Wednesday, December 26, 2012

संविधान जात्रा !


दुर्गा खनाल
काठमाडौ, जेष्ठ १९ - स्थान उही । व्यक्ति र पात्र एउटै । संविधानसभाका पहिलो र अन्तिम दिन नितान्त फरक । सभासद्देखि आम नागरिकको मनोदशा भिन्न थियो । कहिल्यै नर्बिसिने दिनका रूपमा यी दुई दिन इतिहासमा लेखिएका छन् । मुलुकभरबाट  प्रत्यक्ष र समानुपातिकको सिट विभाजन गर्न निर्वाचन आयोगलाई झन्डै एक महिना लाग्यो त्यसैले डेढ महिनापछि ०६५ जेठ १५ का लागि संविधानसभाको पहिलो बैठक बस्ने दिन तोकिएको थियो । 


सभासद् मात्र होइन मुलुकभरि नै संविधानसभाको पहिलो बैठकको प्रतीक्षा भइरहेको थियो । अघिल्लै दिनदेखि हर्षका नाराजुलुस भइरहेका थिए । पहिलो बैठक बस्ने दिन बिहानै संविधानसभा भवन वरपर गणतन्त्र नेपालका पक्षमा नाराबाजी भइरहेका थिए । गणतन्त्र आउने खुसियालीमा दीपावली भइरहेको थियो । गणतन्त्र नेपालका नाराले युवाहरूका अनुहारदेखि ब्यानरसम्म पोतिएका थिए । राजतन्त्र फालेर गणतन्त्रको विधिवत् सुरुवात, त्यसपछि त्यही संविधानसभाबाट नेपाली जनताले खोजेको संविधान आउने कुरा, खुसीले सीमा ननाघ्ने कुरै थिएन । 


यही खुसीमा रमिरहेका धनकुटाका निर्वाचित सभासद् हेमराज भण्डारी संविधानसभाको पहिलो बैठकमा प्रवेश गर्न आतुर थिए । 'चुनाव जितेपछि नै म धेरै खुसी थिएँ, संविधानसभा प्रवेश र गणतन्त्र घोषणा हुने कुरा सम्झेर पहिलो दिन अझै बढी खुसी थपिएको थियो,' चार वर्षअघिको दिन सम्भ“mदै भण्डारी भन्छन् । 

राजनीतिक दलहरूबीच संविधानसभाको पहिलो बैठकबाटै गणतन्त्र घोषणा गर्ने सहमति बनेको थियो । पहिलो बैठकको पहिलो कार्यसूची नै गणतन्त्र घोषणासम्बन्धी प्रस्ताव पारित गर्ने भन्ने थियो । साढे दुई सय वर्षदेखिको राजतन्त्रलाई हटाएर गणतन्त्रको विधिवत् सुरुवात गर्ने त्यो ऐतिहासिक दिनमा सभासद् भण्डारीजस्तै अरू सभासद् पनि खुसीमा डुबेका थिए । 'पहिलो दिन संविधानसभाको हलमा छिर्दा खुसी उत्साह उमंग थियो । वर्षौंदेखिको असमानता र शोषण अन्त्य हुन्छ भन्ने विश्वासले मनमामा उमंग छाएको थियो,' चितवनकी शारदादेवी कुमाल सम्झन्छिन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि बैठकबाट खुसी साटेका थिए । 'मैले भन्दै आएको थिए, राष्ट्रले एक दिन काँचुली फेर्नेछ आज त्यो दिन आएको छ,' कोइरालाले भनेका थिए ।   

िि



िसंविधानसभाको अन्तिम दिन ०६९ जेठ १४ गते पहिलो दिनको दृश्यको ठीक उल्टो भइरहेको थियो । सभा हलभित्र बसेका सभासद् निराश थिए । उनीहरूको मुहारमा बादल लागेको थियो । पहिलो बैठकको दिन संविधानसभा भवनबाहिर खुसियाली जुलुस गर्ने, दीपावली गर्नेजस्तै मानिसहरू इँटा-ढुंगाको वषर्ा गराइरहेका थिए । चोकचोकमा भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्नुपर्ने स्थिति आयो । 

पहिलो बैठकलाई व्यवस्थित बनाउन अघिल्लै दिन संविधानसभामा हलमा सभसद्हरूको शपथग्रहण समारोह गरिएको थियो । संविधानसभाका अध्यक्ष चयन नभएकाले ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले पहिले संविधानसभाका सदस्यहरू सामु शपथ गरे र त्यसपछि उनले अन्य सदस्यहरूलाई शपथ गराए । उनीभन्दा ज्येष्ठ गिरिजाप्रसाद कोइराला भए पनि उनी प्रधानमन्त्री भएकाले गुरुङको पालो आएको थियो । 

शपथ लिनका लागि 'ड्रेस-कोड' थिएन । विश्वमै अनुपम समावेशिताको नमुना मानिएको सभा भवनभित्र पहिलो दिन आ-आफ्ना जाति र संस्कृति झल्काउने भेषभूषामा सभासद्हरू आएका थिए । मधेसी तथा जनजातिहरू सभासद्हरूले आ-आफ्नो सांस्कृतिक पहिरन लगाएका थिए । माओवादीका सभसाद्हरू भने पार्टीले तोकिदिएको एकै रंगका सुटमा उपस्थिति थिए । शपथ पनि इच्छाएको भाषामा नै लिएका थिए । 

