Wednesday, December 26, 2012

भारतमा शिक्षा/सस्तो र गुणस्तरिय

  • दुर्गा खनाल
पाच बर्ष अघिसम्म विदेशमा अध्ययन भन्ने वित्तिकै अमेरिका, संयुक्त अधिराज्य, अष्टेलिया लगायतका मुलुकहरु मात्र सबैको नजरमा पर्थे । कि नेपालकै कलेजहरुमा विद्यार्थीहरु पढ्थे कि त अमेरिकी र युरोपियन मुलुकहरु नै ताक्थे । तर पछिल्ला बर्षहरुमा विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको आकर्षक गतव्यको सूचीमा भारत पनि थपिएको छ । अमेरिका युरोप ताक्ने विद्यार्थीहरु पनि अब भारतको अध्ययनतिर आकर्षित हुन थालेका छन् ।
राजधानीका सडकहरुमा केही बर्ष अघि अमेरिकी युरोपियन मुलुकहरुमा अध्ययन गर्न चाहनेहरुका लागि खुलेका परामर्शदता संस्था धेरै देखिन्थे । अहिले भारतमा अध्ययन गर्न चाहनेहरुका लागि सहयोग गर्ने परामर्शदाता संस्थाको बाढी आएको छ । भारतीय कलेजहरुका विज्ञापनहरु प्रसस्तै देखिन्छ । यसबाट सहजै अनुमान गर्न सकिन्छ नेपाली विद्यार्थीहरुको भारत अध्ययन गर्न जाने क्रम बढी रहेको छ । हुन त भारतमा अध्ययन गर्ने क्रम पहिलेदेखि नै हो । नेपालको सिमाक्षेत्रमा बस्नेले भारतमा अध्ययन गर्न आफ्नो छोराछोरीलाई पठाउथे । तर पछिल्ला बर्षहरुमा चाही संस्थागत रुपैमा विद्यार्थीहरु अन्य विदेशी मुलुक छोडेर खोजी खोजी भारतमा उच्च शिक्षाका लागि जान थालेका छन् । परामर्शदाता संस्थाहरुको  अनौपचारिक अनुमानअनुसार बर्षेनी झण्डै ५ हजार भन्दा बढी विद्यार्थी भारत अध्ययनमा जान्छन् ।
किन जान्छन् ?
नेपालमै यतिधेरै कलेजहरु खुलेका छन् ।  तर भारतमा अध्ययन गर्ने क्रम किन बढ्न थालेको हो त ? यसका दुईटा प्रमुख कारण छन्– सस्तो र गुणस्तरिय पढाई ।  ‘सस्तो दरमा गुणस्तरिय पढाई हुने भएकाले विद्यार्थीहरु त्यहा जान चाहन्छन्’ लिंकन कन्सल्टेन्सीका विनोदपुरुष न्यौपाने भन्छन्,‘नेपालको निजी शिक्षण संस्थाहरुको तुलनामा सस्तोमा त्यहा राम्रो पढाई हुन्छ ।’ विश्वमै भारत गुणस्तरिय शिक्षाका लागि  १० उत्कृष्ट मुलुकहरुको सूचीभित्र पर्छ । नेपालमा राजनीतिक अस्थितरताका कारण विद्यार्थीहरुमा अध्ययनमा बाधा परिरहेको छ । सरकारी कलेजहरुको व्यवस्थापन कमजोर छ । विश्विद्यालयले नियमित परिक्षा र रिजल्ट ननिकाल्दा पनि  धेरैले समस्या बेहोर्नुपरेको छ ।  यो सबै झन्झट नहुने भएकाले विद्यार्थीहरुलाई विदेशतर्फ आकर्षित हुन्छन् ।  भारतमै जाने अर्को कारण  ‘भिसा’ पनि हो । भारतसंग नेपालको खुल्ला सिमा भएको त्यहा जाना भिसा चाहिदैन ।  पछिल्ला बर्षहरुमा अमेरिकन र युरोपियन मुलुकहरुले विद्यार्थी भिषालाई झन्झटिलो बनाइदिएका छन् । ‘भारत जानको लागि भिषाको समस्या छैन त्यसले पनि अरु मुलुक जाने खोज्नेहरु पनि भिसाको झन्झटले भारततिर जान्छन्’ परामर्शदाता संस्था अर्थ भिजनका कुलदास मोक्तान भन्छन् ।  अध्ययन सकेपछि विदेशी डिग्री पाइने महत्वकांक्षाले पनि केही भारततिर लाग्छन् भने नेपाली संस्कृतिसंग मिल्ने र नजिक भएकाले पनि विद्यार्थीहरुमा अर्को आकर्षण थपेको छ ।
कुन बिषय पढ्छन् ?
भारतमा पढ्न चाहने विद्यार्थीहरुको बढी आकर्षण प्राविधिक बिषयहरुमा नै छ । त्यसमध्ये सबैभन्दा बढी इन्जिनियरिड, मेडिकल, नर्सिड र व्यवस्थापन बिषय अध्ययन गर्न भारत जान्छन् । नेपालमा व्यवस्थापन बाहेक अन्य प्राविधिक बिषयहरुको अध्ययन गर्नका लागि समस्या छ । सरकारी कलेजहरुमा सिमित कोटा छ र निजी कलेजहरुमा महंगो र सबै विद्यार्थीले धान्ने गरी  पर्याप्त कलेज पनि छैनन् । प्राविधिक बिषयह पढ्न चाहनेहरुको संख्या धेरै हुन्छ । तर सिमिति कोटाका कारण सबैले अध्ययनको अवसर पाउदैनन् । त्यसैले पनि आफूले रुचाएको बिषय अध्ययनका लागि भारतर्फ लाग्छन् । ‘नेपालमा चाहना राख्ने जतिले पढ्नै पाउदैनन्, निश्चित कोटामा प्रतिस्पार्धा गर्नुपर्छ त्यसले गर्दा धेरै विद्यार्थीले अवसर पाउदैनन्’  इन्डो एसियन एकाडेमीका रमेश जोशी भन्छन्,‘ त्यसैले भारततिर सजिलैगरी पढ्न पाईने भएकाले त्यता जान्छन् ।’
