काठमाडौ, चैत्र २१ - एमालेको नवौं महाधिवेशन नजिकिरहँदा वरिष्ठ नेता माधव नेपालले अध्यक्ष बन्ने आकांक्षामा दौडधुप तीव्र पारेका छन् । अहिलेसम्म आफ्नो दाबेदारीलाई अप्रत्यक्ष अभिव्यक्तिमा सीमित राखेका उनी भ्याएसम्मका कार्यक्रममा पुगिरहेका छन् ।
जुम्ला अधिवेशनमा प्रदीप ज्ञवाली लगायतलाई पठाउने एमाले सचिवालयको तयारी नेपाल आफैं जाने इच्छा व्यक्त गर्दा एकाएक बदलिएको छ । कणर्ाली इञ्चार्ज गोरखबहादुर बोगटीका अनुसार जिल्ला अधिवेशन उद्घाटन गर्न ने पाल, निर्वाचन आयोगका प्रमुख सोमनाथ प्यासीलगायत नेता शनिबार बिहान जुम्ला उड्दै छन् ।
दिल्लीमा उपचाररत नेता केपी शर्मा ओलीलाई भेटेर र्फकनेबित्तिकै उनी धादिङ हानिए । लगत्तै जुम्ला जाने मन भयो । यी घटनाक्रमबीच उनको महाधिवेशन लक्षित सक्रियता बढ्दै गएको हो । उनको खास गरी कार्यकर्ताहरू जम्मा हुने कार्यक्रममा विशेष चासो देखिँदै आएको छ । उनले कार्यक्रममा जाँदा महाधिवेशनबारे बोल्न पाउने मौकामा बढी ध्यान दिन थालेका छन् । उनी धादिङमा महायज्ञ उद्घाटन गर्न पुगेका थिए । त्यहाँ उनले पत्रकारहरूसँग भने, 'नवौं महाधिवेशनले क्रान्तिकारी र रूपान्तरणकारी नेतृत्व जन्माउँछ ।'
नेपाल पक्षका नेताहरूचाहिँ महाधिवेशनकै हिसाबले नहिँडेको दाबी गर्छन् । 'महाधिवेशनै भनेर हिँड्नु भएको चाहिँ होइन,' नेपालका स्वकीय सचिव मोहन गौतमले भने, 'बोलाएका कार्यक्रमहरूमा प्राथमिकताअनुसार जाने गर्नुहुन्छ ।' उनी हरेक कार्यक्रममा महाधिवेशनबारे केही न केही बोल्छन् ।
अध्यक्षका अर्का प्रत्याशी संसदीय दलका नेता केपी ओली एक महिनादेखि दिल्लीमा उपचाररत छन् । उनलाई भेट्न नेपाल गत आइतबार दिल्ली पुगे । त्यहाँ के राजनीतिक कुरा भयो, नेपालले बाहिर ल्याएनन् । तर महाधिवेशन लक्षित मनोकांक्षाचाहिँ त्यहींसमेत प्रकट भयो । 'विगतमा महासचिव मात्र बनेको हुँ, अध्यक्ष होइन,' उनले दिल्लीबाटै कान्तिपुरसँगको अन्तर्वार्तामा भने, 'कार्यकर्ताले हामी सबै नेताहरूका राम्रा र नराम्रा कुरा बुझिरहेका छन् ।'
महाधिवेशन घोषणापछि उनी दुई पटक जनकपुर पुगिसकेका छन् । फागुन २३ मा एमाले नेता शीलत झाकी छोरीको विवाहका लागि जाँदा पनि भित्री उद्देश्य कार्यकर्ता भेट्नु थियो । पार्टीभित्र ओलीलगायत नेताहरूसँग निकै खटपट भइरहेको त्यो बेला उनले जनकपुर उत्रनेबित्तिकै भने, 'मलाई कसैले माइनस गर्न सक्दैन ।'
सरकार निर्माण दौरानमै ग्रान्डी अस्पतालमा बैठक राखेको भन्दै उनी असन्तुष्ट भए । उनी त्यो बैठकमै नगएपछि उनी पक्षधर कोही मन्त्री सिफारिसमा परेनन् । त्यो घटनालाई नेपालले 'माइनस' गर्न खोजिएको रूपमा बुझेका थिए । जनकपुर पुगेर उनले बह पोखे ।
चैत ११-१२ मा पनि नेपाल जनकपुरमा थिए । पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा उनले महाधिवेशनबाट सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेतृत्व छानिने दाबी गरे । त्यसका लागि आफैं अब्बल भएको देखाउन चुकेनन् ।
