काठमाडौं, आश्विन ३ - संघीयतामा सहमति नभएपछि प्रमुख राजनीतिक दलहरु संविधानसभा निर्वाचनतर्फ केन्द्रित भएका छन् ।
संघीयतामा सहमति गरी संविधानसभा पुनःस्थापना गर्ने प्रयास असफल भएपछि दलहरु पुनः संविधानसभा निर्वाचन गर्न सैद्धान्तिक सहमतिमा पुगेका हुन् । 'संविधानसभा पुनःस्थापनाको विकल्प आजबाट सकियो,' नयाँ बानेश्वरमा बुधबार बसेको शीर्ष बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले संवाददाताहरुसित भने, 'अब ताजा जनादेशमा गइन्छ ।'
जेठ २ गतेको सहमति अनुसार ११ प्रदेशमा सहमति गरी संविधान घोषणाका लागि पुनःस्थापना गर्ने अन्तिम उपायस्वरुप प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसेको थियो । 'एमाओवादी र मधेसी मोर्चा ११ प्रदेशमा सहमत भएन,' एमाले नेता भीम आचार्यले भने, 'त्यसमा सहमति नभएपछि पुनःस्थापनामा हामी सहमत भएनौं ।' कांग्रेस-एमाले जेठ २ को सहमतिलाई नै पछ्याएर संघीयताको टुंगो लगाउने पक्षमा थिए ।
संविधानसभा पुनःस्थापनामा सहमति नभएपछि नयाँ चुनावको मिति घोषणाका विषयमा शुक्रबार छलफल हुनेछ । 'संविधानसभाको नयाँ चुनावको कानुनी प्रक्रिया मिलाउन पर्सी छलफल हुन्छ,' कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने । उनका अनुसार आगामी राष्ट्रिय सहमतिको सरकारले नै ताजा चुनावको मिति घोषणा गर्नेछ ।
बुधबार नै सत्तारुढ एमाओवादी र मधेसी मोर्चाले १० वा १४ प्रदेशको संघीय स्वरुपमा सहमति नभए निर्वाचनमा जाने सहमति गरेका थिए ।
No comments:
Post a Comment