Saturday, July 13, 2013

एमालेमा सिद्धान्तको बहस

एमालेभित्र जबजमाथिको बहस आन्तरिक रूपमा पाँचांै महाधिवेशनपछि चलिरहेकै छ । तर फरक धारले आफ्ना मान्यता स्थापित गराउन सकेको छैन । पाँचौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनाल र सीपी मैनालीको समूहले 'परिमार्जित नौलो जनवाद' को प्रस्ताव ल्याएको थियो । उक्त प्रस्ताव अस्वीकृत भई भण्डारीले ल्याएको जबज पारित भएको थियो । अहिलेको बहसमा शीर्ष नेताहरू खुलेर देखिएका छैनन् । दोस्रो तहका नेताहरू मात्र संलग्न छन् । तर त्यसले विस्तारै शीर्ष तहलाई पनि तान्ने सम्भावना छ ।
  •  दुर्गा खनाल

काठमाडौ, असार २९ - अघिल्लो साता घनश्याम भुसाललगायत एमालेका केही नेताले पार्टीको मार्गदर्शक सिद्धान्त 'जनताको बहुदलीय जनवाद' (जबज) लाई समयानुसार परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारे । राष्ट्रिय सभागृहमा 'जनताको बहुदलीय जनवादको दुई दशक र अबको बाटो' शीर्षकमा अन्तक्रिर्या गरेर उनीहरूले धारणा सार्वजनिक गरे । उनीहरूको सार थियो, 'जबज बोल्ने र सुनिने मात्र भयो, अब देखिने हुनुपर्‍यो, जनताका समस्या सम्बोधन गर्ने खालको सिद्धान्त बनाउनुपर्‍यो ।'
कार्यक्रमलगत्तै एमाले सचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा 'पिठ्युँबाट जबजलाई कमजोर पार्ने कोसिस नगर्दा राम्रो होला कि' भन्दै टिप्पणी गरे । पोखरेलको टिप्पणीलाई अर्का नेता योगेश भट्टराईले प्रतिटिप्पणी गर्दै लेखे, 'शंकर पोख्ारेलको पोजिसनलाई नसुहाउने उत्तेजनात्मक प्रतिक्रिया' ।
umlभट्टराईको टिप्पणीमाथि पोखरेलले नेतृत्वप्रति अविश्वास जनाउने, नीति र कार्यक्रमप्रति पनि अनास्था सिर्जना गर्ने गरी बेमौसममा बहस गरेको जवाफ फर्काए । पोखरेलले महाधिवेशन बेगर चुनावअगावै सिद्धान्त र कार्यक्रममा परिमार्जनको कुरा गर्नु अनुचित भएको धारणा राखे ।
अन्तक्रिर्या हुँदै सामाजिक सञ्जालसम्म चलिरहेको जबज बहसले आगामी साता बस्ने केन्द्रीय समिति बैठकमा समेत प्रवेश पाउने संकेत देखिएको छ । बैठकमा भुसाललगायत झन्डै दर्जन केन्द्रीय सदस्यले 'जबजको आगामी बाटो' बारे आफ्नो धारणा अघि सार्ने तयारी गरेका छन् । आसन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र यसै वर्ष हुने महाधिवेशनलाई लक्षित गर्दै भुसाललगायत नेताहरूको समूहले बहस थालेको हो ।  
तर उनीहरूले थालेको बहसलाई पार्टीको अर्को पंक्तिले उचित ठानेको छैन । एउटा महाधिवेशनपछि अर्को महाधिवेशन नहुँदासम्म सबै सदस्यले पार्टीका नीति, सिद्धान्त र कार्यक्रमलाई अवलम्बन गर्नुपर्ने तर त्यसविपरीत गएर संविधानसभा निर्वाचनमा केन्दि्रत हुने बेला थालिएको बहस अनुचित हुने उनीहरूको तर्क छ । 'यो पार्टीका कार्यक्रम र घोषित नीतिहरूमा बहस गर्ने बेला होइन,' सचिव पोखरेलले कान्तिपुरसँग भने, 'महाधिवेशन मात्र बहस गर्ने थलो हो ।'
भुसालले भने सिद्धान्तमाथिको बहस गर्ने थलो महाधिवेशन मात्र नभएको दाबी गरे । 'सैद्धान्तिक कुरामा पहिलेदेखि नै बहस हुनुपर्छ, बहसबाट आएका कुरा मात्र महाधिवेशनमा लैजाने हो,' उनले भने, 'सिद्धान्तको कुरा महाधिवेशनमा मात्र गर्ने होइन, मैले १५ वर्षदेखि यो कुरा चलाइरहेको छु, भाग लिन डराएर अनेक प्रचार गरिँदैछ ।'

Sunday, July 7, 2013

किन दल फेर्छन् नेता ?

दुर्गा खनाल  

राजनीतिशास्त्रको सूत्र भन्छ, 'सिद्धान्तका कारण फरक-फरक पार्टी बन्छन् र कोही कुनै पार्टीमा सिद्धान्तकै कारण आकषिर्त हुन्छ र त्यसैमा क्रियाशील हुन्छ ।' तर पार्टीभित्रको कार्यशैली, शक्ति र सत्ताका कारण मात्र पार्टी फुटाउने र परिवर्तन गर्ने शैली हावी भइरहेको छ ।
दल खोल्नु, आफ्नो विवेकअनुसार चल्नु लोकतन्त्रमा स्वभाविक हो, तर सिद्धान्तहीनता र अवसरवादी प्रवृत्ति झांगिँदै जार्नु लोकतन्त्रका लागि घातक हो,' 

काठमाडौ, असार २३ - अघिल्लो संविधानसभा चुनावमा रत्नेश्वर गोइत धुनषा-२ बाट एमालेका उम्मेदवार थिए । चुनाव हारेपछि एमाले छाडेर तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरे । तमलोपा विभाजनपछि उनी महेन्द्र यादव नेतृत्वको तमलोपा नेपालमा सहमहामन्त्रीसम्म भए । संविधानसभा चुनावको पूर्वसन्ध्यामा गोइत यतिखेर एमालेमा फर्किएका छन् ।
तत्कालीन मसालकी नेतृ उर्मिला अर्याल २०४८ पछि एमालेमा लागिन् । एमाले भित्रिएपछि सांसद, मन्त्रीदेखि पार्टीको पोलिटब्युरो सदस्यसम्म बनेकी उनी हालै फेरि पुरानै पृष्ठभूमि खोज्दै एमाओवादीमा फर्किएकी छन् । एमालेकै पोलिटब्युरो सदस्य रामचन्द्र झा पनि यतिखेर एमाओवादीमा छन् ।
कांग्रेस पृष्ठभूमिबाट डा. तिलक रावल गभर्नर भएका थिए । संविधानसभाको अघिल्लो चुनावमा उनी मधेसी जनअधिकार फोरममा प्रवेश गरे । फोरम विभाजनका बेला विजयकुमार गच्छदारको पार्टीमा लागे । नयाँ संविधानसभा चुनाव आउने बेला फेरि रावलले कांग्रेसको टीका लगाइसकेका छन् ।
पछिल्लो समयमा नेताहरूको पार्टी त्याग र प्रवेशको लहर जिल्लादेखि केन्द्रसम्म चलिरहेछ । चुनाव निकट हुँदै गर्दा यो क्रम बढ्दो छ । आखिर किन नेता पार्टी छाड्छन् र अर्कोमा जान्छन् वा नयाँ पार्टी बनाउँछन् ? विश्लेषकका नजरमा नेताहरूले पार्टी छाड्ने वा नयाँ पार्टी बनाउनुमा कुनै सैद्धान्तिक कारण छैनन् । 'सिद्धान्तको विषयलाई लिएर पार्टी परिवर्तन गर्ने र पार्टी फुटेका होइनन्,' राजनीतिशास्त्री प्राध्यापक लोकराज बरालले कान्तिपुरसँग भने, 'व्यक्तिगत कारण र पदीय स्वार्थकै कारण पार्टी छाड्ने, फर्किने र फुटाउने काम हावी भएको छ ।'
राजनीतिशास्त्रको सूत्र भन्छ, 'सिद्धान्तका कारण फरक-फरक पार्टी बन्छन् र कोही कुनै पार्टीमा सिद्धान्तकै कारण आकषिर्त हुन्छ र त्यसैमा क्रियाशील हुन्छ ।' तर पार्टीभित्रको कार्यशैली, शक्ति र सत्ताका कारण मात्र पार्टी फुटाउने र परिवर्तन गर्ने शैली हावी भइरहेको छ ।
'पार्टीहरू सत्तामा पुगेका बेला फुटेका छन् र सत्ताकै निम्ति नेताहरू यताउता गरेका छन्,' अर्का राजनीतिशास्त्री प्राध्यापक श्रीधर खत्रीले भने ।