अन्तिम दिनचाहिँ त्यो शपथको उल्लंघन भयो । दुई वर्षका लागि संविधान बनाउने संविधानसभाले चार वर्षमा पनि शपथ पूरा नगरी भंग भयो । पहिलो दिन गिरिजाप्रसाद कोइराला, प्रचण्ड, झलनाथ खनाल, उपेन्द्र यादव, महन्थ ठाकुरलगायतका नेताहरू सभाको पहिलो लहरमा बसेका थिए । अन्य सभासद् सम्बन्धित दललाई छुट्याएको सिटमा क्रमशः बसेका थिए । सबभन्दा जेठा भएकाले कुलबहादुर गुरुङ सभाको सभाध्यक्षको कुर्सीमा थिए । तर अन्तिम दिन पहिलो लहरमा बस्ने कुनै पनि नेताको संविधानसभा भवनमा अत्तोपत्तो थिएन । कोइराला स्वर्गीय भए भने अरू बेपत्ता थिए । सिंहरदबार र बालुवाटारमै उनीहरूको स्टेसन थियो । सभाध्यक्ष सुवास नेम्बाङ र उपाध्यक्ष पूर्णकुमारी सुवेदी त्यो दिन संविधानसभा भवनभित्र प्रवेश गरेनन् । रित्ता कुर्सी, अध्यक्षको खाली आसन देख्दा सभासद्को भीडभित्र पनि संविधानसभा भवन सुनसानजस्तो थियो ।

पहिलो दिन पनि बैठकको बस्ने समय बिहान ११ बजे तोकिएको थियो । अन्तिम दिन पनि त्यही समय तोकिएको थियो । पहिलो दिन बिहान ११ बजे तोकिएको बैठक करिब राति १० बजे सुरु भयो । दिनभरको बैठक प्रतीक्षाले शारीरिक थकान भए पनि सभासद् जोसिला नै थिए । तर, अन्तिम दिन बिहानैदेखि कुनै पनि बेला राजनीतिक सहमति होला र संविधान जारी गर्ने बाटो खुला भन्ने प्रतीक्षामा सभासद्हरू भवनभित्र भौतारिइरहेका थिए । बिहान ११ बजेका लागि बोलाइएको बैठक सुरु नभएपछि २ बजेतिर सभासद्हरूले बैठक सञ्चालनको माग गर्दै भवनभित्रै नाराबाजी गरे । तर प्रदर्शनले कुनै काम गरेन । फेरि साँझ पाँच बजेतिर दोस्रो प्रदर्शन गरे । बैठक सञ्चालन गर्नुपर्ने भन्दै उनीहरूले संविधानसभा भवनमा फन्का लगाए । तर बैठक भएन । बैठकको घण्टीको प्रतीक्षामै सभासद्ले १२ घन्टा बिताए अन्ततः बैठक नै नबसी संविधानसभाको प्राण गयो । 

पहिलो दिनको बैठकले गणतन्त्र घोषणा गर्दा त्यही भित्रै सभासद्हरूले खुसियालीमा नाराबाजी गरेका थिए । मध्यरातमा पनि खुसियाली साट्दै अबिरको रातो टीका लगाएर सभासद्हरू बैठक भवनबाट बाहिरिएका थिए । राजनीतिक सहमतिको नाममा केही नेताको बन्धक बनेका उनीहरू अन्तिम दिन मध्यरात व्यक्तिगत जीवनमा एउटा दाग लगाउँदै असक्षमको रूपमा दर्ज भएर बाहिरिए । 

'हामी इतिहासका कलंकित पात्र बनाइएका छौं, नेताहरूले सभालाई बन्धक बनाउँदा हाम्रो सामाजिक जीवन पनि खल्बलिएको छ,' अन्तिम दिनको अनुभूति सुनाउँदै निवर्तमान सभासद् भण्डारी भन्छन् । 'संविधान नबनाईकन बाहिरिनुपर्दा हाम्रो निधारमा कालो टीका लागेको छ,' निवर्तमान सभसाद् कुमालले भनिन्, 'वर्षौसम्म यो टीकाको दाग रहिरहने भयो ।'

मुलुकलाई राजनीतिक रूपमा ठूलो परिवर्तन गराएको 'ऐतिहासिक स्वर्ण दिन' थियो जेठ १५, २०६५ । त्यो स्वर्ण दिनले ल्याएको परिवर्तनलाइ संस्थागत गरेको औपचारिक घोषणा गर्नुपर्ने अर्को ऐतिहासिक दिन थियो- ०६९, जेठ १४ । तर इतिहासमा यो दिन 'कालो दिन'को रूपमा अंकित भयो । १५ गतेले गणतन्त्र ल्यायो, तर १४ ले त्यसका उपलब्धिलाई दस्तावेजीकरण गर्न सकेन । यसले मुलुकलाई फेरि अनिश्चयको भुमरीमा पारिदियो । 

प्रकाशित मिति: २०६९ जेष्ठ २० ०९:२

No comments:

Post a Comment