Thursday, January 3, 2013

लडाकु शिविरको कथा



  • दुर्गा खनाल 


published in kantipur koseli
भित्री मधेस, भदौको दिन, त्यो पनि टिनको घर भित्रको बसाई निकै गर्मी हुने नै भयो । गर्मीले तात्तिएको दाडको संग्राम सहायक शिविरमा पसिना पछुदै शिक्षक जंगदेव जोशी अंग्रेजी भाषा पढाइरहेका छन् । भूईमा गुन्द्री र झल्ला ओछ्याएर झण्डै ६० जना लडाकुहरु कोचाकोच गर्दै बसेका छन् ।  उनीहरुको  ध्यान शिक्षक जोशीले बोलेका अंग्रेजी भाषाका बाक्यहरुमा एकाग्र छ । गत साता शिविरमा चलिरहेको कक्षामा पुग्दा अंग्रेजी भाषाको बेसिक कोर्सको पढाई हुदै थियो । जोशी ‘प्रिजेन्ट कन्टिन्यूयस टेन्स’ पढाउदै थिए । उनले मोनालिसाको श्यामश्वेत तस्विर देखाउदै लडाकु विद्यार्थीलाई सोधे  ‘ह्वाट इज सि थिंकिग्  (यीनले के सोचीरहेकी छिन्) ? लडाकुहरुबाट सामूहिक जवाफ आयो ‘सि इज थिंकिग् न्यू नेपाल  (यीनले नया नेपालबारे सोचीरहेकी छन् ) । 
नया नेपालको सपना बोकेर युदमा लागेका लडाकुहरु मोनालिसाको हेराईमा समेत नया नेपाल कै प्रतिविम्ब देख्छन् । तर शिविरको जिन्दगी यीनीहरुका लागि कहाली लाग्दो भइसकेको छ ।
जीवनको सबै भन्दा उर्जाशिल समय करिब करिब बन्दीको जस्तो अवस्थामा बस्नुपर्दा नलागोस् पनि किन । पाच बर्ष भइसक्यो शिविर भित्र बसेको  । यस्तै अवस्थामा शिविर भित्रै बसेर भएपनि केही नया कुरा सिक्न उनीहरु आकर्षित छन् । शिविरबाट कहिले छुटकारा पाउने हो त्यो त अझै अन्योल नै  छ । तर छुटेको दिन बाहिर गएर  केही गर्न सकिएलाकी भन्ने आशामा लडाकुहरु भाषा कक्षा देखि व्यावसायिक तालिम लिन थालेका छन् ।
 ‘केही नया कुरा सिकियो भने पछि बाहिर जादा पनि त्यसले काम दिन्छ’ लडाकु सूर्यबहादुर थापाले भने । ६० सालबाट माओवादीमा छिरेका उनले शिविर भित्रैबाट प्रमाणपत्र तहको अध्ययन गरिरहेका छन् । तर क्याम्पसमा गएर क्लास लिन उनले छुट्टी पाउदैनन् । आफ्नै मेहनतले पढीरहेका उनी पछिल्लो समयमा भने शिविर भित्रकै भाषा कक्षमा नियमित विद्यार्थी बनेका छन् । यसले सबै साथीहरुलाई फाइदा गरेको छ, विना काम त्यत्तिकै बस्नुभन्दा केही नया  कुरा सिक्न पाइएको छ’ उनले भने ।
संग्राम शिविरमा मात्र दिनको तीन सिफ्ट अंग्रेजी भाषा पढाई हुन्छ । एउटा  समूहमा ५० जना भन्दा बढी विद्यार्थी हुन्छन् । २० बर्षदेखि झण्डै ५०बर्ष सम्मका लडाकुहरु भाषा अध्ययन गरिरहेका छन् । रोल्पाका ४७ बर्षिय सूर्यबहादुर खत्री तिनै मध्येमा एक हुन् ।   आठ  कक्षा सम्मको  औपचारिक अध्ययन गरेका उनी पनि नियमित भाषा कक्षा घाउछन्  यो उमेरमा भाषा पढेर मात्र मैलै केही गर्छु भन्ने विश्वास त उनमा छैन । ‘तर दिनभर त्यत्तिकै बस्नु भन्दा एकदुटा नया कुरा जानिन्छ भनेर मात्र गएको हु’ उनी भन्छन् ।
भाषा तालिम लिन थालेपछि सिन्धुलीका माधवबहादुर ठाडामगरले राम्ररी दोहोरो कुराकानी गर्ने क्षमता विस्तार गरिसकेका छन् । पछिका लागि पनि सहयोग पुग्छ भन्ने सोचाईले नै उनी भाषा  तालिम सहभागी भएका हुन् । 
कुनै बेला ‘बुर्जुवा शिक्षा बहिष्कार’ गरौ भन्दै बन्दुकमा मात्र भविष्य देखेर हिडेका लडाकुहरु अहिले उनीहरुले नै भन्ने गरेको ‘साम्राज्यवादी’हरुको भाषा सिकेर त्यसबाट आफ्नो भविष्य  जज्वल देख्ने अवस्थामा पुगेका छन् ।