Wednesday, May 8, 2013

चार दलले लोकमानलाई किन रोजे ?



  कार्कीलाई नै अख्तियारको प्रमुख बनाउनुमा बिषेश गरी दुईटा  कारण छन् । पुष्ट्याई दलका नेताहरुले  अनौपचारिक रुपमा गर्छन्  । कार्की नै दलहरुको रोजाईमा पर्ने पहिलो कारण विदेश स्वार्थ समूहको दबाब, दोस्रो गल्ती कमजोरी ढाक छोप गराउनका लागि प्रयोग हुने उपयुक्त पात्र  ।
कार्की शक्ति केन्द्रलाइ रिझाएर आफ्नो दुनो सोझ्याउने माहिर पात्र हुन्  ।

---------------------------------------------------------------------------------------------------------
संविधान र कानूनको नजरमा अयोग्य पात्र लोकतन्त्रका पहरेदार भनिएका दलका नेताहरुका नजरमा सबै भन्दा उपयुक्त हुनुले उनीहरुमाथि विश्वास गर्ने ठाउ अब कहा“ रह्यो र ?

  • दुर्गा खनाल
काठमाडौं–  गणतन्त्र स्थापनाका लागि २०६२÷०६३  जनआन्दोलन चर्किइरहदा त्यो आन्दोलनको दमन कर्ता मध्येका एक प्रमुख पात्र थिए– लोकमानसिंह कार्की । तत्कालिन राजा ज्ञानेन्द्रको अध्यक्षतामा गठित शाही सरकारको मुख्यसचिवको रुपमा उनले काम गरेका थिए । सडकमा आन्दोलन चलिरहदा मुख्यसचिवको हैसियतमा प्रशासनलाई दमनका लागि निर्देशन दिन्थे । शक्ति  सत्ता र राज्यको ढुकुटीको दुरुपयोग गरेका थिए ।  आन्दोलनको अगुवाई गर्ने राजनीतिक दलका नेताहरु कार्कीको दमनको शिकार भएका थिए । तर लोकतान्त्रिक आन्दोलनको सफलतासहित गणतन्त्र स्थापना भएको छ बर्षपछि तिनै कार्की प्रमुख राजनीतिक दलका सबै भन्दा प्रिय पात्र भएका छन् । आफैलाई दमन गरी उनकै कारण जेलको छिडीमा पुगेका नेताहरु अहिले कार्कीलाई बोकेर हिडेका छन् ।  स्वच्छ र इमानदारीपूर्वक सेवा गरी अवकास पाएका दर्जनौ पूर्व प्रशासक हुदाहुदै प्रमुख दलका नेताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका लागि कार्की भन्दा अर्को उपयुक्त पात्र देखेनन् । उनीहरुकै सफारिसमा कार्कीलाई संबैधानिक परिषद्ले भ्रष्टाचार निवारण गर्न बनेको संबैधानिक निकाय अख्तियारको प्रमुखका लागि चयन गरेको छ ।
कार्कीलाई जनआन्दोलनमा भएको दमन लगायतका छानविन गर्न गठन कृष्णजंग रायमाझी नेतृत्वको उच्चस्तरिय जा“चबुझ आयोगले कारवाहीका लागि सिफारिस गरेको थियो ।  उनलाई जनआन्दोलनका दमनकर्ता प्रमाणित गरेको  थियो ।  सत्ता, शक्ति र राज्यको ढुकुटीबाट  १९ करोड दुरुपयोग गरेको भन्दै आयोगले भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी अभिलेखमा राख्न सिफारिस गरेको थियो ।  जनआन्दोलन अघि पनि कार्कीले गरेका दर्जनौ अनियमितताका सूची नै छन् ।

