरू शिक्षकले जस्तो यिनले किन निजी विद्यालय रोजेनन् त ? किनकि, उनीहरू विश्वस्त छन्— आफूले पढाउने सरकारी विद्यालय कुनै निजीभन्दा कम छैन ।
‘हामीले राम्ररी व्यवस्थापन गरेर विद्यालय चलाएका छौं, रिजल्ट राम्रो छ, अध्ययनका लागि आवश्यक पूर्वाधारयुक्त छ, धेरै मिहिनेत गरेर पढाउँछौं भने आफ्नै छोराछोरीलाई किन अन्यत्र पढाउने ?’ प्रअ कँडेलले भने, ‘कुनै प्राइभेट विद्यालयभन्दा हामी केहीमा पनि कम छैनौं ।’
विश्वनिकेतनजस्तै राम्रा र अब्बल सामुदायिक विद्यालय राजधानीभित्र र बाहिर धेरै छन्, शिक्षकहरूको मिहिनेत र राम्रो व्यवस्थापनले निजीको भन्दा राम्रो छवि निर्माण गरेका छन् । राजधानीकै डिल्लीबजारमा पद्मकन्या विद्याश्रम छ । छात्रा मात्र पढ्ने उक्त विद्यालयमा बर्सेनि ११–१२ मा विद्यार्थी भर्नादर बढिरहेको छ । रत्नराज्य विद्यालय, पद्मोदय, भक्तपुरको बागेश्वरीजस्ता सरकारी विद्यालयको नाम राम्रो व्यवस्थापनकै कारण निजीको भन्दा राम्ररी कहलिएको छ ।
माध्यमिक शिक्षा परिक्षा (एसईई) पास गरेका विद्यार्थी र अभिभावक लागि यस्ता सामुदायिक विद्यालय ११–१२ अर्थात् एसएलसी गन्तव्य बन्न सक्छन् । सरकारले अहिले माध्यमिक शिक्षालाई ९ देखि १२ कक्षासम्म राखेको छ । त्यसैले ९ र १० पढाइ हुने विद्यालय धेरैले ११ र १२ पनि सञ्चालन गरेका छन् । सरकारी तथ्यांकअनुसार मुलुकभर २ हजार ७ सय ३९ वटा विद्यालयले ११ र १२ पनि सञ्चालन गरेका छन् ।
सामुदायिक विद्यालयको उत्तीर्ण दर बढेको र धेरै विद्यालयले राम्रो गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका उपनियन्त्रक जयन्ती सत्यालले बताइन् । ‘सामुदायिक विद्यालय भनेर पहिलेजस्तो नाक खुम्च्याउनुपर्ने अवस्था छैन, राम्रो मिहिनेत गरेर विद्यालयहरू अब्बल बन्दै गएका छन्, बर्सेनि यस्ता विद्यालयहरूको रिजल्ट प्रतिशत बढिरहेको छ,’ उनले भनिन् ।
अधिकांश नेपालीको आयस्तर न्यून छ । त्यसैले महँगो विद्यालयमा पढाउन सक्ने हैसियत कमैको हुन्छ । तर विज्ञापन र प्रतिस्पर्धाले धेरै अभिभावक निजी विद्यालयमै पढाउनुपर्ने वा विद्यार्थी पनि निजीमा पढ्दा मात्र राम्रो हुन्छ भन्ने बाध्यता वा भ्रममा छन् । राम्रो छनोट गर्न सक्ने हो भने निजीले थोपर्ने व्ययभारबाट मुक्त हुन सकिन्छ । किनकि सामुदायिक विद्यालयमा शैक्षिक शुल्क निजीको तुलनामा धेरै नै सस्तो छ ।