'म पदका लागि मरिहत्ते गर्ने मान्छे होइन तर कार्यकर्ताले चाहे अध्यक्षको जिम्मेवारी लिन तयार छु,' उनले भनेका थिए ।
लगत्तै आफूनिकट नेताहरूले चैत १३ मा राजधानीमा आयोजना गरेको वैचारिक बहसमा सहभागी भए । त्यहाँ उनले समाजको चरित्र बदलिएको चर्चा गर्दै मार्गनिर्देशक सिद्धान्त जबजलाई परिष्कार गरी लानुपर्ने धारणा राखे । फागुन ३० मा ललितपुर-३ को अधिवेशन र चैत २ मा दोलखा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सहभागिता पनि महाधिवेशन लक्षितै थियो ।
२०५० मा मदन भण्डारीको निधनपछि नेपालले झन्डै १५ वर्ष शक्तिशाली महासचिव भएर पार्टी सञ्चालन गरे । २०५६ सालसम्म पार्टीमा मनमोहन अधिकारी अध्यक्ष र नेपाल महासचिव थिए । अध्यक्ष पद सेरेमोनियल जस्तो थियो, कार्यकारी महासचिव नै थिए । अधिकारीको निधनपछि अध्यक्ष पद खारेज गरियो र २०६४ सम्म एमालेमा महासचिव नै प्रमुख पद बन्यो । २०६४ को संविधानसभा चुनावमा पार्टी तेस्रो स्थानमा खुम्चिएपछि नेपालले नैतिकताका आधारमा महासचिव पद छाडे ।
पछि फेरि अध्यक्ष पद सिर्जना गरियो र झलनाथ खनाल त्यसमा आए । उनै खनालको सहयोगमा अध्यक्ष बन्ने चेष्टामा छन् नेपाल । संसदीय दल चुनावमा खनाललाई गरेको सहयोग त्यसैका लागि थियो । यद्यपि खनाल आफैंले अध्यक्षको दाबी गर्ने सम्भावना टरिसकेको छैन । आफैं उठ्ने वा नेपाल/ओली कसलाई समर्थन गर्नेबारे उनले मुख खोलिसकेका छैनन् ।
पार्टी प्रमुख पद छाडेको छ वर्षपछि फेरि त्यही हैसियतमा र्फकने उनको आकांक्षालाई एउटा पंक्तिले रुचाएको छैन । उपाध्यक्ष वामदेव गौतम, ईश्वर पोखरेल लगायतको पंक्ति कुनै हालतमा यसपटक नेपाललाई अध्यक्षमा रोक्ने र ओलीलाई पुर्याउने अभियानमा छ । उनीहरूले अभियानको 'रिहसल' गत माघमा संसदीय दलभित्र गरिसकेका छन्, ओलीलाई जिताएर ।
नवौं महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको मुद्दा ओली-गौतम समूहले उठाएको छ । 'माधवकुमार नेपाल अब पार्टीको अध्यक्ष बन्नु हुन्न भन्ने मेरो पहिलेदेखिकै विचार हो, किनभने उहाँले झन्डै १६ वर्ष कार्यकारी प्रमुख वा अध्यक्षसरह भएर पार्टी सञ्चालन गरिसक्नुभएको छ,' उपाध्यक्ष गौतमले हालै कान्तिपुरसँगको कुराकानीमा भनेका छन्, 'अब त्यस्तो जिम्मेवारी नपाएका तर त्यत्तिकै क्षमता र योग्यता भएकाले अध्यक्षको जिम्मेवारी पाउनुपर्छ ।' यसप्रति नेपाल सहमत छैनन् । उनको बुझाइमा यो मुद्दा योग्यता, क्षमता सक्रियताभन्दा पनि 'भाग' पुर्याउने ठंगले उठिरहेको छ । त्यो गर्ने हो भने पार्टी गतिशील बन्न नसक्ने उनको तर्क छ । गतिशील नेतृत्व चयन हुनुपर्ने र त्यसका लािग कार्यकर्ताले जसको मूल्यांकन गर्छन्, त्यसलाई स्वीकार्नुपर्ने उनले बताउँदै आएका छन् ।
प्रकाशित मिति: २०७० चैत्र २२ ०८:५४

No comments:
Post a Comment