Monday, April 15, 2013

मंसिरमा चुनावका दुई चुनौती

  निर्वाचन क्षेत्र निर्धारण र दोस्रो, राजनीतिक असन्तुष्टि व्यवस्थापन । यी दुई चुनौती सम्बोधन गर्ने गृहकार्य सरकार र समर्थित दलहरूबाट नभए मंसिरको समयसीमामा पनि दबाब बढ्दै जान सक्छ । यी प्रमुख दुई चुनौतीलाई सामना गर्ने गरी सरकारले आफ्नो गति लिइहाल्दा मंसिरमा चुनाव सहज हुनेछ ।
  • दुर्गा खनाल
काठमाडौ, वैशाख २ - मंसिरमा चुनाव गर्न अब प्राविधिक समयसीमाको चाप छैन । समय पर्याप्त भए पनि दुई प्रमुख चुनौती छन् । पहिलो, निर्वाचन क्षेत्र निर्धारण र दोस्रो, राजनीतिक असन्तुष्टि व्यवस्थापन । यी दुई चुनौती सम्बोधन गर्ने गृहकार्य सरकार र समर्थित दलहरूबाट नभए मंसिरको समयसीमामा पनि दबाब बढ्दै जान सक्छ । दबाबको अवस्था आउन नदिने सरकार समर्थित दलहरूले छिटो संविधान निर्वाचनसम्बन्धी अध्यादेशमा रहेको विमति हटाई कानुनी बाटो खोलिदिनुपर्ने छ । र, सरकारले पनि आफ्नो जिम्मेवारीलाई पूरा गर्ने आफ्नो कार्यशैलीलाई गति दिइहाल्नु उचित हुन्छ ।
असारमा चुनाव नभए मंसिरका लागि २०६८ को जनणनाअनुसार क्षेत्र निर्धारण गर्नुपर्ने माग सरकार समर्थित दलहरूबाटै उठिरहेको छ । यसलाई तत्काल सरकारको विपक्षमा रहेका मधेसी जनअधिकार फोरमलगायत दलहरूले पनि प्रमुख मागका रूपमा उठाइरहेका छन् । तराई क्षेत्रको जनसंख्या बढेकाले त्यसमा क्षेत्र बढाउनुपर्ने माग उनीहरूको छ । असार ७ भित्र चुनाव हुने सर्तमा मात्र प्रमुख दलहरूले क्षेत्र निर्धारण नगर्ने सहमति गरेका थिए । सरकारले दुई साताअघि बोलाएको सर्वदलीय बैठकमा मधेसी मोर्चामा आबद्घ नेताहरूले औपचारिक रूपमै क्षेत्र निर्धारण पनि गर्नुपर्ने धारणा दिइसकेका छन् । निर्वाचन क्षेत्र निर्धारणमा जाने हो भने त्यसका लागि डेढदेखि दुई महिनाको समय काम गर्न लाग्छ । राजनीतिक सहमति नभएको अवस्थामा यो समयसीमा अझै बढ्न पनि सक्छ ।
त्यस्तै सरकार निर्माण प्रक्रियामै असहमत राजनीतिक समूह पनि छन् । पार्टीदेखि विभिन्न जातीय समूहमा रहेका राजनीतिक असन्तुष्टिको व्यवस्थापन पनि थालिहाल्नुपर्ने अवस्था छ । प्रमुख रूपमा नेकपा-माओवादी, मधेसी जनअधिकार फोरमलगायत ठूला विपक्षी पार्टीका असन्तुष्टिलाई सम्बोधन गरी चुनावी माहोल बनाउन सरकारको ध्यान जानुपर्ने छ । निर्वाचनका प्राविधिक काममा माओवादीले अवरोध गर्ने संकेत यसअघि नामावली संकलन गर्दा देखाइसकेको छ । उनीहरूको असन्तुष्टि व्यवस्थापन नहुने हो भने चुनावको प्राविधिक काम अघि बढाउन अवरोध आउन सक्छ । हुन त सरकारले गृहमन्त्री माधवप्रसाद घिमिरेको नेतृत्वमा वार्ता टोलीसमेत बनाएको छ । तर उक्त टोलीले औपचारिक रूपमा असन्तुष्ट दल र समूहसँग छलफल गरेको छैन । उच्चस्तरीय राजनीतिक समितिले पनि वार्ता गर्ने घोषणा मात्र गरेको छ । यी प्रमुख दुई चुनौतीलाई सामना गर्ने गरी सरकारले आफ्नो गति लिइहाल्दा मंसिरमा चुनाव सहज हुनेछ ।

राजनीति दुर्घटनामा परेको वर्ष

वैकल्पिक व्यवस्थापनबिना सभा विघटनले मुलुक राजनीतिक मात्र होइन, संवैधानिक संकटमा फस्यो । जुन संकटबाट मुलुकलाई निकास दिन राजनीतिक दलहरूलाई फलामको च्युरासरह नै भयो । संविधान नबनाई संविधानसभा विघटन हँुदा  राजनीतिक, संवैधानिक रिक्तता र शून्यतालाई प्रमुख राजनीतिक दलहरूले आकलन नै गरेनन् । संविधानसभा विघटनका कारण जसरी लिकबाहिर राजनीति गइरहेको थियो, वर्षको अन्त्यमा दलहरूले आफूले त्याग गरेर भए पनि राजनीतिलाई सही ट्रयाकमा फर्काउने प्रयास गरे ।
  • दुर्गा खनाल
राजनीतिक घडीको सुई सुल्टो दिशामा घुमेको भए २०६९ मा नेपाल नयाँ बाटोमा हिंड्न थाल्थ्यो । नयाँ संविधान र त्यसअनुसारको राज्यव्यवस्थाको अभ्यास विधिवत् सुरु हुन्थ्यो । रूपमा प्रवेश गर्ने थियो । तर गत वर्ष नेपाली राजनीतिको घडीको सुई ठ्याक्कै उल्टो घुमिदियो जसले मुलुकमा अग्रगामी परिवर्तन होइन, झन् अन्योल थप्यो । यो वर्ष २०६९ राजनीतिक इतिहासका हिसाबले दुर्घटनाग्रस्त वर्षका रूपमा दर्ज भएको छ । संविधानसभा दुघर्टनाले नेपालको राजनीतिलाई ठूलो क्षति पुर्‍याएको छ ।
वर्षको सुरुवातमै संविधान नबनाईकन संविधानसभाको बेवारिसे मृत्युवरण भयो । दुई वर्षका लागि म्यान्डेट लिएर गठन भएको संविधानसभाले चार वर्षमा पनि काम फत्ते नगरेर जेठ १४ गते विघटन भयो । 'संघीय गणतन्त्रात्मक संविधान बन्ने उत्साह थियो, त्यो पूरा नभई संविधानसभा विघटन हुनु ठूलो राजनीतिक दुघर्टना हो' राजनीतिक विश्लेषक मुमाराम खनालको टिप्पणी छ, सभासदले समेत सुइँको नपाई सभाको अवसान भयो ।'
जेठ १४ गते राति १० बज्दासम्म सर्वसाधारण मात्र होइन, संविधानसभाका अधिकांश सदस्य संविधान जारी हुनेमा विश्वस्त थिए । बैठक सुरु हुने अपेक्षामा रहेकाहरू एकैपटक सरकारबाट चुनावको नयाँ मिति घोषणा हँुदा खङ्ग्रंग भए । वैकल्पिक व्यवस्थापनबिना सभा विघटनले मुलुक राजनीतिक मात्र होइन, संवैधानिक संकटमा फस्यो । जुन संकटबाट मुलुकलाई निकास दिन राजनीतिक दलहरूलाई फलामको च्युरासरह नै भयो । संविधान नबनाई संविधानसभा विघटन हँुदा  राजनीतिक, संवैधानिक रिक्तता र शून्यतालाई प्रमुख राजनीतिक दलहरूले आकलन नै गरेनन् ।
संविधानसभा विघटनका कारण जसरी लिकबाहिर राजनीति गइरहेको थियो, वर्षको अन्त्यमा दलहरूले आफूले त्याग गरेर भए पनि राजनीतिलाई सही ट्रयाकमा फर्काउने प्रयास गरे । 'संविधानसभाको विघटनले राजनीति ट्रयाकबाहिर गइरहेको थियो, त्यसले जस्तो परिणाम पनि ल्याउन सक्थ्यो' प्राध्यापक श्रीधर खत्री भन्छन्, 'ट्रयाकबाहिर गएको राजनीतिलाई दलहरूले सही ठाउँमा ल्याएर चुनावमा जाने बाटो तय गरे, यो सकारात्मक कुरा हो ।' दलहरूलाई गैरराजनीतिक नेतृत्वमा सत्ता सुम्पेको आरोप आए पनि चुनावमार्फत् राजनीतिकलाई सही ठाउँमा ल्याउन दलहरू तयार हुनलाई उपलब्धिकै रूपमा लिनुपर्ने खत्री ठान्छन् ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले जेठ १४ गते राति संविधानसभाको नयाँ निर्वाचन गराउने घोषणा गरे र मंसिर ७ गतेको समय पनि तोके । संविधानसभा विघटनकर्ताको दोषसमेत खेपिरहेका भट्टराईले घोषणा गरेको चुनावमा विपक्षीहरूले चासो दिएनन् । मंसिर ७ मा चुनाव हुन सकेन । त्यसपछि फेरि भट्टराईले २०७० सालको वैशाखमा चुनाव गर्ने भनेर बिनामितिको समय निर्धारण गरे । उनको नेतृत्वको सरकारले गराएको चुनावमा भाग लिने संकेत विपक्षीहरूले नदेखाएपछि त्यो समय पनि त्यत्तिकै खेर जाने अवस्था आयो ।

