Sunday, January 19, 2014

एमाले महाधिबेसन शृंखला- 1/एमालेमा उतारचढावका पाँच वर्ष



काठमाडौ- आठौं महाधिवेशनबाट एमालेले मुलुकका अन्य सबै दललाई उछिनेर लोकतान्त्रिक पद्धतिअनुसार नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका कारण महाधिवेशनमा झलनाथ खनाल र नेता केपी ओलीबीच दुईवटा चुनावी प्यानल खडा भए । दुई प्यानल भिड्दा खनाल अध्यक्षमा निर्वाचित भए, नेता ओली हारे । झगडाको बीउ त्यहींबाट सुरु भयो । केन्द्रदेखि तल्लो तहसम्मै दुई नेताको पक्ष लिएर गुटबन्दी झाूगियो । चुनाव जित्ने पक्षले हार्नेलाई समेट्न खोजेन, हार्नेले अर्को पक्षको जित स्वीकारेन, समस्या त्यहींबाट सुरु भयो । 


माओवादी कि कांग्रेससँग सहकार्य गरेर जाने भन्नेमा अध्यक्ष खनाल र नेताहरू माधव नेपाल र ओली समूहबीच मत मिलेन । खनाल पक्ष माओवादसँग सहकार्य गरेर जाने पक्षमा रह्यो भने नेपाल- ओलीले कांग्रेसलाई निकट ठाने । दुइटा प्रतिस्पर्धी पार्टीसँगको सम्बन्ध कस्तो राख्ने भन्ने सैद्धान्तिक विवादले दुई पटक सरकारको नेतृत्व गर्ने अवसर पाउूदा पनि एमालेले राजनीतिक प्रभाव छाड्न सकेन ।
कांग्रेससहितका दलहरूको समर्थनमा पहिलो पटक वरिष्ठ नेता माधवकुमार नेपालले सात महिना कामचलाउसहित झन्डै २२ महिना सरकार चलाए । तर नेपाल नेतृत्वको सरकार विपक्षी दलको विरोधभन्दा पनि पार्टीभित्रकै विवादका कारण्ा टिक्न सकेन । अध्यक्ष खनालले नै नेपाल नेतृत्वको सरकारको विरोध गरिदिए । उपाध्यक्ष वामदेव गौतमसहितका झन्डै ५ दर्जन नेताले नेपाल नेतृत्वको सरकारविरुद्ध हस्ताक्षर अभियान नै चलाए । नेपाल नेतृत्वको सरकारपछि फेरि एमालेकै हातमा सरकारको अवसर आयो । अध्यक्ष खनाल माओवादीको समर्थनमा प्रधानमन्त्री बन्न पुगे । पार्टीलाई नै थाहा नदिई प्रधानमन्त्री बन्न एमाओवादीसँग गोप्य सातबुँदे सहमति गरेको आरोप खनालमाथि लाग्यो । उनी प्रधानमन्त्री बनेपछि पार्टीभित्र नेपाल-ओली समूह पार्टीभित्रैबाट प्रमुख विपक्षीजस्तो भूमिका देखिए । नेपाल-ओलीले खनाल नेतृत्वको सरकारलाई पार्टीभित्रबाट सहयोग गरेनन् । झन्डै ६ महिनासम्म खनाल सरकारमा बसे । त्यो बेला उनले गरेका काममाथि अनुशासनको प्रश्नसमेत उठ्यो । पार्टीको नीति निर्णयविपरीत उनले सत्ता गठबन्धन टिकाउन सम्झौतावादी बनेर पार्टीलाई बदनाम गराएको भन्दै पदबाटै हटाउनेसम्मका धम्की नेपाल-ओली पक्षबाट आयो । केन्द्रीय समितिभित्र घटनाक्रम व्यक्तिगत लाञ्छना लगाउने तहसम्म पुग्यो । 

आन्तरिक एकता हुँदै, भत्किँदै 

चरम गुटबन्दीले पार्टी नै समाप्त हुने स्थितिमा पुगेपछि विशेष गरी खनाल-ओलीबीच २०६८ मा आन्तरिक एकता गरेर जाने सहमति भयो । महाधिवेशनको पछिका पहिला तीन वर्षको गुटबन्दीले नेताहरूको व्यक्तित्व क्षयीकरण भयो । पार्टी अप्ठ्यारोमा परेको महसुस दुवैले गरे । त्यसपछि २०६८ फागुनमा भएको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठकबाट पार्टीभित्र आन्तरिक एकता गरी जाने घोषणा भयो । त्यही एकताका क्रममा स्थायी समिति सदस्य रहेका नेता ओलीलाई तेस्रो वरीयतामा राख्ने निर्णय निर्णय भयो । तलदेखि माथिसम्मको गुटबन्दी अन्त्य गर्ने, चुनावमा प्यानल खडा नगर्नेलगायत सहमति भएका थिए । ती सहमतिप्रति त्यो बेला वरिष्ठ नेता नेपाल र महासचिव ईश्वर पोखरेल केही सशंकित भएका थिए ।

राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठकपछि पछिल्ला दुई वर्ष एमालेमा धेरै ठूलो गुटबन्दी देखिएन । सार्वजनिक मञ्चबाट प्रमुख नेताहरूले एक-अर्कालाई गाली गरेनन् । पार्टी सुदृढीकरणका लागि भन्दै देशव्यापी अभियान पनि चलाए । पार्टीभित्रको तीन नेताको सम्बन्ध सुधि्रँदा त्यसको प्रभाव हालै सम्पन्न संविधानसभाको चुनावमा पनि पर्‍यो । आठांै महाधिवेशनअघि ३३ सिटमा खुम्चिएको पार्टीले प्रत्यक्षमा ९१ सिट हासिल गर्‍यो । यो ठूलौ उपलब्धि भयो एमालेलाई तर चुनाव सँगसँगै नेताहरूबीच मनमुटाव सुरु भयो । 