‘बढी शुल्क लिने विद्यालय राम्रो हो कि भन्ने पर्छ तर त्यस्तो होइन, सामुदायिक विद्यालयहरूले कम शुल्क लिएर पनि राम्रो अध्यापन गराइरहेका छन्,’ पद्मकन्या विद्याश्रमकी प्रधानाध्यापक रीता तिवारीले भनिन्, ‘ठूल्ठूलो विज्ञापन गरेको भरमा विद्यालय राम्रा हुन्छन् भन्ने हुँदैन ।’ मानविकी, व्यवस्थापन, शिक्षा संकायको अध्यापन गराउने अधिकांश सामुदायिक विद्यालयको शुल्क एक हजारभन्दा कम नै हुन्छ । विज्ञान संकाय अध्यापन गराउनेमा भने प्रयोगात्मक कक्षा बढी खर्चिलो हुने भएकाले केही बढी लाग्न सक्छ ।
सामुदायिकमा तालिमप्राप्त शिक्षक बढी भेटिन्छन् । त्यसैले व्यवस्थापन राम्रो भएका विद्यालयका शिक्षकको गुणस्तरमा प्रश्न गर्नुपर्ने अवस्था छैन । समय–समयमा सरकारले नै त्यस्ता शिक्षकलाई तालिमको व्यवस्था गर्ने भएकाले उनीहरूमा अतिरिक्त योग्यता हुन्छ । ‘शिक्षकहरूलाई बेला–बेला तालिमको अवसर प्राप्त हुन्छ, यस्ता तालिमले अध्यापनका नयाँ विधि थाहा हुन्छ,’ शिक्षक बलराम पौडेलले भने, ‘अहिले लाइसेन्सको व्यवस्था पनि हुन लागेको छ ।’ उनका अनुसार सामुदायिक विद्यालयको अर्को मुख्य सबल पक्ष भौतिक पूर्वाधार हो । ठूला भवन, धेरै खुला ठाउँ भएका स्थानमा सामुदायिक विद्यालय छन् । सुरुमै सरकारले लगानी गरेर खोलेका विद्यालय भएकाले भवन, खेल मैदान पर्याप्त हुन्छन् । किनिक, यस्ता विद्यालयमा सरकारको ठूलो लगानी रहेको हुन्छ ।
शिक्षा मन्त्रालय, युनेस्को र युनेस्को इन्स्टिच्युट फर स्ट्याटिक्सको पछिल्लो तथ्यांकअनुसार निजी विद्यालयमा कक्षा ११ र १२ मा प्रतिविद्यार्थी लागत ३७ हजार ७ सय ५२ रुपैयाँ छ । प्रतिवेदनअनुसार निजीमा कक्षा ११ र १२ मा हुनेमध्ये ०.१ प्रतिशत सरकारी, ९३.१ प्रतिशत अभिभावक र ६.९ प्रतिशत अन्यको लगानी छ । संस्थागतमा अभिभावककै योगदान प्रमुख छ । सामुदायिकमा कक्षा ११ र १२ मा प्रतिविद्यार्थी लगानी १६ हजार ५ सय ५६ रुपैयाँ छ । सरकारी लगानी पनि कक्षा ११ र १२ मै बढी हुने गरेको छ । कक्षा ११ र १२ मा हुँदै आएको कुल लगानीको ४० प्रतिशत हिस्सा राज्यले बेहोर्दै आएको छ । अभिभावकले ४८ प्रतिशत र अन्यको १२ प्रतिशत हिस्सा हुन्छ । यसले सामुदायिकमा भन्दा निजिमा अत्यधिक खर्च हुने देखाएको छ ।
‘मध्यमस्तरको आय भएको जनसंख्या नै ठूलो छ । त्यसैले मध्यमस्तरको परिवारका लागि निजीभन्दा सामुदायिक आर्थिक रूपमा पनि राम्रो हुन्छ,’ सत्यालले भनिन् । सामुदायिक विद्यालयबाट अध्ययन गर्नेहरू सरकारीलगायत जागिरका क्षेत्रमा बढी जाने गरेका पाइन्छ । लोकसेवा आयोगको पछिल्लो तथ्यांकअनुसार बर्सेनि करिब ६ लाखको हाराहारी आवेदन पर्ने गरेको छ । त्यसमा पनि सामुदायिक विद्यालय पढेर उच्च शिक्षामा गएकाहरूकै बाहुल्य छ ।