Tuesday, March 5, 2013

सरकार गठन लम्बिने

  •  दुर्गा खनाल    



सर्वोच्चले यदि प्रधानन्यायाधीशको नेतृत्वअनुकूल हुने गरी फैसला गर्‍यो भने त्यो झन्डै एक सातापछि आउनेछ । कम्तीमा एक साता पर धकेलिएर प्रक्रिया लम्बिनेबित्तिकै दलहरूबीचको बहस अन्यत्र मोडिन पनि सक्छ । फागुन महिनाभित्र प्रक्रियाको टुंगो नलाग्नेबित्तिकै जेठ महिनामा चुनाव गर्ने समय क्रमशः घर्किने छ । जेठ महिनामा चुनाव नहुने अवस्थामा दलहरूको बहस फरक दिशातिर मोडिन सक्छ । दलीय बैठकहरूमा जेठमा चुनाव गर्नका लागि मात्र प्रधानन्यायाधीशको नेतृत्वको कुरा आएको र त्यो असम्भव हुनेबित्तिकै अर्को विकल्पमा जानुपर्ने खालको कुराले सांकेतिक रूपमा प्रवेश पाइसकेको छ । यदि यो प्रक्रिया निष्कर्षमा नपुगी टुंगियो र नयाू विकल्पमा बहस मोडियो भने केही महिना बाबुराम भट्टराई सरकारकै निरन्तरता कायम हुनेछ ।
काठमाडौं, फाल्गुन २२ - प्रमुख दलको आइतबारको बालुवाटार बैठकमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुनुअगावै सबै विषयहरू मिलाएर प्रधानन्यायाधीशलाई नेतृत्व सुम्पिसक्ने कुरा भयो । त्यही अनुसार प्रधानन्यायाधीश खिलराज रेग्मीलाई 'मनाउने' कुरा उनीहरूले गरे । सोमबार उनले सर्वोच्चको सुनुवाइ हुनुअघि चुनावी सरकारको नेतृत्व लिन तयार भएको खबर दलहरूलाई दिन सकेनन् ।
आइतबार तमलोपा अध्यक्ष महन्थ ठाकुरले त बैठकबाट बाहिरिूदै गर्दा मिति र समय नै तोकेर भनिदिएका थिए '२२ गते बाधा अड्काउ फुकाउसहित संवैधानिक अड्चन हटाउने र त्यसको २४ घन्टाभित्र प्रधानन्यायाधीशलाई नेतृत्व दिने ।' यसअनुसार त सोमबार उनीहरूबीच गम्भीर छलफल भई सहमतिको एउटा आकार आइसक्नुपर्ने थियो । तर त्यस्तो भएन ।  बिहान एकछिन भेटघाट गरेर सबै दलका शीर्ष नेता राजधानी बाहिर हानिए ।
'अहिलेसम्म दलहरूबीच सहमति भइसकेको छैन, बाँकी विषय मिलेकै छैनन्,' कार्यदलका सदस्य कांग्रेस नेता मिनेन्द्र रिजालले भने, 'त्यसका लागि मंगलबार बिहान कार्यदल र बेलुका शीर्ष नेताहरूको बैठक बस्नेछ ।' दलहरूले यस्ता दर्जनौं बैठक गरिसकेका छन् ।
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले सर्वोच्चको फैसलाअघि सहमति गर्दा अप्ठ्यारो नपर्ने जनाए । 'फैसला हुुनुअघि दलहरूले सहमति गर्दा फरक पर्दैन,' उनले भने, 'चुनावमा गएर निकास दिने कुरामा सर्वोच्च पनि जिम्मेवार हुन्छ भन्ने विश्वास दलहरूलाई छ ।'
राष्ट्रपतिले समेत २४ गतेअघि कुनै निर्णय नगर्न अनौपचारिक रूपमा दलहरूलाई आग्रह गरेका छन् । यदि राष्ट्रपतिको आग्रहलाई दलहरूले माने भने सहमतिको प्रक्रिया अझै लम्बिने छ । मंगलबार र बुधबारभित्र दलहरूले सहमति नगरी प्रक्रिया लम्बाए भने बन्न लागेको सहमतिमा झन् जटिलता थपिन सक्छ । चुनावी सरकार गठनको प्रक्रिया पर सर्दै जानेछ ।

Friday, March 1, 2013

एमाले यथावत्

काठमाडौ, फाल्गुन १६ - प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउने विषयमा एमाले यसअघिको केन्द्रीय समितिको निर्णयमा अडिग रहेको छ ।

स्थायी समितिको बुधबार सकिएको बैठकले केन्द्रीय समितिले गरेको 'लोकतान्त्रिक मूल्यमान्यता र शक्ति पृथकीकरणजस्ता विषयमा दृढ रहँदै सहमतिको सरकार बनाउने सबै विकल्प खुला गर्ने' निर्णय यथावत राखेको हो ।

'यथासम्भव चाँडो संविधानसभाको निर्वाचन गराउन र कामचलाउ सरकार विस्थापन गरी राजनीतिक सहमतिको आधारमा चुनावी सरकार बनाउन ४-५ फागुनमा भएको केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा चालू प्रक्रियालाई उपयुक्त निष्कर्षमा पुर्‍याउन पहल गर्ने' निर्णयमा भनिएको छ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल लगायतले केन्द्रीय समितिका निर्णयभन्दा विपरीत गएर सहमति गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए । उनीहरूले प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार बनाउने विषयमा कुनै निर्णय नभएको उल्लेख गर्दै सहमतिको जारी प्रक्रियामाथि नै प्रश्न उठाएका थिए ।

बैठकले कुनै एउटा विषयलाई लिएर मात्र छलफल गर्नेभन्दा चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण विषयहरूको प्याकेजमा सहमति गर्न नेताहरूलाई निर्देशन दिएको छ । 'प्रधानन्यायाधीशको नेतृत्व हुने/नहुने भन्ने विषयभन्दा पनि चुनाव हुन्छ कि हुँदैन भन्नेतर्फ हाम्रो ध्यान बढी केन्दि्रत हुनुपर्छ र चुनावका लागि आवश्यक पर्ने सबै विषयहरू प्याकेजमै टुंगिनुपर्छ,' सचिव युवराज ज्ञवालीले भने, 'प्याकेजमा सहमति भएन भने प्रधानमन्त्री मात्र बन्ने तर फेरि चुनाव नहुने वातावरण बन्न सक्छ ।'

Friday, February 22, 2013

जन्मसिद्घका सन्तानलाई वंशजको नागरिकता'

