गएको साता विकसित भएका यी दुइटा घटनाबाट स्पष्ट हुन्छ एउटै पार्टीका दुई धार निकै विभाजित छन् । तर त्यही विवाद र बाझिएको विचार अर्को पार्टीको कुनै एउटा गुटसँग चाहिँ ठ्याक्कै मिल्छ । यसको पछाडि आफ्नो पार्टीलाई भन्दा पनि गुटलाई मजबुत बनाउने व्यक्तिगत स्वार्थले काम गरेको छ ।
![]() |
| News Analysis published in katipur daily |
काठमाडौ, वैशाख ११ - संयोग हो या रणनीतिः एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी समिति सदस्य केपी ओली र माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईबाट एकै समय एकै स्वरमा आयो, 'झलनाथ खनाल नेतृत्वको सरकारको विकल्प खोज्नुपर्छ ।' जबकि हरेक सरकारलाई मधुमासका दिन बिताउने अवसर दिइन्छ, त्यसपछि मात्रै आलोचना र विकल्पका शब्दहरू आउने गर्थे । खनालाई त्यो अवसर पनि दिइएन ।
नेपाल र ओलीले पत्रिकामा विस्तृत अन्तर्वार्ता दिँदै खनाल नेतृत्वको सरकार असफल भइसकेको घोषणा गरे, 'जेठ १४ को सेरोफेरोमै खनाल सरकारको विकल्प दिनुपर्छ ।' उता माओवादीका भट्टराईले पनि आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै केही दिनभित्रै शान्ति र संविधानको सुनिश्चित आधार तय नभए मुलुक भयानक दुर्घटनातर्फ जाने बताए । उनले राष्ट्रिय सहमति हुने खालको नयाँ सरकार आवश्यक भएको पनि बताए ।
खनाल नेतृत्वको विकल्पको चर्चा सुरु भएपछि माओवादी र एमालेकै अर्को एउटा समूह भने कसरी सत्ता गठबन्धन दिगो बनाउने भन्ने रणनीति बनाउन जुटिरहेको छ । यसमा विशेष गरी एमालेको झलनाथ खनाल र माओवादीको पुष्पकमल दाहाल समूह सक्रिय छ । खनाल र दाहालका निकट सहयोगीको पहलमा यतिबेर सरकारविरुद्ध मोर्चाबन्दीलाई कमजोर पार्ने रणनीति बनिरहेको छ ।
नेपाल र ओली, एमालेको र भट्टराई माओवादीभित्रको एउटा गुटको प्रतिनिधित्व गर्छन् । यतिबेर खनाल नेतृत्वको सरकारको विकल्प खोज्ने कुरामा एमालेको नेपाल ओली र माओवादीको भट्टराई गुटको धारणा समान भएको छ । यही सरकारले नै सबै समस्या समाधान गर्ने कुरामा एमालेको खनाल गुट र माओवादीको दाहाल गुटबीच एकमत छ ।
गएको साता विकसित भएका यी दुइटा घटनाबाट स्पष्ट हुन्छ एउटै पार्टीका दुई धार निकै विभाजित छन् । तर त्यही विवाद र बाझिएको विचार अर्को पार्टीको कुनै एउटा गुटसँग चाहिँ ठ्याक्कै मिल्छ ।
यसको पछाडि आफ्नो पार्टीलाई भन्दा पनि गुटलाई मजबुत बनाउने व्यक्तिगत स्वार्थले काम गरेको छ ।
'बृहत्तर नेपालको हितलाई हेर्नेभन्दा पनि आफैं शक्तिमा जाने स्वार्थ नेताहरूमा छ,' विश्लेषक श्याम श्रेष्ठ भन्छन् ।
नेताहरू आफ्नै गुट र स्वार्थमा रुमल्लिइरहँदा राष्ट्रिय एजेन्डाहरू भने छाया परेका छन् । इतिहासदेखि नै जब राजनीतिक पार्टीहरूबीच आन्तरिक विवाद र फुटको शृंखला बढ्छ त्यतिबेला राष्ट्रिय एजेन्डा धरापमा पर्ने गरेका उदाहरण छन् । त्यसैको पछिल्लो शृंखला फेरि जोडिने खतरा पैदा हुँदै छ । यतिबेर सबै प्रमुख पार्टीहरूमा दुईदेखि तीनवटासम्म गुट छन् । नेतैपिच्छेका गुट र त्यसको आपसी स्वार्थ बाझिँदा शान्ति प्रक्रिया र संविधान निमर्ाणलाई पूर्णता दिने प्रमुख राष्ट्रिय मुद्दा भने धरापमा छ ।
माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्षद्वय मोहन वैद्य र डा. बाबुराम भट्टराईका आआफ्ना गुट छन् । दाहाल कहिले वैद्य र कहिले भट्टराई गुटसँग नजिकिन्छन् ।
एमालेमा अध्यक्ष झलनाथ खनाल एवं वरिष्ठ नेता नेपाल र केपी ओलीको दुई गुट छ । कांग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाको दुई गुट छ । तीन पार्टीभित्र एक-एकवटा गुट फरक पार्टीको कुनै गुटसँग नजिक छन् । कांग्रेस सरकारमा नभए पनि देउवाको धार खनाल र दाहालको गुटसँग नजिक छ । त्यस्तै कोइरालाको धारणा भट्टराई र नेपाल/ओली गुटसँग नजिक जस्तो देखिन्छ ।
प्ाार्टीभित्रका चरम गुटबन्दीका कारण राष्ट्रिय एजेन्डाहरूमा एउटै पार्टीका नेताहरूबाट फरक-फरक धारणा आउने गर्छन् । जस्तो शान्ति र संविधानको एजेन्डा बोकेर हिँड्ने कि जनविद्रोह भन्नेमा माओवादीमा दाहाल वैद्य र भट्टराई गुटबीच विवाद छ । विद्रोहको लाइनमा जानुपर्ने वैद्य गुटको धारणा भट्टराईसँग मिलेको छैन ।
माओवादीसँग कस्तो सम्बन्ध राख्ने भन्ने विषयमा एमालेमा खनाल र नेपाल/ओली समूहबीच विवाद छ । खनाल माओवादीसँग नरम नीति राखेर जाने पक्षमा छन् र त्यही कारण उनी माओवादीको समर्थन जुटाएर प्रधानमन्त्रीसम्म भएका छन् । उता नेपाल/ओली भने माओवादीलाई किनारा लगाएर कांग्रेससँगको सम्बन्ध सुमधुर बनाउने पक्षमा छन् । यही स्वार्थ नमिल्दा विवाद चरम बन्दै गइरहेको छ । एउटै पार्टीबाट फरक-फरक विचार प्रकट हुँदा पार्टीको आधिकारिक धारणा र लाइन के हो भन्ने बुझ्न गाह्रो पर्छ । जसले गदर्ा राष्ट्रिय मुद्दाहरू सम्बोधन हुन सकेका छैनन् ।
पार्टीहरूबीच गुटबन्दी बढ्नुमा सैद्घान्तिकभन्दा पनि बढी व्यक्तित्वको टकरावले काम गरेको विश्लेषक श्रेष्ठको ठम्याइ छ ।
'सैद्घान्तिकभन्दा पनि बढी व्यक्तिगत स्वार्थको टकराव बढी छ,' उनले भने, 'सिद्घान्तअनुसार चल्नेभन्दा पनि संगठन व्यवस्थापन गर्ने व्यवस्थापकको रूपमा नेताहरू काविल यसले पनि गुटबन्दीलाई मलजल गरेको छ ।'
हरेक पार्टीका शीर्ष नेता करिब एउटै उमेर समूहका छन् । राजनीति र पार्टीमा संलग्नताको अवधि पनि उस्तै छ । माओवादीभित्र दाहाल र भट्टराई, एमालेमा खनाल नेपाल र ओली एउटै उमेर समूह र योगदान भएकामध्ये पर्छन् । गिरिजाप्रसाद कोइराला हुँदासम्म फरक रहेको कांग्रेसमा पनि त्यही समस्या भित्रिइरहेको छ । उस्तै-उस्तै व्यक्तित्व हँुदा एकले अर्कालाई नगन्ने प्रवृत्ति हावी हुन्छ । जुन त्यही अहिले देखिइरहेको छ ।
गुटबन्दीको राजनीति यतिबेला मात्र फस्टाएको होइन । कांग्रेसभित्र बीपी कोइराला र मातृकाप्रसाद कोइरालादेखि सुशील/शेरबहदुरसम्म र कम्युनिस्ट पार्टीहरूभित्र पुष्पलाल श्रेष्ठ, केशरजंग रायमाझीदेखि झलनाथ खनाल, माधव नेपाल, केपी ओली र पुष्पकमल दाहाल, मोहन वैद्य र बाबुराम भट्टराईसम्मको गुटबन्दीमा सैद्घान्तिक विवादले मात्र होइन व्यक्तित्व र कार्यशैलीको टकराव पनि जोडिएको छ ।
