कुनै समय एमाओवादीका कट्टर आलोचक थिए– ओली । हिंसात्मक राजनीतिक पृष्ठभूमि भएकाले एमाओवादीलाई उनी मन पराउँदैनथे । पहिलो संविधानसभा चुनावमा एमाओवादीबाटै पराजय भोगेका थिए । गत माघ महिनासम्म पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग व्यक्तिगत तहको मनमुटाव थियो । तर अहिले ओलीका असल मित्र दाहाल नै बनेका छन् ।
- , काठमाडौं
आश्विन २५, २०७२- ४९ वर्षे राजनीतिक यात्रा पार गर्दै एमाले अध्यक्ष केपी ओली आइतबार मुलुकको सबैभन्दा शक्तिशाली कार्यकारी पदमा पुगेका छन् । नवौं महाधिवेशनबाट अध्यक्ष भई ‘पार्टी सत्ता’ को नेतृत्व लिएको एक वर्षमै उनलाई ‘शासकीय सत्ता’ को प्रमुख पद हात लागेको हो ।
पार्टी भित्र संसदीय दलको नेता र अध्यक्ष पदमा आकांक्षी बन्दा पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र माधव नेपाल उनका प्रतिस्पर्धी थिए । दुवैमा उनी विजयी भए । त्यही इतिहास आइतबार संसदबाट प्रधानमन्त्री चयन हँुदा पनि ओलीले दोहोर्याए । निवर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई झन्डै ५८ प्रतिशत मत ल्याएर पराजित गरे ।
संविधानसभाबाट संविधान जारी गर्न महत्त्वपूर्ण योगदान गरेकै कारण ओलीले संसदभित्रको बहुमत पाउने अवस्था बनेको हो । जुन कुरा समर्थनकर्ता दलका नेताहरूले आइतबार संसदमा बोल्ने क्रममा पनि बताए । पछिल्लो समय कुनै हालतमा संविधानसभाबाट संविधान जारी गर्नुपर्ने पक्षमा उनी थिए । त्यसैले उनले प्रमुख दल काग्रेससँगको सत्ता यात्रालाई जारी राख्दै एमाओवादीसँगको सम्बन्ध विस्तार गरे । जुन सम्बन्धका बलमा संविधान जारी भएपछि उनी प्रधानमन्त्री बन्ने ढोका खुल्यो ।
कुनै समय एमाओवादीका कट्टर आलोचक थिए– ओली । हिंसात्मक राजनीतिक पृष्ठभूमि भएकाले एमाओवादीलाई उनी मन पराउँदैनथे । पहिलो संविधानसभा चुनावमा एमाओवादीबाटै पराजय भोगेका थिए । गत माघ महिनासम्म पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग व्यक्तिगत तहको मनमुटाव थियो । तर अहिले ओलीका असल मित्र दाहाल नै बनेका छन् । उनलाई निकटबाट बुझ्नेहरू भन्छन्, ‘बाहिरबाट कडा देखिए पनि समय र परिस्थितिअनुसार आफूलाई बदल्न सक्ने खुवी उनमा छ ।’
२०३३ देखि ओलीको राजनीतिक सहयात्री बनेका एमाले नेता प्रदीप नेपालका अनुसार आफूलाई लागेको कुरा स्पष्ट राख्न र अडान लिन सक्ने क्षमता उनमा छ । अघिल्लो संविधानसभामा विशेषगरी जातीय आधारमा प्रदेश निर्माणको बहस निकै चलेको थियो । जुन विषयको एकोहोरो विरोध ओलीले गरे । कुनै पनि हालतमा जातीय गन्ध आउन नहुने उनको अडानका कारण दोस्रो संविधानसभामा आइपुग्दा प्रदेशको संरचना निर्माणमै फरक परिस्थिति बन्यो ।
पछिल्लो समय प्रदेश विभाजनको विषयमा बहस हुँदा थोरै बनाउने भन्नेमा उनले लामो समयसम्म अडान लिए । तीन प्रदेशसम्मको प्रस्ताव उनको थियो । पछि उनले १६ बुँदे सहमतिका क्रममा ८ प्रदेश बनाउने सम्झौतामा हस्ताक्षर गरिदिए । अघिल्लो संविधानसभाको समीकरणलाई ओलीले धेरै समय विरोध गरे । तर संविधान नबनाई संविधानसभा विघटन हुने विन्दुमा भने म्याद थप्ने भूमिका उनैले खेले । त्यसैले अडान मात्र राख्ने होइन परिस्थिति बदलिएको अवस्थामा त्यसअनुसार आफूलाई ढाल्न सक्ने चतुरता पनि ओलीमा छ ।