  •  दुर्गा खनाल

  • २०६४ को संविधानसभा चुनावअघि सरकारले एकपटकका लागि 'जन्मसिद्घ' को आधारमा नागरिकता दिने व्यवस्था गरेको थियो । त्यसअनुसार झन्डै एक लाख ७३ हजारले नागरिकता पाएका थिए । तर उनीहरूका सन्तानलाई भने नागरिकता लिन कानुनी व्यवधान छ । कानुनमा नागरिकता लिन चाहने व्यक्ति जन्मेका बखत उसका बुवा-आमा नेपाली नागरिक रहेको अवस्थामा मात्र नागरिकता पाउने व्यवस्था छ । उक्त प्रावधानअनुसार २०६४ मा नागरिकता पाएका व्यक्तिका त्यसअघि जन्मेका सन्तान बालिग भए पनि नागरिकता पाउन योग्य हुँदैनन् ।
काठमाडौ, फाल्गुन ११ - जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई 'वंशज'का आधारमा नागरिकता दिनेबारे प्रमुख दलहरूबीच करिब सहमति भएको छ ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्याकेजभित्रै यो विषय विवादित थियो । पटक-पटकको छलफलपछि दलहरू सहमति नजिक पुगेका हुन् ।
एमाओवादी, कांग्रेस र मधेसी मोर्चाले 'वंशज' नागरिकता दिनेबारे पूर्ण समर्थन जनाइसकेका छन् । 'जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनेबारे हाम्रो कुरा मिलिसकेको छ,' कांग्रेस महामन्त्री कृष्ण सिटौलाले भने । यसमा फरक अडान राख्दै आएको एमालेका शीर्ष नेताले पनि सहमति जनाइसकेको स्रोतले बताएको छ ।
एमाले कार्यदलका नेताले फरक मत राखेकाले यो विषय विवादित भएको थियो । 'यो विषय समस्याको रूपमा छ । सर्वोच्च अदालतले यसलाई कानुन बनाएर जानुपर्ने भनेकाले त्यो व्यवस्था नगरी अघि जानु हुँदैन भन्ने हो,' एमालेका तर्फबाट कार्यदल सदस्य रहेका नेता अग्नि खरेलले भने ।
मधेसी मोर्चाका नेताहरूले नागरिकताको विषयलाई अडानका रूपमा लिएका  थिए । उनीहरूको अडानलाई सम्बोधन गर्न अन्य दल तयार भएपछि अब शान्ति प्रक्रिया र मतदाता नामावलीबारे मात्र दलहरूबीच विवाद छ ।

Tuesday, February 19, 2013

तीन विषयमा विवाद

  •  दुर्गा खनाल
काठमाडौ, फाल्गुन ७ - प्रमुख दलहरूबीच शान्ति प्रक्रिया, नागरिकता र मतदाता नामावलीको विषयमा विवाद भएको छ । कार्यदल र शीर्ष नेता तहमा सोमबार भएको छलफलमा तीन विषयमा दलीय अडान प्रस्तुत भएपछि अन्य सहमतिका बुँदाले पनि मूर्तरूप पाउन सकेनन् ।

एमाओवादीले शान्ति प्रक्रियाअन्तर्गत लडाकुहरूको दर्जा निर्धारण र सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेशको पनि अहिले नै टुंगो हुनुपर्ने प्रस्ताव राखेको छ । मधेसी मोर्चाका नेताहरूले चुनावमा जानुअघि मतदाता नामावली र नागरिकताको विषय टुंग्याउनुपर्ने बताएका छन् । सत्तारूढ दलहरूबाटै अडान आएपछि विपक्षी कांग्रेस-एमालेका नेताहरूले भने तिनलाई यतिबेला उठाउन नहुने जिकिर गरेका छन् । दुवै पक्ष सहमत नहुँदा मंगलबार तीन बजे फेरि छलफल गर्ने गरी बैठक टुंगिएको थियो ।

एमाओवादीले समायोजनमा गएका लडाकुहरूलाई कर्णेल र लेफि्टनेन्ट कर्णेलसम्मको पद दिनुपर्ने अडान राखेको छ । विशेष समितिको कार्याक्षेत्रभित्र पर्ने र त्यहींबाट मिलाउन सकिने विषय पनि सोमबार अध्यक्ष पुष्पकमल दाहालले दलहरूको बैठकमा अहिले नै टुंग्याउनुपर्ने बताएका थिए । चुनावी सरकारबारे सहमति बनिसकेपछि माओवादीले नयाँ अडान राखेकाले विपक्षी आशंकित भएका छन् ।

एमालेद्वारा प्रधानन्यायाधीश ससर्त स्वीकार


  • दुर्गा खनाल   
  • चुनाव हुने सुनिश्चितता, राजनीतिक दलको भूमिकालगायत विषयमा अहिले नै प्याकेज सहमति हुनुपर्ने निर्णय गरेको छ । राजनीतिक दलका नेताहरूको संयन्त्र बनाउने, सरकारले निर्वाचन गराउन नसके त्यसपछिको निर्णय गर्ने अधिकार राजनीतिक दललाई नै हुने, निर्वाचनका लागि संवैधानिक र कानुनी आधारसहित निर्वाचन आयोगमा पदाधिकारी नियुक्ति गर्ने विषयमा अहिले नै सहमति हुनुपर्ने २ सय ४० निर्वाचन क्षेत्रलाई यथावत् राख्नुपर्ने, समानुपातिकलगायत सिट संख्या घटाएर संविधानसभाको आकार घटाउनुपर्ने, आउँदो चैत मसान्तसम्म उमेर पुगेकालाई मतदाता नामावलीमा समेट्नुपर्नेलगायत विषयमा सहमति हुनुपर्ने सर्त एमालेको छ ।
काठमाडौ, फाल्गुन ५ - एमाले लोकतान्त्रिक मूल्यमान्यता, संविधानको सर्वोच्चता र शक्ति पृथकीकरणको सिद्घान्तमा दृढ रहँदै राजनीतिक निकासका लागि प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार बनाउन तयार भएको छ । एमाले तयार भएपछि प्रधानन्यायाधीश नेतृत्वको सरकार बनाउने ढोका खुलेको हो ।

 केन्द्रीय समितिमा दुई दिनसम्म निकै रस्साकस्सी भएपछि एमाले प्रधानन्यायाधीशको नेतृत्वमै जाने निष्कर्षमा पुगेको हो । केन्द्रीय समितिले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने भन्ने स्पष्ट निर्णय भने गरेको छैन । घुमाउरो तरिकाले प्रधानन्यायाधीशकै नेतृत्वको पक्षमा रहेका नेताहरू बाहुल्य रहेको स्थायी समितिलाई आवश्यक निर्णय गर्ने जिम्मेवारी दिएको छ ।

'बाबुराम भट्टराई नेतृत्वको सरकार विस्थापन गरी राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि जुनसुकै विकल्पमा जाने अधिकार केन्द्रीय समितिले दिएको छ,' बैठकपछि उपाध्यक्ष वामदेव गौतमले भने । केन्द्रीय समितिका अधिकांश नेताहरूले राजनीतिक दलकै नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएको थियो । तर सबै राजनीतिक दल एक ठाउँमा उभिएको अवस्थामा फरक ढंगले जान नसकिने भन्दै केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने अधिकार स्थायी समितिलाई सुम्पिएको हो । शीर्ष नेताहरूलाई आवश्यक निर्णय गर्ने जिम्मा दिएपछि एमाले नेताहरू बाबुराम भट्टराई नेतृत्वको सरकारको बहिर्गमन र चुनावको सम्भावना रहेकाले प्रधानन्यायाधीश नेतृत्वको सरकारका लागि तयार भएका हुन् ।