'समानस्तरका नेता र एउटाको कार्यशैली अर्काले नपचाउने जस्तो देखिन्छ यसले पनि आन्तरिक रूपमा पार्टीभित्र धेरै विभाजन ल्याउने गरेको छ,' एमाले स्कुल विभाग प्रमुख बदुराम भुसालले भने, 'पछिल्लो कालमा सिद्घान्तभन्दा पनि कार्यशैली विषयमा बढी विवाद छ ।'
कम्युनिस्ट पार्टीभित्र २०१७ सालमा राजाले शासन लिएपछि त्यो कदम ठीक कि बेठिक भन्ने सवालबाट पुष्पलाल श्रेष्ठ र केशरजंग रायमाझीबीचको टकराव भयो । यही टकरावका कारण रायमाझी पछि दरबार
पसे । तुलसीलाल अमात्य र पुष्पलालबीच पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको दुई धारमध्ये 'चीनपन्थी' हुने 'रुसपन्थी' भन्ने टकराव आयो ।
तत्कालीन मालेमा २०३९ मा पनि पार्टीभित्र दुई गुट भयो । तत्कालीन मालेका महासचिव सीपी मैनालीलाई हटाएर झलनाथ खनाल महासचिव बने । २०४६ पछि मदन भण्डारी महासचिव बने । उनको कार्यकालमा पनि दुई नेता र गुटबीचको टकराव थियो । पाँचौं महाधिवेशनका बेला भण्डारीले ल्याएको 'जनताको बहुदलीय जनवाद' अंगाल्ने कि झलनाथ खनाल/सीपी मैनालीहरूले अघि सारेको 'नौलो जनवाद' अपनाउने भन्नेमा निकै विवाद भयो । भण्डारीको निधनपछि माधव नेपाल एमालेको महासचिव भए । उनको झन्डै १५ वर्ष कार्यकालमा उनीविरुद्घ केपी ओली/वामदेव गौतमहरूको गुटबन्दी भयो । केपीलाई टक्कर दिन आफू पार्टीभित्र उपमहासचिव पद सिर्जना गरेर वामदेव गौतमलाई नेपालले हावी गराउने प्रयास गरेपछि यही पद खारेज गरेपछि चिढिएका गौतमले महाकाली सन्धिको विषयलाई लिएर २०५४ मा एमाले फुटाए । खनालविरुद्घ कुनै समय एक-अर्काका विरोधी मानिने नेपाल-ओली एक ठाउँमा छन् ।
यतिबेर एमालेभित्र माओवादीलाई हेर्ने दृष्टिकोणबाहेक अन्य कुनै विषयमा सैद्घान्तिक विवाद छैन । तर कार्यशैलीलाई लिएर व्यापक विवाद र गुटबन्दी छ । आठौं महाधिवेशनबाट सामूहिक नेतृत्व प्रणालीमा जाने निर्णय भयो र अध्यक्ष, उपाध्यक्ष्ा, महासचिव, सचिवलगायत पद सिर्जना भए । तर अध्यक्षले खनाल सामूहिक नेतृत्व प्रणालीलाई आत्मसात नगरेको आरोप नेपाल-ओली पक्ष्ाले लगाउँदै आएको छ । पछिल्लो समय प्रधानमन्त्री बन्ने बेलामा माओवादीसँग गरेको सात बुँदे सहमति खनालले पार्टीका अन्य पदाधिकारीलाई जानकारी नगराई गोप्यरूपमा गरेका थिए । यसलाई सामूहिक नेतृत्व प्रणालीलाई बेवास्ता गरेको पछिल्लो उदाहरणको रूपमा नेपाल-ओली समूहले लिने गरेको छ ।
'माओवादीलाई हेर्ने दृष्टिकोणमा केही फरक धारणा जस्तो देखिए पनि आठौं महाधिवेशनपछि सैद्घान्तिक विवाद छैनन्,' भुसालले भने, 'कार्यशैलीकै विषयमा बढी प्रश्न उठिरहेको छ ।'