खर्च कति लाग्छ ?
भारतमा अध्ययनका लागि खर्चको सिमा भने कलेज र बिषय अनुसार फरक पर्छ । त्यहा पनि उत्कृष्ट विश्वविद्यालय र कलेजहरुमा समान्यको भन्दा बढी नै खर्च लाग्छ । जहा पनि कति सुविधा छ त्यसका अनुपातमा  खर्च तय हुने हो ।  इन्जिनियरिड पढ्का लागि  तीन–चार लाख देखि ३०–३५ लाख रुपैयासम्म लाग्ने कलेजहरु छन् । विद्यार्थीको आफ्नो आर्थिक क्षमता अनुसार जस्तोमा पनि पढ्न सकिन्छ । ‘७–८ लाख रुपैयाको प्याकेज भएका कलेजहरुमा नेपाली विद्यार्थीहरु बढी गएका छन्’ एब्सिका इन्टरनेशनल एजुकेसनका रमेश थापा भन्छन्,‘आफ्नो क्षमता अनुसार जती प्याकेजको कलेज पनि पाइन्छन्, तर सस्तो भनिएका कलेजहरुमा पनि पढाई राम्रै हुन्छ ।’ सामान्य, मध्यमदेखि उच्च आर्थिक क्षमता भएको सबैका लागि त्यहा अध्ययन गर्न सकिने कलेजहरु छन् ।
प्रमुख गतव्यस्थल
नेपाल भन्दा भारत २१ गुणा ठूलो छ । त्यहा धेरै राज्यहरु भए पनि सबै ठाउको शिक्षा उत्तिकै उत्कृष्ट मानिदैन । त्यसका लागि कलेज छान्ने बेलामा विद्यार्थीहरुले ध्यानपुरयाउनै पर्छ । अध्ययनका लागि बैगलोर, नयादिल्ली, पुणे लगायका स्थानहरु बढी चर्चित छन् । नेपाली विद्यार्थीहरु पनि तीनै स्थानहरुमा बढी गएका छन् । ती स्थानहरु विकशित पनि छन् र अध्ययनका लागि भारतीयहरुकै लागि पनि आकर्षणको केन्द्र हुन् ।
रोजगारीको अवसर
राम्रो अध्ययन गर्ने विद्यार्थीहरुका लागि त्यहा रोजगारीको अवसर पनि  छ । प्राविधिक बिषयहरु अध्ययन गर्ने विद्यार्थीहरुलाई कलेजमै बुकिड गर्न समेत कम्पनिहरु  आउछन् । ‘विद्यार्थी राम्रो छ भने कलेजहरुमै अफर दिन आइपुग्छन्’ प्रेसिडेन्ट एजुकेशनल कन्सल्टेन्सीका बीआर शर्मा भन्छन्,‘ रोजगारीको ठूलो बजार भारतमा छ, राम्रो गर्नेवित्तिकै त्यहा अवसर भेट्न यहाजस्तो मुस्किल छैन ।’ कुनै कुनै कलेज आफैले पनि विद्यार्थीहरुलाई विभिन्न प्रोजेक्टहरुमा पठाइदिने गर्छन् ।  परामर्श दातृ संस्थाहरुका अनुसार नेपाली विद्यार्थीहरुको त्यहा राम्रो पर्फमेन्स छ । उत्कृष्ण नतिजा ल्याइरहेका छन् ।  अन्य मुलुकमा जानेहरु पढाई संगसंगै काम गर्नेतिर बढी केन्द्रित हुन्छन् । महंगो भएकाले पढाईसंगै रोजगारी गर्नुपर्ने बाध्यत हुन्छ ।  तर भारतमा सस्तो भएकाले अधिकांशका उद्देश्य काम भन्दा पनि पढाईतिर हुन्छ । त्यसैले पनि रिजल्ट राम्रो हुने गरेको छ । गत बर्षमात्र बैगलोरको राजिव गान्धी विश्विद्यालयबाट बिएस्सी नर्सिडमा नेपाली विद्यार्थी आकृति काफ्ले भएर गोल्ड मेडल हासिल गरेकी थिइन् ।
सावधान जरुरी
अध्ययनमा जाने विद्यार्थीहरुले निर्णय गर्नुअघि केहि सावधानी भने अपनायर्न पर्छ । अध्ययन गर्दा एउटा र्खच र अर्को आफ्नो उर्वर समय दुबै लगाइएको हुन्छ । यस्तो महत्वपूर्ण निर्णय गर्दा आफ्नो समय र खर्च दुबै बर्बाद नहुने तफै सचृत हुनुपर्छ । सस्तोको नामका कस्तो कलेज हो, त्यहाको शैक्षिक वातावरण के छ नबुझी  हामहाल्नु हुदैन । पढ्नकाका लागि शैक्षिक र भौगोलिक वातावरण पनि असर पार्न सक्छ त्यसलाई पनि ख्याल राख्नु जरुरी छ । परामर्शदाता संस्थाहरुको पछि लागेर जान खोज्दा सम्बन्धित संस्थाबारे पनि राम्ररी हेक्का राख्नुपर्छ । कतै राम्रो भनेर नराम्रोमा त परेको छैन ?
भारतीय शिक्षा सम्बन्धि बिषेशांकमा प्रकाशित



No comments:

Post a Comment