पोखरा, कार्तिक २७ - छिनेडाँडा देउराली टोलका बोधराज कार्कीले अन्तर्राष्ट्रिय विमानस्थलको कुरा सुन्न थालेको झन्डै तीन दशक भइसक्यो । उनीसँग पञ्चायतकालदेखि बहुदल हुँदै संविधानसभाको दोस्रो चुनावसम्मका उम्मेदवारले यही एजेन्डा देखाएर मत मागेका छन् । कार्कीको फरक अनुभव यति मात्र हो कि, पहिले थोरैले मात्र विमानस्थलको कुरा गर्थे, अहिले सबैले ।
'पहिला कमैले मात्र एयरपोर्ट बनाइदिन्छु भन्थे, अहिले सबैको मुखमा झुन्डिएको छ,' आयोजना प्रभावित क्षेत्रका बासिन्दासमेत रहेका कार्कीले भने, 'तर अहिलेसम्म कसैले पूरा गर्न सकेका छैनन् ।'
एमाओवादी, कांग्रेस र एमालेका उम्मेदवारमात्र हैन, साना दल एवं स्वतन्त्रको समेत एजेन्डा बनेको छ, विमानस्थल । आफ्नो क्षेत्र नपरे पनि कास्कीका सबै उम्मेदवारको प्रतिबद्घता र भाषणमा विमानस्थल बनाउने प्रतिबद्धता छुटेको छैन । बहुदलपछिका निर्वाचनमा यो मुद्दा चर्को रूपमा चुनावी नाराको रूपमा उठ्ने गरेको छ । यसपालिको चुनावमा पनि सबैको मतदाता आकषिर्त गर्ने 'ग्लामरस' नारा विमानस्थल नै बनेको छ । एमाओवादी, कांग्रेस र एमालेले आफ्नो केन्द्रीय चुनावी घोषणापत्रमा नै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उल्लेख गरेका छन् ।
प्रमुख दलका शीर्ष नेताले कास्की टेक्नेबित्तिकै चुनावी भाषणमा विमानस्थलका कुरा छुटाएका छैनन् । केही समयअघि कास्की एकको चुनावी सभालाई सम्बोधन गर्न आएका कांग्रेस नेता रामचन्द्र पौडेल र एमाले नेता केपी ओलीले आ-आफ्ना दललाई जिताए एयरपोर्ट बनाउने बाचा गरे । २०५६ सालको चुनावी सभामा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ४ वर्षभित्र बनाउने बाचा गरेका थिए । पञ्चायतदेखि बहुदल हँुदै शाही शासनकालमा तत्कालीन पर्यटनमन्त्री बुद्घरिाज बज्राचार्यसम्मले चारवर्षे भाका राखे । तर ०३२ सालमै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिलेसम्म पनि विमानस्थल बन्न सकेको छैन ।
प्रजातन्त्र पुनःस्थापनापछिका सरकारले यसका लागि केही बजेट छुट्याउँदै आए पनि तारबार र सामान्य सम्याउनेबाहेक केही काम हुन सकेको छैन । सरकारसँग बजेटको कमी र भरपर्दो वैदेशिक सहयोग भित्र्याउने राजनीतिक पहल नभएकाले यो चुनावी मत माग्ने नारामा मात्र सीमित भइरहेको छ ।
पोखरेलीको सपनाका रूपमा रहेको यो आयोजना वर्षौंसम्म पनि नबनेपछि गत वर्ष यहाँ पोखरेलीले आन्दोलन नै गरेका थिए । तत्कालीन सत्तापक्ष एमाओवादी एवं कांग्रेस र एमालेलगायत सबै दल, नागरिक समाज, व्यवसायी आन्दोलनमा सहभागी थिए ।
पाँच सयभन्दा बढी मोटरको र्याली राजधानी पुगेरसमेत प्रदर्शन भएको थियो । आठ महिनासम्म चलेको सर्वपक्षीय आन्दोलनमा २ हजार ४ सय २ जना रिले अनशनमा बसेका थिए । सीमित जान्नेसुन्नेले भन्ने गरेको एयरपोर्टको एजेन्डालाई त्यो आन्दोलनले हरेक पोखरेलीको चासो बनाइदियो ।