कांग्रेसमा पनि स्थापनाकालदेखि व्यक्तिगत टकरावकै कारण गुटबन्दी देखापरे, जुन निरन्तर छ, पात्र मात्रै बदलिएका हुन् । २००८ मा विश्वेश्वरप्रसाद कोइराला र मातृकाप्रसाद कोइरालाबीच टकराव थियो । २०१२ तिर गणेशमान सिंह र सुवर्णशमशेरबीच । २०१६/१७ पछि बीपी र सुवर्णशमशेर गुट देखिए । गणेशमान सिंह/कृष्णप्रसाद भट्टराई 'भर्सेस' गिरिजाप्रसाद कोइराला गुट २०४२ देखि निरन्तर जारी रह्यो । त्यही पृष्ठभूमिमा २०५० को उपनिर्वाचनसँगै उत्पन्न अन्तर्घात प्रकरण देखापर्यो । भट्टराईको राजनीतिक निष्त्रिmयतासँगै उनको उत्तराधिकारी देखापरे, शेरबहादुर देउवा । त्यसपछि कोइराला र देउवा दुई गुटका रूपमा २०५६ बाट तीव्रता
पायो । कोइराला र देउवाको टकरावले २०५९ असारमा कांग्रेस फुट्यो । त्यही विभाजनको मौका छोपी दरबारले प्रजातन्त्र अपदस्थ गर्यो ।
कम्युनिस्ट पार्टीको हाँगो पुरानो भए पनि २०५१ सालमा सशस्त्र द्वन्द्व सुरु भएपछि उदाएको माओवादीमा पनि त्यही बेलादेखि गुटबन्दी छ । युद्घका बेला बाहिर कम देखिएको गुटबन्दी चरम बन्दै गएको छ । २०५४ मा नेतृत्वको विषयमा दाहाल र भट्टराईबीच गुटबन्दी सुरु भएको हो । २०६० सालमा सबै जिम्मेवारी दाहालले लिएपछि नेतृत्व केन्द्रीकरण भएको भन्दै विवाद उत्कर्षमा पुग्यो र २०६१ म्ाा भट्टराईमाथि पार्टीले कारबाही नै गर्यो । २०६५ मा शान्ति र संविधानको बाटो लिने कि जनविद्रोह भन्नेमा दाहाल र वैद्यबीच विवाद भयो । २०६७ सालमा दाहाल र भट्टराईबीच शान्ति र संविधानको कार्यदिशा, प्रधान अन्तरविरोध भारत हुने कि नहुने भन्नेमा विवाद भयो । यिनै विवादका बीचमा गुटबन्दी बढ्दै गएको हो ।
२०४७ पछि पूर्वपञ्चहरूको पार्टीको रूपमा उदाएको राप्रपा र दोस्रो जनआन्दोलनपछि उदाएका मधेसी दलहरूमा पनि गुटबन्दीको रोगले छोडेको छैन । राप्रपा त पटक-पटक फुटेर चिरा-चिरा भएको छ । मधेसी दलहरूपनि ३ वर्षको अवधिमै धेरैपटक विभाजित भइसकेका छन् । अझै तीन दलहरूमा गुटबन्दी बढिरहेकै छ ।
जुन बेला पार्टीहरू आन्तरिक गुटबन्दीमा फस्छन् त्यो बेला अर्को शक्तिले टाउको उठाउने ठाउँ पाउँछ । र, जुन बेला मिल्छन् त्यो बेला अग्रगामी परिवर्तन हुने गरेका उदाहरण छन् ।
२००७ पछि बीपी-सुवर्णशमशेर लगायतको टकरावले २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोस्ने वातावरण बन्यो । २०४६ मा कांग्रेस/कम्युनिस्ट दुवै पार्टीहरूको आन्तरिक एकता मजबुत हँुदा ३० वर्ष पञ्चायत ढाल्न सम्भव भयो ।
कांग्रेसभित्र गिरिजा, कृष्णप्रसाद र शेरबहादुर देउवाको र एमालेभित्र माधव नेपाल, केपी ओली, झलनाथ खनाल, वामदेव गौतमहरूको गुटबन्दीलगायतले राजनीति ठीक ठाउँमा हिँड्न सकेन । जसले गर्दा २०६१ मा दरबारले फेरि टाउको उठायो । २०६२/६३ मा राजाविरुद्घ एक ठाउँमा उभिएर गणतन्त्र ल्याएका दलहरू त्यसको तीन वर्ष नबित्दै गुटबन्दी र व्यक्तिगत स्वार्थमा यति लिप्त भइसकेका छन् कि शान्ति प्रक्रिया पूरा गरी संविधान निर्माणलाई पूर्णता दिने प्रमुख कार्यभार नै बिर्सेजस्तो भएको छ ।
प्रकाशित मिति: २०६८ वैशाख ११ ०८:४४

No comments:
Post a Comment