Sunday, January 19, 2014

एमाले महाधिबेसन शृंखला- 2/नेतृत्वका लागि रस्साकस्सी

काठमाडौ - एमालेको प्रस्तावित नवौं महाधिवेशन सुरु हुन अझै करिब सय दिन बाँकी छ । तर भावी नेतृत्वको आन्तरिक रस्साकस्सी भने सुरु भइसकेको छ । माघ ८ मा संविधानसभाको पहिलो बैठक बसेसँगै सरकार, संसद् र  राज्यका महत्त्वपूर्ण निकायका विभिन्न पदको चयन हुनेछ । संविधानसभामा उल्लेख्य संख्यासहित दोस्रो ठूलो दल बनेसँगै एमालेका लागि पार्टीबाहिर पनि थुप्रै अवसर सिर्जना भएको छ । ती अवसरको बाँडफाँडकै बेलादेखि बन्ने आन्तरिक समीकरणले पार्टीको भावी नेतृत्व पनि तय गर्ने भएकाले आकांक्षीले आन्तरिक कसरत थालेका हुन् । यसअघिजस्तै मूल नेतृत्वको 'रेस' मा छन्, अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल र केपी  शर्मा ओली । 


संविधानसभामा पहिलो दल कांग्रेस भए पनि उससँग सरकार निर्माणका लागि आवश्यक बहुमत छैन । दोस्रो ठूलो दल एमालेले लोकतान्त्रिक पद्धति सुदृढ गर्न आवधिक निर्वाचनसँगै राष्ट्रपति/ उपराष्ट्रपतिको पनि निर्वाचन हुनुपर्ने माग  अघि सारेको छ । यसर्थ दोस्रो दलको हैसियतमा एमालेले सत्ता, शक्तिमा सम्मानजनक अवसर पाउनुपर्छ भन्ने पनि हो । त्यसो भएमा मात्र नेतृत्वका आकांक्षी नेताहरूलाई पार्टीभित्र र बाहिर व्यवस्थापन गर्न सहज हुने एमालेले ठानेको  छ । 


एमाले मागमा कांग्रेस सहमत भए राष्ट्रपति/उपराष्ट्रपतिको पनि निर्वाचन हुनेछ । यस अवस्थामा प्रधानमन्त्री कांग्रेसको भए दोस्रो दलको हैसियतमा राष्ट्रपति आफूलाई दिनुपर्ने एमालेको अडान छ । संविधानसभा/संसद् बसेसँगै  सभामुख, उपसभामुख, विभिन्न समितिका सभापतिको चयन हुन्छ । सरकारमा साझेदारी गर्दा अझ धेरै पद र अवसर सिर्जना हुनेछन् । यी पद र अवसरको वितरणको प्रस्तावमा जसले सबै वा धेरैको चित्त बुझाउन सक्छ, उही भावी  नेतृत्वको प्रमुख दाबेदार हुने भएकाले पनि नेताहरूले अहिलेदेखि नै कसरत थालेका हुन् । स्थायी कमिटीको प्रस्ताव माघ १० देखि बस्ने केन्द्रीय कमिटीले अनुमोदन गरे एमाले महाधिवेशन आगामी वैशाख ९ देखि सुरु हुनेछ । केही समययता खनाल र नेपाल नजिकिएका छन् । ओली महासचिव ईश्वर पोखरेललाई साथ लिएर अर्को कित्तामा छन् । तर ओली पक्षधर केही नेताले खनालसँग मिलेर अघि बढ्नुपर्ने भन्दै आन्तरिक कसरत थालेका छन् । गत  शनिबार एक सार्वजनिक कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले भनिदिए, 'झलनाथ खनाल र केपी ओली मिले भने नेपाल हल्लिन्छ । नेपाल हल्लिए हल्लियोस्, हामी थामांैला तर तपाईंहरू  मिल्नुहोस् ।' राजनीतिका चतुर खेलाडी नेम्वाङले नेपाल -देश) भनेझैं गरी नेपाल -माधव) लाई व्यंग्य कसेका थिए, त्यस दिन । अर्कोतर्फ प्रदीप नेपाल, केशव बडाल, विष्णु रिमाल, मुकुन्द न्यौपानेलगायत नेताहरू भने नेपाल र ओली  नै मिल्नुपर्छ भनेर लबिइङ गरिरहेका छन् । यद्यपि ओली खेमाका 'हार्डकोर' नेताहरू भने नेपालसँग मिल्नै नहुने अडानमा छन् । तीन प्रमुख नेताले एकअर्कोसँग साझेदारी/समीकरण र सर्वपक्षीय सहमतिका लागि आ-आफ्नो प्रस्ताव  अघि सारेका छन्, सम्बन्धित नेता र उनीनिकटसँगको अनौपचारिक कुराकानीअनुसार त्यो खाका यस्तो छ ः   -------------------------------
एमाले महाधिबेसन शृंखला- 1/एमालेमा उतारचढावका पाँच वर्ष/तीन नेताको पृष्ठभूमि