ओलीको सबैभन्दा ठूलो शक्ति भनेको बोली हो । तिखो र उखान टुक्का जोडेर बोल्ने उनको शैली समकालीन राजनीतिका अन्य नेताको भन्दा फरक छ । ‘तर यही प्याचप्याची बोल्ने शैलीका कारण ओलीलाई कहिले माथि उठाउने र कहिले तल झार्ने पनि गर्छ,’ झापा आन्दोलनका उनका सहयात्री राधाकृष्ण मैनालीले भने, ‘जे विषयमा पनि तर्क र संवाद गर्न सक्नुहुन्छ । जति अप्ठेरो पर्दा पनि हडबडाउनुहुन्न, इच्छाशक्ति ठूलो छ ।’ जुनसुकै विषयमा पनि कडा प्रहार र छिटो प्रतिक्रिया दिने शैलीका कारण उनी धेरै पटक आलोचना र विवादमा पर्ने गरेका छन् । पछिल्लो समयमा मधेस आन्दोलनका क्रममा उनले गरेको टिप्पणीहरू कतिपयले पचाएका छैनन् । त्यसैलाई लिएर ओलीप्रति प्रहार गर्ने गरेका छन् ।
२०२३ सालबाट माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त गरेपछि राजनीतिमा होमिएका पुराना नेता भए पनि ओलीको लामो समय पार्टीभित्र विपक्षी नेताको छवि थियो । झन्डै १५ वर्ष माधव नेपाल र पछिल्लो ५ वर्ष झलनाथ खनाल नेतृत्वमा रहँदा उनी विपक्षी जस्तै बने । त्यसैले महत्त्वपूर्ण राष्ट्रिय विषयहरूमा उनीभन्दा अरू नेताकै नाम बढी आउने गथ्र्यो । ‘चिन्तन शैली र विचार उहाँको राम्रो र निखारिएको छ तर संगठनमा गुटबाजीको शैली पनि छ’, मैनालीले भने, ‘यो प्रवृत्तिले कहिले उहाँलाई फाइदा गरेको छ, कहिले घाटा पनि पुर्याउने गरेको छ ।’
पार्टीको लोकतान्त्रीकरण र सामूहिक नेतृत्व प्रणालीमा लैजाने प्रस्ताव उनले सातौं महाधिवेशनमा ल्याएका थिए । पछि बुटवल महाधिवेशनबाट त्यसैको थालनी भयो । उनी आफूलाई मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) को असल प्रवक्ता ठान्छन् । ‘उहाँ जबजको पक्षमा सुरुदेखि नै उभिने नेता हो,’ नेता प्रदीप नेपालले भने, ‘जबजको विचारलाई अघि बढाउन उहाँको योगदान छ ।’
२००८ सालमा तेह्रथुमको सामान्य किसान परिवारमा जन्मेका ओली पञ्चायतकालमा सुखानीमा मारिएका नेता रामनाथ दाहालको संगतमा हुर्केका हुन् । दाहालकै घरमा बसेर पढ्ने क्रममा राजनीतिमा आकार्षित भएका ओली २०२८ सालमा पञ्चायतविरुद्ध सुरु भएको झापा विद्रोहका नेता हुन् । २०३० सालबाट लगातार १४ वर्ष जेल जीवन बिताएका ओली २०४८ सालबाटै सांसदमा निर्वाचित हुँदै आएका छन् ।
ओली पहिलोपटक ०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री भए भने दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भए । शासकीय जिम्मेवारीको पनि अनुभव र लामो राजनीतिक इतिहास बोकेका ओलीका सामु चुनौतीका पहाड छन् । प्रधानमन्त्रीको उम्मेदवारीको सूचना दिने बेला उनले संसदमा भनेका छन्, ‘मतदान गर्नेलाई किन गरिछु भनेर पछुतो हुन दिने छैन, मतदान नगर्नेलाई किन गरिएनछ भनेर सम्झीसम्झी बाडुली लाग्ने अवस्था सिर्जना गर्छु ।’
प्रकाशित: आश्विन २५, २०७२

No comments:
Post a Comment