'एमाले लोकतन्त्रका आधारभूत मान्यता, शक्ति पृथकीकरणका सिद्घान्त, संविधानको सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको मान्यतामा दृढ छ र यी मान्यतामा आधारित रहेर आवश्यक निर्णय गर्न शीर्ष नेताहरूलाई जिम्मेवारी दिइएको छ,' एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले भने, 'यसको अर्थ बाबुराम भट्टराई नेतृत्वको सरकारको विस्थापन र निर्वाचन हुने कुरामा सहयोग गर्नका लागि बहालवाला प्रधानन्यायाधीशकै नेतृत्वमा सरकार बनाएर भए पनि निकास निकाल्ने हो ।'

प्रधानन्यायाधीशबारे एमालेमा विवाद

  • दुर्गा खनाल
काठमाडौ, फाल्गुन ४ - प्रमुख नेताहरूको धारणा समान रहे पनि केन्द्रीय सदस्यहरूबीच मत बाझिएपछि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने निर्णय गर्न एमालेलाई समस्या परेको छ । केन्द्रीय समितिको शुक्रबारको बैठकमा अधिकांश नेताहरूले पहिलो प्राथमिकता राजनीतिक नेतृत्वकै सरकार हुनुपर्नेमा जोड दिए । प्रधानन्यायाधीशकै नेतृत्व स्वीकार्नुपर्ने अवस्था आए सरकारमाथि दलीय नियन्त्रण हुने स्पष्ट व्यवस्था र चुनाव सुनिश्चित हुने गरी प्याकेज सहमति गर्नुपर्ने उनीहरूको धारणा छ ।

सरकार सञ्चालन संयन्त्र, राजनीतिक दलको भूमिका, शक्ति पृथकीकरणको विश्वासयोग्य स्थिति, चुनावका बेला उठ्न सक्ने मतदाता नामावली, निर्वाचन क्षेत्र निर्धारणलगायत विवादित विषयमा पनि सहमति र संवैधानिक सुनिश्चितता हुनुपर्ने एमाले नेताहरूको जोड छ ।

Thursday, January 31, 2013

खनाल ओली एकताको अर्थ

झलनाथ खनाल र  केपी ओलीलाई यतिबेर केले नजिक्यायो त ? दुवै पक्षको एउटै निचोड छ, तीन वर्षको गुटबन्दीले दुवैलाई केही उपलब्धि भएन, एकले अर्कालाई समाप्त पारेर जाने अवस्था रहेन, दुबै बरु व्यक्तित्वको क्षयीकरण भयो । पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा कमजोर बन्यो ।
  • दुर्गा खनाल
काठमाडौं– पार्टीका आन्तरिक बैठकहरुभन्दा बाहिर एकै ठाउमा नदेखिने अध्यक्ष झलनाथ खनाल, माधव नेपाल र केपी ओली एउटै मञ्चमा पुग्न झुल्किन थालेका छन् । पार्टीकै कार्यक्रममा पनि एउटा नेता  गएको ठाउमा अर्को नपुग्ने  स्थिति थियो । अचेल एक अर्काका घरमा डिनर बैठक हुन थालेका छन् ।  गत आइतबार उपत्यका बिषेश समन्वय समितिको कार्यक्रममा तीन जानै शिर्ष नेता एउटै मञ्चमा पुगे । त्यहा उनीहरुको बोलिको भाषा पहिले जस्तो छेडछाडपूर्ण थिएन  । सबैले एकै खालको अभिव्यक्ति दिए– ‘हामी पार्टीलाई सृदृण  र एकताबद्घ बनाएर लान तया छौ कार्याकर्ताहरु पनि अब माथिदेखि तलसम्म मिलेर अघि बढ्नुहोस् ।’
तीन बर्षदेखि गुटबन्दीमा अल्झिएको एमालेभित्र यतिबेर आन्तरिक एकताको पहल भइरहेको छ । यसैको संकेत थियो उपत्यका बिषय समन्वय समितिको कार्यक्रममा सबै नेताको उपस्थिति । उनीहरुले भाषणमै पनि भने– ‘तपाईहरुले हामी सबैलाई एउटै मञ्चमा ल्याएर दिन खोजेको सन्देश हामीले बुझेका छौ त्यसकै लागि लागेका पनि छौ ।’ 

किन हुदैछ एकता ?

एमालेमा झण्डै तीन बर्ष अघि भएको बुटवल महाधिवेशन पछि अध्यक्ष झलनाथ खनला र केप ीओली बीच स्पष्ट गुटबन्दी सिर्जना भएको हो । महाधिवेशनमा दुबै नेताले प्यानल बनेर चुनाव लडे । त्यो प्यानलको प्रभावन अहिले सम्म कायम छ ।  खनाल  समूहले उपाध्यक्ष बामदेव गौतमले साथ दिए । गौतमले २०५४ सालमा एमाले फुटाएर माले पार्टी बनाएका थिए । पछि उनी फेरी एमालेमै  जोडिन आएका हुन् । गौतमका कारण माले पृष्ठभूमिका नेताहरुका समर्थन खनाललाई थियो । यता ओलीलाई भने बरिष्ठ नेता एवं १५ बर्ष महासचिव भइ पार्टी चलाएका माधव कुमार नेपालको समर्थन रह्यो । दुबै तर्फ उत्तिकै शक्तिशाली नेताहरुको बलमा खनाल र ओलीको गुटबन्दी झांगिएको हो ।

Friday, January 18, 2013

सहमति छाडेर सडकतिर

प्रधानमन्त्री बाबुराम भट्टराईको विस्थापनपछि सहमतिको सरकार बन्ने र मुलुक चुनावको दिशातिर जाने सम्भावना निकै पर धकेलिएको छ । आउँदो जेठभित्र चुनाव गर्न कम्तीमा माघ दोस्रो सातासम्म सहमति भइसक्नुपर्ने बाध्यात्मक अवस्था थियो । तर दुवै पक्षले यसलाई बेवास्ता गर्दै माघ महिनाका लागि सडक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उनीहरूको रवैया सहमति थाँती राखेर सडकमा भिड्ने 'मुड' मा पुगेजस्तो देखिन्छ । दुवैको 'सडक नीति'ले तत्काल केही छिनोफानो गराइहाल्ने नभएर राजनीतिक गतिरोधको दूरी मात्र लम्ब्याउँछ । 
दुर्गा खनाल

Published in kantipur daily
काठमाडौ, माघ ५ - राष्ट्रपतिले सहमतिको सरकार निर्माणका लागि सुरु गरेको प्रक्रियालाई पछिल्लो पटक म्याद नतोके पनि गत मंगलबार सर्वदलीय भेटघाटमा उनले दलका नेतालाई मौखिक रूपमा एक साताको समय दिएका थिए । एक साताभित्र सहमति नभए आफूले पनि जनतासँग केही भन्न पाउनुपर्ने प्रस्ताव राखेपछि प्रमुख दलका नेताहरूले राष्ट्रपतिसँग सहमति गरेर आउने प्रतिबद्घता व्यक्त गरे । शीतल निवासबाट बाहिरिनेबित्तिकै सत्तारूढ दलको बैठक बालुवाटारमा बस्यो भने विपक्षीहरू एमाले मुख्यालय बल्खुमा भेला भए । दुवै पक्षले आ-आफ्ना बैठकबाट सहमति होइन आन्दोलनका कार्यक्रम अघि सारे । उनीहरूको यात्रा अब वार्ताको टेबुलभन्दा सडकतिर सोझिएका छन् । यसले प्रधानमन्त्री बाबुराम भट्टराईको विस्थापनपछि सहमतिको सरकार बन्ने र मुलुक चुनावको दिशातिर जाने सम्भावना निकै पर धकेलिएको छ ।