शिक्षक विष्टका अनुसार लडाकुहरुमा धेरै नया कुरा सिक्ने उत्साह छ । भाषा कक्षा संचालनका लागि उनीहरुलाई पढाउने समाग्री छैनन् । ‘मैले आफै पढाउछु त्यही कुराबाट सिक्ने हो, उनीहरुका  लागि  अध्ययन गर्ने अन्य समाग्री छैनन्, यो चाही समस्या छ’ उनले भने । लडाकु  ठाडामगर पनि सामग्री नभएकाले  चाहेको कुरा पनि पढ्न नपाएको  सुनाउछन् । ‘हामी जनमुक्ति सेनालाई सबै भन्दाबढी हेला गरिएको छ,आफ्नो क्षमता विकास गर्छौ भन्दा पनि पाएका छैनौ’ उनको गुनासो छ । यो भाषा कक्षा पनि  केही महिनाका लागि जर्मन सहयोग नियोग (जिआइजेड)ले संचालन गरिदिएको हो । बेसिक पढाई सकिएपछि थप अघि बढ्ने ठाउ छैन । अंग्रेजी भाषा मात्र होइन विभिन्न शिविरहरुमा कम्प्यूटर, प्लम्बिङ, स्वास्थ, र सिपमूलक तालिमहरु पनि चलिरहेका छन् । भाषा कक्षमा नजानेहरु अरु प्रकारका तालिम लिइरहेका छन् । संग्राम शविरमै कम्यूटर पढाइरहेका कृष्णबहादुर रोक्का अनुसार हरेक दिन एउटा समूहका लागि थ्योरी र  प्राक्टिकल गरी दुई घण्टा पढाई हुन्छ । झण्डै ३० जनाले पढीरहेको उनले बताए । ‘पहिले सिप केही थिएन अहिले समान्य रुपमा कम्प्यूटर चलाउन जानिएको छ, यो पनि हाम्रो लागि उपलब्धी हो’ लडाकु आशा विश्वकर्माले भनिन् ।
सात वटै डिभिजन अन्तर्गत केही न केही तालिम  भइरहेको छ  र ती सबै शिविरमा समा लडाकुहरुको सहभागीता उल्लेख्य छ । चितवनको शक्तिखोर  शिविरमा सहायक कमाण्डर जनकबहादुर बिष्टले भने ,‘साथीहरुमा आत्म विश्वास बढेको छ, केही न केही काममा दक्षता बृद्दि भएको छ ।’ उनका अनुसार  लडाकुको मुख्य शिविर भित्रका झण्डै २ सय जना भन्दा बढी विभिन्न तालिम लिइरहेका छन् ।
क्षमता विकासका लागि केही साना तिना कममा अल्झिएपछि मुख्य कुरा शिविरको जिन्दगी कहिले सकिएला भन्ने जिज्ञाशा हरेकका मुहारमा देखिन्छन् । सेना भित्रको चेनअफ कमाण्डका कारण उनीहरु खुल्ला रुपमा बोल्न समस्या छ । तर उनीहरुको केही शब्दले नै पीडा झल्काउदो रहेछ । राजधानीमा आफूहरुकै बारेमा शिर्ष नेताहरु झगडा गरिरहदा  उनीहरु भने छिटो बाहिर निकस्ने  खोजिरहेका छन् । शक्तिखोर शिविरमा भेटिएका सूर्यबहादुर खड्काले भने, ‘ सधै यसरी कतिन्जेल सम्म बस्ने, जसरी हुन्छ छिटो यसलाई टुंगो लगाउनुपर्छ ।’ ओखलढंगाको भिडन्तमा गोली लागेर घाइते भएका खड्का सम्मानजनक रुपमा पुनस्र्थापना र समायोजनकोकुरा टुंग्याउएर विदा दिनुपर्ने बताउछन् । राजनीतिक रुपमा जे सहमति हुन्छ त्यसलाई स्वीकार्ने  उनले बताए ।
 साचो प्रकरणको विवादले आफ्नै पार्टी भित्रका शिर्ष नेताहरुबीच  पानी बारबारको स्थिति भइरहेका बेला लडाकुहरु भने नया नेपाल बनाउने हो भने अलिकति घाटा सहेर भएपनि  छिटो यो मुद्दा टुंग्याउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।
‘समायोजन गरेर अघि बढ्नुको विकल्प छैन, यत्तिकै बसियो भने देश अघि बढ्दैन शक्तिकेन्द्रहरुले खेल्ने अवसरमा पाउछन्’ सहायक कमाण्डर विष्टले भने । दुई एक अर्कालाई मार्न तयार भएको सेनालाई एकै ठाउमा जोड्ने कुरा निकै जटिल भएको आफूहरुले बुझेको उनी बताउछन् । तर अब भने यसलाई ढिलो गर्न नहुने पक्षमा लडाकुहरु छन् । उनीहरुको  अपेक्षा यत्ति मात्र छ कि परिवर्तनको जग बसाल्ने सेनाको रुपमा आफूहरुलाई सबैले बुझिदिउन् । ‘पुरानो सेनाले त राजदरबारको त सुरक्षा गर्न सकेन , हामीले त परिवर्तनको जग खनेका हौ नी’ सहायक कमाण्डर विष्टले,‘ यसलाई सबैले बुझिदिनुपर्‍यो,जनमुक्ति सेना  अपराधजनक काम गरेर आएको रुपमा प्रस्तुत गर्नु भएन ।’ 

No comments:

Post a Comment