Wednesday, December 26, 2012

अलग बाटोमा अशोक

published in Kantipur daily


  • दुर्गा खनाल

संविधान सभाको कार्यकाल सकिने बेलामा बुहजातीय कि एकल जातीय पहिचान सहितको संघीयता भन्ने विवाद उत्कर्षमा थियो । यही विवाद दलहरुबीच अन्तिममा  समयसम्म  नमिल्दा संविधान नबनाई संविधान सभा विघटन भयो । संविधान सभा भित्रको संघीयताको विवादले मुलुक संबैधानिक राजनीतिक संकटमा मात्र फसेन, प्रमुख दलहरुको आन्तरिक जीवनमा समेत यो घटनाले भूईचालो ल्याइदियो । यसको सबै भन्दा ठूलो धक्का यतिबेर एमालेमा परेको छ । संविधान सभा विघटनको चार महिनासम्म पनि पार्टी भित्रको विवाद नमिलेपछि केही नेताले बिहीबार औपचारिक रुपमा  एमालेसंग सम्बन्ध विच्छेद गरेका छन् । पहिचान सहितको संघियताको मुद्दामा एमाले पछि हटेको आरोपसहित बाहिरएका उनीहरुले नयाँ शक्ति निर्माण गर्ने उद्घोष गरेका छन् । जसको प्रमुख नेता बनेका छन्– अशोक राई ।

