Thursday, January 16, 2014

विकासे मसला बेच्दै


पोखरा, कार्तिक १५ - अघिल्लो शनिबार राजधानीबाट पोखरा पुग्दा लागेको थियो, संविधान बनाउने प्रयोजनकै लागि चुनाव हुन लागेकाले स्थानीय तहमा संविधानबारे बहस गतिलै चलिरहेको होला । मतदाताले पनि संविधानका विषयमा उम्मेदवारहरूलाई राम्रै केरकार गरिरहेका होलान् । उम्मेदवारहरूले पनि संविधानमै बढी केन्दि्रत भएर मतदातालाई विश्वासमा लिने प्रयास गरेका होलान् । तर, झन्डै एक साता पश्चिमक्षेत्र घुम्दा चुनावी माहोल भने संविधानसभा होइन, संसदीय चुनावजस्तो छ ।


न मतदाताले संविधानका विषयमा चासो दिएर उम्मेदवारसँग सोध्छन्, न उम्मेदवारले संविधान बनाउने प्रतिबद्धतालाई पहिलो प्राथमिकतामा राखी मतदातालाई संविधानबारे मुद्दा बुझाउन खोज्छन् । विकासे कुरा नै मतदाताका प्रमुख माग भएका छन् र उम्मेदवारलाई पनि भोटका लागि विकास नै विकाउ मसला । 



संविधानसभा हुँदाका बखत संविधानका संघीयतामाथि बहस हँुदा पश्चिमाञ्चल क्षेत्र तातेको थियो । आदिवासी जनजातिहरूको एकल जातीेय संघीयता र छेत्री-ब्राह्मण समुदायको त्यसविरोधी आन्दोलन पश्चिमाञ्चलमै उठेको थियो । आन्दोलनकै कारण स्थापित भएका संघीय समाजवादी र अखण्ड नेपालजस्ता पार्टीको प्रभाव बढेको देखिन्छ । चुनावको निर्णयमा उनीहरूको भूमिकाले ठूला दललाई असर गर्ने आंकलन स्थानीयको छ । ठूला दलहरूबीच नै तीव्र प्रतिस्पर्धा छ । तर, राज्य पुनर्संरचनाको सवालमा विभाजित मतको असर पश्चिम क्षेत्रको चुनावी परिणाम पर्न सक्छ ।



बिहान ७ बजेदेखि नै नेताहरू 'लौ मलाई सेवा गर्ने अवसर दिनुहोस्' भन्दै दुई हात जोडेर नमस्कार गर्दै निस्कन्छन् । जहाँ जहाँ मतदाताले जे माग्छन् त्यो म गरिहाल्छु भन्दै सयौ आश्वासन दिएर र्फकछन् । गत आइतबार बिहान कास्की ३ का एमाले उम्मेदवार रवीन्द्र अधिकारी गैरापाटनको घरदैलोमा भेटिए । मत माग्नका लागि गाउँबाट सहर हुँदै फेरि दोस्रो चरण गाउँ नै जाने क्रममा रहेका अधिकारीसँग धेरैले विकासकै माग राखेका रहेछन् । 'आम मतदाताको चासो विकास नै छ, गाउँतिर विकास र सहरका केही स्थानहरूमा मात्र संविधानका कुरा आउँछन्,' अधिकारीले आफ्नो अनुभव सुनाए, 'जसरी पनि जनतालाई विकास चाहिएको छ ।'



संविधान ल्याउने होइन, धारा बत्ती, पानी बाटो, रोजगारी सबैथोक हुन्छ भन्ने प्रतिबद्धता उम्मेदवारहरूले गर्छन् । कास्की दुईमा एमाओवादी उम्मेदवार बखानसिंह तमुसँग पनि अधिकारीकै जस्तो अनुभव रहेछ । पोखराको पर्यटन विकासको कुरा नै उनका लागि प्रमुख माग बनेका रहेकाछन् । आफूले जितेमा त्यो सम्भव हुने आश्वासन दिन उनले पनि छुटाएका छैनन् । सोमबार दमौलीबजारबाट तनहुँ २ को घरदैलोका लागि कांग्रेस नेता रामचन्द्र पौडेल हिँडे । त्यो दिन उनले झन्डै १२ वटा स-साना चुनावी सभामा सहभगिता जनाउँदै घरदैलो गरे । ती सबै सभामा उनले संविधानभन्दा विकासको कुरा गर्दै भोट मागे ।



मतदाताहरूले स्थानीय आवश्यकता के हुन् त्यसको फेहरिस्त सुनाए । पौडेलले यसै वर्ष यति बजेट छुटियो अर्को वर्ष यति आउँछ भन्दै आश्वासन दिँदै हिँडे । जिल्लामा भएका विकास निर्माणका सबै आफूले हालेको भन्दै उनले आफैं क्रेडिट लिने प्रयास गरे । चार पटक तनहुँबाट चुनाव जितेका पौडेलले कलेस्ती बजारमा विकास निर्माणको काम आफूले सुरु गरेकोे र त्यसलाई पूरा गर्नका लागि फेरि मत चाहिएको भन्दै भोट मागे । कास्कीको ल्वाङघलेलमा स्थानीयवासीलाई धान भित्र्याउने चटारो थियो, कांग्रेसका महादेव गुरुड खेत-खेतमा पुगे । हात जोडेर भोट मागे त्यहाँ पनि कुरा उही विकासकै थियो । 



