Wednesday, December 26, 2012

ओली आकांक्षा


प्रोफाइल
  • दुर्गा खनाल

मिडियाका लागि एमाले नेता केपी ओली ”न्युजमेकर” हुन् । पदमा रहँदा होस् या नरहँदा उनको मिडियामा उपस्थिति उस्तै रहन्छ । ओली यस्ता नेता मध्येमा पर्छन्, जो समाचारका  नियमित स्रोत हुन् । पछिल्ला केही साता पनि ओली र उनीसँग जोडिएका प्रसंगका समाचारले सञ्चारमाध्यम राम्ररी नै रंगिएका छन् । यतिखेर ओली दुइटा प्रसंगका कारण चर्चामा  छन् । पहिलो– तीन वर्षदेखि झन्डै पानी बाराबारको स्थितिमा रहेका अध्यक्ष झलनाथ खनाल र उनको सम्बन्ध सुध्रिएको छ । एमालेलाई एकताबद्घ बनाएर लैजाने अनौपचारिक सहमति गरेका छन् । दोस्रो– संविधानसभामा पार्टीको भूमिका बलियो बनाउन भन्दै उनी सभासद बन्ने कुरा चल्दैछ ।


झन्डै तीन वर्षअघि बुटवलमा सम्पन्न एमाले आठौं महाधिवेशनपछि ओली र खनालको सम्बन्ध बिग्रिएको थियो । त्यसयता अध्यक्ष खनाल एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै आलोचना गर्ने ओली अहिले खनालले आन्तरिक एकताको प्रस्ताव अघि सारेपछि त्यसमा राजी भएका छन् ।