झलनाथ खनाल
संविधानसभा निर्वाचनमा पार्टी दोसो ठूलो दल बनेसँगै पाटीबाहिर पनि थुप्रै अवसर सिर्जना भएकाले समान वितरण गरी सहमति कायम गर्नुपर्ने पक्षमा छन्, खनाल । पार्टीभित्र र बाहिरका सबै पद, अवसर सर्वसम्मत चयन, वितरण  गरी सहमति खोज्नुपर्ने उनको मत छ । पार्टी महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेका उनले आफ्नो हकमा भने फेरि एक पटक कार्यकारी जिम्मेवारी लिने सोचेका छन् । केहीअघिको कान्तिपुरसँगको कुराकानीमा उनले भनेका  थिए, 'अवसर आउँदा त कार्यकारी भूमिका नै लिने हो ।' पार्टीभित्रको कार्यकारी पद अध्यक्ष हो भने बाहिर प्रधानमन्त्री । खनालमा भने बाहिरको प्रधानमन्त्री पदप्रति बढी रुचि छ । विगतमा प्रधानमन्त्री रहँदा आन्तरिक र बाह्य  विवादका कारण उल्लेख्य केही गर्न नसकेका उनी अब अवसर पाए केही गरेर देखाउने पक्षमा छन् । 
यस पटक पार्टी अध्यक्षमा उनको त्यति रुचि देखिँदैन । उनकै नेतृत्वमा विगतको संविधानसभाभन्दा पार्टीको हैसियत निकै माथि उचालिएको छ । त्यसबाट पार्टी नेतृत्वमा सफल भएँ भन्ने मौका मिलेको छ उनलाई । पार्टी महासचिव  प्रणालीमा रहेका बेला पनि नेतृत्व गर्ने अवसर पाइसकेका छन्, उनले । परिस्थितिमा चामत्कारिक परिवर्तन आयो भने बेग्लै कुरा, नत्र उनी पार्टी अध्यक्ष दोहोर्‍याउने मनस्थितिमा नरहेको उनीनिकटको भनाइ छ । 


