Thursday, January 16, 2014

भट्टराईलाई गोरखामा चुनौती


दुर्गा खनाल
आचारसंहिता बिपरित प्रकासित क्यालेन्डर 
गोरखा, कार्तिक १२ - चालीस हजारभन्दा बढी मत अन्तरले अघिल्लो चुनाव जितेका एमाओवादी नेता बाबुराम भट्टराईको अवस्था यसपालि त्यत्तिको राम्रो पाइँदैन ।  

निर्वाचन क्षेत्र परिवर्तन, घट्दो मतदाता संख्या, सत्तामा बस्दाको कार्यशैली, विपक्षीहरूको रणनीति र माओवादीको फुटका कारण यो स्थिति देखिएको हो । एमाओवादीले अघिल्लो चुनावमा अरू पार्टीलाई प्रवेश गर्न नदिएका गोरखाका कतिपय स्थानमा प्रमुख प्रतिस्पर्धी कांग्रेस, एमालेको यसपालि उपस्थिति बढेको छ । 

भट्टराईले उम्मेदवारी दिएको क्षेत्रमा कांग्रेस र एमालेको प्रचार बाक्लो छ । भट्टराईको प्रचार कार्यकर्ताले गरिरहेका छन् । कांग्रेस, एमालेका उम्मेदवार भने आ-आफैं दिनहुँ घरदैलोमा व्यस्त छन् । रूपन्देहीमा पनि उठेका भट्टराई धेरै समय त्यता बढी केन्दि्रत छन् ।

अघिल्लो चुनावमा गोरखा २ बाट ४६ हजार २ सय ७२ मत ल्याएर विजयी भट्टराई यसपटक क्षेत्र परिवर्तन गरी १ बाट उठेका छन् । यो क्षेत्रमा ३६ हजार ७ सय २१ मतदाता घटेका छन् । मतदाता घटेकाले त्यसको असर परिणाममा देखिन सक्छ । पृथ्वीनारायण नगरपालिका र १७ वटा गाविस यो क्षेत्रमा पर्छन् । 'धाँधली भएन भने माहौल हेर्दा तीनवटै पार्टीबीच प्रतिस्पर्धाको अवस्था छ,' स्थानीय बुद्धिजीवी कपिल अर्यालले भने । 

द्रब्य शाह बहुमुखी क्याम्पसका प्रमुख दिलीप देवाकोटाले पनि भट्टराईका लागि यसपटकको चुनाव पहिलेको भन्दा फरक हुने बताए । 'उहाँ राजनीतिक रूपमा कुशल संगठक होइन, भिजन भएको प्लानर हो, त्यसैले त्यसको केही असर देखिन्छ,' उनले भने ।

२०६४ अघि गोरखा १ कांग्रेसको पकड भएको स्थान हो । २०६४ सालपछिको अवस्थामा परिवर्तन आएकाले पुरानो अवस्थामा फर्किने दाउमा कांग्रेस सक्रिय छ । एमालेले पनि पहिलेको भन्दा संगठनात्मक सुधार गरेको छ । 

भट्टराईसँग कांग्रेसका किरणबाबु श्रेष्ठ र एमालेका रामशरण बस्नेत प्रतिस्पर्धी छन् । एमाओवादीले भट्टराईको बौद्धिक व्यक्तित्व, प्रभाव पार्न सक्ने भिजन भएको नेताका रूपमा मत मागिरहेको छ । 'व्यक्तित्वको प्रभाव पनि पर्छ हाम्रो स्थिति क्षेत्र मात्र होइन जिल्लामा नै मजबुत छ,' एमाओवादीका राज्यसमिति सदस्य तथा क्षेत्र नं १ का संयोजक यानप्रसाद भट्टले भने । विपक्षीहरूले भने भट्टराईको कायैशैली सत्तामा बस्दा गरेका क्रियाकलापलाई जोडेर आफ्नो पक्षमा मत मागिरहेका छन् । 'उहाू परीक्षण भइसकेको व्यक्ति हो, कति विश्वसनीय रहेछन् भन्ने कुरा जनताले देखिसकेका छन्,' कांग्रेस उम्मेदवार किरणबाबु श्रेष्ठले भने । एमालेका निर्वाचन परिचालन संयोजक विश्वेश्वर कट्टेलले भट्टराईको राज्य संचालनका असफलतालाई चिरेर जाने बताए । 'उनले जे गर्नु भनेका थिए त्यसको विपरीत गरे,' उनले भने, 'त्यसैले यसपालि पहिलेको जस्तो परिणाम हुँदैन ।'

भट्टराईको सन्दर्भमा पार्टीभित्रको आन्तरिक समीकरणको असर पर्ने आूकलन पनि कतिपयको छ । गोरखा जिल्ला कमिटीमा ९५ प्रतिशतभन्दा बढी अध्यक्ष पुष्पकमल दाहाल समूहका छन् । केही समयअघि भट्टराई समूहका नेताहरू पार्टी कार्यालयमा समेत जाँदैनथे । 'असहयोगकै अवस्था होइन तर उहाँको पक्षमा प्रचारप्रसार गर्ने जोसजाँगर चाहिँ अर्को पक्षमा कम छ,' भट्टराईसँग निकट रहेका द्रब्य शाह क्याम्पसका प्रमुख देवकोटाले भने । तर एमाओवादीका भट्टले पार्टीका सबै चुनावी अभियानमा जुटेको दाबी गरे ।

४० प्रतिशत मतदाता घटे 

क्षेत्र नं २ मात्र भट्टराईले ल्याएको मतभन्दा कम मतदाता गोरखाका तीन क्षेत्रमा गत चुनावको भन्दा झन्डै ४० प्रतिशत मतदाता घटेका छन् । त्यसको प्रत्यक्ष असर सबै क्षेत्रको चुनावी परिणाममा पर्ने देखिएको छ । क्षेत्र नं २ मा यसपालि भट्टराईले ल्याएको मतभन्दा कम मतदाता छन् । गोरखा २ मा ०६४ मा ८५ हजार २ सय ४३ मतदाता रहेकामा यसपालि ३९ हजार ६ सय ८० घटेर ४५ हजार ५ सय ६३ भएको छ । यो क्षेत्रमा भट्टराईले ४६ हजार २ सय ७२ मत ल्याएका थिए । 

गोरखामा मतदाता

क्षेत्र नं १ 

०६४ साल    २०७० साल    घटेको संख्या     

८८११७    ५१३९६    ३६७२१

क्षेत्र नं २

८५२४३    ४५५६३    ३९६८०

क्षेत्र नं ३

७६५८५    ४१६८६    ३४८९९ 

प्रकाशित मिति: २०७० कार्तिक १३ ०८:१८

No comments:

Post a Comment