ओलीसहित उपाध्यक्ष वामदेव गौतम र अमृत बोहरालाई पनि सभासद बनाउने प्रसंग चल्नथालेको छ । यसलाई केहीले ओली सभासद बन्ने मोहमा खनालसँग जोडिएका त होइनन् ? भनी आशंका पनि गरेका छन्, तर ओली यसलाई इन्कार गर्छन् । उनले सार्वजनिक रपमा नै भनेका छन्, ”आन्तरिक एकता पदीय लेनदेनका लागि होइन, पार्टीलाई सुदृढ र एकता बनाउने पहल हो ।”
ओलीलाई सभासद बनाउने प्रस्ताव एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्थायी समितिमा राखेका थिए । त्यो बेला अध्यक्ष खनालले चासो  दिएनन् र ओलीले पनि प्ररस्ताव अस्वीकार गरे । डल्लुस्थित आफ्नै निवासमा बोलाएर खनालले ओलीलाई सभासदको प्रस्ताव राखेपछि ओलीले कान्तिपुरसँगको अन्तर्वार्तामा भने, ”पहिले मैले जसरी अलिक ठाडो शब्दमा अस्वीकार गरेको थिएँ, अहिले त्यसरी अस्वीकार नगरेकाले साथीहरलाई अहिले भन्यो भने मान्छ कि भन्ने लागेको होला, तर यसबारे मैले कुनै धारणाबनाइसकेको छैन ।”
सभासद बन्ने कि नबन्ने भन्नेमा ओलीलाई उनकै निकटवर्तीले पनि फरक–फरक सुझाव दिएका छन् । ६ महिनामात्र बाँकी रहेको संविधानसभामा प्रवेश गर्दा त्यसको सन्देश कस्तो जाला भन्ने एकथरीको विश्लेषण छ भने अर्काथरीले संविधान घोषणा गर्न सबै दलका शीर्षनेताहर संविधानसभामा जानु आवश्यक रहेकाले जाँदा फरक नपर्ने सल्लाह पनि दिएका छन् । ओलीले संविधानसभामा झापा– ७ बाट चुनाव हारेका हुन् । तर दुईवर्षे म्याद सकिएपछि २०६७ जेठ १४ गते मध्यराति संविधानसभा भंग हुने अवस्थामा पुग्दा उनैले जोगाइदिएको मानिन्छ । संविधानसभाको दुईवर्षे ”भजिनिर्टी” समाप्त भएकाले आवश्यकताअनुसार जुनसुकै नेता पनि त्यहाँ जानसक्ने धारणाले पनि ओलीलाई बल मिलेको छ । तर ओलीचाहिँ के गर्ने निक्र्योलमा अझै पुगेका छैनन् । जानैपरे पनि आफू एक्लै होइन, कांग्रेस सभापति सुशील कोइराला र माओवादी उपाध्यक्ष मोहन वैद्यसहित केही शीर्ष नेतासमेतलाई लैजानुपर्ने उनको धारणा सार्वजनिक भएको छ ।
ओली सभासद बन्ने कुरालाई कतिपयले भावी प्रधानमन्त्रीका रपमा पनि जोड्न खोजेका छन् । सभासद बनिहाले र एमालेले सरकारको नेतृत्व गर्ने अवसर आयो भने ओली प्रधानमन्त्री बन्नु अस्वाभाविक हँुदैन, किनभने पार्टीका दुईजना नेताले यसअघि नै सरकारको नेतृत्व गरिसकेका छन् र उनीहरको ”पर्फमेन्स” राम्रो नभएकाले ओली त्यसको स्वाभाविक दाबेदार बन्न सक्छन् । पार्टीभित्र भने उनलाई भावी प्रधानमन्त्रीभन्दा पनि संविधानसभाभित्रको सम्भावित संकटलाई व्यवस्थापन गर्नसक्ने मनसायले  सभासद बनाउ खोजिएको नेताहरको दाबी छ । ”सर्वोच्च अदालतको फैसलाअनुसार अबको ६ महिनाभित्र संविधान घोषणा गर्नुपर्छ, हुन सकेन भने मुलुक संकटमा पर्छ । ”यस्तो संवेदनशील अवस्थामा सबै दलका शीर्षनेताहर संविधानसभामा गई संकटलाई समाधान गर्नुपर्छ भन्ने प्रसंगमा यो कुरा आएको,” उनी निकट सचिव शंकर पोखरेल बताउँछन् ।
राज्य पुनसंर्रचना सम्बन्धी विज्ञ समूह बनाउने चार दलको निर्णयलाई संविधानसभाभित्र आदिवासी–जनजाति सभासदहरको समूह ”ककस” ले उल्टाइदिएपछि दलहरले आफ्नो शक्ति कमजोर भएको महसुस गरेका छन् । संविधान पारित गर्ने बेलामा फेरि त्यस्तै संकट आउने भयले पनि संविधानसभाभित्र हुने ”कसस”जस्ता सामूहिक दबाबलाई कमजोर बनाउने रणनीतिअनुसार पनि उनलाई सभासद चयन गर्न खोजिएको हुन सक्छ ।
ओली एमालेभित्र सबैभन्दा पुराना नेताहरमध्ये पर्छन् । २०२३ सालदेखि राजनीतिमा प्रवेश गरी पञ्चायतकालमा निरन्तर १४ वर्ष जेल बसेका ओलीको छवि पार्टीभित्र विपक्षी खालको छ । माधव नेपाल १५ वर्षसम्म महासचिव हुँदा ओली नेपालको छायामा परे । बुटवल महाधिवेशनपछि झलनाथ खनालसँग उनको टकराव बढ्यो, तर जहिले पनि उनी पार्टीभित्र बलियो अवस्थामा छन् । सामान्यतया मान्छेको मनोविज्ञान सत्ता र शक्तिको पछाडि लाग्ने हुन्छ । ओली पार्टी र सरकार सञ्चालनमा अहिलेसम्म पहिलो भएका छैनन्, तर उनको पछाडि ठूलो समूह सधैं हुन्छ । यसलाई गुटबन्दी गरेको आरोप पनि छ, जुन कुरालाई खनाल सरकारका बेला सुरेन्द्र पाण्डेले पार्टीमा प्रस्ताव गर्न खोजेका थिए । झापा आन्दोलनदेखि नै सँगै रहेका एमाले नेता मुकुन्द न्यौपाने भन्छन्, ”आफ्नो अडानमा अडिन सक्नुहुन्छ र लागेको कुरा प्रस्ट गर्नुहुन्छ ।”
ओलीको सबैभन्दा ठूलो शक्ति भनेकै बोली हो । तिखो र उखानटुक्का जोडेर बोल्ने उनको शैली समकालीन राजनीतिका अन्य नेताको भन्दा फरक छ । ”जे विषयमा पनि तर्क र संवाद गर्न सक्नुहुन्छ । जति अप्ठेरो पर्दा पनि हडबडाउनुहुन्न”, उनी निकट केन्द्रीय सदस्य भानुभक्त ढकाल भन्छन्, ”त्यही कारण उहाँ सधैं टिकिरहनुभएको हो ।” जुनसुकै विषयमा पनि कडा प्रहार र छिटो प्रतिक्रिया गर्ने शैलीका कारण उनी आलोचनामा पनि  परेका छन् । गणतन्त्र स्थापनार्थ भएको दोस्रो जनआन्दोलनका बेला ”ठेलागाडा चढेर अमेरिका पुगिन्न” भन्ने जस्ता अभिव्यक्तिले उनको जति आलोचना भएको थियो, विराटनगरमा पत्रकार कुटपिटको घटनामा महेश बस्नेतलाई दिएको स्याबासी त्योभन्दा बढी आलोच्य बन्यो ।
यति हुँदाहुँदै पनि उनको पार्टीभित्र र बाहिर लोकतान्त्रिक छवि छ । माओवादीका उनी खरो आलोचक हुन् । माओवादीसँग संघर्षको नीति राख्दै आएका छन् । त्यसैले संविधानसभा चुनावका बेला उनले झापा र उदयपुरमा माओवादीको ढुंगामुढा पनि खाए । माओवादीलाई ठेगान लाउने नाममा कांग्रेसँग लहसिने गरेको आरोप पनि उनीमाथि छँदैछ ।
पार्टीको लोकतान्त्रीकरण र सामूहिक नेतृत्व प्रणालीमा लैजाने प्रस्ताव उनले सातौं महाधिवेशनमा ल्याएका थिए । पछि बुटवल महाधिवेशनबाट त्यसैको थालनी भयो । उनी आफूलाई मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको असल प्रवक्ता मान्छन् । तर ”जबज”को उनको व्याख्यालाई कांग्रेसको समाजवादजस्तै भन्नेहर पनि पार्टीभित्र नभएका होइनन् । ओली सैद्घान्तिक रपमा स्पष्ट छन्, तर उनको संगठनात्मक कुशलता कमजोर छ । त्यसैले केन्द्रमा बलियो भए पनि तल्लो तहसम्म उनले पकड स्थापित हुन नसक्दा पार्टीमा पहिलो नम्बर हुनसकेका छैनन् । ”पार्टी निर्माण गर्ने बेलामा धेरै समय जेलभित्रै बस्नुपर्‍यो”, नेता न्यौपाने भन्छन्, ”तर उहार नेतृत्व गर्न योग्य भइसक्नुभएको छ ।” ओली पहिलोपटक ०५१ मा  मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री भए भने दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भए । अन्य दलका नेताहरमध्ये कांग्रेसका तत्कालीन सभापति कोइरालासँग निकै घनिष्ट सम्बन्ध थियो । तर अहिले त्यस्तो कुनै पनि नेतासँग छैन ।

कान्तिपुरमा प्रकाशित

No comments:

Post a Comment