मुलुकको कार्यकारी प्रमुखका रूपमा पनि सफल भएर देखाउने चाहनाका कारण अहिले संसदीय दलको नेता हुने र 'वेटिङ' प्रधानमन्त्रीका रूपमा बस्ने सोचमा छन्, उनी । कांग्रेसले सत्ताको नेतृत्व लिने हुँदा एमालेले राष्ट्रपतिमा  आफ्नो दाबी गर्दै आएको छ । त्यसैले पार्टी अध्यक्ष र राष्ट्रपति दुई पद नेपाल र ओलीले एक-एकवटा लिए हुनेमा उनी सहमतजस्तै छन् । 'सहमतिमा अघि बढ्दा नेपाल र ओलीमा जो राष्ट्रपति वा अध्यक्ष भए पनि उहाँलाई समस्या  छैन,' उनीनिकट स्रोतले भन्यो । यो खनालको प्रस्ताव हो । अर्को नेताको प्रस्तावमा सहमति जनाउनुपर्दा कार्यकारीको मोह त्यागेर राष्ट्रपति बन्नुपर्ने अवस्थामा पनि खनाल सहमत हुने उनीनिकटको बुझाइ छ । 
माधव नेपाल 
पहिले पार्टी अध्यक्ष र अवसर आउँदा फेरि एक पटक प्रधानमन्त्री बन्ने चाहना छ, नेपालमा । यस अर्थमा उनले पार्टीभित्र र बाहिरको दुवै कार्यकारी पद चाहेका छन् । आगामी महाधिवेशनमा आफ्ना प्रमुख प्रतिस्पर्धी मानिएका ओ लीलाई राष्ट्रपतिमा थान्को लगाउने उनको सोच छ । अध्यक्ष खनाललाई संसदीय दलको नेता बनाउनेमा उनको सहमति छ । तर भोलिका दिनमा प्रधानमन्त्रीको अवसर आउँदा आफंै अघि सर्ने उनको भित्री उद्देश्य छ । किनकि,  एमालेमा प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्दैन । त्यसको प्रमुख उदाहरण नेपाल स्वयं छन्, अघिल्लो संविधानसभामा संसदीय दलको नेता नभई प्रधानमन्त्री बनेका थिए उनी । 
नेता नेपालले राष्ट्रपतिमा आफ्नो योग्यता नपुग्ने भएकाले अझै १० वर्ष त्यो पदमा नजाने सार्वजनिक अभिव्यक्ति दिएका छन् । पार्टी अध्यक्षको प्रतिस्पर्धाबाट आफू नभाग्ने पनि उनले बताइसकेका छन् । उनका आलोचकहरू अहिले  योग्यता नपुग्ने भन्ने नेपाल अघिल्लो पटक राष्ट्रपति हुन किन मरिहत्ते गरेका भनेर कुरा उठाउँछन् । तर उनीनिकटको बुझाइमा अघिल्लो पटक आफू दुई ठाउँबाट निर्वाचन हारेको, आफ्नो नेतृत्वमा रहेको पार्टीको हैसियत निकै  खस्किएकाले उनी हतास थिए । 'त्यसैले पाइन्छ भने लिइहालौं भनेर राष्ट्रपति बन्न खोज्नुभएको थियो,' उनीनिकट एक नेताले भने, 'अहिले एमालेको हैसियत निकै उकासिएको छ । यो संविधानसभाको अवधिमात्र होइन अझै ८/१०  वर्ष एमालेको हैसियत बलियो रहने उहाँको बुझाइ छ । अघिल्लो संविधानसभामा प्रधानमन्त्री रहँदा अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिस्तार गरेकाले मुलुकको कार्यकारी प्रमुखका रूपमा अझ बढी काम गर्न सकिने उहाँको बुझाइ हो ।' 