Thursday, January 17, 2013

राष्ट्रपतिको कदम अलपत्र


President Ram BaranYadav
राष्ट्रप्रमुखबाट शुरु भएको सरकार निर्माण गर्ने प्रक्रिया बीचमै अलपत्र पर्नुबाट राष्ट्रपति ‘कच्चा खेलाडी’ त होइनन् भन्ने प्रश्न उब्जिएको छ ,राष्ट्रप्रमुखले सुरु गरेको प्रक्रिया नै बीचमा अलपत्र परेपनि कारण काम चलाउ सरकारको विस्थापन र संविधान सभाको चुनाव दुबै  झन् अनिश्चित बनेको छ । सरकार परिवर्तन नहुदा सम्म संविधान सभाको आगामी चुनावका लागि प्रारम्भिक ढोका नै खुल्दैन । यसले राजनीतिक संक्रमण अझै लम्बिने भएको छ । काम चलाउ सरकारको विस्थापन र चुनाव दुबै नहुने अवस्थाले राज्य संयन्त्रका सम्पूर्ण अवयवहरु अझै प्रभावहिन बन्दै जाने अवस्था आएको छ ।
  • दुर्गा खनाल
काठमाडौं– राष्ट्रपति डा रामवरण यादले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि आफैले सुरु गरेको प्रक्रिया बीचमै अलपत्र छोडेका छन् । नवौ पटक सम्मको समयसिमा थप्दा पनि राजनीतिक दलहरुबीच सहमति हुन नसकेपछि उनले अब म्याद थप्ने सृंखला नै रोकेका छन् । राष्ट्रपति यादव अब छिटो सहमति गरेर आउने भन्दै विना म्याद अनन्तकाल सम्म यो प्रक्रिया जान सक्ने गरी छोडिदिएका छन् । उनले गत मंसिर ८ गतेबाट सहमतिको सरकार निर्माणका गर्नका लागि भन्दै अन्तरिम संविधानको धारा ३८ (१) अनुसार आह्वान गरेका थिए । दलहरुको आग्रहमा उनले नवौ पटक सम्म समयसिमा थप्दै लगेका थिए । गत मंगलबार संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुसंगको छलफलपछि राष्ट्रपतिले म्याद थप्ने प्रक्रिया रोकेका हुन् । राष्ट्रप्रमुखबाट शुरु भएको सरकार निर्माण गर्ने प्रक्रिया बीचमै अलपत्र पर्नुबाट राष्ट्रपति ‘कच्चा खेलाडी’ त होइनन् भन्ने प्रश्न उब्जिएको छ ।
र राष्ट्रप्रमुखले सुरु गरेको प्रक्रिया नै बीचमा अलपत्र परेपनि कारण काम चलाउ सरकारको विस्थापन र संविधान सभाको चुनाव दुबै  झन् अनिश्चित बनेको छ । राष्ट्रपतिले समय तोकेर आग्रह गर्दा त त्यसबाट दबाब महसुस नगर्ने दलहरुले अब समय  नै नतोक्दा झन्  अनन्तकालसम्म सहमतिको रटानमा समय विताईदिनसक्ने संभावना  बढेको छ ।

Friday, January 11, 2013

चेन्ज द पोलिटिक्स


 नेता र जनताबीच 'कम्युनिकेसन ग्याप' मात्र होइन अब 'जेनेरेसन ग्याप' पनि धेरै भइसक्यो । पछिल्लो जनगणनाअनुसार नै झन्डै ५० प्रतिशत युवाको जनसंख्या छ । तर पोलिटिक्सलाई ड्राइभ गर्ने नेतृत्वमा भने कोही युवा छैनन् । प्रमुख दलका सबै शीर्ष नेता झन्डै ६० वर्ष र त्योभन्दा माथिको उमेर समूहका छन् । 
  • दुर्गा खनाल

पुस २६ - झन्डै पाँच वर्षअघिको संविधानसभा चुनावमा बानेश्वरकी अनुभूति पौडेलको उमेर १७ थियो । १८ वर्ष पुगेकाले मात्र चुनावमा 'भोटिङ' गर्न पाउने व्यवस्था भएकाले उनले आफ्नो मत कसैलाई दिन पाइनन् । तर उनी र उनको परिवारका सदस्य राजनीतिक पृष्ठभूमिका नभए पनि चुनावमा स्वयंसेवकका रूपमा 'फिल्ड' मा भने खटिएकी थिइन् । 'चुनावपछि देश राम्रो बाटोमा जान्छ, अवसरका विभिन्न ढोका खुल्छन्,' भन्ने चर्चा सबैतिरबाट सुनेपछि उनलाई त्यस बेला चुनावले आकर्षण गरेको थियो । त्यसैले त उनी चुनावी अभियानमा स्वःस्फूर्त लागेकी थिइन् । 
Published in Hello Sukrabar/Kantipur Daily

अहिले अनुभूति २२ वर्षकी भइन् । फेरि नयाँ चुनावको कुरा चल्दैछ । आउँदो वैशाख-जेठमा चुनाव गर्ने भन्ने नेताहरूको भाषण उनले दिनहुँ सुनिरहेकी/पढेकी छन् । यसपालि उनको मतदान गर्ने उमेर पनि पुगिसकेको छ । तर चुनाव गर्ने प्रसंगले उनलाई अहिले 'टच' गरेको छैन । 'पहिले त्यत्रो चुनाव गरेर बनाएको संविधानसभा त्यत्तिकै समाप्त भयो अब फेरि पनि त्यस्तै परिणाम नआउने गतिविधि गर्न चुनाव गर्न खोजेको त होला नि ?,' नोबेल कलेजमा पब्लिक हेल्थ विषय अध्ययन गरिरहेकी अनुभूतिको शंका छ, 'पोलिटिक्स ठीक भइरहेको छैन, कुनै रिजल्ट राम्रो नदिने, अपर्चुनिटी नहुने र सबै भताभुंग मात्र पार्ने, यस्तै खालको पोलिटिक्स गर्ने हो भने किन पटक-पटक चुनाव गरिरहनुपर्‍यो र !' चुनाव हुनु, त्यहाँबाट जनताका प्रतिनिधि छानिएर आउनु, जनप्रतिनिधिले मुलुक सञ्चालन गर्ने नीति बनाउनु 'डेमोक्रेटिक सिस्टम' का 'ब्युटी' हुन् । त्यो ब्युटीको उचित सम्मान गर्नुपर्छ । अझ राजनीतिमा लाग्नेलाई त झन् बढी यसको हेक्का हुनुपर्ने हो । तर हाम्रोमा यस्तो छैन । त्यसैले त युवालाई पोलिटिक्सले प|mस्टेट बनाएको छ ।

