Tuesday, December 25, 2012

असन्तुष्टहरू आधाआधा


काठमाडौ, आश्विन १२ - एमालेको असन्तुष्ट समूहका आधा केन्द्रीय नेताहरू आफ्नो मागका सम्बन्धमा अन्तरसंघर्ष गर्दै पार्टीभित्रै बस्ने भएका छन् । स्थायी समितिका नेताहरूसँग बिहीबार भएको छलफलबाट पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङसहित पाँच जना केन्द्रीय नेता पार्टीमै बस्ने निष्कर्षमा पुगेका हुन् । यो समूहमा पोलिटब्युरो सदस्य रामचन्द्र झा, केन्द्रीय सदस्यहरू किरण गुरुङ, दलबहादुर राना र वीरबहादुर लामा छन् ।
उपाध्यक्ष अशोक राईसहित पाँच जना केन्द्रीय नेता भने अन्तरसंघर्षको बाटो छोडी नयाँ पार्टी गठन गर्नतिर लागेका छन् । राईसँगै पार्टीबाट अलग्गिने तयारीमा रहेका नेताहरूमा विजय सुब्बा, रकम चेम्जोड, राजेन्द्र श्रेष्ठ र अजम्बर काङमाङ छन् । संघीयताको विषयमा कुरा नमिलेपछि राईको नेतृत्वमा १० जना केन्द्रीय नेताहरू रहेको 'अग्रगामी विचार समूह' निर्माण भएको थियो । पछि नयाँ पार्टी खोल्ने कि एमालेभित्रै अन्तरसंघर्ष गर्ने भन्ने विषयमा मतान्तर भएपछि असन्तुष्ट समूहमा यसअघि नै फुट आएको थियो । फुट आएपछि राई नेतृत्वको समूह 'संघीय समाजवादी पार्टी' बनाउने प्रस्ताव लिएर छलफलमा जुटेको छ । यो समूहले एमाले छोड्नका लागि आगामी १८ गते औपचारिक कार्यक्रम पनि तय गरिसकेको छ ।

गुरुङ नेतृत्वको समूह भने पार्टीभित्रै अन्तरसंघर्ष गरेर आफ्ना मागहरूलाई सम्बोधन गराउन सकिने टुंगोमा पुगेपछि बिहीबार अध्यक्ष झलनाथ खनालसहित स्थायी समिति र सचिवालयका पदाधिकारीसँग बैठक गरेको थियो । 'हाम्रा केही माग आंशिक रूपमा सम्बोधन भएको छ र केही मागहरूलाई व्यवस्थित रूपमा पार्टीभित्र छलफलमा लैजाने कुरा भएपछि हामी अन्तरपार्टी संघर्ष गर्दै अघि बढ्ने टुंगोमा पुगेका छौं,' नेता किरण गुरुङले कान्तिपुरसँग भने, 'अब पार्टी काममा हामी क्रियाशील हुन्छौं ।'
बैठकले पाँच बँुदे निर्णय पनि गरेको छ । पार्टीबाट संस्थागत रूपमा राज्य पुनर्संरचनाको विषयमा विद्यमान फरक मतका सम्बन्धमा अन्तरपार्टी छलफलको विधि निर्धारण गर्ने, फरक मतका सन्दर्भमा सहमतिमा पुग्ने अपेक्षा एवं विश्वासका साथ केन्द्रीय कमिटीबाट निर्धारण गरिने विधिअनुरूप छलफल सञ्चालन गर्ने निर्णयमा पुगिएको सचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  
विगतमा पार्टीसमक्ष असन्तुष्ट नेताहरूले पेस गरेको नौ बुँदे मागको जवाफमा पार्टीले पठाएको पत्र र अन्तरपार्टी छलफलका निम्ति निर्धारण गरिने आचार विधिलाई पार्टी पंक्तिमाझ निर्देशनका रूपमा पठाउने निर्णय पनि बैठकले गरेको छ । 'पार्टीले फरक मत राखेको आधारमा कसैप्रति भेदभाव वा पक्षपात गर्ने र हुने छैन । सबै नेता तथा कार्यकर्ता कमरेडहरूलाई सम्मान र स्वाभिमानका साथ पार्टी काममा लाग्नका लागि अनुकूल परिस्थिति निर्माण गरिनेछ,' निर्णयमा उल्लेख छ, 'राज्य पुनर्संरचनाको विषयमा पार्टी निर्णयसँग असहमत रहँदै आउनु भएका कमरेडहरू आजकै मितिदेखि आ-आफ्ना जिम्मेवारीहरू सम्हाल्ने गरी पार्टी काममा क्रियाशील हुने ।'
'पार्टीभित्रै बसेर छलफल चलाउन उहाँहरू तयार हुनुभएको छ, बहस कसरी अघि बढाउने भन्ने विधि तय गर्ने कुरा भएको छ,' छलफलपछि सचिवालय सदस्यसमेत रहेका एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने, 'संघीयताका सवाललाई लिएर पार्टीलाई कमजोर पार्ने प्रयास भएको जस्तो देखिएको उहाँहरूले महसुस गर्नुभएको छ ।' उनीहरूलाई तत्काल आफूले चाहेको नयाँ ठाउँ वा पुरानै जिम्मेवारीमा पार्टीले फर्काउने जानकारी ज्ञवालीले दिए । असन्तुष्ट नेताहरू पार्टी कामबाट बाहिरिएपछि एमालेले उनीहरूको जिम्मेवारी अरूलाई दिएको थियो । बैठकमा अध्यक्ष झलनाथ खनालले कतिपय विषयमा समयमा निर्णय नगर्दा समस्या भएको स्वीकार्दै केही समस्या भए अझै पनि बहसमार्फत टुंग्याउने प्रतिबद्घता जनाएका थिए । उनले एमालेले वर्गीय र जातीय दुवै उत्पीडनलाई उत्तिकै रूपमा उठाउने उल्लेख गर्दै यसमा कुनै द्विविधा नराख्न असन्तुष्ट नेताहरूसँग आग्रह गरेका थिए ।

No comments:

Post a Comment