Thursday, January 16, 2014

कुन जिल्ला कसको किल्ला ?

काठमाडौ, मंसिर ९ - प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले एकले अर्काको परम्परागत किल्ला तोड्दै आफ्नो किल्लामा परिणत गरेका छन् । अघिल्लो चुनावमा कुनै पनि जिल्लामा एकल विजय हासिल गर्न नसकेको कांग्रेसले सात र एमालेले नौवटामा एकलौटी पकड जमाएका छन् ।

यसअघि अधिकांश जिल्लामा एकल पकड बनाएको एमाओवादीले भने यसपालि तीनवटा जिल्ला गोरखा, रुकुम र  रोल्पामा मात्र विरासत जोगाएको छ । यसअघि उसले एकलौटी जितेका जिल्लामा यसपालि कांग्रेस र एमाले विजयी भएका छन् । 


कांग्रेसले 'लालकिल्ला' का रूपमा परिचित ललितपुर जिल्लामा पहिलोचोटि एकल विजय हासिल गरेको छ । २०१५ साललगायतका कुनै पनि चुनावमा विजयको खाता नखोलेको कांग्रेसले यसपालि तीनवटै क्षेत्रमा प्रतिस्पर्धीभन्दा झन्डै दोब्बर मतले बाजी मार्‍यो । अघिल्लो संविधानसभा चुनावमा तीनवटै क्षेत्र एमाओवादीले जितेको थियो भने त्यसअघि एमालेले जित्दै आएको थियो । १५ सालमा पनि कम्युनिस्टले जितेको थियो । एमाओवादीले अघिल्लो चुनावमा सबै क्षेत्र जितेको दाङमा यसपालि कांग्रेसले एकल विजय हासिल गरेको छ । दाङका पाँचवटै क्षेत्रमा कांग्रेसले जितेर नयाँ इतिहास बनाएको छ । बागलुङमा पनि उसले यसपटक कुनै कम्युनिस्ट पार्टीलाई अस्तित्व जोगाउन दिएन । व्षौर्ंदेखि बागलुङको दुई नम्बर क्षेत्रमा जित्दै आएको राष्ट्रिय जनमोर्चाको किल्ला कांग्रेसले भत्कायो । यसअघिको चुनावमा कांग्रेसले बागलुङबाट एक सिटमात्र जितेको थियो भने बाँकी दुई सिट एमाले र जनमोर्चाको भागमा परेको थियो ।


कञ्चनपुरका चार, नुवाकोटका तीन र संखुवासभाका दुवै सिट कांग्रेसको हातमा गएका छन् । कांग्रेसले यसअघि कञ्चनपुरमा एक, नुवाकोटमा एक सिटमात्र जितेको थियो भने संखुवासभामा रित्तो थियो । 

एमाले पनि भोजपुर, दोलखा, खोटाङका दुई क्षेत्रमा यसपटक एकलौटी विजयी भएको छ । त्यहाँ गत चुनावमा एमाओवादीले मात्र जितेको थियो । अघिल्लो चुनावमा एमाओवादीले जितेका धादिङका तीनवटै क्षेत्र यसपालि एमालेले आफ्नो पोल्टामा पारेको छ । ताप्लेजुङ, प्यूठान, दैलेख बझाङ र अछाममा पनि एमालेले एकल विजय हासिल गरेको छ । प्यूठानका दुई क्षेत्रमा एमालेले एमाओवादीको किल्ला भत्काएको हो भने ताप्लेजुङ, बझाङ दैलेख र अछाममा यसअघिको जितलाई निरन्तरता दिँदै यसपटक थप उपलब्धि हासिल गरेको हो ।

एमाओवादीले भने सशस्त्र युद्घका उद्गम थलो मानिने गोरखा, रोल्पा र रुकुममा मात्र इतिहास दोहोर्‍याउँदै एकल विजय हासिल गरेको छ । अघिल्लो चुनावमा उसले ओखलढुंगा, खोटाङ, दाङ, ललितपुर, भोजपुर, धनकुटा, रामेछाप, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, प्यूठान, सल्यान, जाजरकोट, बर्दिया, कैलाली, बैतडीका सबै सिट एकल रूपमा जितेको थियो । यसपालि तीमध्ये सिन्धुपाल्चोक, रामेछाप, जाजरकोट र सल्यानमा एक/एक सिटमात्र जित्यो, बाँकी सबै कांग्रेस एमालेको पोल्टामा पुग्यो । एक सिटमात्र भएका जिल्लाहरू रसुवा, म्याग्दी, जुम्ला, हुम्ला, बाजुरा, मुगु, डोल्पा र मनाङमा पनि एमाओवादीले पुरानो जित जोगाउन सकेन । 

एमाओवादीको एकल वर्चस्व गुमेका जिल्लाहरू ः ओखलढुंगा, खोटाङ, दाङ, ललितपुर, भोजपुर, धनकुटा, रामेछाप, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, प्यूठान, सल्यान, जाजरकोट, बर्दिया, कैलाली, बैतडी छन् ।



कांग्रेस    

संखुवासभा-    २ सिट

नुवाकोट-    ३ सिट

ललितपुर-    ३ सिट    बागलुङ-    ३ सिट    दाङ-    ५ सिट    सुर्खेत-    ३ सिट    कञ्चनपुर-    ४ सिट

एमाले    

ताप्लेजुङ-    २ सिट

भोजपुर-    २ सिट

खोटाङ-    २ सिट

दोलखा-    २ सिट

धादिङ-    ३ सिट

दैलेख-    २ सिट

अछाम-    २ सिट

बझाङ-    २ सिट

प्यूठान-    २

एमाओवादी    

गोरखा-    ३ सिट

रोल्पा-    २ सिट

रुकुम-    २ सिट

प्रकाशित मिति: २०७० मंसिर १० ०८:०७

No comments:

Post a Comment