यी सबका बीच नेता नेपाल सम्झौतामा माहिर छन् । आफू कमजोर रहेको अवस्थामा अस्तित्व सकिने वा कमजोर हुने गरी भिड्न चाहँदैनन् उनी । अघिल्लो महाधिवेशनमा अध्यक्ष पदको प्रतिस्पर्धाबाट उनी पछि हटेका थिए ।  सम्झौता गरेर भए पनि अस्तित्व, वर्चस्व जोगाइराख्ने नेपालको स्वभाव छ । फेरि पनि परिस्थिति आफू प्रतिकूल हुने लागेमा उनले राष्ट्रपति पद स्वीकार्ने उनीनिकटकै एक नेता बताउँछन् । 'नेता नेपाल निकै चतुर खेलाडी हुनुहुन्छ ।  बाहिर मलाई पद चाहिन्न भनेजस्तो देखाएर भित्रभित्रै लबिइङ गर्नुहुन्छ,' एमालेका एक पोलिटब्युरो सदस्यले भने, 'आफ्नो चाहनाभन्दा पनि अरूको आवश्यकताले पद स्वीकारेको देखाउने उहाँको प्रवृत्ति छ । राष्ट्रपति हुने अवस्थामा  उहाँले देशको आवश्यकताअनुरूप पार्टीका साथीहरूको आग्रहमा स्वीकार गर्नुपर्‍यो भनेर अभिव्यक्ति दिन सक्नुहुन्छ ।' 
केपी ओली
पहिलो प्राथमिकता प्रधानमन्त्री नै बन्ने हो, ओलीको । तर त्यसका लागि केही पखर्नुपर्ने अवस्था बुझेका उनी जसरी पनि पार्टी अध्यक्ष हुने ध्याउन्नमा छन् । पार्टीको शक्तिशाली अध्यक्षका रूपमा मुलुकको प्रमुख कार्यकारी बन्ने उनको  चाहना छ । यस पटक सहजै पार्टी अध्यक्ष बन्न सकिने उनको बुझाइ छ । अघिल्लो पटक प्रतिनिधि चयनमा अनियमितता भएकाले आफ्नो हार प्राविधिक मात्र भएको ओलीको दाबी छ । महासचिव पोखरेल आफ्नो खेमामा आएपछि  पार्टी र संसदीय दल दुवैमा आफ्नो सुविधाजनक बहुमत पुगेको उनको समूहको दाबी छ । भलै खनाल-नेपाल खेमाका नेताहरू त्यो दाबीसँग सहमत छैनन् । संसदीय दलमा आफ्नो बहुमत दाबी गरे पनि अध्यक्ष खनाललाई सवर् सम्मत दलको नेता बनाउनेमा उनी सहमत छन् । अझ खनालका लागि त उनको अर्को आकर्षक प्रस्ताव छ, राष्ट्रपति । अर्थात् अहिले दलको नेता बनाउने राष्ट्रपति एमालेको भागमा आए खनाललाई अघि सार्ने । तर यसका लागि  खनालले आफूलाई अध्यक्षमा सघाउनुपर्ने दीर्घकालीन साझेदारीको सर्त छ । 
आफ्नो प्रस्तावमा खनाल सहमत नभए के गर्ने भनेर ओली खेमाले अर्को रणनीति पनि अघि बढाइसकेको छ । स्रोतका अनुसार ओलीले उपाध्यक्ष वामदेव गौतमलाई संसदीय दलको नेता 'अफर' गरिसकेका छन् । खनालले नमाने  उनीसँग रहेका गौतमलाई आफूतिर तान्ने र संसदीय दल तथा पार्टी दुवैभित्र थप मजबुत हुने रणनीतिमा ओली खेमा अग्रसर भइसकेको छ । खनालसँगै सहमति भए पनि उनी राष्ट्रपति बनेपछि रिक्त हुने दलको नेताको पद गौतमलाई  नै दिने ओलीको प्रस्ताव छ । ओली बरु एक्लिने तर सम्झौता नगर्ने नेतामा पर्छन् । यस पटक पनि पार्टी अध्यक्षमा सम्झौता गर्ने मनस्थितिमा छैनन्, ओली । खनाल-नेपाल दुवैले पार्टी र सरकारको नेतृत्व गरिसकेकाले अब आफूले ती  दुवैको नेतृत्व गरेर उनीहरूभन्दा राम्रो गरेर देखाउने महत्त्वाकांक्षा छ ओलीमा । नेता नेपाललाई भने कुनै अवसर दिनुहुँदैन भन्ने ओली खेमाको बुझाइ छ । नेता नेपालप्रति ओली खेमाको आक्रोश निकै बढेको देखिन्छ । आफूले सधै ंभरि सघाएको तर नेपालले कहिल्यै केही प्रतिफल नदिएको ओलीको ठम्याइ छ । नेपालले सघाएको भए अघिल्लो महाधिवेशनबाटै ओली अध्यक्ष बन्ने त्यो खेमाको ठहर छ । त्यसमाथि पछिल्लो समय नेपाल र ओली दुवैको चाहना पनि  प्रत्यक्ष बाझिएका छन्, दुवै पार्टी र मुलुकको कार्यकारी प्रमुख हुन चाहन्छन् ।   