सामुदायिक विद्यालयमा विभिन्न प्रकारका छात्रवृत्ति सुविधा हुन्छन् । समुदायको स्रोतबाट समेत चल्ने भएकाले त्यहाँ विभिन्न आर्थिक कोष बनाएर विद्यार्थीहरूका लागि छात्रवृत्ति राख्ने गरिन्छ । त्यसबाहेक सरकारले नै तोकिदिएको करिब ३ प्रतिशतलाई दिनैपर्ने छुट्टै छात्रवृत्ति त छँदै छ ।
पछिल्लो समयमा सरकारले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने नीति लिएको छ । एक निर्वाचन क्षेत्रमा कम्तीमा एक प्राविधिक शिक्षालयको योजना सरकारको छ । त्यही योजनाअन्तर्गत माध्यमिक तहमा हाल २ सय ४० वटा विद्यालयमा प्राविधिक विषय पढाइ हुन्छ । तीमध्ये ६० वटाभन्दा बढी विद्यालयमा पनि प्राविधिक पढाइ हुन थालेको छ ।
प्राविधिकअन्तर्गत विद्यालय तहबाट कृषि, कम्प्युटर, सिभिल इन्जिनियरिङलगायतका विषय पढाइ हुन्छन् । त्यसैले प्राविधिक क्षेत्रमा जान चाहने विद्यार्थीका लागि सामुदायिक विद्यालय उपयुक्त गतव्य बन्न सक्छ । प्राविधिक विषय पढ्न धेरै ठूलो अतिरिक्त शुल्क तिर्नु पर्दैन । नियमित शुल्ककै हाराहारीमा पढ्न पाइन्छ । कतिपय सामुदायिक विद्यालयमा भने व्यवस्थापकीय कमजोरी छन् ।
विद्यालयमा राजनीतिकरणको छाया छ । यद्यपि, छान्न सकियो भने यी दुवै कमजोरी नभएका विद्यालय पनि भेटिन्छन् । तुलनात्मक रूपमा पहिलेभन्दा सुधारिने क्रम बढेको छ । ‘बर्सेनि भर्नादर बढ्नुले सामुदायिक विद्यालय माथि उठ्दै छन् भन्ने संकेत दिन्छ,’ कँडेल भन्छन् ।
उत्कृष्ट सामुदायिक विद्यालय
(२०७३ मा सयभन्दा बढी विद्यार्थी १२ कक्षाको परीक्षामा सहभागी गराएर ६० प्रतिशत माथि नतिजा ल्याउन सफल)
विश्व निकेतन मावि, त्रिपुरेश्वर
पद्मकन्या, डिल्लीबजार
अमरसिंह मावि, पोखरा
कान्ति मावि, बुटवल
महेन्द्र मावि, गुल्मी
मन्थली मावि, रामेछाप
त्रिभुवन मावि, जाजरकोट
पञ्चदेवी मावि, जाजरकोट
जनप्रिय मावि, जाजरकोट
जनता मावि, जाजरकोट
बालकल्याण मावि, रुकुम
वीरेन्द्र मावि, रुकुम
त्रिवेणी मावि, रुकुम
रुकमिने मावि, रुकुम
चक्रजनता सहिद गंगा मावि, सर्लाही
राप्ती ज्ञानोदय मावि, रुकुम
जनता जागृति मावि, सोलुखुम्बु
शारदा मावि, बर्दिया
जनता मावि, महोत्तरी
महेन्द्र मावि, दार्चुला
पाटन मावि, ललितपुर
बज्रबाराही मावि, ललितपुर
जनकल्याण मावि, सल्यान
जनज्योति मावि, सल्यान
सत्यवती मावि, तनहुँ
श्री मावि, रौतहट
जनता ज्योति मावि, रौतहट
अचाने मावि, धादिङ
बागेश्वरी मावि, धादिङ
प्रकाशित: असार ७, २०७४
http://kantipur.ekantipur.com/news/2017-06-21/20170621095226.html
No comments:
Post a Comment