'पोखरेलीको एयरपोर्ट सेन्टिमेन्ट आकषिर्त गर्न पनि अहिले चुनावमा सबैले विमानस्थललाई मुख्य विषय बनाएका हुन्,' नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं पर्यटन व्यवसायी वासुदेव त्रिपाठीले भने, 'यसपालि झन् ठूलो चुनावी मुद्दा बनेको छ ।' दीर्घकालीन रूपमा पश्चिम क्षेत्रकै आर्थिक विकासमा उल्लेख्य प्रभाव पार्ने भएकाले यो सबैको प्राथमिकतामा परेको त्रिपाठीको भनाइ छ । 'पोखरा एवं पश्चिम क्षेत्रको मात्र नभएर देशको अर्को वैकल्पिक विमानस्थलसमेत हुने भएकाले यो राष्ट्रकै आवश्यकता हो,' उनले कान्तिपुरसँग भने ।
विमानस्थल निर्माण गर्नेमा सबै दलको साझा धारणा छ । तर बढी जस कसले पाउने भन्नेमा होडबाजी छ । कांग्रेस, एमालेले एमाओवादी आउनेभन्दा अघिदेखि नै यो एजेन्डा उठाउँदै आएको र आफूले बढ्ता पहल गरेको भन्दै जस लिन खोज्छन् । कांग्रेसका रामशरण महत अर्थमन्त्री, एमालेका पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवाली पर्यटनमन्त्री हँुदा आयोजनामा केही बजेट विनियोजन भएको थियो । स्थानीय समस्या समाधान गर्न उनीहरूले एमाले नेता खगराज अधिकारीको नेतृत्वमा समिति बनाएका थिए । यो समितिले मुआब्जा वितरणको विवाद सुल्झाएको थियो । यी कामको जस लिँदै कांग्रेस, एमाले आफ्नो जितमा मात्र विमानस्थल बन्ने दाबी गर्छन् ।
एमाओवादीलाई पनि २०६५ सालपछि विमानस्थलको मुद्दाले आकषिर्त गर्यो । सरकारको नीति तथा कार्यक्रममा नै विमानस्थल निर्माणको विषय समेट्यो । हिसिला यमी पर्यटनमन्त्री हुँदा तत्कालीन सभासद राजकाजी गुरुङको नेतृत्वमा बाँकी विवाद समाधान गर्न समिति पनि बनायो । समितिमा रहेका गुरुङले भ्रष्टाचार गरेको आरोप लागेपछि एमाओवादीले भ्रष्टाचार गरेको नभई पार्टीले केही रकम सहयोगस्वरूप लिएको धारणा सार्वजनिक गर्नुपर्ने अवस्था आयो ।
यसले एमाओवादीको नियतमा शंका गर्ने स्थिति बन्यो । तर बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला चिनियाँ प्रधानमन्त्री वेन जिया बाओको भ्रमणमा द्विपक्षीय समझदारीभित्र यो विषय पर्यो । त्यसैले चिनियाँ प्रधानमन्त्रीसँग भएको समझदारी लगायतलाई देखाएर एमाओवादीले मत तान्न खोजेको छ । निर्वाचन क्षेत्रका हिसाबले आयोजना स्थल क्षेत्र नं २ मा पर्छ । तर एक, तीन र चार नम्बर क्षेत्रका उम्मेदवारले समेत यसलाई प्राथमिकतामा राखेका छन् । एमाओवादीका उम्मेदवार विष्णु पौडेलले विजयपुर खोलामाथिबाट रनवे बनाएर पारि तारेर एक नम्बरमा समेत पुर्याएर एयरपोर्ट बनाउने बताए ।
त्यस्तै, कांग्रेस सभापति एवं एक नम्बर क्षेत्रका उम्मेदवार यज्ञबहादुर थापाले ०४९ मा जिविस उपसभापति छँदा पहिलो प्रस्ताव पारित गरेको उल्लेख गर्दै चुनावपछि कांग्रेसको सरकार बन्ने र त्यसले एयरपोर्ट बनाउने दाबी गरे । एमाले अध्यक्ष एवं एक नम्बरकै उम्मेदवार मानबहादुर जिसीको दाबी पनि अरूको भन्दा फरक छैन । 'पोखरा एयरपोर्टका लागि सिंगो एमाले कन्भिन्स छ । जसरी पनि बन्नेछ,' उनले भने । नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि १५ अर्ब लाग्ने अनुमान गरेको छ । पछिल्लो समय सहुलियत ऋणमा लगानीका लागि तयार रहेको चीनस्थित निर्माण कम्पनीले २७ अर्ब रुपैयाँको प्रस्ताव पेस गरेको छ । तर प्रक्रिया अवरुद्घ छ ।
प्रकाशित मिति: २०७० कार्तिक २८ ०८:३४
No comments:
Post a Comment