मतदान गर्ने दिन नजिकिँदै जाँदा केही स्थानहरू संवेदनशील बन्दै गएका रहेछन् । यस्तै दृश्य गत मंगलबार र बुधबार गोरखा बस्दा देखियो । अघिल्लो चुनावमा एमाओवादीले पकड जमाएकाले यसपालि उसले केही गर्लाकी भन्ने त्रास अन्य पार्टीहरूमा रहेछ । 'यसपालि पनि पहिलेकै जस्तो चुनाव गर्न खोजेका छन् तर हामी त्यस्तो हुन दिँदैनौं, परिआएको अवस्थामा फिल्डमै भिडछौं' एमाले जिल्ला उपाध्यक्ष विश्वेश्वर कट्टेलको भनाइले स्थिति ठीक दिशामा गइरहेको छैन भन्ने बुझिन्थ्यो । परिआएको अवस्थामा दलहरू एक-आपसमा भिडने मुडमा रहेको  दृश्य बुधबार गोरखाको घैरुङमा देखियो । कांग्रेसको क्षेत्रीय सभा थियो, त्यहाँ आक्रमण गर्ने हल्ला अघिल्लै दिन चलेको थियो । नभन्दै बुधबार कांग्रेस नेता मीनेन्द्र रिजाललगायतको टोलीमाथि आक्रमण भयो । त्यसअघि क्षेत्र नं तीनमा एमालेमाथि आक्रमण भइसकेको थियो । 



अन्य दलको त्रासको कुरा गरेपछि सदरमुकाममा एमाओवादीका क्षेत्रीय संयोजक यानप्रसाद भट्ट भेटिए । उनको कुरा भने अलि भिन्न थियो । एमाओवादीको नीतिसँग जोड्दै उनले आफूहरूले स्वच्छ चुनाव चाहेको जवाफ दिए । उनले कांग्रेस र एमालेहरूले युवा परिचालन गर्ने सभाहरूमा खुडा खुकुरी बोकेर बस्ने गरेको कुरा पनि सुनाए । 



चुनाव जित्न सबै दलले आफ्नो आवश्यकताअनुसार शक्ति परिचालन गरेका छन् । दल निकटका व्यक्तिहरूका अनुसार प्रमुख पार्टीका उम्मेदवारहरूको दैनिक खर्च एक लाख र त्योभन्दा बढी हुने गर्छ । युवा परिचालनमा सबैको सबैभन्दा बढी खर्च गरेजस्तो देखिन्छ । उम्मेदवारका अघि पछि कम्तीमा २०/३० वटा मोटरसाइकलवाला युवाहरू नियमित हिँड्छन् । तीनको इन्धन, खानपिनलगायतको सम्पूर्ण खर्च उम्मेदवार वा पार्टीले बेहोर्छन् । कतिपयले युवाहरूलाई भाडामा लिएर परिचालन गरेको पनि सुनियो । त्यस्ता भाडाका युवाहरूको काम जसले बढी दियो त्यसैको उम्मेदवारको प्रचार गर्नु हो । 



चुनावी माहोल चलिरहँदा हरेक पार्टीभित्र आन्तरिक असन्तुष्टिको गाइँगुइँ पनि उत्तिकै चल्छ । चुनाव प्रचारमा देखिएको कार्यशैलीले त्यो हो कि जस्तो पनि लाग्छ । कास्कीमा पूर्वसभामुखसमेत रहेका तारानाथ रानाभाटले यसपालि चुनावमा उठ्न खोजेका थिए पाएनन्, उनलाई समानुपातिक सूचीमा पनि पारिएन । त्यसैले उनले कास्की एकको चुनावी प्रचारमा हिँडेका छैनन् । कांग्रेसकै रामचन्द्र पौडेल राष्ट्रिय नेता हुन् । देशभर चुनावी अभियान हाक्नुपर्ने व्यक्ति तनहुँकै आफ्नोभन्दा अर्को क्षेत्रमा पुगेका छैनन् । उनकै क्षेत्रमा तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुडले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेललाई जित्ने विश्वास भए पनि गुरुडको उम्मेदवारीले तनाव दिएको छ । गोरखामा बाबुराम भट्टराईको क्षेत्रमा पनि त्यही कुरा सुनियो । भट्टराईको प्रचारमा अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले खासै चासो नदिने गरेको सुनियो । यसअघिको चुनावमा क्षेत्र नं २ मा रहेका भट्टलाई आफ्नै क्षेत्रमा सार्नुको उद्देश्य त्यही हुन सक्छ । भट्टराई निकट स्थानीय द्रव्य शाह बहुमुखी क्याम्पस प्रमुख दिलीप देवकोटाले 'अर्को पक्षलाई चुनावमा खटिने खासै जागर भएजस्तो देखिएको छैन ।'



 २०६४ मा भन्दा यसपटक परिस्थिति पश्चिममा पनि बदलिएको रहेछ । सबै पार्टी र उम्मेदवारले आफ्नो पक्षमा जनलहर आएको दाबी गर्न छुटाउँदैनन् ।



प्रकाशित मिति: २०७० कार्तिक १६ ०९:५२

No comments:

Post a Comment