Tuesday, January 8, 2013

सधै सक्रिय


जनता जागेको बेला


 जनआन्दोलदेखि शान्ति प्रक्रियासम्मको कुरा

  • दुर्गा खनाल

published in supplimentry
पाँच बर्ष अघि फागुन महिनामा जाडोपछि विस्तारै मौसम तात्तिदै गर्दाको समयमा काठमाडौका सडकमा आनदोलनको आगो दन्किदै थियो । राजधानी काठमाडौ मात्र होइन मुलुकको करिब सबै भूभाग आन्दोलन मय थियो । हसिया हथौडा र चार तारा अंकित लाल झण्डा बोक्ने मात्र होइन, रुखका स्याउलादेखि अखबारका पाना बोकेर पनि सडकमा नागरिक ओर्लिएका थिए । सानो खोलाको रुपमा शुरु भएको आन्दोलन  दिन दिनै नदीको रुपमा लिदै ०६२  सालको फागुन चैत महिनामा मानव सागरको रुपमा रुपान्तरित भइरहेको थियो । यस्तो अभूतपूर्व क्षण थियो कि, हरेक व्यक्तिलाई आन्दोलनले जोडेको थियो । राजनीतिककर्मी सडकमै थिए,  इन्जिनियर, वकिल, पत्रकार, किसान, भरिया, पेशाकर्मी, शिक्षक, प्राध्यापक, कवि, कलाकार, लेखक, विद्यार्थी सिंगो नागरिक सबैको एउटा स्थान सडक बनिरहेको । आफ्नो दैनिक गुजाराको मेलो छेडेर भविष्यको खोजी गर्दै सबै सडकमा उत्रिएका  नागरिकहरु देख्दा विश्व चकित खाइरहेको छ । विश्व छक्क पर्ने आन्दोलन चलिरहेका पनि तत्कालिन  राजा ज्ञानेन्द्रले केही समय त आफूलाई शक्तिशाली नै ठानी रहे । तर जब आन्दोलनको अन्तिम सुनामी ०६२ चैत २४ बाट शुरु भयो, उनी १९ दिन पनि टिक्क सकेनन् । अन्तत: ०६३ साल बैशाख  ११ गते  राजाले घुडा टेके । जनताबाट खोसेको लोकतन्त्र फिर्ता भयो । ०४६ सालको आन्दोलनले स्थापना गरेको प्रजातन्त्र खोस्ने हर्कत राजाले गरेपछि त्यसविरुद्द उठेको दोस्रो जनआन्दोलन पछिल्लो २० बर्षको महत्वपूर्ण घटना त हुदै हो र विश्व मानचित्रमा नेपाल रहुन्जेल पुस्तै पुस्ताले सम्झिइरहने इतिहास पनि ।

Thursday, January 3, 2013

गुटबन्दीको राजनीति



गएको साता विकसित भएका यी दुइटा घटनाबाट स्पष्ट हुन्छ एउटै पार्टीका दुई धार निकै विभाजित छन् । तर त्यही विवाद र बाझिएको विचार अर्को पार्टीको कुनै एउटा गुटसँग चाहिँ ठ्याक्कै मिल्छ । यसको पछाडि आफ्नो पार्टीलाई भन्दा पनि गुटलाई मजबुत बनाउने व्यक्तिगत स्वार्थले काम गरेको छ ।

News Analysis published in katipur daily
काठमाडौ, वैशाख ११ - संयोग हो या रणनीतिः एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी समिति सदस्य केपी ओली र माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईबाट एकै समय एकै स्वरमा आयो, 'झलनाथ खनाल नेतृत्वको सरकारको विकल्प खोज्नुपर्छ ।' जबकि हरेक सरकारलाई मधुमासका दिन बिताउने अवसर दिइन्छ, त्यसपछि मात्रै आलोचना र विकल्पका शब्दहरू आउने गर्थे । खनालाई त्यो अवसर पनि दिइएन ।
नेपाल र ओलीले पत्रिकामा विस्तृत अन्तर्वार्ता दिँदै खनाल नेतृत्वको सरकार असफल भइसकेको घोषणा गरे, 'जेठ १४ को सेरोफेरोमै खनाल सरकारको विकल्प दिनुपर्छ ।' उता माओवादीका भट्टराईले पनि आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै केही दिनभित्रै शान्ति र संविधानको सुनिश्चित आधार तय नभए मुलुक भयानक दुर्घटनातर्फ जाने बताए । उनले राष्ट्रिय सहमति हुने खालको नयाँ सरकार आवश्यक भएको पनि बताए । 
खनाल नेतृत्वको विकल्पको चर्चा सुरु भएपछि माओवादी र एमालेकै अर्को एउटा समूह भने कसरी सत्ता गठबन्धन दिगो बनाउने भन्ने रणनीति बनाउन जुटिरहेको छ । यसमा विशेष गरी एमालेको झलनाथ खनाल र माओवादीको पुष्पकमल दाहाल समूह सक्रिय छ । खनाल र दाहालका निकट सहयोगीको पहलमा यतिबेर सरकारविरुद्ध मोर्चाबन्दीलाई कमजोर पार्ने रणनीति बनिरहेको छ ।

लडाकु शिविरको कथा



  • दुर्गा खनाल 


published in kantipur koseli
भित्री मधेस, भदौको दिन, त्यो पनि टिनको घर भित्रको बसाई निकै गर्मी हुने नै भयो । गर्मीले तात्तिएको दाडको संग्राम सहायक शिविरमा पसिना पछुदै शिक्षक जंगदेव जोशी अंग्रेजी भाषा पढाइरहेका छन् । भूईमा गुन्द्री र झल्ला ओछ्याएर झण्डै ६० जना लडाकुहरु कोचाकोच गर्दै बसेका छन् ।  उनीहरुको  ध्यान शिक्षक जोशीले बोलेका अंग्रेजी भाषाका बाक्यहरुमा एकाग्र छ । गत साता शिविरमा चलिरहेको कक्षामा पुग्दा अंग्रेजी भाषाको बेसिक कोर्सको पढाई हुदै थियो । जोशी ‘प्रिजेन्ट कन्टिन्यूयस टेन्स’ पढाउदै थिए । उनले मोनालिसाको श्यामश्वेत तस्विर देखाउदै लडाकु विद्यार्थीलाई सोधे  ‘ह्वाट इज सि थिंकिग्  (यीनले के सोचीरहेकी छिन्) ? लडाकुहरुबाट सामूहिक जवाफ आयो ‘सि इज थिंकिग् न्यू नेपाल  (यीनले नया नेपालबारे सोचीरहेकी छन् ) । 
नया नेपालको सपना बोकेर युदमा लागेका लडाकुहरु मोनालिसाको हेराईमा समेत नया नेपाल कै प्रतिविम्ब देख्छन् । तर शिविरको जिन्दगी यीनीहरुका लागि कहाली लाग्दो भइसकेको छ ।

Wednesday, January 2, 2013

किन बनेन संविधान ?

दुर्गा खनाल


published in kantipur daily
काठमाडौ, जेष्ठ १३ - दुई वर्षअघि जनतासँग भोट माग्दा राजनीतिक दलहरूले भनेका थिए- 'हामी दुई वर्षभित्र नयाँ संविधान जारी गर्नेछौं । जनताले चाहेको परिवर्तन र लोकतन्त्रलाई हामी संविधानको दस्तावेजबाट संस्थागत गर्नेछौं ।' ती प्रतिबद्घताहरू दन्त्यकथाजस्ता भएका छन् । यद्यपि आशा मरेको छैन । सर्वसाधारण अनुरोध गर्दैछन्- 'एकपटक बरु समय थपेर मुलुकलाई निकास दिने कोसिस गर ।'परिवर्तनका निम्ति जनआन्दोलनताका भएको त्यत्रो राजनीतिक प्रतिबद्घता किन स्खलित भयो त ?