अब छिट्टै राईको नतेृत्वमा नयाँ पार्टी घोषणा  हुदैछ । संघियताको मुद्दामा अग्रगामी विचार बोक्ने नयाँ शक्तिको आवश्यकता परेको भन्दै राई नेतृत्वको समूहले संघीय समाजवादी पार्टी’ को प्रस्ताव तयार गरिसकेको छ ।
पदीय हिसाबले राई एमालेका उपाध्यक्ष थिए । पार्टीको ओहादामा माथिल्लो तहमा पुगेपनि एमालेसंगको भावनात्मक तार टुटेपछि उनले बिहीबारबाट औपचारिक रुपमा पार्टी छोडे । आफ्नो विचार पार्टीमा नमिलेपछि उनले चार महिनादेखि एमाले भित्रै ‘अग्रगामी विचार समूह’ नाममा समानान्तर गतिविधि संचालन गरेका थिए ।
 झण्डै चालीस बर्ष एउटै पृष्ठभूमिको पार्टीमा सक्रिय रहेका राई किन एमालेबाट   अलग्गिए ? ‘पहिचानको मुद्दा मेरोभन्दा पनि एमाले आफैले उठाएको हो’ नेता राईको तर्क छ, ‘एमाले भएको नाताले पार्टीले नै उठाएको मुद्दा कार्यान्वयन गर्नुपर्छ भनेर लागेको हुँ तर पछि पार्टीले आफैले मुद्दा छोडेर हिड्न खोज्यो ।’ पार्टी परित्यागको घोषणा सभाबाटै उनले आफ्नै पहिचान समेत एमाले भित्र संकटमा परेको  कुरा गरे ।  ‘त्यसैले मेरो पहिचान नस्वीकार्नेलाई मैले पनि स्वीकारिन’ राईले भने ।  
संविधान सभाको राज्यपुनर्संरचना समितिमा प्रदेशहरु निर्माणको बहस चल्दादेखि नै एमाले भित्र एकल जातीय र बहुल जातीय संघियताको  विवाद चर्किएको थियो । संविधान सभा भित्र पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरुले लबिङ गरिरहेका थिए भने पार्टी भित्र अशोक राई सक्रिय थिए । संविधान सभामा एमालेको रामचन्द्र झा नेतृत्वको कार्यादलले तयार गरेको १५ प्रदेशको खाका प्रस्तुत गरेको थियो । उक्त खाकामा राई पनि सन्तुष्ट थिए । तर जातीय राज्यहरुले विखण्डन ल्याउन सक्ने भन्दै काग्रेस र एमालेको संस्थापन पक्ष विपक्षमा उभिए । उनीहरुले राज्यपुनर्संरचना समितिले तयार गरेको १४ प्रदेशको खाका परिमार्जन गर्नुपर्ने अडान राखे । त्यही अडानका कारण पछि राजनीतिक सहमतिमा  राज्यपुनर्संरचना आयोग बनाइयो । आयोगमा गएका एमालेका प्रतिनिधिलाई जबरजस्ती दबाब दिएर संविधान सभाको समितिले तयार गरेको प्रतिवेदन उल्टाउने प्रयास पार्टीले गरेको आरोप राई लगायतको छ । त्यहीबाट पार्टीसंग विश्वासको संकट पैदा भएको हो । पार्टीले भने राई नेतृत्वको समूहको आरोप खण्डन गर्दै आएको छ ।
सातौ केन्द्रिय कमिटिको  १२ औ बैठक देखि नै एमाले संघीयताको पक्षमा उभिदै जातीय भाषिक, सांस्कृति कुराहरुलाई जोड दिएको थियो । त्यसपछि चुनावी घोषणा पत्रले पनि स्वीकारेको कुराबाट पार्टी पछि हटेको राई नेतृत्वको समूहको आरोप छ । संविधान सभा विघटन भएपछि राईले पार्टीमा यीनै कुरा उल्लेख गर्दै नौ बुदे माग पत्र पेश गरे । नौ बुदा भित्र प्रमुख माग एकल जातीय पहिचान सहितको संघीयता र संविधान सभा पुनस्र्थापना थिए । ती मागको सम्बन्धमा पार्टी अध्यक्ष झलनाथ खनालले जवाफ पठाए । जवाफमा एकल जातीय पहिचान सहितको संघियता स्वीकार्न नसक्ने तर संविधान सभा पुनस्र्थापना हुनसक्ने उल्लेख थियो । अध्यक्ष खनालको त्यो जवाफमा चित्त बुझाउदै पृथ्वी सुब्बा गुरुङ लगायतको एउटा समूह  एमालेको पूर्ववत् जिम्मेवारीमै फर्कियो । तर राईको चित्त बुझेन । पार्टी पुरानै अडानमा रहेको निष्कर्ष सहित उनले बहिर्गमनको बाटो रोजे ।
एकल जातीय पहिचानको प्रवक्ता बनिरहेका राई बर्गिय राजनीतिमा लागेका पुराना कम्यूनिष्ट नेता हुन् । उनको बोली शालिन छ । बोलेर उनी कसैलाई बिझाउदैनन् । आफ्ना असन्तुष्टी राख्नैपर्दा पनि उनको शैली नम्र हुन्छ । झट्टै देखिने गरी कुनै कुराको समर्थन र विरोध उनी गर्दैनन् । तत्काल निर्णय गर्ने क्षमतामा उनको कमजोरी छ । खोटाङको सामान्य परिवारमा जन्मेका राई २०३० सालदेखि राजनीतिमा सक्रिय छन् । धरानको हात्तिसारमा क्याम्पसमा अध्ययन गर्दादेखि उनी बामपन्थी राजनीतिमा होमिएका हुन् । तत्कालिन कोअर्डिनेसन केन्द्रदेखि, माले हुदै उनी पञ्चायतकालमा लामो समय भूमिगत बसी संगठन निर्माणमा सक्रिय भएका थिए ।
‘उहाँ पार्टी निर्माणमा पार्टी निर्माणका शुरुदेखि नै सक्रिय र योगदान पुर्‍याएको व्यक्ति हो, कुसल संगठक पनि हो’ हात्तिसार क्याम्पसमा राईका सहपाठी समेत रहेका एमाले नेता युवराज कार्की भन्छन्,‘धेरै उतारचढाव व्योहोरेको मान्छे अहिले पार्टी भित्र संघर्ष गरेर जान नसक्ने अवस्थामा कसरी पुग्नुभयो यो आश्चयको  कुरा हो ।’