गुटभित्रै व्यवस्थापनको समस्या
शीर्ष तहमा पद बाँडफाँडमा खासै समस्या नदेखिए पनि आफ्नो गुटभित्रै कसलाई कसरी मिलाउने भन्ने समस्या छ । शक्तिशाली महासचिवको व्यवस्था गरी पोखरेललाई दोहोर्‍याउने सर्तमा ओलीले समीकरण बनाएका हुन् । यसो  गर्दा यसअघि ओली खेमाबाटै सचिव जितेका शंकर पोखरेल र विष्णु पौडेललाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ । उपाध्यक्षमा पनि ओली खेमाबाट यसअघि जितेकी विद्या भण्डारी छिन् । अघिल्लो पटक सभामुख भएका कारण  पार्टी पदमा नउठेका नेम्वाङ पनि थपिएका छन् । त्यसबाहेक प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठलगायत पदाधिकारीका आकांक्षी छन् । खनाल-नेपाल खेमाबाट पनि सचिव, महासचिव र उपाध्यक्षजस्ता पदाधिकारीमा उपाध्यक्ष गौतम,  सचिव युवराज ज्ञवाली, भीम रावल, प्रदीप नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, राजेन्द्र पाण्डे, योगेश भट्टराईलगायत आकांक्षी छन् । आफ्नै गुटकालाई व्यवस्थापन गर्न नसक्ने अवस्थामा दुई समूह वा तीनै समूह  मिल्दा पद सोपान मिलाउन गाह्रो छ । 
पार्टीबाहिरबाट प्राप्त हुन सक्ने सभामुखमा पनि तीन नेताका प्राथमिकता फरक छन् । खनाल सुरेन्द्र पाण्डे वा भीम आचार्यलाई बनाउने मनस्थितिमा छन् भने नेपाल अमृत बोहराका पक्षमा देखिएका छन् । ओली भने नेम्वाङलाई नै  दोहोर्‍याउने योजनामा छन् । कांग्रेस नेतृत्वको सरकारमा सहभागितामा पनि कसको नेतृत्वमा पठाउने भन्नेमा तीन नेताको फरक-फरक मत छ । गौतम, पौडेल, ईश्वर पोखरेललगायत आकांक्षी छन् । त्यसैले पनि माथिल्ला तीन ने ताले चाहँदैमा द्विपक्षीय वा सबैबीच समीकरण मिलाउनु कठिन छ । सुरेन्द्र पाण्डेले ओलीको खुलेरै आलोचना गरेकाले उनीलगायतको एउटा समूह ओलीसँग भन्दा नेपालसँगै मिल्नुपर्ने पक्षमा छ । वामदेव समूहमै रहेका घनश्याम  भुसाललगायतको प्राथमिकता पनि नेपालसँग मिल्नुपर्नेमा छ । गौतम खेमाका युवा नेता रवीन्द्र अधिकारी भन्छन्, 'खनाल-गौतमको समीकरण सहजै टुट्ने देख्दिनँ ।'
माले पृष्ठभूमिका नेताको साथका कारण पार्टी र संसदीय दलमा गौतम मोलमोलाईका लागि सुविधाजनक अवस्थामा छन् । पार्टी र संसदीय दलमा ओली-पोखरेलको पकड राम्रो छ, दोस्रोमा खनाल-गौतम र तेस्रोमा नेपाल छन् । केही समययता गौतमले पनि 'म पार्टी अध्यक्ष वा दलको नेता किन नहुने' भन्न थालेका छन् । गौतम निकट एक नेताका  अनुसार उनको समूहमा रहेका अधिकांशलाई प्राप्त अवसरमा सम्मानजनक हिस्सा दिन ओली तयार भए दुई पक्षबीच समीकरण बन्न 
सक्छ । प्राप्त हुन सक्ने अवसर र व्यक्तिबारे दुवै खेमाबाट आन्तरिक गृहकार्य पनि भइरहेको छ । गौतम र खनाल पक्षकै केही नेता ओलीले अन्य लोभ नराख्ने हो भने उनलाई अध्यक्ष दिनेमा विवाद नहुने बताउँछन् । 
खनाल र नेपाल पार्टी र सरकार दुवैको प्रमुख भइसकेकाले एक पटक ओलीलाई अवसर दिनुपर्छ भन्ने मत पनि छ कार्यकर्ता पंक्तिमा । तीन नेताबीच शक्ति सन्तुलन मिलाउन नेता नेपाललाई पनि कुनै भूमिका दिनुपर्ने उनीहरूको मत  छ । तर अहिलेसम्मको अवस्थामा ओली पक्ष त्यसमा सहमत छैन । ओली-पोखरेल समूह अनुदार भए बाँकी सबै अर्कोतिर हुने अवस्था पनि आउन सक्छ । यस्तोमा ओली समूहका महासचिवका आकांक्षी नेताले पनि उनलाई छाड्न  सक्ने अर्को पक्षको दाबी छ । 
अहिलेसम्मको स्थिति हेर्दाचाहिँ अन्तमा नेपाल-ओली बीच नै अध्यक्षमा प्रतिस्पर्धा हुने देखिन्छ । खासै नखुले पनि नेपालनिकट मानिने नेता रामनाथ ढकाल भने नेपाल र ओलीबीच अध्यक्षमा प्रतिस्पर्धा नहुने ठोकुवा गर्छन् । उनी भन्छन्,  'नेपाल र ओलीबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुँदैन । त्यस्तो अवस्था आउनुअघि नै दुवै पक्षबीच सहमति भइसक्छ । यस पटक प्रमुख तीन नेताबीच को राष्ट्रपति, को दलको नेता र को अध्यक्ष हुने भन्ने सहमतिमै टुंगिन्छ ।  महासचिव पदसमेत सहमतिमा टुंगो लाग्छ भन्ने मेरो विश्वास छ ।' ओली निकट नेता प्रदीप ज्ञवाली पनि अन्तसम्ममा तीन शीर्ष नेताबीच 'विनविन पोजिसन' मा सहमति कायम हुने ठान्छन् । 'यस पटक प्रतिस्पर्धाभन्दा पनि  सहमतिमै सबै कुराको टुंगो हुन्छ भन्ने लाग्छ,' उनले भने । अन्तिम अवस्थासम्म समीकरणमा फेरबदल भइरहने भएकाले ठ्याक्कै के हुन्छ भन्न सकिन्न । तर माघ ८ मा संविधानसभा सुचारु भएसँगै दलको नेता चयनको प्रक्रिया  कसरी अगाडि बढ्छ, त्यसबाट एमालेभित्रको नेतृत्वको रस्साकस्सी कसरी टुंगिन्छ भन्ने संकेत मिल्छ ।  

प्रकाशित मिति: २०७० माघ ४ ०९:३३

एमाले महाधिबेसन शृंखला- 1/एमालेमा उतारचढावका पाँच वर्ष/तीन नेताको पृष्ठभूमि

No comments:

Post a Comment