तनहँ, कार्तिक ११ - काग्रेस उम्मेदवार रामचन्द्र पौडेल सोमबार बिहान दमौली बजारमा निकै हतारोमा थिए । चुनावी प्रचारका लागि एक सातादेखि गृहजिल्लामै रहेका उनी बुधबार क्षेत्र नं २ का १२ कार्यक्रममा सहभागी भए । साँझसम्म उनले व्यास नगरपालिकाका ३ र ४ वडा तथा क्यामिन गाविसका विभिन्न स्थानका सबै चुनावी सभामा सम्बोधन र घरदैलो सके । केही दिनयता उनको यही रफ्तारमा चुनावी अभियान चलिरहेको छ । उनले सबै समय आफ्नै क्षेत्रमै खर्चेका छन् ।
२०४८ सालदेखि निरन्तर चार पटक चुनाव जितिसकेका पौडेल यसपालि अलि बढी दौडधुपमा छन् । उनी आफैं यसअघिका चुनावमा मत माग्न यति धेरै मिहिनेत नगरेको बताउँछन् । 'पहिले-पहिले नगरका वडा र गाविसमा एउटा मात्र कार्यक्रम हुन्थे तर यसपालि एउटै वडामा धेरै कार्यक्रम भएका छन् र ती कार्यक्रममा सहभागी भइरहेको छु,' पौडेलले भने, 'यसपालि तनहुँमा अलि विकृत खालको राजनीतिक अभ्यास भएको छ, त्यसैले बढी मिहिनेत गरेको हो ।'
विगतलाई निरन्तरता दिन पौडेल सामु आफ्नै पार्टी र प्रतिस्पर्धीहरू प्रमुख चुनौती बनेका छन् । तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । गुरुङले उनको केही मत प्रभावित गर्ने सम्भावना छ । प्रतिस्पर्धीमध्ये एमालेका कृष्णकुमार श्रेष्ठले निकै मिहिनेत गरेका छन् । एमालेको आक्रामक शैली र आफ्नै दलको पृष्ठभूमिका स्वतन्त्र उम्मेदवारका कारण पौडेलले समस्या महसुस गरेका हुन् ।
'हाम्रै पार्टीका तरुण दलका व्यक्ति उठेका छन्, पार्टीका केही नेताहरूलाई मैले रोक्नुस् भनेको थिए तर उसलाई उचालिदिनुभएको छ,' पौडेलले भने, 'त्यसको मनोवैज्ञानिक प्रभाव पर्न सक्छ ।' स्वतन्त्र उठेका गुरुङ कांग्रेसभित्र खुमबहादुर खड्का निकटका हुन् । 'मैले खुमबहादुरजीलाई त्यसलाई बसाउनुहोस् भनेको थिएँ, तर उहाँले 'मानेन' भन्ने जवाफ दिनुभयो,' काग्रेस उपसभापतिसमेत रहेका पौडेलले भने, 'एक वर्ष अगाडिदेखि नै यसो गर्ने भनेर केही नेताले अभ्यास गरेका रहेछन् ।'
पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गुरुङले कांग्रेसको निरंकुश शैली र एकल नेतृत्वविरुद्ध आफू उभिनुपरेको बताए । उनले सधंै पौडेलको मात्र निरन्तरता हुँदा युवाले कहिल्यै अवसर नपाउने अवस्था रहेकाले परिवर्तनका लागि उम्मेदवारी दिएको दाबी गरेका छन् ।
जनजाति पृष्ठभूमि र स्थानीय युवामा उनको प्रभाव रहेकाले कांग्रेसको केही भोट उनले काट्ने अवस्था छ । त्यसैले स्वतन्त्र उम्मेदवार गुरुङकै गाउँमा मत माग्न पुगेका पौडेलले भने स्थानीयहरूसँग 'बहकाउमा लागेर आफ्नो मत खेर नफाल्न अनुरोध गरे ।
'मत भनेको अमूल्य हो, त्यसैले कसैको बहकाउ र हल्लाखल्लामा नलागी त्यसको सदुपयोग हुने ठाउँमा दिनुहोस्,' क्यामिन गाविसको कलेस्तीको घरदैलोमा पौडेलले भने, 'हामी जनजाति युवा, महिला, सबैलाई समान अवसर दिने पार्टी हौं, कसैमाथि भेदभाव छैन ।' तनहुँ २ मा अघिल्लो चुनावमा पौडेलले झन्डै ८ हजार मतको अन्तरमा जितेका थिए । त्यो बेला कुल मतदाता संख्या ९३ हजार तीन सय ८० थियो । तर यसपालि ३५ हजारभन्दा बढी मतदाता घटेका छन् । मतदाता घटेर ५७ हजार ९ सय ५७ भएको छ । मतदाता संख्या घटेकाले पनि चुनौती छ ।
झन्डै २१ वर्षदेेखि तनहुँको जनप्रतिनिधि भएकाले यहाँका विकास निर्माणका सबै काममा आफैंले गरेको र अझै गर्ने दाबी पौडेलको छ । तर उनको यही दाबीलाई प्रतिस्पर्धी पार्टीहरूले आफ्नो चुनावी एजेन्डा बनाएका छन् । २१ वर्षदेखि चुनाव जितेर राज्यका प्रमुख ओहदामा पुगे पनि जिल्लामा नमुनायोग्य कुनै काम नगरेको अन्य दलको दाबी छ । त्यसैले यसपटक पुरानो इतिहास नदोहोर्याउन भन्दै उनीहरूले मत माग्ने गरेका छन् ।
'चार पटकसम्म लगातार जिते पनि यस क्षेत्रको विकासका लागि ठूलो काम केही भएको छैन, राज्यका निकायबाट हुने स्वाभाविक कामहरूलाई मैले गरेको भनेर झूटको खेती गरिरहनुभएको छ,' क्षेत्र नं २ का एमाले उम्मेदवार श्रेष्ठले भने, 'त्यसैले यस पटक पुरानो इतिहास नदोहोरिने विश्वास छ ।'
प्रकाशित मिति: २०७० कार्तिक १२ ०९:१८
No comments:
Post a Comment