चुनावमा टिकट वितरण गर्ने विषयमा प्रमुख नेताहरूबीच विवाद भयो । असार महिनामा चुनाव नहुने अवस्था आएपछि नेता ओली पक्षले तत्काल महाधिवेशन गर्नुपर्ने माग पार्टीभित्र चर्काउन थाल्यो । त्यसलाई खनाल पक्षले रुचाएन । त्यही कारण झन्डै दुई वर्षअघि भएको खनाल र ओलीबीचको आन्तरिक एकतामा धुमिल बन्न थाल्यो । खनाल र ओलीको दूरी बढ्यो । यसको फाइदा नेपालले उठाए । उनले अहिले महाधिवेशन लक्षित गर्दै खनालसँग आफ्नो निकटता बढाएका छन् । नवौं महाधिवेशनको अन्तिमसम्म यो समीकरण उथलपुथल पनि हुन सक्छ । तर यतिबरे खनाल- नेपाल एकातिर ओली अर्कोतिर भएका छन् ।

तीन नेताको पृष्ठभूमि
खनाल, नेपाल र ओली तीनै जना एमालेका पुराना नेता हुन् । खनाल २०२५ र नेपाल/ओली २०२६ सालबाट पार्टीको सदस्य बनेका हुन् । खनाल र ओली २०२८ सालको झापा विद्रोहदेखि नै सँगै छन् । खनाल र नेपाल दुवै नेता  पार्टीको प्रमुख पदमा पुगिसकेका छन् । खनालले दुई पटक गरी झन्डै १३ वर्ष पार्टीका महासचिव र अध्यक्षको हैसियतमा पार्टीको नेतृत्व गरिसकेका छन् । नेपालले लगातार १५ वर्ष महाचिवको रूपमा पार्टी चलाए । खनाल र नेपाल दुवैले प्रधानमन्त्री भएर मुलुकको समेत नेतृत्व गरिसकेका छन् । ओली भने अहिलेसम्म दुवैतर्फ पहिलो नम्बरमा पुग्न सकेका छैनन् ।
खनाल २०३९ सालमा तत्कालीन महासचिव सीपी मैनाली कारबाहीमा परेपछि  पहिलोपल्ट महासचिव भएका थिए । त्यसपछि झन्डै ८ वर्ष खनालले तत्कालीन मालेको महासचिव भएर काम गरे । माले र माक्र्सवादीको एकीकरणबाट एमाले बनेपछि चाहिँ खनाल लामो समय गुमनाम जस्तै थिए । २०५० सालमा मदन भण्डारीको निधन भएपछि एमालेमा माधव नेपाल प्रमुख नेताको रूपमा उदाए । अध्यक्ष मनमोहन अधिकारी भए पनि पार्टीको प्रमुख कार्यकारी पद महसचिव थियो । महासचिवको रूपमा नेपालले लगातार २०६५ सालसम्म पार्टीको नेतृत्व गरे । उनका कार्यकालभरि ओली पार्टीभित्र प्रतिपक्षको भूमिकामा नै रहे । संविधानसभाको पहिलो चुनावमा नेपाल र ओली दुवै हारेपछि खनाललाई फेरि एमालेको नेतृत्व गर्ने अवसर जुट्यो । नेपालले नैतिकताको आधारमा राजीनामा दिए । चुनाव जितेको र पहिले पार्टीको नेतृत्व पनि गरेकाले तत्कालीन स्थायी समिति सदस्य खनाललाई पार्टीले महासचिवको जिम्मेवारी दिए । लामो समय पार्टीभित्र शक्तिविहीन अवस्थामा रहेका खनाल महासचिवको पद पाएपछि शक्तिशाली बने । झन्डै नौ महिना महासचिव चलाएपछि २०६५ फागुन भएको बुटवल महाधिवेशनबाट एमाले अध्यक्षात्मक संरचनागयो । नयाँ संरचनामा पनि खनाल ओलीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भए । बुटवल महाधिवेशनमा नेपाल आफू सर्वसम्मत रूपमा फेरि अध्यक्ष बन्न चाहन्थे । तर त्यो सम्भावना नरहेपछि प्रतिस्पर्धी बनेनन् । उनले खनाल र ओली दुवै पक्षलाई समर्थन गरेनन् ।


आकांक्षी तीन नेता

झलनाथ खनाल -अध्यक्ष)


उमेर- ६४ वर्ष


पार्टी सदस्यता- २०२५ साल


२०३९-२०४६- माले महासचिव


२०४८- अन्तरिम सरकारका वनमन्त्री


२०५३- सूचना तथा सञ्चारमन्त्री 


२०६५- एमाले महासचिव


२०६५- देखि हालसम्म एमाले अध्यक्ष


२०६७- प्रधानमन्त्री

माधवकुमार नेपाल -वरिष्ठ नेता)


उमेर- ६१ वर्ष


पार्टी सदस्यता- २०२६ साल 


२०५०-२०६५- पार्टी महासचिव


२०५१-२०५२- उपप्रधानमन्त्री तथा रक्षा र परराष्ट्रमन्त्री


२०६६- प्रधानमन्त्री




केपी शर्मा ओली -स्थायी कमिटी सदस्य, विदेश विभाग प्रमुख)


उमेर- ६२ 


पार्टी सदस्यता- २०२६ साल


२०५१-२०५२- गृहमन्त्री,


२०६४-२०६५- उपप्रधान एवं परराष्ट्रमन्त्री



प्रकाशित मिति: २०७० माघ ४ १०:२०

No comments:

Post a Comment