भूमिगतकालदेखि नै उनी पार्टी निर्माणमा सक्रिय थिए । बाहिर देखिने भन्दा पनि भित्र बसेर संगठनको काम गर्थे । मदन भण्डारीको निकट रहेर उनले कोशी क्षेत्रमा धेरै गतिलो संगठन बनाए पनि ।  पार्टीको पाचौ महाधिवेशनमा उनी मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ विपक्षमा थिए । उनले सिपी मैनाली, झलनाथ खनालहरुले अघि सारेको ‘नौलो जनवाद’को पक्ष लिए । फरक धारमा रहेपनि केन्द्रिय सदस्य निर्वाचित भएकाले  उनलाई सगरमाथा अंचलको इन्चार्ज बनायो । ‘दिएको जिम्मेवारी उनले राम्ररी निभाउथे, नराम्रो कसैलाई  पनि गर्दैननथे, काममा पनि हस्तक्षेप हुदैनथ्यो’ राई इन्चार्ज भएका बेला सचिव रहेका जिल्लाबासी नेता हरि रोका भन्छन्,‘उनको स्थायी गुट नभएकाले अन्य गुटहरुले निर्णयको पछि लाग्नुपर्दा अहिले उनले ‘आइसोलेसन’ महसुस गरेको हुनसक्छ ।’ 
महाकाली सन्धीको विवादमा  एमाले विभाजन भएका बेला उनी माले पक्षमा लागे । पार्टी एकिकरण पछिको सातौ महाधिवेशनमा उनले जनकपुरमा निकै राम्रो भाषण गर्दै पार्टी विभाजन गलत भएको स्वीकारे । उनले त्यहा महाकाली’लाई बिषयबस्तु बनाएको चर्चित कविता प्रस्तुत गरेका थिए । सातौ महाधिवेशनबाट सर्वाधिक मत ल्याउने उनको इतिहासले आठौ महाधिवेशनमा उपाध्यक्ष हुदा पनि निरन्तरता पायो । अध्यक्ष झलनाथ खनाल र नेता केपी ओली दुबैको प्यानलमा नाम भएकाले उनी सर्वाधिक मत ल्याउन सफल भएका थिए । तर बैचारिक रुपमा उनी अध्यक्ष  खनाल र उपाध्यक्ष बामदेव गौतम निकट थिए । पार्टीभित्र उनको आफ्नै  स्थायीगुट थिएन । पछिल्लो समय जातीय मुद्दामा भने उनले आफ्नो गुट निर्माण गरे । तर उनी गुट नभई मुद्दाका कारण सबै एउटा ठाँउमा उभिनु संयोग मात्र भएको तर्क गर्छन् ।
केही नेताहरुअनुसार राई सर्वाधिक मत ल्याएकाले पार्टीमा महत्वपूर्ण जिम्मेवारी चाहन्थे । शुरुमा उनलाई संगठन विभागको जिम्मेवारी दिईएको थियो । पछि उक्त जिम्मेवारी महासचिव इश्वर पोखरेललाई दिएपछि राई असन्तुष्ट बने । पछिल्लो समय उनी उपप्रधानमन्त्री बनेर सरकारमा जान चाहन्थे तर पार्टीले नपठाएपछि झन् रुष्ट बनेको चर्चा  एमालेबृत्तमा छ ।
राई नेतृत्वको समूहले पहिचानको मुद्दासंगै पार्टीभित्र अवसर नपाएको कुरा पनि अनौपचारिक रुपमा उठाउने  गर्‍थ्यो । तर राई एमाले भित्र अवसर नपाएका नेता  होइनन् । एमालेकै तर्फबाट दुईपटक सांसद र तीन पटक उनी मन्त्री भइसकेका व्यक्ति हुन् । फेरी एकपटक मन्त्री भएर राजनीतिक सन्यास लिने योजना थिए । तर त्यो पुरा नभएपछि पहिचानको मुद्दालाई बैशाखी टेकेर ठूलो नेता बन्ने धुनमा लागेको’ आरोप लगाउनेहरु एमालेमाछन् ।
‘उहाँ कुनै पदका पछि लाग्ने व्यक्ति होइन, अहिलेको सन्दर्भमा समय र जनताको माग अनुसार  त्यसलाई सम्बोधन गर्न उहाँ अघि सर्नु भएको हो’ राईनिकट नेता अजम्बार काङमाङ राई भन्छन्,‘यो मुद्दालाई अघि बढाउन उहाँको नेतृत्व आवश्यक परेको हो, उहाँको नेता हुने रहर होइन ।’
माक्र्सवादी दर्शनबाट प्रभावित भई बर्गिय राजनीतिमा लागेका राईले जातीय कुरामा जोड दिनुलाई बैचारिक विचलन भएको बिष्लेषण गर्नेहरु पनि छन् ।  ‘डेट एक्सपायर’ भएपछि पुरानो ‘इतिहास भजाएर’  हिड्न खोजेको  भन्नेहरुको जमात पनि कम छैन । ‘आफ्नो व्यक्तिगत वर्ग उत्थान भएपछि जातीय कुरा गर्न थालेको’ आरोप लगाउनेहरु पनि उत्तिकै छन् ।  ‘संघीयता भनेको पहिचान मात्र हो र पहिचान भनेको एकल जातीय पहिचान मात्र हो’ भन्ने एजेण्डा बोकेर हिड्दा राईमाथि ‘जातीवादी’ को आरोप लागेको हुनसक्छ । तर उनले यसको खण्डन गर्दै आएका छन् । बिहीबार एमाले छोड्ने कार्यक्रममा ‘जातीवादी’को आरोपमाथि स्पष्टीकरण दिनमै धेरै समय  विताए । ‘सबै जाती, भाषा, धर्म, बर्ग लगायतको समानता र प्रतिनिधित्वको कुरा गर्दा हामीलाई जातीवादी भनिएको छ’ राईको भनाई छ,‘जसले समानता चाहदैन, जाती, भाषा धर्म लगायतलाई अधिकार दिन खोज्दैन त्यो चाही जातीवादी हो ।’ 

कान्तिपुरमा प्रकाशित: प्रोफाइल  
प्रकाशित मिति: २०६९ आश्विन २० ०९:०६



No comments:

Post a Comment