दुर्गा खनाल
पोखरा, कार्तिक २६ - चुनावी प्रचारका लागि गृहजिल्ला गोरखामा रहेका एमाओवादी नेता बाबुराम भट्टराईले सोमबार चुनावी भाषणमा बूढीगण्डकी जलविद्युत् आयोजनाको कुरा उठाए । उम्मेदवारी दिएदेखि नै उनी र उनका चुनाव प्रचारकले यो आयोजनाको कुरा गर्न छोडेका
छैनन् । विकास निर्माणसम्बन्धी धेरै योजनाका कुरा गर्ने भट्टराईले आफ्नो प्रतिष्ठाको विषयका रूपमा रहेको भन्दै बूढीगण्डकी आयोजनालाई जिल्लामा बढी चर्चा गरिरहेका छन् । ६ सय मेगावाट क्षमताको यो आयोजना आफूले निर्वाचन जिते मुलुककै उदाहरणीय आयोजनाका रूपमा सम्पन्न गराउने उनको बाचा छ । भट्टराईजस्तै गोरखाका राजनीतिक दल कांग्रेस, एमालेको पनि मुख्य मुद्दाभित्र यो आयोजना परेको छ । भोट भाग्न गएका ठाउँमा आयोजना सम्पन्न गराउने र जिल्लालाई आर्थिक रूपमा सबल बनाउने प्रतिबद्घता उनीहरूको हुने गर्छ । सबैको दाउ बूढीगण्डकी देखाएर भोट आफूतिर तान्ने छ ।
एमाओवादीका भट्टराईजस्तै कांग्रेस उपसभापतिसमेत रहेका तनहँु क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र पौडेलको मुखमा झुन्डिएको छ, तनहुँ जलविद्युत् आयोजना । केही समयअघि क्यामिन क्षेत्रको चुनावी प्रचारमा भेटिएका पौडेलले स्थानीयसँग विकासका धेरै कुरा गरे । त्यसमा उनको प्रमुख जोड थियो, तनहुँ जलविद्युत् आयोजना । भोट माग्न गएको स्थानमा उनले आफ्नै पहलमा सुरु भएको दाबी गर्दै आफैंले सम्पन्न गराउने आश्वासन दिए । यो आयोजनामाथि एमाओवादी, एमालेको नजर उत्तिकै परेको छ । एमाओवादी, एमालेलगायत दलले पनि पौडेलका जस्तै प्रतिबद्घता गर्दै भोट माग्न छुटाएका छैनन् ।
पश्चिमाञ्चल मुलुककै सबैभन्दा बढी जलविद्युत्को सम्भावना भएको क्षेत्र मानिन्छ । त्यसैले भट्टराई र पौडेलजस्ता हेबिवेटदेखि अन्य उम्मेदवारले जिल्लैपिच्छे जलविद्युत्को एजेन्डा अघि सार्दै त्यससँग मत साट्न खोजिरहेका छन् । लमजुङमा चुनावी एजेन्डा बनेको छ, मस्र्याङ्दी करिडोर । मध्यमस्र्याङ्दीदेखि त्यहाँ अन्य स्थानीय धेरै खोलाहरूबाट विद्युत्को सम्भावना छ ।
मध्यमस्र्याङ्दी चालु अवस्थामा छ भने ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी आयोजना निर्माणाधीन छ । मस्र्याङ्दी करिडोरबाट अधिकतम बिजुली निकाल्ने प्रतिबद्घता बाँड्दै सबै दलले भोट तान्ने प्रयास गरिरहेका छन् । दस वर्षभित्र लमजुङबाट मात्र एक हजार मेगावाट विद्युत् उत्पादन गरिसक्ने बाचा दलहरूले केही समयअघि गरेका थिए । त्यो बाचा आफू चुनाव जितेर गएपछि पूरा हुने भन्दै सर्वसाधारणलाई उनीहरूले आश्वासन दिएका छन् । जलविद्युत्कै काम गरिरहेका हेमजंग गुरुङ त राप्रपाबाट उम्मेदवार नै बनेका छन् । एमालेलगायत दलको स्थानीय घोषणापत्रमा जलविद्युत्को मुद्दा चुनावी मत माग्ने आधार भएको छ ।
कास्कीमा मादी नदी भोट माग्ने एजेन्डा बनेको छ । झन्डै पाँच सय मेगावाटको विद्युत् उत्पादनको सम्भावना भएकाले त्यसलाई चुनावी मसला बनाएका छन् दलहरूले । अर्घाखाँचीमा पञ्चायतकालको अन्तिम समयबाटै चर्चामा आइरहेको नौमुरे जलविद्युत् आयोजना यसपटक फेरि चुनावका बेला फेरि तातेको छ । २६ वर्षभन्दा अघिदेखि चर्चामा आएको आयोजना अहिलेसम्म बन्न सकेको छैन । झन्डै साढे दुई सय मेगावाटको उक्त आयोजनालाई तीनवटै प्रमुख दलको आफ्नो जितमा मात्र सम्पन्न हुने आश्वासन छ । बागलुङ र म्याग्दीमा कालीगण्डकी करिडोर मत आकषिर्त गर्ने एजेन्डा बनेको छ । कालीगण्डकी करिडोर क्षेत्रबाट विद्युत् निकाल्ने र त्यहींबाट चीनको सिमानासम्म जोड्ने सडक निर्माणसम्मको कुरा चुनावको मत माग्ने आधार भएको छ । गुल्मीमा ठूला योजनाको चर्चा छैन । तर पूर्वऊर्जामन्त्री गोकर्ण विष्ट क्षेत्र नं ३ का उम्मेदवार छन् । आफ्नो क्षेत्रमा बिजुली नपुगेकाले उनले विद्युतीकरणलाई प्रमुख रूपमा उठाएका छन् । आफू मन्त्री भएका पालामा गाडेका पोलमा तार टाँगेर विद्युत् पुर्याउने बताएका छन् । ठूला आयोजना नभएकाले उनले लघु जलविद्युत्हरूलाई समेटेर राष्ट्रिय लाइनमा जोड्न सकिने कुरा गरिरहेका छन् ।
प्रकाशित मिति: २०७० कार्तिक २७ ०८:४१
No comments:
Post a Comment